माइतीघर | पल्टाउनै पर्ने इतिहास

Written by Artist Sansar

व्यावसायिक नेपाली सिनेमाको प्रारम्भबिन्दु मानिएको माइतीघर नयाँ सिनेकर्मीहरूका लागि एकादेशको कथा बनिसकेको छ ।

सत्ताइस बर्षीय भन्सार अधिकृत सीपी लोहनीले ‘माइतीघर’को नायक बनुला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत गाउन उनी प्रदीप रिमाल, प्रेमध्वज र हर्षडङ्गोलसँगै मुर्म्बई पुगेका थिए । तर फर्कंदा सिने-नायक भएर फर्किए । शुरुमा नायक छानिएका लखनऊ निवासी भानुकुमारले निर्माता नरशम्शेरलाई सघाउनेबाहेकको कुनै भूमिकै पाएनन् ।

चर्चित नृत्यनिर्देशक गोपीकृष्ण, त्यतिबेला मुर्म्बईमा संघर्षरत बीएस थापा, किशोर तिमिल्सिना, गोपाल भुटानीहरू नेपाली फिल्म बनाउने कल्पना गरिरहन्थे । माला सिन्हासमेत ‘हो त नि, गर्नुपर्छ तर कथा नै छैन’ भनिरहन्थिन् । कुरैकुरामा बी.एस थापाले कथा लेखे । खेलिदिने अनुरोधसहित समूह नै मालाकहाँ पुग्यो । ‘नयाँ जमाना’, ‘धूल कि फूल,’ ‘प्यासा’ जस्ता फिल्मबाट ख्यातिको शिखर पुगेकी मालाले नमान्लिन् कि भन्ने आशङ्का थियो।तर उनले ‘वाह ! म गरिहाल्छु नि’ भन्दै सबैलाई हौस्याइन् । यता, काठमाडौँमा नरशमशेर जबरा र डा. जोगेन्द्र झा लगानी गर्न तयार भए । कम्पनी दर्ता भयो – सुमनाञ्जलि फिल्मस् । कथा सुन्नासाथ साहित्यकार शङ्कर लामिछानेले शीर्षक जुराइदिए- माइतीघर ।

बबरमहलछेउको डाँडामा कार्यालय खुल्यो । पर्खालमा ठूलो अक्षरले ‘माइतीघर’ लेखियो । बसबाट क्याम्पस जाने केटीहरूलाई सहयात्रीहरूले ‘ऊ, तिमीहरूको माइतीघर आयो’ भनेर जिस्क्याउँदा जिस्क्याउँदै ठाउँको नाम नै माइतीघर बन्यो ।

मुर्म्बईमै मुर्हत भयो । केही दृश्य खिच्न काठमाडौँ र पोखराका ‘लोकेशन’ छानिए । छायाङ्कनका लागि प्राविधिक र सबै सामग्री संयन्त्र मुर्म्बईबाटै ल्याइयो, ट्रली-जेनेरेटरसमेत । पहिलो दिन काठमाडौँको सर्वोच्च अदालतअगाडि फिल्मको अन्तिम दृश्यको छायाङ्कन थियो। मालालाई हेर्नेहरुको भीड अनियन्त्रित भएपछि लाठीचार्ज नै गर्नु पर्‍यो । डकोटा प्लेन चढेर निर्माणटोली पोखरा पुग्यो । त्यहाँ शीर्ष गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो’, र ‘नमान लाज यसरी’ बोलको गीत छायाङ्कन गरियो । विवाह र केही खुद्रे दृश्यसमेत खिचेपछि काठमाडौँ फर्किएको टोलीले करीब दुई साता लगाएर त्रिचन्द्र, अस्कल क्याम्पस, पारस होटललगायतको आउटडोर छायाङ्कन सक्यो ।

नेपालगञ्ज, पोखरा र त्रिचन्द्र कलेजपरिसरको सांस्कृतिक कार्यक्रमलगायतका थुप्रै दृश्य सेट बनाएर मुर्म्बईमै खिचिएको बताउँछन् सहनिर्माता तथा माइतीघर निर्माणका सूत्रधार किशोर तिमिल्सिना । तिमिल्सिनाका अनुसार, मुर्म्बईमा माला सिन्हाको फुर्सद हेर्दै शुटिङको तिथि तय गरिन्थ्यो । मालाले पटक-पटक गरेर करीब ४० दिन समय निकालिन् र मुर्म्बईबासी नेपालीहरूले दिनरात मेहनत गरे ।

