सन् २०१० को दशक ः भविष्यको नयाँ सिनेमा

प्रकाश सायमी

विश्वमा पहिलोपटक देखाइएको सिनेमा ‘द ट्रेन अराइभल इन स्टेशन’ कुनै भाषाको नभएपनि यसलाई फ्रान्सेली दाजुभाइले बनाएका थिए । यो सिनेमा सन् १८९५ को डिसेम्बर महिनाको २८ तारिखका दिन प्रदर्शन हुँदा एसियाका धेरै मुलुक सहभागी भएका थिए । यसको ठीक एकवर्षपछि नेपालको छिमेकी मुुलक भारतको मुम्बईस्थित होटल वाट्सनमा प्रदर्शन हुँदा केही नेपाली उद्योगपति पनि सो सिनेमाको प्रदर्शन भएको प्रमाण पाइन्छ तर त्यसको लगत्तै भारतमा सिनेमा बने पनि नेपालीमा बन्न सकेको थिएन ।

तर सन् १९१३ मा भारतको मुम्बईमा बनेको पहिलो सिनेमा राजा हरिश्चन्द्रको प्रभावमा कोलकता निवासीय दिव्येन्द्रविक्रम परियारले सत्य हरिश्चन्द्र सन् १९५७ मा बनाए । हालसम्म पाइएको पुष्ट अपुष्ट प्रमाणका आधारमा सत्य हरिश्चन्द्र नै पहिलो नेपाली सिनेमा मानिन्छ । केही भारतीय नेपाली, केही भारतमा संघर्षरत नेपाली सहभागी भएको सो सिनेमाको स्थिर चित्र बाहेक प्रमाणका रुपमा अन्य केही भेटिएको उदाहरण छैन । पञ्चायतकालमा शाही नेपाली चलचित्र संस्थानका महाप्रबन्धक हुँदा सो सिनेमाको रिल चालीस हजार रुपियाँमा किने चलचित्रकर्मी यादव खरेलले दावी गरेपनि त्यसको निशानी अब केही बाँकी छैन ।

सत्य हरिश्चन्द्र बन्दा तत्कालीन राजा त्रिभुवन भारत प्रवासमा रहेको हुनाले प्रमुख अतिथिका रुपमा उनले शुभ मुहुर्त गरेको उल्लेख पाइन्छ र उनले सम्मानपूर्वक नेपाली जातिको एडेप्टेबिलिटी प्रति गर्व गरेको कुरा स्व. दिव्येन्द्रविक्रम परियार सम्झना गर्दथे ।

सत्य हरिश्चन्द्र को प्रदर्शनका वेला नेपालीको सहभागिता शुन्य बराबर भएपनि यस सिनेमाको प्रदर्शन पछि नेपाल र नेपालीका निम्ति आफ्नै भाषाका वारेमा सिनेमा बन्नु पर्ने आवश्यकता महशुश हुन्छ । तर पनि यस सिनेमाको प्रदर्शन पछि आशातीत सफलता नदेखिएकोले निजी क्षेत्रबाट कुनै किसिमको उत्साह देखिएन । सत्य हरिश्चन्द्र प्रदर्शनको दसवर्षपछि नेपालभित्रैबाट सरकारी लगानीमा आमा नामक् सिनेमा बन्ने घोषणा भएकै समय निजी क्षेत्रबाट सुमनाञ्जली फिल्मस्को व्यानरमा माइतीघर नामक् सिनेमाको निर्माणको घोषणा भयो । यी दुवै सिनेमाका निर्देशक नेपाली मूलका भारतीय भएपनि दुवैजना सिनेमा निर्माणका ज्ञाता थिए ।

आमा सिनेमामा सम्पूर्ण कलाकार नेपालभित्रैबाट लिइएका थिए भने माइतीघर मा नायक नेपाली भएपनि नायिकामा भारतीय अभिनेत्री माला सिन्हा, चरित्र अभिनेता सुनील दत्त, राजेन्द्र नाथ आदि समाहित थिए । दुवै सिनेमामा प्राविधिक पक्ष भारतीय प्राविधिकले सम्हालेका थिए भने माइतीघर मा संगीतकार देखि गायनमा समेत भारतीय कलाकारको सहभागित थियो । आमा सिनेमाका निम्ति नातिकाजी शिवशंकरले संगीत दिएका थिए भने पुष्प नेपाली, तारादेवी, शिवशंकरले पाश्र्वस्वर दिएका थिए । माइतीघरका निम्ति तीनजना संगीतकार चयनमा भएपनि जयदेव एक्लैले यसमा व्यावसायिक रूपले असफल भएपनि माइतीघरका गीतमा भारतका चर्चित गायक गायिकाले लता मंगेशकर, मन्ना डे, आशा भोंसले, गीता दत्त आदिले स्वर दिएका थिए । यस चलचित्रका निम्ति प्रेमध्वज प्रधान, नारायणगोपाल र अरुणा लामा चयन भएपनि नारायणगोपालले मुम्बई गएर गीत गाउन सकेनन् ।

आमा भारतको सर्वाधिक चर्चित सिनेमा मदर इन्डिया बाट प्रभावित थियो भनें माइतीघर बङ्गाली सिनेमा ममता बाट प्रभावित मानिन्थ्यो । दुवै सिनेमा जे अर्थमा बनिएको भए पनि यसले नेपाली जनस्थानमा एककिसिमको प्रभाव पा¥यो ।

निर्माणको हिसाबले पहिलो मानिएको माइतीघरको प्रदर्शनमा ढिलाई भएपछि निर्मातामा निराशा देखियो भनेँ यसका निर्देशक बीएस थापा लामो समय नेपालबाट पलायन भए । तर आमाको प्रदर्शन पनि यसका निर्देशक हीरासिंह खत्री नेपालमै बसेर अन्य सिनेमा बनाउन थाले, उनले क्रमशः ‘हिजो, आज, भोलि’ र ‘परिवर्तन’ बनाए । बीसको दशकमा बनेको परिवर्तन साहित्यिक कृतिमा आधारित पहिलो नेपाली सिनेमा मानिन्छ । जनार्दन समको नाटक ‘चेतना’ मा आधारित यस सिनेमामा गायकको रुपमा नारायणगोपालले प्रवेश गरे भने गीतकारको रूपमा चेतन कार्की ले प्रविष्टी पाए । चलचित्रमा संवाद लेखकका रुपमा चेतन कार्कीले यसै समय प्रवेश गरे । यसै सिनेमाबाट अभिनेता नीर शाह, शैल्यान केसीले प्रवेश गरे । निर्देशनका दृष्टिकोणले हीरासिंह खत्रीको यो अन्तिम चलचित्र भएपनि उनले नेपाली चलचित्र जगतका निम्ति राम्रा निर्देशक चेतन कार्कीलाई जन्माएर गए ।