नवनिर्मित आइप्लेक्स मलमा ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा

Written by Artist Sansar

पहिलो पटक बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ ।

बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका छन् । अहिले फिल्म हेर्नका लागि स्तरिय हल दर्शकको रोजाइ बन्दै गएको बताउँदै उनले यसले नेपाली फिल्मको विकासमा पनि ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । यो हलमा शुक्रबारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुनेछ । बिहीबार हलको अवलोकन गर्न फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुले हल अवलोकन गरेका थिए ।

यो हल शुक्रबारबाट सञ्चालनमा आउने भए पनि मल भने औपचारिक रुपमा अर्को साताबाट व्यसायिक सञ्चालनमा आउने सञ्चालक मध्येका एक प्रभु शम्शेर राणाले बताएका छन् । दशक अगाडि आइप्लेक्स मल निर्माण भएको स्थानमा शिवदर्शन हल थियो । जसलाई भत्काएर यो मल निर्माण गरिएको हो ।

बिहीबार फिल्मकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । ‘वान सिनेमाज’ हलमा सुतेर फिल्म हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा फिल्म निर्माता प्रभुका छोरा प्रज्वल राणाले दर्शकलाई फरक रुपमा फिल्म हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिट राखिएको बताए ।

About the author

Artist Sansar