अजम्बरी गीत र मेरा अजर, अमर रातहरू

Written by Artist Sansar

-प्रकाश सायमी

नेपालमा एफएम रेडियोको आगमन ।

आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र, मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको थिएँ । यो कार्यक्रम सञ्चारकर्मी हरिशरण लामिछानेको स्नेहादरले चलाएको थिएँ र यो कार्यक्रमको समाप्ति पनि म स्वयंले काठमाण्डू एफएम बन्द हुने दिन गरेको थिएँ । काठमाण्डू एफएममा रोबिन शर्मा, श्रद्धा शाह, कविता शेरचन र हरिशरण लामिछाने आवद्ध थिए । रोविन शर्मा, प्रकाश अधिकारी र शक्तिवल्लभ सहपाठी थिए र मेरा निकट । रोबिन केही समयअगाडि मेरो चलचित्र जनम मा एउटा पाश्र्व गीत गाएका थिए , मित्र नै थिए । संगीतबारे किताब लेख्छु भन्थे । तर उनले लेखेनन् मैले लेखे । उनको कारणले नभइ मलाई मेरा प्रिय भाइ हरिशरण लामिछानेले आमन्त्रण गरेका थिए रेडियो नेपालमा एफएम चलाउन । मैले नसिकको काम थियो मलाई हरिभाइले सिकाए ।

हरिभाइ सित मेरो २०३८ सालदेखिको परिचय थियो, उनलाई मैले नै त्रिचन्द्र कलेजको टीसी नाइटमा उद्घोषण गर्न मौका दिएको थिएँ। उनले अरुण थापाको गीतमा गजबले बोलेका थिए । त्यतिवेला भर्खरका उनका पिताको दमको रोगले देहान्त भएको थियो । उनी उद्घोषण गर्न बर्खी पोशाकमै आएका थिए । आयोजक मानेका थिएनन् , मैले केही हुन्न भनेँ । उनले आफ्नो आवाज दिए । करामत गरे । त्यतिवेला अस्कल नाइटमा भूषण दाहाललाई पनि एक आयोजक रुपमा मैले प्रज्ञा भवनमा गीत गाउन लगाएको थिएँ। उनले तिमी त्यसै लजायौ गाएका थिए । ई दुई भाइ सदैव मेरा प्रिय रहे ।

हरिभाइ मैले हरेक किसिमले प्रेरणा दिन्थे, कहिले अन्तर्वार्ता लिएर । कहिले फिल्म बनाउँ भनेर । र, उनैले गर्दा म एफएमको उद्घोषक भएँ । स्वरसम्राट नारायणगोपाल र दिव्य खालिङले गर्दा म स्टेज एनाउन्सर भएँ । त्यसरी नै हरिभाइले गर्दा म एफएमकर्मी भएँ । क्या गजब…. ।

नेपालमा एफएम आएको सयदिन पछि होटल ब्लू स्टारमा नेपालमा एफएमको आगमन बारे संगोष्ठि आयोजना गर्यो। हरिभाइले मलाई पुनः वक्ताको रूपमा वोलाए, म पुगे । सञ्चार मन्त्री महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा सञ्चारसचिवले के के बोले । त्यसपछि नीर शाह, राजीव राजभण्डारीले बोले । पत्रकार मित्र होम परिवागले हिट्स एफएममाथि कडा प्रहार गरे। तपाइँहरु नागरिकता च्यातेर अमेरिका जानुस् पनि भने , अँग्रेजी गीत धेरै बजाए भनेर । हरिभाइले चलचित्रकर्मीका रूपमा मलाई बोल्न आग्रह गरे । मैले सामान्य तर शिष्ट तरिकामा आफ्नो विचार राखेँ। होमको समर्थन गर्दै तर हिट्स एफएमको बचाउ गर्दै । हिट्सका सनी श्रेष्ठले मेरो विचारबाट प्रभावित भएर मलाई एफएममा कार्यक्रम चलाउन आग्रह गरे , मैले अन्कानाएँ । किनकि म त्यतिवेलाको व्यावसायिक रुपले अत्यन्त सफल सिनेमा सिमानको निर्देशक थिएँ।

