सबैको आ-आफ्नो स्वतन्त्रता हो- निर्देशक पाठक

सबैको आ-आफ्नो स्वतन्त्रता हो- निर्देशक, के. पी. पाठक

-मनोज के.सी.”समय”

२०४२ सालदेखि रंगमञ्चबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका निकै चर्चित नेपाली चलचित्र निर्देशक, जसले निर्देशन विधामा थुप्रै अनुभव बटुलेका छन्, साथै पटक पटक प्रयोग पनि गर्न रुचाउँछन् नेपाली चलचित्र निर्देशनको क्षेत्रमा। उनी हुन् नुवाकोटमा जन्मेर काठमाण्डौंमा हुर्केका निर्देशक, के. पी. पाठक । जो हाल नेपाल चलचित्र निर्देशक संघका अध्यक्ष समेत रहेका छन्। आफ्नो कार्यकालमा संवाद लेखन, चलचित्र प्रसंशा जस्ता कार्यशाला समेत सञ्चालनको अनुभव पाठकसँग छ ।आफुलाई राजनीतिक रूपमा सचेत बताउने पाठकसँग पञ्चायतकालमा पञ्चायतको विरुद्ध सडक नाटक प्रदर्शन गर्दा लाठी खाएको समेत अनुभव छ । २०४७ सालदेखि नाटक निर्देशन थालेका पाठककै निर्देशनमा टेलिचलचित्रहरू पनि बन्न थाले २०४८ सालदेखि । चलचित्रको भाषामा ‘क्याप्टेन अफ द सिप’ भनिने चलचित्र निर्देशक कै काँधमा सम्पूर्ण चलचित्र को जिम्बेबारी हुन्छ ।यिनै सेरोफेरोमा केन्द्रित रहेर निर्देशक के. पी. पाठकसँग हालै गरिएको कुराकानी यहाँ प्रस्तुतगरिएको छ।

प्रश्न: अहिले के काममा व्यस्त हुनुहुन्छ?

निर्देशक पाठक: पछिल्लो समय आफ्नो चलचित्र मैनाको च्यारिटी शोमा, र नया चलचित्र ‘कथा कर्णालीको’ स्क्रिप्टमा व्यस्त छु साथै चलचित्र निर्देशक संघको काममा पनि केन्द्रित छु।

प्रश्न: एउटा कुशल निर्देशक हुनको लागि के-के गुण चाहिन्छ?

निर्देशक पाठक: एक त अध्ययनशील हुनुपर्यो , त्यसपछि धेरै कुराको ज्ञान हुनु जरूरी छ । निर्देशकको बलियो महत्त्वपूर्ण भनेको चलचित्रलाई कथावस्तु अनुसार सुपाच्य ढंगले प्रस्तुत गर्न सक्नु हो । त्यसैले पनि हरेक कुराको ज्ञान हुनु नै जरूरी ठानेको छु मैले।

प्रश्न: पछिल्लो समयमा नेपाली चलचित्र जे बनेका छन्, तिनमा संख्यात्मक आधारमा मात्रै वृद्धि भएको तर स्तरीयता भने नभएको भन्ने गुनासो छ नि नेपाली दर्शकको ?

निर्देशक पाठक: स्तरीयतालाई ध्यानै नदिएर चलचित्र बनाइएको भने पटक्कै होइन। तर यत्ति हो कि हामीले चाहेजस्तो र सोचेजस्तो चलचित्र भने अझै बन्न सकेका छैनन्। अहिलेको नेपाली चलचित्रको बजारको हिसाबले हामीले बनाएको चलचित्र बिस्तारै माथि चढ्दै गरेको मेरो बुझाई छ।

प्रश्न: जुन तपाईँले भर्खरै भन्नुभयो नेपाली चलचित्रको बजार सानो छ, मोफसलमा मात्रै नेपाली चलचित्रको बजार भएको हो त?

निर्देशक पाठक: कुरो त्यसो होइन, नेपाली चलचित्रको दर्शक अहिले पुरै नेपालमा छन्। यसको स्तर अझै उकास्न सकियो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। तर नहुनु मामाभन्दा कानो मामा जाती भनेझैँ मात्रै अहिले केही चलचित्रहरू बजारमा छन्। मुख्य कुरो पहिले भन्दा अहिले धेरै नै प्रतिस्पर्धा बढेको छ।

प्रश्न: अहिले डिजिटल प्रविधि छ, यस्तो समयमा पनि हामीले राम्रा चलचित्र दिन नसक्दा यसमा को जिम्मेवार हुन्छन् त?

