सेलिब्रेटीका फेभरेट डिजाइन, कसैको ट्रोल , कसैको प्रसंशा

सेलिब्रेटीहरूको पहिरनशैलीलाई आकर्षक बनाउने फेसन डिजाइनहरूले समेत आफूलाई क्रियटिभ र फरक देखाउन खोजिरहेका हुन्छन् । धेरैजसो अभिनेत्री तथा गायिकाहरू आकर्षक पहिरन बनाउने यस्तै अब्बल डिजाइनरहरूका डिजाइन लगाउँछन् । नेपालका चल्तीका सेलिब्रेटीहरूका पनि आ–आफ्नै फेभरेट डिजाइनर छन् ।

कलाकारिताको संसारमा फिटनेस र अभिनयको जति महत्त्वका साथ चर्चा गरिन्छ, त्यति नै उनीहरूको पहिरनशैलीबारे पनि चासो राख्ने गरिन्छ । पहिरन शैलीकै विषयमा ठूला समाचार र गसिपहरू बनिरहेका हुन्छन् । पहिरनशैलीले नै कहिलेकाहीँ वाहीवाही पाइरहेको हुन्छ भने कहिले सेलिब्रेटीलाई विवादमा पारिरहेको हुन्छ ।

त्यसैले प्राय: सेलिब्रेटीहरू सदैव आफ्नो पहिरनप्रति सचेत हुने गर्छन् । उनीहरू विभिन्न सभा–समारोहमा पुग्दा क्यामेरा र दर्शकको ध्यान आफूतिर हुन्छ भन्नेमा सतर्क हुन्छन्, कति त दर्शकको ध्यान आफैंतिर तान्न प्रयासरत समेत रहन्छन् । त्यसका लागि आकर्षक शैलीका पहिरनमा सजिएर सभा/समारोह र सार्वजनिक स्थलमा पुगिरहेका हुन्छन् । अहिले सेलिब्रेटीलाई आकर्षण झन् उम्दा बनाउने डिजाइनहरूको पनि बजारमा उल्लेख्य चर्चा भइरहेको हुन्छ ।

सेलिब्रेटीहरूको पहिरनशैलीलाई आकर्षक बनाउने फेसन डिजाइनहरूले समेत आफूलाई क्रियटिभ र फरक देखाउन खोजिरहेका हुन्छन् । धेरैजसो अभिनेत्री तथा गायिकाहरू आकर्षक पहिरन बनाउने यस्तै अब्बल डिजाइनरहरूका डिजाइन लगाउँछन् । नेपालका चल्तीका सेलिब्रेटीहरूका पनि आ–आफ्नै फेभरेट डिजाइनर छन् । त्यसो भए कसलाई आकर्षक देखाउन पर्दा पछाडिबाट कसले काम गरिरहेको छ त ?

अभिनेत्री ऋचा शर्माको पहिरनको डिजाइन शिवांगी प्रधानले गर्छिन् । एक महिनाअघि वैवाहिक जीवनमा बाँधिएकी ऋचाको बेहुलीको पहिरनको डिजाइन प्रधानले नै गरेकी हुन् । साथै विवाहपूर्वको ब्याचलर पाटीे ड्रेसको डिजाइन पनि उनैले गरेको ऋचा बताउँछिन् । त्यसो त शिवांगी ऋचाको फेभरेट डिजाइनर हुन् ।

स्वर्णिम राई र रविन परियार अभिनेत्री आँचल शर्माको फेभरेट डिजाइनरमा पर्छन् । सारी लेहेंगाको आवश्यकता पर्‍यो भने उनी स्वर्णिम राईकोमा पुग्छिन् । स्वर्णिमले गरेको सारी, लेहेंगाको डिजाइन आफूलाई मन पर्ने शर्मा बताउँछिन् । यस्तै शर्मा क्याजुअल ड्रेसको पहिरन भने रविन परियारको डिजाइनमा लगाउँछिन् । ‘रविन परियारको क्याजुअल ड्रेस डिजाइनिङ असाध्यै मनपर्छ,’ शर्मा भन्छिन्, ‘डेढ वर्षयता उहाँको डिजाइनका कपडाहरू लगाउँदै आएकी छु ।’ फागुनमा विवाह गर्ने तयारीमा रहेकी शर्माको बेहुलीको पहिरन डिजाइन कसले गर्ला त ? उनी भन्छिन्, ‘त्यो बारेमा सोचेको छैन । सायद उहाँहरू दुई जनामध्ये एकलाई जिम्मा दिन्छु होला ।’

