नेपाली बब मार्ली गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

Written by Artist Sansar

धरान। नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानमा जन्मदिन मनाइएको छ।

सिल्भर इन्टरटेनमेन्टले उक्त जन्मदिन शुभकामना कार्यक्रमको आयोजना गरेको थियो जसमा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा, कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोशन मोक्तान ,चर्चित गायक एपी शेर्पा, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ लगायतका संगीतकर्मीहरु तथा शुभचिन्तकहरुको माझ केक काटेर गायक बरदानको ६९ औं जन्मोत्सव मनाईएको थियो।

बि.स. २००९ साल फागुन २ गते शुक्रबार भोजपुरको दिङ्गलामा जन्मनुभएको गायक बरदानले संगीत क्षेत्रमा मात्र युवा अवस्था देखि नै अनावरत रुपमा लागिपर्नुभएको छ। वहाँको लोकपप शैलीको छपनीले छान छान ,डबकीले हान , बजारै भरौन धराने , कहाँमा काट्यो बेतको लौरी , सिम सिम पानी , अरुनै तर्यो लगायतका गीतहरु अहिले पनि उतिकै लोकप्रिय छन्।

यसरी पहिलोपल्ट आफ्नो जन्मदिनलाई सम्झेर भब्यरुपमा मनाईदिएकोमा धन्यवाद दिंदै अझै संगीतमा लागिरहने उत्प्रेरणा जागेको बताउनुहुँदै गायक गंगा बरदानले आफना केहि नयाँ तथा केहि पुराना गीतहरु आफ्नै स्वरमा रेकर्ड गर्न लागेको जानकारी दिनुभयो।

गायक बरदानलाई सोही समारोहमा कोरियामा कार्यरत किशोर मास्के , हेम गुरुङ , कमल श्रेष्ठ , सुमन सुनुवार र राजु लिम्बुले संयुक्त रुपमा पठाएको रकम समेत हस्तान्तरण गरिएको थियो।

About the author

Artist Sansar