निर्देशक पाठक: यहाँ कुरो उल्टो छ। अझै पनि पुराना सोच नेपाली चलचित्रका निर्देशकहरूको दिमागबाट हटेको छैन। न त निर्माताहरूको नै हटेको छ। चलचित्र राम्रो हुँदा निर्माता दंग पर्ने, चलचित्रले राम्रो व्यापार ग-यो भनेर। तर त्यही चलचित्र असफल भयो भने त्यसको सबै जिम्मा निर्देशकको टाउकामा आउने जुन प्रवृत्ति छ त्यो नहटुञ्जेल यहाँ काम गर्नु साह्रै गाह्रो हुन्छ।

प्रश्न: तपाईँको बुझाईमा राम्रो चलचित्र के हो?

निर्देशक पाठक: आफ्नोपन हुनुपर्यो , मौलिकता हुनुपर्यो, र कुनै अन्य विदेशी चलचित्रबाट हुबहु सारिएको हुनुभएन। जुन सारिनु कसैको लागि पनि राम्रो कुरा होइन। तर, पनि यहाँ बजेटको अभावले गर्दा थुप्रै चलचित्र त्यस्तै बनिरहेका छन्। तपाईँले भन्न खोज्नुभएको कुरो हिन्दी भाषामा बनेका चलचित्रको प्रतिलिपीको रूपमा नेपाली चलचित्रलाई लिइन्छ भन्ने हो। हाम्रो संस्कृति देखि लिएर सबै कुरा मिल्ने हुँदा पनि त्यसो भएको हुन सक्छ।

प्रश्न: सबै नेपाली दर्शकको मन लोभ्याउने राम्रो चलचित्र कहिले बन्छ त अब?

निर्देशक पाठक: क्रम शुरु भयो । अब बिस्तारै परिवर्तन हुँदै जाने हो केही समय त लाग्छ नै। त्यसैको लागि हामीले विभिन्न कार्यशाला, गोष्ठीहरू आयोजना गर्दै आएका पनि छौँ सबै निर्देशकहरूको लागि चलचित्रमा नयाँपन ल्याउने खालका थुप्रै ज्ञानहरूको आदान-प्रदान गर्दैछौँ। चाँडै नै सबै नेपाली दर्शकले आफुले सोचेजस्तै राम्रो नेपाली चलचित्र हेर्न पाउनेछन्।

प्रश्न: सबै नेपाली चलचित्र निर्देशक आफ्नो काममा पोख्त छन् त?

निर्देशक पाठक: निर्देशक पोख्त हुने कुरा कुनै सत्य होइन । सुधार गर्नुपर्ने धेरै छन्। पहिचान र व्यवसाय फरक हुन्छ। यसलाई बुझ्न सकेर चलचित्र निर्देशन गर्ने हो भने धरै चलचित्र राम्रा बन्ने कुरामा म विश्वस्त छु।

प्रश्न: पछिल्लो समयमा ५० को दशकदेखि यता बनेका चलचित्र राम्रो नहुनुको पछाडि के रहस्य छ त?

निर्देशक पाठक: मुख्य कुरा निर्देशन नै हो। पुरानै दिनको काम पछ्याउने बानी हामीबाट अझै गएको छैन। र अर्को कुरा राज्यको एउटा बलियो नीति छैन। लगानीकर्ताहरूको लगानी सुरक्षित छैन। चलचित्र भनेको मुलुकको विभिन्न कलालाई एकै पटक प्रस्तुत गर्न सक्ने माध्यम हो, जुन अझै सुरक्षित छैन। यहाँ बन्ने चलचित्रहरू अझै पनि २०२६ सालको श्रव्य-दृश्य ऐन अनुसार बनेका छन्। अब त्यो हटेर नयाँ नियम अब बन्ने संविधानमै लेखिनुपर्छ भन्ने हाम्रो जोड रहेको छ।

प्रश्न: नेपाली चलचित्रका निर्देशकको बलियो पक्ष के त?