इन्दिरा जोशी फेसन कन्सस भएकी गायिकामा पर्छिन् । दामी बाई शरदका शरद केडिया, शुभेच्छा भँडेल र स्वर्णिम राई उनको फेभरेट डिजाइनर हुन् । दामी बाई शरद उनलाई मनपर्ने ब्रान्ड हो । उनले केडियाको डिजाइनका पहिरन लगाउनका थालेको करिब ६ महिना भयो । केडियाले डिजाइन गर्ने कपडाको फेब्रिक र फिनिसिङ आफूलाई मनपर्ने जोशी बताउँछिन् । यस्तै चार वर्षयता जोशीले क्रसरोड एपरेलकी शुभेच्छा भँडेलले डिजाइन गरेका ड्रेस पनि पहिरिँदै आएकी छिन् । ‘मलाई उहाँको व्यवहारले नै अहिलेसम्म तानिरह्यो,’ नेपाल आइडलकी जजसमेत रहेकी जोशी भन्छिन्, ‘नयाँ पुराना कलाकार सबैलाई एउटै व्यवहार गर्नुहुन्छ, त्यो बानी मलाई मन पर्छ ।’

नेपाल आइडलको हरेक शृंखलामा जोशीलाई फरक–फरक पहिरनमा देखिन्छ । उनको उक्त पहिरनको डिजाइन केडिया र भँडेलले नै गर्छन् । साथै जोशीको फेभरेट डिजाइनर स्वर्णिम राई पनि हुन् । उनी सारी, लेहेंगाजस्ता परम्परागत पहिरन राईको डिजाइनिङमा लगाउने गर्छिन् ।

कुनै बेला पहिरनको अभावमा थुप्रै महत्त्वपूर्ण कार्यक्रममा नगएको तितो अनुभव अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलासँग छ । ‘अहिले बुटिक हाम्रो साथी भएका छन्,’ उनी भन्छिन्, ‘भोलि कुनै कार्यक्रममा जानु छ भने अघिल्लो दिन नै कुन ड्रेस लगाउने होला भन्ने चिन्ता लिनु पर्दैन ।’ रातारात डिजाइनरले उनलाई आवश्यक ड्रेस तयार गरिदिन्छन् । कायरा बुटिककी रोजिना श्रेष्ठ, काजल क्रियसनकी काजल थापा, अवानी बुटिककी अवानी, जुन्जेलीकी सुनिता उप्रेती उनका फेभरेट फेसन डिजाइनर हुन् । यिनैले उनलाई विभिन्न समारोहमा फरक–फरक गेटअपमा देखाउँछन् । दीपाश्रीलाई यी डिजाइनरमात्रै किन मनपर्छन् त ? उनी भन्छिन्, ‘उनीहरूले म जस्तो छु त्यस्तै प्रकृतिको पहिरन लगाउन सुझाव दिन्छन्,’ निरौला थप्छिन्, ‘नयाँ फेसन आयो भन्दैमा मलाई भड्किलो हुन दिँदैनन् ।’

दीपाश्रीले कायरा बुटिककी रोजिनाको डिजाइनका पहिरन लगाउन थालेको करिब १० वर्ष भयो । हाल मुन्द्रेको कमेडी क्लबमा उनले लगाउने पहिरनको डिजाइन रोजिनाले नै गर्छिन् । यस्तै गीतको भिडियो र विज्ञापनको अभिनयका लागि भने उनले काजल थापाले डिजाइन गरेको पहिरन लगाउँछिन् । अवानी बुटिककी अवानी सिंह पनि दीपाश्रीलाई मन पर्ने डिजाइनर हुन् । विशेष गरी गाउन, सिक्वेन्स सारीको डिजाइन सिंहले गर्ने गरेको निरौला बताउँछिन् । चलचित्र, विज्ञापनको आवश्यक पहिरनका लागि उनले जुन्जेलीकी सुनिता उप्रेतीलाई सम्झन्छिन् । उप्रेती पनि उनलाई मन पर्ने फेसन डिजाइनर हुन् ।

करिश्मा मानन्धर पहिरनमा ध्यान दिने अभिनेत्रीमा गनिन्छिन् । उनलाई किरण राणाको कलेक्सन निकै मन पर्छ । ‘विशेष गरी किरण राणाले कलेक्सन गरेको सारी लगाउँछु,’ उनी भन्छिन्, ‘किरणले सारी, लेहेंगाको राम्रो कलेक्सन ल्याउने भएकाले पनि मन पर्छ ।’ किरणले भारतमा चलेका सारीहरू कान्जिपुरम, सत्य पललगायतका ब्रान्ड ल्याउँछिन् । यस्तै, तेन्जिङ भुटिया उनलाई मन पर्ने फेसन डिजाइनर हुन् । त्यसैले कुनै बेला उनी भुटियाको डिजानिङका पहिरन लगाउँछिन् । साथै कहिलेकाहीँ नयाँ–नयाँ फेसन डिजाइनरहरूलाई हौसला बढाउनका लागि नयाँ डिजाइनरका पहिरन लगाइदिने गरेको करिश्मा बताउँछिन् ।