मेरा सिनेमा सबै हलमा सयदिनको रेकर्ड तोड्दै थिए । गीतहरु एकाएक हिट हुँदै थिए । सबभन्दा बढी कर तिर्ने चलचित्रको रुपमा र लगागल दुई वर्ष म्युजिक नेपाल अवार्ड जितेर सिमानाको अडियो अल्बमले इतिहास बनाउँदै थियो । र, म त्यतिवेला नयाँ नायिका जोल शाह र नयाँ नायक सिमान्त लाई लिएर नयाँ फिल्म सोच्दैथिएँ । वर्षमा दसबाह्रवटा सिनेमा बन्ने नेपाली चलचित्रवृत्तमा म वर्षैपिच्छे सिनेमा बनाउँदै थिएँ । सिनेमा बनाएर म डेढलाख दुई लाख पाउँथे तर एफएममा त्यो सम्भव थिएन । म गइँन, एफएममा ।

त्यो त हरिभाइ थिए जसका कारणले म माइकसम्म पुगेँ । तर म एफएमलाई सहयोग गर्न इच्छुक थिएँ । गरिरहन्थेँ । क्लासिक एफएमका जयप्रकाश रिजाललाई म नयाँ नयाँ सीडी उपहार स्वरुप दिन्थेँ उनी मेरो चयनमा बजाउथे । र, उनी कहिलेकाहिँ मेरो अन्तर्वार्ता पनि गर्थे, विशेषतः सिनेमाका वारेमा । त्यसवाहेक १०० मेगाहर्जमा कान्तिपुर एफएम, एमएन एफ, क्लासिक एफएम, गुडनाइट एफएम पनि बज्थे । मैले पहिलो पटक एफएममा अन्तवार्ता दिएको गुडनाइट एफएममा प्रसिद्ध गीतकार किरण खरेललाई हो । किरण दाइलाई किरणजी भनेर दिएको त्यो अन्तर्वार्ता एउटा अनौठो विषयमा केन्द्रित थियो , चलचित्र कलाकार संघ टुक्रिने अवस्थामा थियो । कृष्ण मल्लको एउटा समूह र बसुन्धरा भूषालको एउटा समूह । म दुवै समूहमा थिइँन । चलचित्र कलाकार समूहले मेरो चलचित्र सिमाना प्रदर्शन हुने राजेश हमाललाई बहिष्कार गरेको थियो जसले गर्दा मेरो सिनेमा प्रदर्शनमा धेरै बाधा पुगेको थियो । त्यतिवेला राजेश हमालको त्यही एउटा फिल्म थियो रिलीजमा । अर्को फिल्म छोरीबुहारी पनि थियो । तर अड्किरहेको थियो ।

प्रसँग, कलाकार संघका वारेमा । र, मैले बोल्नु पर्ने समन्वयका वारेमा । म अलि बढी कृष्ण्ङ मल्ल, उज्वल घिमिरे र अशोक शर्मातिर केन्द्रित थिएँ किनकि ती त्यतिवेला निकै सक्रिय पनि थिए । त्यो अन्तर्वार्ता सकिएपछि मलाई एकजना नायिकाले फोन गरेर खूब प्रशंसा गरी र भनी, “तपाइँको जस्तो आवाज मैले सुनेको थिइँन । तपाइँ मेरो लागि भएपनि बोल्नुस्, प्लिज । ”

तर तिनको लागि मैले कहिलेकाहिँ फोनमा मात्र भए पनि बोलिदिन थालेँ । यसरी एउटङ फ्यान जन्मिइन् नेपथ्यमा ।करीब पाँचवर्षपछि एकदिन इमेज च्यानलमा अन्तर्वार्ता दिन जाँदा त्यहाँका मालिक आर के मानन्धरजीले मलाई टीभीमा एउटा कार्यक्रम चलाउन आग्रह गरे । आर के जी नाताले टाढाको आफन्त भए पनि परिचय चैँ उनले कर्जा फिल्म बनाएपछि नै भएको हो । उनीसित नायिका खोज्न हामी धेरै ठाउँ डुल्यौँ । उनको आग्रहलाई मैले हुन्छ भन्न सकिनँ । म त्यतिवेला पनि वर्षमा दुइटा फिल्म बन्दै थियो । मेरो धन्दा चल्दै थियो, अभिनयको एउटा स्कूल चलाउँथे बानेश्वरमा । अलि व्यस्त थिएँ । टीभीमा समय दिन गाह्रो छ, मेक अप गर । बत्ती पर्ख । काम गर्ने सबैको समय मिलाऊ । गाडी खोज । आदि ईत्यादिले गर्दा मैले नाइँ भनें । बरु एफएममा चैँ यसो बेलुका आएर कुनै कार्यक्रम चलाउन सक्छु भनी दिएँ । एफएममा मेरो आकर्षण थियो, ती नायिकाको कारणले । किरण खरेलको स्वरको मोहले र हरिभाइको प्रेरणाले ।

