थिएटर मलमा ‘कथा खरर, मन हरर…’ सुरु

Written by Artist Sansar

काठमाडौं, वैशाख २१ ।
थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ ।

लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेको यी नाट्य संस्थाले ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावका साग उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो ।

बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन मन पराउने भएकोले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन ‘कथा खरर, मन हरर’ आयोजना गर्न लागिएको हो ।

‘कथा खरर, मन हरर’ बालकोसेली (Baalkoseli) नानीबाबुको युट्युव च्यानलमा वैशाख २२, सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन् ।
‘‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’’ थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’’
त्यस्तै कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कथा सुनाएको भिडियो baalkoselinepal@gmail.com मा पठाउन पनि अनुरोध गरेका छन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए ।

About the author

Artist Sansar