नेपाली सिनेमा |तीसको दशक ः प्रवेशको युग

https://artistnepal.com/

https://artistnepal.com/

"

प्रकाश सायमी

तीसको दशक नेपाली चलचित्रको निम्ति एक आकर्षक समय मान्न सकिन्छ, यसै दशक नेपाली चलचित्रको विकासको निम्ति शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो । यस संस्थानले राजाका कथानक चलचित्रको रुपमा पहिलो सिनेमा मनको बाँध बनायो, मनको बाँध भारतमा भर्खरै बनेको बीर आर चोपडाको नयाँ दौरबाट प्रभावित थियो तर यसले व्यावसायिकतको पुट दिन सफल भएको भान हुन्छ । २०३२ प्रदर्शित यस सिनेमाका निर्देशक प्रकाश थापा जो भारतमा संघर्षरत कलाकार थिए । उनले प्राविधिक ज्ञान नभए पनि नेपाली छायाकार बैकुण्ठ मास्केको सहयोगमा सफलतापूर्वक परिणाम दिए ।

आमा पछि नातिकाजी–शिवशंकरले यसमा छापलाग्दो संगीत भरे, यसै चलचित्रमा पाश्र्वगायनमा तारादेवी, नारायणगोपाल गुरुवाचार्य, बच्चुकैलाश, मीरा राणा देखापरे । गीतकारका रुपमा पहिलोपटक माधव घिमिरे चलचित्रमा देखापरे भने माइतीघर पछि किरण खरेलले यसमा चमत्कार देखाए तर पनि प्रदीप रिमालको कस्तुरी है बास आउँछ भन्छन् र माधव घिमिरेको फूलको थुँगा बगेर गयो, गीतले चलचित्रको ज्यानलाई बँचायो । यसै चलचित्रबाट शैल्यान केसी, सुषमा शाही, मीना सिंह, आनन्द थापा, हरिप्रसाद रिमालजस्ता कलाकारले ठूलो सम्भावना दिए । तर चलचित्र लेखकका रुपमा आएका श्रीधर खनालको यो पहिलो र अन्तिम चलचित्र सावित भयो भने क्यामेराम्यान बैकुण्ठ मास्केको पनि यो अन्तिम चलचित्र नै सावित भयो तर छायाकार मास्केले दुई असल सहायक मुरारि ठाकुर र मञ्जुकुमार श्रेष्ठलाई उज्ज्वल भविष्य दिएर गए ।

शाही नेपाल चलचित्र संस्थानबाट दोस्रो व्यावसायिक सिनेमा ‘कुमारी बन्यो, नेपाली भाषामा बनेको पहिलो रंगीन चलचित्र कुमारी बिजय मल्लद्वारा लिखित उपन्यास कुमारी शोभा मा आधारित थियो । फिल्म निर्देशनमा मस्कोबाट अध्ययन गरेर आएका प्रेमबहादुर बस्नेतले निर्देशन गरेको यस चलचित्रमा नायिकाको रुपमा चैत्यदेवी सिंहले प्रवेश पाए भने यो नै उनको अन्तिम चलचित्र हुन पुग्यो । नायकका रुपमा आएका शैल्यन के.सीको पनि यो अन्तिम सिनेमा बन्न पुग्यो तर खलनायक गौतमरत्न तुलाधर, हास्य कलाकार आनन्द थापा, नयाँ कलाकार लक्ष्मी श्रेष्ठले राम्रो प्रभाव पारे । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहाभागिता जनाएको यस चलचित्रमा संगीतकारका रूपमा शिवशंकर र चन्द्रराज शर्माले संयुक्ति दिए भने गायनमा प्रतिभाशाली गायक माणिकरत्न स्थापितले ख्याति कमाए । व्यावसायिक सोचको न्यूनतम अपेक्षा राखिएको यस सिनेमाबाट निर्देशक प्रेमबहादुर बस्न्यातले पनि निर्देशनबाट विदा लिए ।

तीसको दशकमा भारतबाट प्रवासी नेपालीको तर्फबाट दार्जीलिङमा प्रताप सुब्बाले परालको आगो बनाए, कथाकार गुरुप्रसाद मैनालीको कथामा निष्कपट रुपमा न्याय गरिएको यस चलचित्रले नेपाली सिनेमाको मुहारलाई बदल्ने कोसिस ग¥यो । रङ्गमञ्चको प्रशस्त अनुभव बोकेका परिष्कृत कलाकार टंक शर्मा, बसुन्धरा भुषाल, विश्वमणि हिङमाङ, मेनुका प्रधान, आइ के प्रधान आदिलाई समाविष्ट गरेर बनाइएको परालको आगो धेरै किसिमले नेपाली सिनेजगतमा एक अब्बल दर्जाको सिनेमा मान्न सकिन्छ । पहिलो पटक नेपाली चलचित्रमा महिला संगीतकार रुपमा शान्ति ठटालले उत्कृष्ट संगीत संरचना गरेकी छिन् भने निर्देशकका रुपमा प्रताप सुब्बाले कोसेढुङ्गा बनाएका छन् । यस चलचित्रको निर्माणपछि प्रताप सुब्बाले प्रवासको बजारलाई खोलिदिएकाछन् ।