इमेज एफएमको आफ्नै भवन थियो नयाँ सडकमा । इमेज एफएमको त्यो वेलाको नाउँ के ए टी एच नाइन्टी सेभेन प्वाइन्ट नाइन थियो । त्यसका स्टेशन प्रमुख भर्खर काम सम्हाल्न आएका थिए । भरत शाक्य । भरत मेरा पुराना परिचित थिए । समकालीन त्यसमाथि निकट ।उनले नै मलाई एफएममा आउन बल गरे । म आएँ ।हप्तामा एउटा कार्यक्रम तीन सय रुपैञाको दरमा । मेरो कार्यक्रम रातिको नौबजे पछि थियो । म तयार भएँ । नयाँ सडक म हर साँझ गइरहन्थेँ, नयाँ सडक हरेक किसिमले सक्रिय ठाउँ । त्यहाँ धेरै गतिविधि भइरहने जुलुस, नारा, साहित्य, संगीत, राजनीति, प्रदर्शनी आदि । र, एफएमबाट फर्किने बेला एउटा भ्यानको व्यवस्था थियो जसमा म र इमेज टेलिभिजनबाट ताराभूषण दाहाल पनि फर्किन्थ्यौ । ताराभूषणलाई आजकाल भूषण भनेर चिनिन्छ । उनी अस्कल कलेजमा मेरा जुनियर थिए, त्यसैले मलाई दाइ भन्थे । दुई दाइभाइ प्रायः सिनेमाको गफ गर्दै फर्किन्थ्यौँ ।

२०५६ सालमा मैले एफएममा प्रवेश गरेँ । शाम ए गजल नामबाट पहिलो पटक गजल प्रधान कार्यक्रम चलाएँ, रातिको सवा नौ बजे बुधबार । बुधवार मेरा निम्ति राम्रो दिन नभए पनि कार्यक्रम थालेँ । एफएम आएको चारवर्षपछि म मैदानमा आएँ तर भीडमा हराइने हो कि भन्ने डर प्रशस्त थियो । भरतले तिम्रो आवाजले खान्छ भने । पहिलो कार्यक्रम प्रसारण पछि फेरि मलाई अर्की नायिकाको फोन आयो, तिनले भनी, “यू ह्याभ गट बोल्ड भ्वायस् । ”

तिनकी मामाकी छोरी अमेरिकाबाट छुटीमा नेपाल आएकी थिइन् मेरो आवाज सुनेर निकै प्रभावित भएको तिनले सुनाई । म प्रसन्नचित्त भएँ । तिनी थिइन्, झरना बज्राचार्य । झरना हरेक हप्ता मेरो कार्यक्रम सुनेर फोन गर्थी । त्यस्तै मलाई फोन गर्ने थुप्रै हुँदै गए । एफएममा फोन उठाउन एउटा मान्छे नै बस्नु पर्ने भयो । त्यो पनि व्यवस्था गरियो । अनि कार्यक्रम सकेको भोलि पल्ट मलाई भेट्न मेरा प्रशंसक एफएमको आँगनमै आउन थाले । मनोजकुमार शर्मा, सुवासचन्द्र ढुँगेल, अमोविक, पवनकुमार यादव, शैलेश बरेजु आदि मेरा नियमित भेटघाटमा रहने स्रोता भए । हामीले गजल के हो भनेर बुझ्न मासिक भेला पनि थाल्यौँ, ईश्वरवल्लभ, रत्नशम्सेर थापा, कालिप्रसाद रिजाल, सनतकुमार वस्ति, शक्तिवल्लभ, ज्ञानुवाकर पौडेलसित अन्तरक्रिया ग¥यौँ । कहिले देवकोटा संघ डिल्लीबजार त कहिले नारायणगोपालको पहिलो डेरा नरसिंह चोक, ठमेल ।

