रहेनन् छायाँकार जावेद शाह

Written by Artist Sansar

चलचित्र छायाकार जावेद शाहको निधन भएको छ । ९० को दशकमा एकसेएक सुपरहिट चलचित्र खिचेका उनको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षको उमेरमा हृदयघातका कारण निधन भएका उनको विहीवार मुश्लिम परम्परा अनुसार अन्तिम दाह संस्कार भइसकेको छ । उनको निधनको खबर भने शुक्रवार मात्र बाहिरिएको हो । शाहको श्रीमती र दुई छोरा छन् ।

रुसमा चलचित्र सम्बन्धि अध्ययन गरेर फर्किएपछि सन् १९८३ मा उनले चलचित्र ‘बदलिँदो आकाश’ मा सहायक छायाँकारको रुपमा काम गरेका थिए । शाहले पूर्ण छायाँकारका रुपमा चलचित्र ‘भाग्य रेखा’ मा काम गरेका थिए, जुन अभिनेता राजेश हमालले अभिनय गरेको पहिलो चलचित्र हो । तर, आधा छायांकन नहुँदै उनी चलचित्रबाट निकालिएका थिए, त्यसमा जावेद शाहको पनि हात रहेको भन्ने गरिन्छ ।

शाहले ‘विजय पराजय, युगदेखि युगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतीक्षा, ज्वाला, अवतार, रानी खोला’ लगायत दर्जनौं चलचित्र खिचेका छन् । उनले अन्तिम पटक क्यामेरा चलाएको चलचित्र ‘मनको टुक्रा’ सन् २००४ मा प्रदर्शन भएको थियो । उनले एक मैथली चलचित्रमा समेत काम गरेका छन् । पछिल्लो समय उनी पारिवारिक जीवन विताउँदै आएका थिए ।

About the author

Artist Sansar