तीसदशकको मध्यतिर निर्देशक प्रकाश थापा दौलतविक्रम विष्टको कथामा सिन्दुर चलचित्र लिएर देखापरे, उनले नयाँ नायक विश्व बस्नेत नयाँ नायिका मिनाक्षी आनन्दलाई पर्दामा सशक्त रुपमा प्रस्तुत गरे भने यही चलचित्र मार्फत् दार्जीलिङबाट नेपाल आइबसेका गोपाल योञ्जनलाई नातिकाजी सित संयुक्त रुपमा संगीतकारको जोडीमा प्रस्तुत गरे । दुबैले सफल संगीतमा आफ्नो पहिचान दिए, यसै चलचित्रबाट नवगायक उदीतनारायण झा, नवगायिका सुषमा श्रेष्ठ पर्दामा आए भने नारायणगोपाल र तारादेवी मनको बाँध पछि फेरि जमे ।

व्यावसायिक रुपमा अत्यन्त सफल मानिएको पहिलो नेपाली चलचित्र सिन्दुरले काठमाण्डूको हलमा बाउन्न हप्ता चलेर अभिलेख कायम ग¥यो । यस चलचित्रबाट मञ्जुकुमार र मुरारि ठाकुर छायाकारको रुपमा स्थापित भए भने अभिनेता नीर शाह, सुवर्ण पोखरेल, सुशीला के.सी.ले आफ्नो पहिचान बनाए । पहिलो पटक पर्दामा देखापरेका हरिहर शर्मालाई सुब्बा साहेबको रुपमा र शान्ति मास्केलाई बोक्सी बुढीको रुपमा अनि गोपालराज मैनाली र बसुन्धरा भूषाललाई चँखे–नक्कलीको जोडीमा सदैव सम्झिने बनाए । यसै चलचित्रबाट अभिनयमा शम्भुजित बाँसकोटा, श्रीमाला शर्मा, हरिवंश आचार्य, प्रदीप रिमाल, राजन बस्न्यात, शशि पाठक, हिमालय लोहनी आदि देखापरे । यस चलचित्रको प्रदर्शनपछि निर्देशक प्रकाश थापा सफल निर्देशकका रुपमा देखापरे भने शाही नेपाल चलचित्र संस्थानले पुनः सक्रियता देखायो । यस चलचित्रको प्रदर्शनसँगै भारतबाट प्रताप सुब्बाको निर्देशनमा बाँच्न चाहनेहरु, प्रदर्शन भयो । नवनायक किरण ठकुरी, नायिका पुण्यप्रभा लोहार सहित दार्जीलिङका एक जत्था कलाकारले आफूलाई प्रस्तुत गरेको सो फिल्मले राम्रो बजार लिन सकेन ।

तीसदशकको अन्त्यसम्म आइपुग्दा नेपाली सिनेमामा विस्तारै व्यावसायिकता देखाप¥यो, यसैवेला प्रकाश थापाले अर्को व्यावसायिक सिनेमा जीवन रेखा बनाए, नयाँ नायक शिव श्रेष्ठ र परिचित नायिका मीनाक्षी आनन्दको मूलभूमिका रहेको जीवन–रेखामा पहिलो पटक संगीतकार अम्बर गुरुङले संगीत दिए, पाश्र्वसंगीतकारको रुपमा यो अम्बर गुरुङको पहिलो र अन्तिम चलचित्र हुनपुग्यो । यसै सिनेमाबाट अर्जुनजङ्ग शाही, हरिबहादुर थापा, बलमानसिं स्वाँर, जयनेन्द्र चन्द ठाकुर पहिलो पटक देखापरे । यसै सिनेमाबाट पर्दामा द्वन्द्व पस्किने परम्परा शुरु भयो । व्यावसायिक रुपमा सफल मानिएको यस सिनेमाले नेपाली सिनेमाप्रेमीलाई चलचित्र निर्माण प्रति आकर्षित ग¥यो । यसपछि मात्र निजी क्षेत्रबाट सिनेमा बनाउने लहर नेपालभित्र पनि देखा प¥यो । यसक्रममा सुजाता प्रोडक्शनले भारतीय निर्देशक शरद् पालेकरको निर्देशनमा जूनी बनाउने घोषण गरे ।