कार्यक्रम लोकप्रिय हुँदै गयो । अब हप्तामा तीनदिन हुन थाल्यो । म त्यसवाहेक अन्य कार्यक्रम पनि चलाउन थालेँ । म चलचित्र बनाउन छोडेर विस्तारै वृत्तचित्र बनाउन थालेँ । इमेज एफएममा मैले खुल्ला आकाश, गुड मर्निङ काठमाण्डू, राशिफल आदि चलाउन थाले ।

पाँच महिनापछि मेरो कार्यक्रम बन्द गरिने जानकारी आयो । म त्यसपछि एफएम गइँन । उनैले बोलाएका थिए, उनैले न आइजो भने पछि म जान छोडिदिएँ । अब बेरोजगारीका दिन सुरु भए । यसैवीच म आभाससित आवद्ध भएँ, एक शिक्षकका रुपमा । त्यहाँ फिल्म लेखन र श्रव्य पत्रकारिता पढाउन थालेँ । आभासमा हेमबहादुर विष्टजी प्रमुख हुनुहुन्थ्यो । उहाँले मेरो बेरोजगारी बुझेर प्रायः हरेक किसिमका तालीम आयोजनामा बोलाउनु हुन्थ्यो । म पढाउँथे, पैसा पाउँथे । आभासमा मैले पहिलो लटमा मनोज पण्डित, जीपी तिमिल्सेना, अमृत भादगाउँले, सुनन्दा डङ्गोल, राज स्यःस्यः, सृजना जोशी, जोशिला देवकोटा, छिरिङ आदि थिए ।

आभासमा कुनै समयका मेरा शिष्य नारायण पुरी व्यवस्थापनमा आवद्ध थिए तर म उनको कारणले नभइ हेमबहादुर विष्टका कारण नजीकिएको थिएँ । विष्टजीले एकपटक मलाई पैसाको खाँचो भएको बेला पन्ध्रबीस हजारको मेरा पुस्तक किनिदिनुभएको थियो । अब त्यही समयको सम्झनामा मैले उहाँसित काम थालेँ । आभासमा पछि रोविन शर्मा आए जसका कारणले मैले इमेज एफएम छोड्नु परेको थियो पछि मलाई त्यो थाहा भो । मैले आभास पनि छोडिदिएँ ।

फेरि ढाक्रे । एकदिन मेरी शिष्या सृजना जोशी मेरो घर आइन् र, उनीसित लञ्चमा जान आग्रह गरिन् । म उनीसित त्रिपुरेश्वरको कुनै रेस्तराँमा दीवान्त भोजनमा गएँ, त्यहाँ हेमबहादुर विष्टजी र सुनन्दा डङ्गोल पनि थिई । दीवान्त भोजन पछि सृजनाले भनी, “तपाइँले विष्टसरलाई सघाउनु प¥यो । विष्टसर रेडियो सगरमाथामा आउनु भएको छ । म्यानेजेमेन्टमा । ”

प्रेमी ह्दयकी सृजनाले मेरो बेरोजगारीका दिन हटाउन यो चाँजो मिलाएकी रहिछिन् । मैैले भने, नाइँ । अब म एफएममा काम गर्दिनँ । म यो क्षेत्रको मान्छे होइन ।सृजना मानिनन् । तपाइँका लाखौँ स्रोताको निम्ति पनि बोल्नुपर्छ । कमसेकम मेरो लागि भए पनि ।….उनको आग्रहलाई त स्वीकारेँ । तर एफएममा पैसा नै छैन भन्ने मेरो गुनासोमा विष्टसरले प्रेमपूर्वक भन्नुभो, तपाइँ कति चाहनुहुन्छ भनेर सोधेपछि मैले आफ्नो माग राखेँ । उहाँले एक शर्तमा ओके गर्नुभो ।यसपछि मेरो रेडियो सगरमाथा र अजम्मरी गीतसंगीतको यात्रा सुरु भो । दक्षिणएसियाको पहिलो सामुदायिक रेडियो सगरमाथाको आफ्नै चरित्र थियो ।

