सृजना सिंह योञ्जन
नेपालको सांगीतिकका क्षेत्रमा गोपाल योञ्जनको नाम विशिष्ट उचाइमा छ । शास्त्रीय सुरलाई लोकलयमा फ्युजन गरेर उनले सयौँ कर्णपि्रय संगीत सिर्जना गरेका छन् । राष्ट्रिय जागरणसम्बन्धी उनका गीत अहिले पनि त्यत्तिकै सान्दर्भिक लाग्छन् । योञ्जन संगीतकार मात्रै होइनन्, मीठो स्वरका धनी गायक र मार्मिक शब्दशिल्पी गीतकार पनि हुन् । उनले संसार छाडेको तेह्र वर्ष भइसक्यो । मंगलबार जनैपूणिर्माका दिन योञ्जनको ६७औँ जन्मजयन्ती पनि हो । प्रस्तुत छ स्मृति, संगीतका त्रिवेणी गोपाल योञ्जनकी जेठी छोरी सृजना सिंह योञ्जनकै शब्दमा :
म पद्मकन्या क्याम्पस पढ्थेँ । बिहानको कक्षा थियो । मेरा लागि हटकेसमा खाना राखिएको हुन्थ्यो । कहिलेकाहीँ त खाना नै नहुने । सोध्दा बुबाले भन्नुहुन्थ्यो, ‘फलाना संगीत सिक्न आ’थ्यो । भोकै छु भनेकाले उसलाई खान दिएँ ।’
चलचित्र कान्छीको रिहर्सल हाम्रै घरमा भएको होे । त्यही चलचित्र संगीत गरेबापत बुबाले २५ हजार पारिश्रमिक पाउनुभएको थियो । पारिश्रमिक पाउनुभएको २५ हजारबाहेक थप २५ हजार बुबाको खर्च भा’थ्यो, सो फिल्म रिहर्सल सकिँदासम्ममा । जुन प्रसंग नेपाली गीत-संगीतमा पछिसम्म कफीगफका विषय बनेेको मैले पनि सुने ।
गोपाल दाइ, मैले त खाना नखाएको थुप्रै दिन भयो भनेर कसैले भन्दा बुबाले साथमा भएको रुपैयाँ दिएर पठाउनुहुन्थ्यो । आहा ! यो कमिज कति राम्रो दाइ भन्नेलाई कमिजसमेत दिएर पठाउँदा ममीले बुबाको नाम नै ‘राजा हरिश्चन्द्र’ राखिदिनुभएको मैले बिर्सेको छैन ।
संगीत सिक्न आउनेलाई हाम्रो घरको गेट सधैँ खुला हुन्थ्यो । तसर्थ, घरमा संगीत सिक्नेको क्याराभान देखिन्थ्यो । संगीत सिक्न घरमा आएका जोकोहीलाई चियादेखि, खाजा-नास्ता र खानासम्म खुवाइन्थ्यो । कतिपय आउँथे, बस्थे, खान्थे, संगीत सिक्थे अनि गेटबाहिर नपुग्दै कुरा काट्न थाल्थे ।
उल्लिखित प्रसंग मैले नजिकबाट नियालेकी मात्रै होइन, कतिपय प्रसंगका भुक्तभोगी आफैँ भएकीले मेरो बुबाको मन उदार थियो भन्दा म गलत हुन्न होला । उहाँको मन मात्रै होइन, विचार पनि उस्तै । बुबाको उदार मनका प्रसंग कति छन् कति । तपाईंसँग म संगीत सिक्न चाहन्छु भन्नेलाई बुबाले कहिल्यै नाई भन्नु भएन । त्यसो त उहाँले संगीतलाई व्यापार पनि बनाउनु भएन । संगीत सिकाएबापत मलाई यति शुल्क दिनुपर्छ भनेर बुबाले मुख फोरेको मैले कहिल्यै सुनिनँ । संगीत सिकेकाले बुबालाई पारिश्रमिक दिएको पनि मलाई थाहा भएन । मतलब कोहीसँग शुल्क माग्नु पनि भएन र पाउनु पनि भएन ।
