कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको निधन

Written by Artist Sansar

2014-04-14 | आर्टिस्ट नेपाल नेटवर्क
कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको आइतबार बेलुका निधन भएको छ। शनिबार बेलुका हृदयाघातपछि उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। ७२ वर्षीय अधिकारीको सहिद गंगालाल हृदयरोग केन्द्रमा आइतबार बेलुका सवा आठ बजे निधन भयो।

२०३४ सालमा रेकर्ड भएको ‘म त लालीगुराँस भएँछु’ गीतबाट उनी चर्चित भएका थिए। नारायणगोपालको स्वरमा रेकर्ड भएको गीत उनको पहिलो रेकर्डेड गीत हो । उहाँका गीतलाई बच्चुकैलास, नारायणगोपाल, रामकृष्ण ढकाल सत्यस्वरूप आचार्यले गाएका छन् । उहाँद्वारा रचना गरिएको र योगेश्वर अमात्यले गाएको गीत ‘क्या बोर भयो…’ रामकृष्ण ढकालले गाएको गीत ‘जिन्दगीमा…’ नारायण गोपालको ‘मलाई छोडी मेरो छाया…’ बच्चु कैलाशको स्वर रहेको ‘तिमीले त होइन तिम्रा आँखाहरूले…’ आदि चर्चित छन्। उनका गीतहरूमा राष्ट्रियता, प्रकृति प्रेम, जनजीवनजस्ता विषयवस्तु समेटिएका हुन्छन्।

साझा यातायातको कन्डक्टरको रूपमा करिअर सुरु गरेका क्षेत्रप्रताप सदस्यसचिव हुँदै साझाको अध्यक्षसम्म भएका थिए। २०४३ साल वैशाखमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनले तनहुँबाट चुनाउ जितेर शिक्षा सहायकमन्त्रीसम्म भएका थिए।

उहाँका रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।

१९९९ सालमा तनहुँका मिर्लुङमा जन्मिएका क्षेत्रप्रतापले २०५३ सालको छिन्नलता गीत पुरस्कार पाएका थिए। उनको कृति ‘नफूलेका फूल’ लाई साझा पुरस्कार प्रदान गरिएको थियो।

About the author

Artist Sansar