निर्देशक पाठक: सानो बजेटमा पनि राम्रो चलचित्र निर्देशन गरेर दिइ नै रहेका छन्। प्रयास छ। आत्मविश्वास छ।तर सुरक्षित छैन। मैले पटक-पटक भन्ने एउतै कुरा यही नै हो। चलचित्र निर्देशनको ज्ञान प्रदान गर्ने एउटा गतिलो पाठशाला छैन, विश्वविध्यालय छैन, अझै राम्रो प्रविधि नेपाल भित्रेको छैन। तर पनि यत्तिको चलचित्र बनेको छ। निराशाजनक स्थिति छैन।

प्रश्न: अब, प्रतिलिपिकै कुरा गरौँ, अहिले नेपालमा बन्ने गरेका अधिकांश चलचित्र भारतीय, वा अन्य विदेशी भाषामा पहिले नै बनेका चलचित्रलाई नेपाली भाषामा उतारेर बनाइएको हुन्छ भन्छन् नि?

निर्देशक पाठक: प्रतिलिपि हट्नुपर्छ। तर पनि चल्ने माध्यम त चाहियो नै। यसरी बौद्धिक सम्पत्ति एकबाट अर्कामा सार्ने काम गर्नु अपराध हो। तर पनि चाँडै, सस्तो काम गर्नको लागि यस्तो गर्ने गर्छन् रे नेपाली निर्देशकहरूले। यस्तो सुन्दा मलाई पनि यहाँ निर्देशक(स्रष्टा)भन्दा बढी संयोजक भएको जस्तो लाज्ञो। थोरै समयमा निर्माताको माग, वितरकको माग अनुसार थोरै बजेटमा चलचित्र तयार गर्नुपर्ने हुन्छ भने चलचित्र निर्देशन गर्ने त्यो तरिका सरासर गलत हो।

प्रश्न: भनेपछि तपाईँ त्यो प्रकृतिको निर्देशकमा पर्नुहुन्न?

निर्देशक पाठक: पर्दिन।

प्रश्न: नेपाली चलचित्रको बजार अहिले कस्तो छ?

निर्देशक पाठक: विगत एक वर्षदेखि धरापमा छ।

प्रश्न: चालीसको दशकमा बनेका जस्तो चलचित्र अहिले किन छैनन्?

निर्देशक पाठक: चालीसको दशकमा सबै कुरा सस्तो थियो। जुन अहिले छैन। मनोरञ्जनको माध्यम पनि कम थियो। अहिले बाँडियो। त्यो समयमा वर्षौँ पछि चलचित्र बन्ने हुँदा पनि राम्रो लाग्नु स्वभाविकै थियो। अहिले बाध्यता छ। २०४६ साल पछि केही सुधार भएन। अब ६२६३ पछि पनि कुनै सुधार नभएकाले दर्शकको रुचि मात्रै परिवर्तन भए। तर चलचित्र राम्रो बन्न सकेन। राष्टृयतामा परिवर्तन भयो तर चलचित्र धार निर्माणमा परिष्कार हुन सकेन। सबै कुराले गर्दा यस्तो भएको हो। चलचित्र हेरेर समीक्षा गरेर आलोचना गर्ने संस्कृति अझै पनि छैन। रुचाउनेको पनि कमी भयो, त्यसैले अहिले २% मात्रै छन् नेपाली चलचित्र हेर्ने नेपाली दर्शक।

प्रश्न: कलाकारको राजनीति प्रवेशलाई के भन्नुहुन्छ?

निर्देशक पाठक: सबैको आ-आफ्नो स्वतन्त्रता हो । कलामा राजनीति मिसिनु हुन्न। तर विचार नीरपेक्ष कोही पनि छैन। खुलेर समर्थन गर्ने र भित्र-भित्रै समर्थन गर्ने फरक छन्। विचार, सोचाई, आस्थाको आधारमा बाँडिएको हो। संसार नै यसै गरि चलेको छ। हिन्दी चलचित्रको प्रतिकार गरेर पनि यस्तो गर्न खोजिएको हो। राज्यका हरेक कमी कमजोरी देखाउन पाइएन। केही चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको कथा त सबैलाई थाहै छ। हाम्रो भनाई, हाम्रो लागि नियम हामी आफैँले बनाउन पाउनुपर्छ। काम गर्दै परिवर्तन ल्याउने कलाकार थपिने क्रम जारी छ। सृजना रोकिएर शून्यमा झर्नु हुन्न।