नेपाली चलचित्रमा डिजिटलको होड | सेल्युल्वाइड विस्थापन सम्भव नरहेको

– ऋषिराम कट्टेल
तीन वर्षअघि चलचित्र कागवेनी बन्दा डिजिटल प्रविधि के-के न हो भन्ने भएको थियो। अहिले त्यही प्रविधिमा सिनेमा बनाउने होड चलेको छ, नयाँ निर्माता/निर्देशकबीच। उनीहरूको भनाइमा नेपाली चलचित्र नै डिजिटलमय हुँदैछ। अशोक शर्मा भन्छन्, “नेपाली चलचित्रकर्मी यसमा जानुको विकल्प नै छैन।”

तर, केही सीमित व्यक्तिले आफ्नो व्यापार बढाउन डिजिटल प्रविधिको हौवा फैलाएको बताउनेको सङ्ख्या पनि कम छैन। यस्ता हौवा जतिसुकै चलाए पनि सेल्युल्वाइड विस्थापन सम्भव नरहेको उनीहरूको भनाइ छ। हुन पनि, धेरैअघि डिजिटल देखिसकेको विश्वका विकसित फिल्म उद्योगहरूमा समेत सेल्युल्वाइड प्रविधि ज्यूँका त्यूँ देखिन्छ। निर्माता संघका अध्यक्ष राजकुमार राई नेपाली चलचित्रमा सेल्युल्वाइड प्रविधिको अन्त्य हुने कुरा भ्रमको खेती मात्र भएको बताउँछन्। उनको भनाइमा, नयाँ प्रविधि भित्रिनु आफैंमा राम्रो भए पनि त्यसको परिणाम, दर्शकको सन्तुष्टि, निर्माण पक्षको फाइदा/घाटा आदिबाट निर्दिष्ट हुन्छ। उनी भन्छन्, “सेल्युल्वाइडमा नपाइने विशेषता डिजिटलमा, डिजिटलमा नभएको कुरा सेल्युल्वाइडमा होला तर सेल्युल्वाइड नराम्रो भन्न मिल्दैन।”

यद्यपि, डेढ वर्षयता डिजिटल प्रविधिमा धेरै फिल्म बनेका छन् जसमध्ये अधिकांश असफल छन्। डिजिटल चलचित्र बनाएर फेरि सेल्युल्वाइडमै फर्केका निर्माता/निर्देशकहरू पनि छन्। जस्तो, योगेश घिमिरे। डिजिटलमा मात्र तिमी निर्देशन गरेका उनी अहिले सेल्युल्वाइडमै नपाएँ तिमीलाई नबिर्सें तिमीलाई बनाउँदै छन्। यस हिसाबले यो प्रविधिलाई परीक्षणकालमा रहेको भन्न सकिन्छ। घिमिरे भन्छन्, “मेरो अनुभवमा कथानक चलचित्र बनाउँदा सेल्युल्वाइड उत्तम, टिभीमा हेर्ने चिज बनाउँदा डिजिटल राम्रो।” उनको अनुभवमा डिजिटलमा बनाएको हलमा देखाउने फिल्मको कलर सेप्रेशन र डेप्थ हुँदैन। मदन घिमिरे, शिव रेग्मी, दीपक रायमाझ्ी जस्ता अनुभवी निर्देशकहरू सेल्युल्वाइडको हिमायती हुनुको कारण यही हो। मानिसहरू प्रविधिलाई राम्ररी बुझदै नबुझ्ी यसका पछाडि लागेको घिमिरे बताउँछन्।

प्रदर्शन प्रविधि नेपालको पहिलो डिजिटल चलचित्र कागवेनी को प्रदर्शन क्वेष्ट इन्टरनेशनलले युएफ’ प्रविधिमार्फत गरेको थियो। अहिले डिजिटल चलचित्र सिनेमा घरहरूमा विभिन्न नामका प्रोजेक्सन सिस्टमका सर्भरहरू आइरहेका छन्। उद्धव पौडेलले क्युव, नकिम उद्दीन र अशोक शर्माको समूहले डिसीएन, केबी क्षेत्रीले आमा सिनेराइडर सञ्चालनमा ल्याएका छन्। हालसम्म युएफ’ले देशभरका २३, डिसीएनले ७२ र आमाले १३ वटा सिनेमा घरमा आ-आफ्ना प्रोजेक्सन सिस्टम जडान गरेका छन्। अरूको भन्दा आमाको फरक के छ भने यो नेपालीहरूले नेपालमै बनाएका हुन्।