बुबाको पहिलो प्राथमिकतामा गीत-संगीत नै पथ्र्याे । त्यसपछि मात्रै घरपरिवार । गीत-संगीतमा डुबेपछि उहाँलाई न परिवारको ख्याल हुन्थ्यो न खानपिनकै न त समयको । गोरखा दक्षिणबाहुद्वारा विभूषित गर्ने दिन सो विभूषण थाप्न जानसमेत बिर्सनुभा’थ्यो भनेपछि सहजै भन्न सकिन्छ उहाँ कुनै काममा लागेपछि त्यो कामको पूजा कतिसम्म गर्नुहुँदोरहेछ भन्ने । उहाँको त्यो बानी जीवनको आखिरीसम्म कायमै रह्यो ।
संगीतका त्रिवेणी भनेर चिनिन्छन्- गोपाल योञ्जन । मैले पनि बुबालाई त्यसरी चिनेकी हुँ । बुबालाई मैले पढेअनुसार उहाँको जेठो परिचय बन्यो संगीतकार भनेर । माइलो परिचय बन्यो- गीतकार । गायनलाई कान्छो परिचयका रूपमा बुझेकी थिएँ । कान्छो परिचय बने पनि बुबाको गायन पक्ष त्यति नै बलशाली थियो भन्ने लाग्छ ।
एकताका गोपाल योञ्जनद्वारा संगीतबद्ध गीत गाउन गायक-गायिका मरिहत्ते गर्थे । उहाँले संगीत गरेको गीत गाउन पाउनु संयोग नै मिल्नुपथ्र्यो । कतिपय त भन्थे, ‘उहाँद्वारा संगीतबद्ध गीत गाउन पाउनु अहोभाग्य हो ।’ सत्य रहेछ- मैले सुनेका ती भनाइ । किनकि बुबाले जो-जो गायक-गायिकालाई छुनु भयो, उहाँहरूको सांगीतिक उचाइ लोभलाग्दो बन्यो ।
म विद्यालय पढ्दाताका बुबाले धेरै बाँसुरी बजाउनुहुन्थ्यो । बाँसुरी बजाएको सुनेर कान्छो भाइ बुबाको खुट्टामै निदाउँथ्यो । बुबाको बाँसुरीप्रेम अजीवको थियो रे । उहाँले बाँसुरी बजाएको सुनेर भारतका फिल्म निर्देशक सत्य जित रे तीनछक परेको पनि मैले नसुनेकी होइन । फपू -बुबाकी दिदी)ले भन्नुहुन्थ्यो, ‘बुबा ११ महिनाको हुँदा हजुरबा बित्नुभएको हो । नौ-दस वर्षको हुनुभएपछि हजुरआमाले बुबालाई रासनपानी किन्न पठाउनुहुन्थ्यो । रासनपानी किन्न पठाएको रुपैयाँले एउटा होइन, एकमुठा बाँसुरी किनेर ल्याई बजाउन थाल्नुहुन्थ्यो । हजुरआमाले त्यही बाँसुरीले बुबालाई ठटाउनुहुन्थ्यो रे ।’ तिनै बाँसुरीप्रेमी बुबा कालान्तरमा नेपाली गीत-संगीतका बहुआयामिक प्रतिभाका रूपमा चिनिनुभयो । तिनै प्रतिभासँग लामो समय संगत गरेका एक गीतकारले बुबाको प्रतिभाको
सम्मान गर्दै भनेका थिए, ‘शब्दलाई संगीतमा र संगीतलाई शब्दमा अथ्र्याउन सिपालु संगीतकार गोपालले गीतकार गोपाललाई जितेको छ । अनि गीतकार गोपालले संगीतकार गोपाललाई ।’
घरपरिवार चलाउन आमाले बगाउनुभएको पसिना नै काफी थियो । आमाको कमाइमै हाम्रो परिवार आश्रति थियो । तसर्थ, पद्मकन्या क्याम्पसका प्रोफेसर बुबालाई त्यति चिन्ता थिएन । बुबाको एउटै चिन्ता थियो त केवल देश बिग्रँदै गएकोमा । उहाँले बालबाल भन्नुहुन्थ्यो, ‘अब यिनीहरूले देश डुबाउने भए ।’ बहुदलयीय प्रजातन्त्र आगमनसँगै सत्ताका लागि राजनीतिक दलका नेतामा देखिएको अस्वस्थ प्रतिस्पर्धाले उहाँमा देशप्रतिको चिन्ता बढेर गएको हो । मूलतः उहाँ भारतमा जन्मेको मान्छे । स्वविवेकले बम्बईतिर नलागेर म नेपाली हुँ, नेपालमा बस्न चाहन्छु भन्दै नेपाललाई कर्मभूमि बनाउनुुभयो । उहाँले नेपाललाई किन यति धेरै माया गर्नुहुन्थ्यो मैले बुभ\mनै सकिनँ । देशप्रति गरिएको माया उहाँका गीतहरूले प्रस्टसँग बोलेको छ । उहाँले गीतमार्फत सोध्नुहुन्छ ः