गत जेठमा अस्ट्रेलियामा चलचित्र जात्रैजात्राको प्रिमियरमा अभिनेत्री वर्षा राउतले लगाएको पहिरनले सिने नगरीमा खुबै तहल्का मच्चाएको थियो । सिड्नीमा आयोजित उक्त कार्यक्रममा वर्षाले छातीको आधा भाग देखिने कालो र सेतो रंगको लामो खुलेको गाउन लगाएकी थिइन् । त्यही पहिरनको विषयलाई लिएर त्यतिबेला उनी हट टपिक बनेकी थिइन् । उक्त गाउनको डिजाइन उनको फेभरेट डिजाइनर सुनिता श्रेष्ठले तयार पारेकी हुन् । चलचित्रको कार्यक्रम र सुटिङका लागि पहिरन आवश्यकता पर्‍यो भने उनी श्रेष्ठलाई नै सम्झन्छिन् ।

‘कुनै बेला हतारमा कुनै कपडा चाहियो भने सुनिता श्रेष्ठलाई भन्छु,’ राउत भन्छिन्, ‘उहाँले मलाई चाहिएकै समयमा तयार पारिदिनुहुन्छ, साथै उहाँको फिनिसिङ पनि राम्रो लाग्छ ।’ यस्तै लेहेंगा र कुर्ता सुरुवालका लागि भने स्वर्णिम राई उनको रोजाइमा पर्छिन् । उनले इन्गेजमेन्टमा राईले नै डिजाइन गरेको पहिरन लगाएकी थिइन् । ‘उहाँको डिजाइन युनिक लाग्छ,’ उनी भन्छिन्, ‘उहाँले डिजाइन गरेका पहिरनका फिटिङ पनि राम्रो हुने भएकाले मन पर्छ ।’

राउतले स्वर्णिमको डिजाइनको कपडा लगाउन थालेको डेढ वर्ष भयो । यस्तै ओड्नी बुटिककी खुस्बु डंगोल पनि राउतको फेभरेट डिजाइनरमा पर्छिन् । उनले डंगोलको डिजाइनका कपडा लगाउन थालेको करिब ३ महिना भयो । ‘उहाँको कपडाको गुणस्तर राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘उहाँले ग्राहकसँग गर्ने व्यवहारले मलाई लोभ्यायो ।’

अभिनेत्री रिमा विश्वकर्मा पहिरनप्रति निकै सचेत छिन् । उनको पर्सनल स्टाइलिस सोनी सिन्जाली मगर हुन् । उनैको सुझावअनुसार पहिरनको छनोट गर्ने गरेको रिमा बताउँछिन् । उत्तम बनेपाली उनको फेभरेट डिजाइनरमध्येमा पर्छन् । संघर्षका दिनदेखि नै आफूले बनेपालीकै डिजाइनका ड्रेस लगाउँदै आएको विश्वकर्मा बताउँछिन् । ‘उत्तम दाइको डिजाइनमा फिटिङ निकै मन पर्छ,’ उनी भन्छिन्, ‘उहाँँमा क्यामेराको सेन्स राम्रो छ, त्यसैले बाहिर लगाउने र क्यामेरामा देखिने ड्रेसको डिजाइन त्यसैअनुसार गरिदिनुहुन्छ, त्यसैले उहाँसँग काम गर्न सजिलो लाग्छ ।’ रिमालाई बनेपालीको डिजाइनले ध्यान खिच्नुको कारण यतिमात्र होइन, कहिलेकाहीँ हतारमा चाहिएको पहिरन पनि सहजै उपलब्ध गराइदिन्छन् । चलचित्र कोहलपुर एक्सप्रेसको गीत सीओडब्लू काउ र जोनी जेन्टलमेनको गीतको भिडियोमा उनले बनेपालीले डिजाइन गरेको पहिरन लगाएकी छिन् ।