काठमाण्डूको बजारमा नाम चलेका एफएम र प्रस्तोता आइसकेका थिए । म निकै पछि मैदानमा आएँ । डर पनि थियो । उपत्यकामा त्यतिवेला हिट्स एफएमका सुनीता अधिकारी, रीता लिम्बू, रवि श्रेष्ठ, दीपेश श्रेष्ठ, प्रकाश थापा, कल्याण गौतम पपुलर थिए । कान्तिपुरमा गोपाल झा, प्रभात रिमाल, शरद्राज गौतम, हेम सुवेदी, दिनेश डिसी बजार तताइरहेका थिए । कति त सञ्चारकर्मी त गुडनाइट भैसकेका थिए , राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ, शम्भुजित बाँसकोटा आदि । म त एक्लो र असहाय थिएँ । तर मलाई थाहा थिएन मेरा पछाडि थुप्रै भावक रहेछन् जो मेरा लागि जुलुस बनेर आएका थिए । म तिनका लागि २०५६ को पौष महिनाको जाडोमा एकसय दुई थोप्लो चारमा राति सवा नौबजेपछि डेढ घण्टाको लागि बोल्न थाले, कालजयी गीतहरुका साथमा । त्यसपछि सुरु भयो अजम्बरी गीत र मेरा अजर अमर रातहरु । …………

रेडियो सगरमाथाबाट मैले पहिलो कदम उठाएँ, गीतसंगीतको रोयल्टीको । र,त्यही एफएमको आँगनमा २०५६ फागुन ७ गते रोयल्टी बाँडियो । त्यही महिना मैले रेडियो सगरमाथाबाट राष्ट्रगान परिवर्तन गरिनुपर्छ भनेर एक घण्टाको कार्यक्रम चलाएँ । धेरै स्रोता सहभागी भए ।विरोध पनि भए प्रशस्त । मेरो कार्यक्रम एक किसिमले संकट पर्न थाल्यो । एफएमका एक कर्मचारी धर्मराज लुइँटेलले विस्तारै विरोध गर्न थाले । त्यसपछि शंकर लामिछाने कोश, कोइलीदेवी संगीत कोशको जन्म भयो भावक अभियानसँगै ।

म लखेटिने काम हेमबहादुर विष्टजीले छोडेपछि विस्तारै सुरु भयो । त्यसपछि व्यवस्थापनमा नयाँ टीम आए, र मंगलमान शाक्यजी प्रमुख रुपमा आउनु भो । उहाँले पहिलो भेटमा नै भन्नु भो, “म तपाइँको जोडदार फ्यान हुँ । ” म उनको निर्देशमा अगि बढेँ, उनी मेरा स्कुलमा जुनियर रहेछन् । माया गर्न थाले । तर त्यो माया विस्तारै बदलामा बद्लियो । म फेरि फ्याँकिएँ ।

रात्रिकालीन मेरो कार्यक्रममा मेरा इञ्चार्ज थिए, भाइ जीतेन्द्र रावत । काठमाण्डू ढोकाटोल निवासी रावत मलाई खूब माया गर्थे , मलाई फ्याँकिने दिन उनी छुटीमा बसेर यो काम अरुलाई अह्राए । मैले मानिनँ । कार्यक्रम चलाएँ र सँधैका लागि विदा मागेँ । र, राति एक्लै लखर लखर घर फर्केँ । मसित मेरा सहायक अनीता गुरुङ पनि थिइन् उनी मेरा शिष्या पनि थिइँन् मिडिया हाउसमा । उनले यो खबर मलाई पहिलो पटक गरेकी थिइन् । म घर पुग्नुमात्र थियो, फोनको लश्कर सुरु भो । मैले सोचेँ रेडियो सगरमाथासित मेरो सम्बन्ध सकियो तर होइन रहेछ । भोलिपल्ट मलाई व्यवस्थापनले फेरि बोलायो म पुगेँ । तर अचम्म्भ, एफएमको आँगनमा लाठी, प्लेकार्ड लिएर मेरा शुभेच्छुक उपस्थित थिए । उनीहरु व्यवस्थापनका विरुद्ध नारा लगाउँदै थिए । मलाई बीचमा उभ्याइयो र भाषणबाजी सुरु भो ।

