यिं हुन, नेपाली चलचित्रमा समाबेश चर्चित ८ होली गीत

Written by ArtistNepal News

फागुन शुल्क पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व विभिन्न रंग तथा पानी खेलेर मनाउने चलन छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई विदाई गर्ने यो पर्वमा गाइने होली गीत केही नेपाली चलचित्रमा पनि समाबेश गरिएका छन । नेपाली फिल्ममा विभिन्न कालखण्डमा केही गीत फिल्मांकन गरिएको छ, जुन होलीमा आधारित छ । यहाँ हामीले होलीको अवसरमा नेपाली फिल्ममा समावेश होलीका लोकप्रिय सात गीत प्रस्तुत गरेका छौं ।

१ होलीले मेरो रंगायो नयाँ चोली – अधिकार चलचित्र
सम्भबत नेपाली सिनेमामा पहिलो होली गीत चलचित्र अधिकारमा समाबेश भयो । ‘होलीले मेरो रंगायो नयाँ चोली…’ बोलको यो गीत सञ्चारमाध्यममा प्रसारण नहुञ्जेल होली नै नआएको अनुभुत गरिन्थ्यो । नेपाली सञ्चारमाध्यममा सबैभन्दा बढी बज्ने पहिलो नेपाली भाषाको होली गीत पनि यही हो । उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ, पूर्णिमा आदि गायक–गायिकाको स्वरको यो गीतलाई होलीको राष्ट्रिय गीतसमेत भनिन्छ । यो गीतमा राजेश हमाल तथा कृष्टी मैनालीले कलाकारहरूको समूहसँग आकर्षक नृत्य गरेका छन् ।

२। होरिया होरिया हो- तिलहरी चलचित्र
चलचित्र ‘तिलहरी’ मा समावेश होली गीत दर्शक तथा श्रोताहरूको रोजाइमा परेको अर्को चर्चित गीत हो । ‘होरिया होरिया हो रंग खेले होली…’ बोलको उक्त गीतमा अभिनेता भुवन केसी तथा कृष्टी केसीले नृत्य गरेका छन् भने उदितनारायण झा तथा दीपा झाले त्यसमा स्वर दिएका छन् ।

३। होरी हे आज- सिता चलचित्र
सीता फिल्मको ‘होरी हे आज जनकपुरमा होली रे’ पनि होलीको अर्को चर्चित गीतहरूमा पर्छ । शम्भुजित बास्कोटाको संगीत र अशोक शर्माको निर्देशनमा तयार भएको यस् गीतमा श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठले अभिनय गरेका छन ।

४ । फागु हो फागु हो – बसन्ती चलचित्र
बरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह निर्देशित फिल्म बसन्तीमा समावेश फागू हो फागू हो…. बोलको होली गीत अर्को अजम्बरी लोकप्रिय गीत हो । हरेक वर्ष होलीको समयमा निकै घन्किने यो गीतको शब्द नीर शाह आफैंले लेखेका हुन् भने संगीत शम्भुजित बाँस्कोटाले गरेका छन् । निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारहरु यस् गीतमा प्रस्तुत छन् ।

५ । होली रे – बटरफ्लाई चलचित्र
चलचित्र बटरफ्लाईमा समावेश होली रे… गीत पनि दर्शक श्रोतारे रुचाएको होली गीत हो । ओम प्रतिक निर्देशित यस् चलचित्रको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारी प्रस्तुत छन । गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर छ । प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा विकास चौधरीको संगीत छ ।

६ । रङ रङा – गाजलु चलचित्र
अभिनेता अनमोल केसी अभिनीत फिल्म गाजलुमा पनि एक होली गीत समावेश छ । हेमराज विसी निर्देशित यस फिल्मको रंग रंगा.. गीतमा जैन जे को शब्द तथा संगीत रहेको छ भने शिवानी मोक्तानको स्वर छ । गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु अनमोलसँगै गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेत, सृष्टि श्रेष्ठलगायत फिचर्ड छन् ।

७ । होरीमे गोरी – संरक्षण चलचित्र
पुर्णेन्द्र झा निर्देशित फिल्म संरक्षणमा समावेश होरीमे गोरी बोलको होली गीत तराई क्षेत्रको होली माहौल देखाइेको छ । भोजपुरी भाषामा गाईएको यस् गीतमा नेहा प्रियादर्सन र प्रवेश मल्लिकको आवाज छ भने धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको रहेको छ । सौगात मल्ल र अशिष्मा नकर्मी गीतमा फिचर्ड छन् ।

८ । आउ न आउ खेलौँ – फागु चलचित्र
फिल्म फागुमा समावेश होली गीत आउ न आउ खेलौँमा मिना निरौला, मनोज महत्तो, रञ्जित कुमार सहानीको स्वर छ । दयाराम पाण्डेको शब्द रचना रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु शिल्पा पोखरेल र सुवास पराजुली प्रस्तुत छन् । फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।