नेपाली नेपालको माया छ कि छैन
धेरै खेल्यौ नेपालको तिमी छातीमाथि
तिम्रो छातीमाझ पनि नेपाल छ कि छैन
अर्काे गीतमा उहाँ भन्नुहुन्छ, ‘सबै जाग जाग भन्छन्, तर म मात्र कसरी जागूँ, क्षयरोगी आमासँग के दूधको हक म मागूँ ।’ बुबा साँच्चै म्युजिक मायस्ट्रो नै हुनुहुन्थ्यो भन्ने लाग्छ । देशले रगत मागे, नेपाली नेपालको माया छ कि छैन, कोही पूर्व कोही पश्चिम घर, लाग्छ मलाई मेरो संसार, भरि छु साथी म भरि छु, भूल हो तेरो भागिहिँड्नु, अल्झेछ क्यारे पछ्यौरी, लौ सुन म भन्छु मेरो रामकहानी, तिम्रोजस्तो मुटु मेरो पनि, गल्ती हजार हुन्छन्, हिमालसरी म अग्लिरहेछु आदि गीतको शाब्दिक अर्थ पछिल्लो समयमा बुझ्न थालेकी छु ।
ख्यालठट्टा गर्दै, कथा भन्दै गणित र नैतिक शिक्षाको पाठ पढाइरहेको हुन्छ, बुबाका बालगीतहरूले । उहाँको नारी सशक्तीकरण र जागरणबारे ओतप्रोत गीत उहिल्यै सुनिएको हो । बुबामा विभिन्न विधाका गीत-संगीत सिर्जना गर्न सक्ने क्षमता थियोे । नेपाली गीत-संगीतमै उहाँजस्ता प्रतिभा सायदै थिए । उहाँ कलाकार मात्रै नभएर राजनीतिक चेत भएको दूरदर्शी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको ३७ वर्ष पुरानो ‘डाँफेचरी’ नामक म्युजिकल ब्यालेलाई भिडियो फिल्ममा उतारेका छौँ हामीले । कालान्तरमा तराई-पहाडबीच विकराल समस्या आउन सक्छ भनेर नै उहाँले तराई-पहाड मिली बनोस् यो भूमि पवित्र भनेका छन् आफ्ना गीतहरूमार्फत । बुबाको मृत्युपछि पनि परिवारकै पहलमा उहाँको सांगीतिक सम्पत्ति जोगाउने काम भइरहेको छ ।
बुबाले कहिल्यै आफूबाट टाढा राख्न चाहनु भएन मलाई । जसले गर्दा मैले देखेको केही सपना कहिल्यै पूरा भएनन् । भाइहरू कालेम्पोङ -भारत) पढ्न गए । पूर्ण छात्रवृत्ति पाउँदा-पाउँदै पनि मलाई भने बुबाले भारतसमेत पढ्न जान दिनु भएन । मेरा थुप्रै साथी अमेरिका पढ्न गए । मैले पनि त्यो अवसर नपाएको होइन, तर बुबाको एउटै चाहना थियो मैले नेपालमै पढूँ ।
कत्ति पनि लोभलालच थिएन बुबासँग । कमर्सियल माइन्ड भएको भए उहाँले काठमाडौँमा थुप्रै जग्गा-जमिन, घर-घडेरी जोड्न सक्नुहुन्थ्यो । त्यस्तो कहिल्यै सोच्नु भएन । बरु बुबाको नामलाई कतिले भर्याङ बनाएर आफ्नो स्वार्थसिद्ध गरे । नजानिदोपाराले अहिले पनि त्यसो गर्न खोज्छन् कतिपय । बाँचुन्जेल बुबाले कहिल्यै कोहीसँग हात पसार्नु भएन । न सरकारप्रति न अरू कसैप्रति । आजसम्म हामीले पनि बुबाको त्यो स्वाभिमान बन्धकी राख्नु परेको छैन ।