राजीव काफ्ले सबभन्दा आक्रोशित थिए । उनी मार्न र मर्न तयार थिए । लोकनाथ मनेन, कर्मु लामा दिनभरि धर्ना दिन खाजा र पानी बोकेर आएका थिए । कति चिनेका, कति नचिनेका । व्यवस्थापन र आन्दोलनकारीका बीच केही सहमति भो । म फेरि बेलुका कार्यक्रम चलाउन गएँ तर पहिले जस्तो उत्साह ममा भएन । म भारी मनले घर फर्केँ । मैले मेरी पत्नीलाई भने अब म एफएममा काम गर्न चाहन्नँ । उनलाई भन्न जरुरी थियो, किनकि घर उनले चलाउँथिइन् । उनी मेरो काम, भविष्य र मानसम्मानको ख्याल गर्थिन् । सिनेमा बनाउँदा पनि उनी खुशी थिइन्, नबनाउँदा पनि । म त्यतिवेला सगरमाथामा स्वयंसेवकका रुपमा काम गर्थे । म बाहेक त्यहाँ उपेन्द्र अर्याल, चट्याँग मास्टर लोकप्रिय थिए । श्रीमतीले भनिन्, काम त एफएम मै गर्नुपर्छ । त्यहाँ तिमीले केही गरेका छौ । म ताज्जुब भएँ , तिनी पनि मेरो कार्यक्रम मनपराउँदी रहिछिन् । उनले आफ्ना एक सिनियर डा छत्र अमात्यको हवाला दिए भनी । तिम्रा धेरै प्रशंसक छन् त्यसमध्ये म पनि हुँ । म अलमलमा परेँ । हुन त सगरमाथामा हुँदै नै मलाई हिट्स एफएम र कान्तिपुर एफएमबाट बोलावट आएको थियो तर म काठमाण्डूमा बस्ने मुडमा थिइँन ।

काठमाण्डू बाहिर जाने मेरो मूर्खताप्रति परिवार त हाँसे तर त्यो मेरो इच्छा थियो, साराले त्यसको सम्मान गरे । म पोखरामा एफएम स्थापना गर्न संस्थापक स्टेशन म्यानेजर भएर पहिले पोखरा गएँ , चारजना चारजना केटालाई लिए । कोही मेरा विद्यार्थी, कोही मेरा प्रशंसक । आरजु विष्ट सल्यानी, दीपेन्द्र श्रेष्ठ, पारस पौडेल र नवीन पखेली ।

रेडियो अन्नपूर्णाको गुञ्जन मेरो स्वरमा २०५८ सालको बैशाख बाह्रगते पोखरा भेगमा भयो । म अब एफएम पर्यटक भएँ , कोही मलाई सञ्चारजगतको गणेशमानसिंह भन्थे । कोही मलाई सत्यनारायण गोयन्का भन्थे । पोखरामा मैले खासै केही केही गर्न सकिनँ जे गरे , मेरा भाइबहिनीले गरे । कोमल शेरचन, पूर्णिमा गुरुङ, अमित रिजाल, नवीन, दीपन्द्र, आरजु, जेनिश, दीक्षिता, शिखा श्रेष्ठ, राजु भण्डारी आदिको विशेष योगदान रह्यो ।

राजु मेरा सबभन्दा प्रिय र स्नेही रहे । त्यसपछि मैले र मेरा भाइ हरिशरण मिलेर चितवनका मित्र विक्रम पाण्डेको कालिका एफएम स्थापनामा सघायौँ । कालिका पछि मैले धवलागिरि एफएम, भक्तपुरको भक्तपुर एफएम, म्याग्दीको म्याग्दीकाली एफएम, बुटवल एफएम, गोर्खाको गोर्खा एफएम, हेटौँडका केही एफएममा सम्बद्ध भएँ । एफएम धेरै छन् आज म कहिँ छैन । तर म सबैसित साथमा छु एक्लो र नितान्त एक्लो ।
०००० ००००

About the author

Artist Sansar