यस्तै आरजु क्लोदिङकी आरजु श्रेष्ठ पनि उनलाई मनपर्ने डिजाइनर हुन् । हाल कमेडी च्याम्पियनमा उनले आरजुकै डिजाइनका पहिरन लगाएकी छिन् । ‘आरजुकोमा प्राय: पार्टी वेयर छ,’ रिमा भन्छिन्, ‘मेरा लागि उहाँले सारी, लेहेंगाको पनि डिजाइन गर्नुहुन्छ ।’ यस्तै तेन्जिङ छेतेन भुटिया पनि रिमाको फेभरेट डिजाइनरमा पर्छन् । चलचित्र भिसा गर्लमा भुटियाको डिजाइनको पहिरन लगाएकी थिइन् । रेडिमेड पहिरनका लागि भने रिमा केडिए स्टोर र मेरिलिन स्टोर नक्साल पुग्छिन् भने फर्मल वेयरका लागि कासा स्टायल जाने गरेको रिमा बताउँछिन् ।

पूर्व मिस नेपाल तथा सञ्चालिका माल्भिका सुब्बालाई शुभेच्छा भँडेल, आश्तिक शेरचन, तेन्जिङ भुटिया, मनिष राई मन पर्ने फेसन डिजाइनर हुन् । उनले शुभेच्छाको डिजाइनका पहिरन लगाउन थालेको करिब ९ वर्ष भयो । गाउन, कोटलगायतका पहिरन शुभेच्छाको डिजाइनिङमा लगाउने गरेको उनी बताउँछिन् । यस्तै आस्तिक शेरचनको डिजाइन पनि खुबै मन पर्ने सुब्बा बताउँछिन् । उनलाई आस्तिकले डिजाइन गरेको कुर्ता मन पर्छ ।

‘आस्तिकले सफ्ट कलर प्रयोग गर्छन्,’ सुब्बा भन्छिन्, ‘मलाई उनको क्रिएटिभ मन पर्छ । तेन्जिङले एउटा फोटोसुटका लागि डिजाइन गरेको गाउन उनलाई असाध्यै मनपर्‍यो । ‘तेन्जिङको अन्तर्राष्ट्रिय स्तरको डिजाइन हुन्छ,’ उनी भन्छिन्, ‘सन् २०१२ देखि तेन्जिङले डिजाइन गरेको पहिरन लगाउँदै आएकी छु ।’ मनिष राई पनि माल्भिकाको मन पर्ने डिजाइनर हुन् । उनलाई मनिषको डिजाइनमा तयार भएको सारी ड्रेस मन पर्छ ।

अभिनेत्री श्वेता खड्कालाई मन पर्ने फेसन डिजाइनर थुप्रै छन् । मञ्जु ढकाल, रोबिन परियार, स्वर्णिम राई, सविना महर्जन, रोजिना श्रेष्ठलगायत उनका रोजाइका डिजाइनर हुन् । रोजिना उनको बाल्यकालकी साथीसमेत हुन् । यद्यपि उनले रोजिनाको डिजाइनका पहिरन लगाउन थालेको पाँच वर्ष भयो । ‘जाडो/गर्मी दुवै मौसममा मलाई आवश्यक पर्ने पहिरनको डिजाइन रोजिनाले नै गर्छिन्,’ उनी भन्छिन्, ‘उनले डिजाइन गरेको ड्रेसमा मैले धेरै फोटोसुट गरेकी छु ।’ यस्तै इभेन्टका लागि भने उनले रोबिनले डिजाइन गरेको ड्रेस लगाउँछिन् ।

‘रोबिनसँग मेरो ट्युनिङ मिल्छ,’ श्वेता भन्छिन्, ‘त्यसैले उसको डिजाइनको ड्रेस लगाउँदा मन ढुक्क हुन्छ ।’ श्वेताको पछिल्लो चलचित्र कान्छीमा रोबिनले नै फेसन डिजाइनिङ गरेका छन् । सारी, लेहेंगाका लागि भने उनी फेसन डिजाइनर मञ्जु ढकालकहाँ पुग्ने गर्छिन् । ‘उहाँको डिजाइन फरक लाग्छ,’ उनी भन्छिन्, ‘मञ्जुको डिजाइनको ड्रेस लगायो भने जहाँ पनि तारिफ मिल्छ ।’ श्वेतालाई स्वर्णिम राईको डिजाइन फलो गर्ने तरिका मनपर्छ । त्यसो उनी सारी लेहेंगा, रिजनल वेयरका लागि स्वर्णिमलाई रोज्छिन् । सविना महर्जनको कलर कम्बिनेसनले श्वेताको ध्यान खिच्छ । सविनाको सारी, लेहेंगा डिजाइन मनपर्ने श्वेता बताउँछिन् ।

About the author

आर्टिस्ट संसार