वर्षातमा यसरी देखिनुहोस! बोल्ड एन्ड ब्युटिफुल

IN FRAME: barsha Siwakoti, Namrata Shrestha and Samragee Rl Rana

फेसन ट्रेन्डमा हिँड्न कसलाई पो मन नलाग्ला र ? फेसन पारखीहरूले समरलाई बेस्ट सिजनका रूपमा लिए पनि अहिले जो–कोही विन्टरमा समेत स्मार्ट लुक्स दिन माहिर भैसकेका छन् । यद्यपि वर्षातको समयमा भने फेसनेबल र चुजी पुस्तालाई पहिरनको मामिलामा केही सकस हुन्छ । आकाश खुल्दा होस् वा पानी पर्दा वरिपरिको वातावरण जसरी मनमोहक देखिन्छ, त्यसरी नै आफ्नो आउटफिटलाई पनि अनुकूल बनाउन सके पक्कै बोल्ड एन्ड ब्युटिफुल देखिन सकिन्छ । यस सामग्री तयार बनाउने क्रममा फेसन डिजाइनर आस्तिक शेरचन, मञ्जु ढकाल तथा रश्मि तण्डुकारसँग वर्षातको फेब्रिक, डिजाइन एवं एसेसरिजका सम्बन्धमा सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानी:

सही फेब्रिकको छनौट
वर्षातमा कटन, लाइक्रा, नाइलन आदि फेब्रिकको पहिरन लगाउन सकिन्छ । कटन फेब्रिकमा पानीले भिजेको अवस्थामा पनि स्किनमा एलर्जी हुँदैन । कटन सुक्न समय लाग्ने भएकाले तत्काल फेरिहाल्नुपर्छ । त्यस्तै नाइलन वा लाइक्रा कटनको तुलनामा छिट्टै सुक्छ । भिजेको छ भने पनि शरीरमा टाँसिँदैन, तर यी फेब्रिक स्किन र स्वास्थ्यका हिसाबले त्यति उपयुक्त मानिँदैनन् । यद्यपि यो मौसममा स्टाइलिस्ट देखिन नाइलन वा लाइक्रालाई नै परफेक्ट फेब्रिक मानिन्छ । अहिले पोलिस्टर मिक्स कपडा बढी चल्तीमा छन् । वर्षातका लागि यो फेब्रिक एकदमै उपयुक्त छ । जर्जेट तथा सिफन भिजेपछि शरीरमै टाँसिने हुँदा यतिबेला यी फेब्रिक उपयोग नगरेकै राम्रो हुन्छ । यद्यपि जर्जेट, सिफन आदि हावाकै भरमा छिटोभन्दा छिटो सुक्छन् ।

डिजाइन र रंग
फेसन डिजाइनर मञ्जु ढकाल वर्षातको मौसमलाई अझ रोमाञ्चक बनाउन छोटो वान पिस तथा स्कर्टलाई प्राथमिकता दिन सुझाव दिन्छिन् । ढकालका अनुसार वर्षातमा उज्यालो रंग तथा छोटो पहिरनमा विशेष रूपमा खुल्न सकिन्छ । मिड लेन्थ ड्रेस स्कर्ट, वान पिस वर्षातका लागि एकदमै उपयुक्त छ । यतिबेला चारैतिर हरियाली र फूलका अनेक रंगले उत्तिकै रमाइलो वातावरण हुन्छ । यो मौसममा बोल्ड प्रिन्ट तथा रंग प्रयोग गरी प्रकृतिको नजिक हुन सकिन्छ । यतिबेला रातो, पहेंलो, हरियो तथा नीलोमा सबैभन्दा गाढा रंगको फ्लोरल स्कर्टका साथमा सेतो, खरानी, पिंक आदि बेसिक रंगको सटर््स वा टप लगाएर मनसुन लुक प्राप्त गर्न सकिन्छ । यदि चम्किला रंग प्रयोग गर्न मन छैन भने चेरी, पिच, म्यांगो एल्लो आदि म्युटेड शेड्स प्रयोग गर्नुपर्छ । यसले शालिन लुक्स देखाउँछ । त्यस्तै डिजाइनर आस्तिक शेरचन मुनिको पहिरनजस्तै पाइन्ट, स्कर्ट, प्लाजा, सुरुवाल आदिमा जतिसक्दो गाढा रंग नै प्रयोग गर्ने सुझाव दिन्छन् । हट लुकका लागि स्ट्चे कोट, सिम्पल कटन तथा फिटिङ टप लगाउन सकिने शेरचनले बताए ।

रबरको एसेसरिज
वर्षातमा कम एसेसरिज प्रयोग गर्नुपर्छ । पानी पर्दा हावाले त्यसको रंग फिक्का बनाइदिन्छ र कतिपय त बिग्रन्छन् पनि । सकेसम्म वाटरप्रुफ जुत्ता लगाउनुपर्छ । यो मौसममा हिल जुत्ता सकभर नलगाउनु नै उचित हुन्छ । रबर वा जेली जुत्ता तथा एसेसरिजहरू अहिले निकै चल्तीमा छन् । त्यस्तै कलरफुल रेनकोट तथा छाता प्रयोग गरी वाटरप्रुफ बोल्ड कलरका घडी लगाउँदा आकर्षक, फरक अनि बोल्ड देखिन सकिन्छ ।

वर्षातमा यी चिजहरूबाट जोगिऊँ
वर्षातमा टाइट कपडा सकभर नलगाउने सुझाव दिन्छिन्, फेसन डिजाइनर रश्मि तन्डुकार । अरू बेलाको तुलनामा यो मौसममा पसिना अलि बढी आउँछ । त्यसैले टाइट पहिरन लगाउँदा छालामा एलर्जी आउने सम्भावना हुन्छ । यो मौसममा कटन वा छालाका ब्याग बोक्नुभन्दा वाटरप्रुफ ब्याग बोक्नु सुरक्षित हुन्छ । वाटरप्रुफ ब्यागमा भित्रका सामान तथा कागजातहरू पनि सुरक्षित रहन्छन् ।

वर्षात र साउनको पहिरनमा स्टाइलिस्ट देखिन
कटनको हरियो प्लेन कुर्ता–सलवारमा प्रिन्टेड सल आकर्षक देखिन्छ । यसमा ठूलो एयररिङ लगाउँदा अझ खुल्छ । जिन्स पाइन्ट लगाउने हो भने त्यसको माथि वेस्टेन टप्स लगाएर सललाई कम्मरमा ड्र्यापिङ गर्दा आकर्षक देखिन सकिन्छ । यतिबेला जिन्स पाइन्टमा साइड चिरिएको कुर्ती पनि उपयुक्त हुन्छ । यसका साथै कुर्तीको गलामा विभिन्न डिजाइन र वर्क गराएर फरक देखिन सकिन्छ । थाईको भागसम्म एकतर्फ चिरिएको वानपिस ग्ल्यामरस हुन्छ । यदि सिम्पल वन पिस लगाउने हो भने घाँटीमा नेकलेस वा एयररिङजस्ता गहना लगाउन सकिन्छ । यसका साथै कम्मरमा बेल्टसमेत प्रयोग गर्न सकिन्छ । साउन महिना भएकाले यतिबेला हरियोमा पनि डार्क, लाइट, ओलिभ तथा मिक्स कलर प्रयोग गर्न सके स्टाइलिस्ट लुक्स प्राप्त हुन्छ ।

About the author

आर्टिस्ट संसार