जुनी असफल भएपनि यस चलचित्रबाट नयाँ नायक भुवन केसी स्थापित हुन पुगे । यसपछि हेम लामाले आदर्श नारी, र बी एस थापाले कान्छी, बनाए । कान्छी बाट नवनायिका शर्मिला शाह नायिकाको रुपमा आए भने आदर्श नारीबाट बिजय लामा नायकको रुपमा र अँशुमाला शाही नायिकाको रुपमा देखा परे । निर्देशकीय रुपमा आदर्श नारी हेम लामाको पहिलो सिनेमा थियो भने अन्तिम पनि हुन पुग्यो , कान्छी बीएस थापाको पुनरागमन थियो माइतीघर पछि । उनले यसपालि सफलताको झन्डा गाडे । यस चलचित्रबाट कृष्टि के.सी., ऋद्धिचरण श्रेष्ठ, गोपाल भुटानी, गौतम तुलाधर स्थापित भए । कान्छी बाट गायनमा प्रकाश श्रेष्ठ, बिमला राई पर्दामा आए भने नारायणगोपाल र अरुणा लामाले स्तम्भ बनाए । पुराना गायक प्रसाद श्रेष्ठ यसै चलचित्रबाट पुनः गायनमा देखापरे । गोपाल योञ्जनले यसपछि शाही नेपाल चलचित्र संस्थानको अर्को चलचित्र बदलिँदो आकाशमा संगीत दिए, यसमा शिव श्रेष्ठ, सुषमा शाही लगायत टीका पहारी, रबीन्द्र खड्का, नीर शाह आदि देखापरे । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ् इन्डियाबाट प्रशिक्षित लक्ष्मीनाथ शर्मा निर्देशित यो सिनेमाबाट चलचित्र संस्थानले कुनै सम्भावना दिन सकेन ।

चलचित्रको इतिहासमा तीस दशकको इतिहासमा सरकारी र गैरसकारी लगानीमा बनेका चलचित्रको प्रभुत्व रहयो भने यसै दशकमा नेपाली चलचित्रमा प्रेम, रोमान्स, र संगीतप्रधान सिनेमा बने पनि केही चलचित्रमा स्पष्ट रुपमा राजनीतिक सन्देश भएका सिनेमा पनि बने ।

तीसको दशकमा बनेका सिनेमामा कथा र संगीतको महत्वका साथै नेपाली प्राविधिकीको प्रयोग प्रशस्त भएको पाइन्छ र यस समय बनेका धेरै सिनेमाको छायाँकन नेपालको पश्चिमी भेग पोखरा, पाल्पा र स्याङ्जामा बढी भएको पाइन्छ भने केही चलचित्रको छाँयाकन भारतको मुम्बई र दार्जीलिङमा पनि भएको देखिन्छ । तीसको दशकमा नेपाली सिनेमायी संगीतमा नेपालीय स्वरमा नारायणगोपाल, तारादेवी, अरुणा लामा र प्रेमध्वज प्रधानको स्वर बढी प्रयोग गरिएको छ भने संगीतकारका रुपमा बीसदशकका लोकप्रिय संगीतकार नातिकाजी, अम्बर गुरुङ, शिवशंकरका साथै अम्बर गुरुङकै चेलाका रुपमा परिचित शान्ति ठटाल र गोपाल योञ्जनले कान्छी मार्फत केही कालजयी गीत प्रस्तुत गरे भने चेतन कार्कीको शब्दमा रहेको कान्छी हे कान्छी बोलको गीतले लामोसमय दर्शकपंक्तिमा छाप राख्यो । अम्बर गुरुङको स्वरमा कहिँ आफ्नै भुँवरीमा आफै प¥यौ कि, जस्ता गीतले अमीट छाप छोड्न सफल भयो भने प्रेमध्वज प्रधानको स्वरमा हाँस्ने रहरहरु ले लामो समय ओँठमा बसाइँ स¥यो ।

सरकारी सुविधाका वावजुद पनि यस समय बनेका सिनेमा ३५ मिलिमिटरको प्रतिस्पर्धायुक्त प्रविधिमा छायाँकन हुने गथ्र्यो भने छायाँकारले त्यही सुविधा अनुरुप चलचित्रको गुणस्तरको परिणाम दिनसक्थ्यो । बजारको उचित व्यवस्था नभए पनि चलचित्रको विपणनको निम्ति सरकारी नीति तय थिएन ।