नायिका अघि–अघि, निर्देशक पछि–पछि

Written by Artist Sansar

हुन त नेपाली सिने क्षेत्रमा निर्देशक र नायिकाको नाम जोडिनु सामान्य भइसकेको छ

आर्टिस्ट नेपाल । हुन त नेपाली सिने क्षेत्रमा निर्देशक र नायिकाको नाम जोडिनु सामान्य भइसकेको छ । फिल्म खेलाउने नाममा धेरै निर्देशकले नायिकासँग मोजमस्ती गरेको चर्चा बेलाबखत चलिरहन्छ । निर्देशकसँग हिमचिम बढाएपछि सजिलैसँग फिल्म पाइने भएकाले प्राय: सबै नायिका कोही न कोही निर्देशकलाई आफ्नो वशमा पारिहाल्छन् । विगतमा पनि निर्देशक नरेश पौडेल र अरुणिमा लम्साल, शोभित बस्नेत र रेजिना उप्रेतीदेखि सुदर्शन थापा र सुष्मा कार्कीसम्मको रोमान्सको हल्लाले धेरै चर्चा पाएको थियो । कतिसम्म भने नेपाली सिनेमा उद्योगका सबैभन्दा सफल निर्देशकको रूपमा ख्याति कमाएका तुलसी घिमिरेको नाम पनि निरुता सिंहसँग जोडिएको थियो । यी त भए पुराना कुरा । कतिले बिर्सिसके पनि होलान् । तर, ती पुराना स्टोरीलाई फ्लप खुवाउने गरी निर्देशक र नायिकाबीचको अर्को एउटा नयाँ सम्बन्धले नेपाली सिने क्षेत्रमा चर्चा पाइरहेको छ । यसरी सहरमा गाइँगुइँ नै हुनेगरी निर्देशकसँग हिमचिम बढाउने नायिका हुन्, सीमा केसी । उनी र निर्देशक बाबु बलामी हरहमेशा सँगै देखिन थालेपछि धेरैले उनीहरूको सम्बन्धमा शंका गरेका हुन् । बाबुले अहिले सीमासँगको सम्बन्धका कारण चर्चा पाएका छन् भने सीमा पनि बाबुसँग आफ्नो नाम जोडिएपछि मख्ख भएको बताइएको छ ।

सीमालाई बाबुले नै करिब दुई वर्षअगाडि ‘जंगल लभ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । त्यही गुन तिर्न सीमा बाबुसँग लहसिएको भनेर खिसी गर्ने नभएका पनि होइनन् । भलै त्यतिबेला उनीहरूबीच यति साह्रो हिमचिम थिएन, तर बाबुको अर्को चलचित्र ‘यूज’मा सीमा मुख्य भूमिकामा अनुबन्धित भएपछि उनीहरूको सम्बन्ध धेरै मौलाएको बताइन्छ । सोही फिल्मको सुटिङकै क्रममा बाबुको ध्यान निर्देशनमा भन्दा सीमातिर गएको भनेर चर्चा पनि भएको थियो । उनीहरूको सम्बन्ध कतिसम्म गाढा भएको छ भने फोटोसुट, सुटिङमा मात्र होइन्, मिडियामा अन्तर्वार्ता दिन जाँदा पनि बाबु सीमाको पिछा छाड्दैनन् । अझ सीमाको मोबाइलमा फोन गर्दा अधिकांश समय बाबु नै रिसिभ गर्छन् । यसरी अन्तर्वार्ता दिन आउँदा पनि बाबुले नछाड्ने र फोन पनि बाबुले नै उठाउन थालेपछि सिने पत्रकारहरूले उनीहरूको फक्रँदो सम्बन्धका बारेमा चाल पाएका थिए । नजिकबाट चिन्नेहरू उनीहरूको सम्बन्ध निर्देशक र नायिकाको भन्दा धेरै माथि उठिसकेको बताउँछन् ।

तर, सीमाले भने बाबु आफ्नो अभिभावकझैं भएको बताउँदै आएकी छन् । ‘उहाँकै सल्लाह र सहयोगले यो क्षेत्रमा आएकी हुँ,’ उनी भन्छिन्, ‘त्यसैले यो क्षेत्रका लागि उहाँ मेरो अभिभावक समान हुनुहुन्छ । शंका गर्नुपर्ने ठाँउ नै छैन ।’

About the author

Artist Sansar