जयदेवले नेपालीको मन जित्ने गरी सङ्गीत दिए । मन्नाडे, आशा भोस्ले, उषा मङ्गेस्कर, गीता दत्तले निःशुल्क गाइदिए । दार्जीलिङबाट झिकाइएकि अरुणा लामाले रेकर्डिङकै बेला छोरी जन्माइन् ।

मबीबी शाहरचित ‘तिमीलाई लाख लाख वन्दना’ फिल्मको छायाङ्कन सकिएपछि मात्र रेकर्डिंग गरिएको थियो। जसलाई लता मङ्गेस्करले निःशुल्क गाइदिइन् ।

पूर्ण कथानक पहिलो नेपाली फिल्म बनाउने मुर्म्बईबासी नेपालीहरूको प्रयासलाई सुनीलदत्त, राजेन्द्रनाथजस्ता भारतीय कलाकारले समेत अतिथि भूमिकामा उभिएर हौसला दिए । कलानिर्देशक शान्तिदासको कुशलताले त कमालै गर्‍यो । उनले मुर्म्बईका स्टुडियोहरूमा नेपाली घरबैठक, सभाकक्षहरूको हुबहु प्रतिरुप तयार गरे। बिना पारिश्रमिक । नेपालगञ्जको वादी बस्तीको दृश्य। अदालतभित्रको बहस। ‘काला कर्तैले’ गीतको छायाङ्कन हेर्दा मुर्म्बईमा खिचिएको भनेर पत्याउन गाह्रो पर्छ ।

वि.सं. २०२१ मा सुरसार गरेर २०२२ मा छायाङ्कन र १ पुस २०२३ मा पाटनको अशोक सिनेमा हलमा प्रथम प्रदशन भएको ‘माइतीघर’ नेपाली व्यावसायिक सिनेमाको आधारस्तम्भ मात्रै बनेन, धेरै कलाकारका निम्ति सिने-करिअरको पुर्बाधार बन्यो । फिल्ममा जनार्दन सम डाक्टरको भूमिकामा देखा परे। २२ बर्षे यादव खरेल नायकका साथी । श्रीधर खनाल, टीकाभूषण दाहालले निर्देशक बीएस थापासँगै सम्वाद लेखे । टीकाभूषण, यामबहादुर, केशव राना, विनय शर्मा, सुनीता रेग्मी, यदुकुमारी, रतन गुरुङ लगायत धेरै नेपालीले सिने-अभिनयको स्वाद चाखे । नेपाली झण्डा उठाउँदै पसिना पसिना भएर नाचिरहेका गोपीकृष्णलाई पछ्याउँदै वसन्तजङ्ग रायमाझीले नृत्यनिर्देशनको करिअर शुरु गरे । किरण खरेलको गीतियात्राले ठूलै उँचाइ भेट्यो । २७ वर्षो उमेरमै माइतीघर जस्तो ऐतिहासिक उपहार लिएर नेपाल फर्किएका किशोर तिमिल्सिनाले पछि हरेरामहरेकृष्ण, महान, जोनी मेरा नाम, आँधीतुफान लगायतका हिन्दी सिनेमाको निर्माण-नियन्त्रणको जिम्मेवारी निर्वाह गरे । नौ लाख रुपैयाँको लागतमा त्यो इतिहास बनेको जानकारी दिँदै किशोर भन्छन्, “माइतीघर अहिले मेरै स्वामित्वमा छ ।”

बीएस थापाले माइतीघर कै कथावस्तुमा लक्ष्मी नामको हिन्दी फिल्मसमेत बनाएका थिए। जसले अपेक्षित सफलता पाएन । तर, उनले माइतीघर कै अनुभवको उपयोग गर्दै धेरै भारतीय सिनेमाको निर्देशन गरे । माला सिन्हाले दोहोर्‍याएर नेपाली फिल्म खेल्न भ्याइनन्। उनीकहाँ उपयुक्त प्रस्तावसमेत पुगेनन् । माइतीघर मा श्रीमान् र छोराको दोहोरो भूमिका निर्वाह गरेका सीपीलाई जीवनसँगी बनाएपछि नेपाल र नेपालीसँग उनको आत्मीयता बढ्यो । सीपी-मालाको पिरती गाँसिदिने सूत्रसमेत बनेको थियो त्यो फिल्म । यसका तन्नेरी अभियन्ताहरू अहिले जीवनको उत्तर्रार्द्धमा छन्, कति त बितिसके ।

व्यावसायिक नेपाली फिल्मको प्रारम्भबिन्दु मानिएको यो सिर्जना झण्डैझण्डै मिथक नै बनिसकेको छ। धेरैका लागि एकादेशको कथा ।

About the author

Artist Sansar