कुमार कान्छा गम्भीर बिरामी, सहयोगको लागि याचना

Written by Artist Sansar

थुप्रै नेपाली चलचित्रमा स्वर दिइसकेका गायक कुमार कान्छा केही समयदेखि गम्भीर बिरामी परेका छन् । डेढ महिनादेखि मुम्बईको माहिमपश्चिम एसएल रहेजा अस्पतालमा उपचार गराइरहेका छन् ।
केही महिनाअघि काठमाडौं आएर विभिन्न नेपाली गीतको रेकर्डिङ गरेर फर्किएका कान्छामा स्पाइनल कर्डमा ट्युमर देखिएको थियो । ट्युमरको अप्रेसनपश्चात उनको शरीरको माथिल्लो भाग चले पनि तल्लो भाग र दुवै खुट्टा चलेका छैनन् ।
उनको उपचारार्थ हालसम्म भारु ५ लाख रुपैयाँ खर्च भइसकेको छ । निकै महँगो र स्तरीय मानिएको रहेजा अस्पतालमा उपचार गराउने क्रममा आर्थिक कमी भएपछि उनले आफ्नो बस्दै आएको घरसमेत धितोमा राखेर ३ लाख रुपैयाँ लिएका छन् । बिरामी भएपछि उनी निकै दुब्लाएका छन् । उनी राम्रोसँग बोल्न पनि सकिरहेका छैनन ।
मुम्बईको गोरेगावँ पश्चिम ओशिविरामा दुई छोरा (विवेक र विनायक) तथा श्रीमती कविता शाहका साथमा रहँदै आएका कुमार कान्छाले करिब डेढ महिनादेखि अस्पतालमा बस्नुपर्दा अति नै समस्या भएकोले कुमार कान्छा भनेर माया गर्ने सम्पूर्ण नेपालीहरुसंग सहयोगको याचना गरेका छन ।

को हुन कुमार कान्छा

प्रसिद्ध गायक कुमार कान्छाको जन्म २०१४ मंसिर २८ गते कोलकातामा (कलकत्ता) भएको हो । उहाँको पिता मनबहादुर शाह जागिरको सिलसिलामा दैलेखबाट कोलकाता (कलकत्ता) पुगेका बेला कुमार जन्मनुभएको हो । कुमारले नेपालका एक सयभन्दा बढी चलचित्रमा र धेरै कलेक्सन एल्बमका लागि गीत गाउनुभएको छ । ‘लाहुरे’, ‘कोसेली’ जस्ता चलचित्रमा अभिनय पनि गर्नुभएका कुमाराले चलचित्र बाहेक गाएका नेपाली गीतहरू संगालेर उहाँका दुई क्यासेट चक्का (एल्बम) बजारमा निकाली सक्नु भएको छ ।
भारतमा भने उहाँले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाउनुभएको छ । ‘पीया कर गावँ’ नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत राष्ट्रियस्तरको पुरस्कार समेत पाउनुभएको छ । कुमार कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली आदि २५ भाषामा सयौं गीत गाइसकेका छन् ।
साईनो चलचित्रको लागि ‘आमैले भन्थे धाराको पानी………….’ पहिलो गीतको रूपमा गाउनु भएको कुमारले त्यही साईनो चलचित्रको सम्झनालाई अझ प्रगाढ बनाउन र आफ्नो गीत गायनको २५ औं बर्ष पुगेको अवसरमा ‘साईनो’ नामक एल्बम निकाल्न तरखर गर्दै थिए ।

About the author

Artist Sansar