नेपालका डिजिटल सिनेमा प्रोजेक्सन सिस्टमको नाममा करोडौं लगानी भइसकेको छ। यो व्यापारिक प्रयोजनका लागि पनि डिजिटलको हौवा पिटाइएको बताउँछन्, निर्माता चिरन्जीवी बस्नेत। तर, यो हौवाले चलचित्र क्षेत्रलाई खर्लप्पै निल्दा निर्माताहरू चुलुम्मै डुबेको उनको कथन छ। यो प्रविधिको चलचित्रमा निर्माताले वितरक र प्रदर्शकबाट १५ प्रतिशत हिस्सा पनि नपाउने बस्नेत सुनाउँछन्। हुन पनि, हललाई ५० प्रतिशत दिएर पनि वितरक कम्पनीलाई अन्य शीर्षकबाहेक प्रति शो २५० बुझ्ाउनुपर्ने बाध्यता छ, डिजिटल सिनेमा निर्मातालाई।

यही कारण हो, विश्वमा धेरै चलचित्र बन्ने बलिउडमा पनि डिजिटलले उस्तो बजार लिन नसकेको। यस प्रविधिबाट चलचित्रकर्मीले लिनसक्ने फाइदाहरू भने धेरै छन्। सिर्जनशीलता भएका निर्देशकहरूका लागि यो प्रविधि बढी उपयोगी मानिन्छ। हार्डडिक्स माध्यमका कारण प्रदर्शनदेखि वितरणसम्म यो प्रविधि सुलभ हुन्छ। तथापि, सेल्युल्वाइडका आफ्नै विशेषताहरू छन्। त्यही कारण, संसारका ठूला चलचित्र उद्योगहरू सेल्युल्वाइडमै केन्द्रित छन्। कतिपयले सेल्युल्वाइडमा चलचित्र बनाएर डिजिटल प्रोष्ट प्रोडक्सन र पुनः प्रिन्टमै प्रदर्शन गरिरहेका छन्।

चलचित्रकर्मीहरूमै यो प्रविधिको गहिरो ज्ञान नभएको नेपालका हलहरूमा डिजिटलका लागि जडान भएका प्रोजेक्सन सिस्टममा धेरै समस्या देखिएको छ। विश्वमा टुके क्यामेराको उत्पादनले डिजिटल चलचित्रको मान्यता पाउँछ। तर, नेपालमा वान हन्डे्रड सेभेन्टीन स्तरको क्यामेरा चलाएर डिजिटल चलचित्र बनाएको भन्नेहरू पनि छन्। डिजिटल फिल्म भन्दै एउटै हलमा इएक्स थ्री, टुके र वान हन्डे्रड सेभेन्टीन क्यामेराले खिचेको सिनेमा देखाइन्छ। कतिपय हलमा डिभीबाट समेत टुके क्यामेराले खिचेका चलचित्र हालेर दर्शकलाई उल्लु बनाइँदैछ।

यी सब तथ्यलाई हेर्दा दक्ष जनशक्तिकोे अभाव, निर्माताको वित्तीय अवस्था, प्रदर्शनमा समस्या आदिले नेपालमा डिजिटल चलचित्र तत्कालै जम्ने देखिँदैन। तर, सेल्युल्वाइडमा पनि सिक्सटिन एमएमबाट थर्टीफाइभमा उक्लेर कतिपय कुरामा डिजिटलको सहारा लिनु अति जरुरी भइसकेको छ। नत्र, नेपाली सिने उद्योग दर्शकविहीन हुने दिन नआउला भन्न सकिन्न ।