करिअरको छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका अनमोल केसीलाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । वर्तमान परिपेक्षमा नेपाली फिल्ममा सर्वाधिक बढी खोजिने र चासो दिइने अभिनेता हुन् । उनको नामले नै फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्ने विश्वास मेकरमा छ ।
गएको वर्षको अन्तिममा उनको फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनमा आएको थियो । यो फिल्मले बक्सअफिसमा सानदार व्यापार गर्यो । साथै, अनमोलको स्टारडम पनि ठूलो बनायो । ‘ए मेरो हजुर ३’ पछि उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ को तयारीमा जुटेका थिए । तर, यो फिल्म तत्काल निर्माण नहुने भएको छ ।
स्क्रिप्टमा अझै समय लाग्ने भएपछि उनले मंगलबार निर्देशक साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ साइन गरे, करीब ५० लाख पारिश्रमिकमा । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि केही दिनयता अनमोल वर्कसपमा व्यस्त छन् । अहिलेसम्म फिल्ममा आफ्नो चरित्रलाई आत्मसात् गर्न नसकेको आरोप खेप्दै आएका उनले यो फिल्ममा आफ्नो च्यालेन्जिङ रोल रहेको बताएका छन् ।
‘एन्टी हिरो’ को निर्माण केही समयका लागि पोस्टपोन्ड भएपछि ‘धुपौरे’ गर्न राजी भएका अनमोल फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको बताउँछन् । सो फिल्ममा अहिलेसम्म उनी मात्र फाइनल भएका छन् । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ । यसमा अनमोलको जोडी नयाँ अभिनेत्रीसँग बाँधिने बताइएको छ । फिल्म यसै वर्षभित्र प्रदर्शनमा आउने सम्भावना छ ।