सन्तान जन्माएपछि गुमनाम बन्दै नायिका

Written by Artist Sansar

नेपाली चलचित्रका आधा दर्जन नायिका यतिखेर चलचित्र क्षेत्रबाट गुमनाम हुन पुगेका छन्। उनीहरूको अहिले कतै पनि चर्चा परिचर्चा छैन

नेपाली चलचित्रका आधा दर्जन नायिका यतिखेर चलचित्र क्षेत्रबाट गुमनाम हुन पुगेका छन्। उनीहरूको अहिले कतै पनि चर्चा परिचर्चा छैन। उनीहरू चर्चाबाट हराउनुको एउटै कारण हो, नयाँ सन्तान जन्माउनु।

सन्तान जन्माएकै कारण नेपाली चलचित्रका चर्चित नायिकाहरू सञ्चिता लुइँटेल, ऋचा घिमिरे, अरुणिमा लम्साल, मेलिना मानन्धर, विपना थापा चलचित्रको पर्दाबाट टाढै रहेका छन्। कुनै समय यी नायिकाहरूको नेपाली चलचित्र क्षेत्रमा बोलबाला थियो। यिनीहरूबारे सञ्चारमाध्यम तथा पत्रपत्रिकामा चर्चा गरिन्थ्यो। तर विगत डेढ दुई वर्षदेखि यिनीहरूको कुनै चर्चा छैन।

नायक निखिल उप्रेतीसँग बिहे गरेर छोरा पाएपछि सञ्चिता लुइँटेलको फिल्मी क्यारियर ओरालो लागेको हो। बच्चा जन्माउनुअघिसम्म सञ्चिताको अभिनय यात्रा शिखरमा पुगेको थियो। एकपछि अर्को चलचित्रमा उनले अभिनय गर्ने मौका पाइरहेकी थिइन्। तर साढे दुई वर्षअघि छोरा जन्माएपछि उनी चलचित्र क्षेत्रबाट टाढिएकी छन्। हाल दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी सञ्चिता आगामी दिनमा नायिकाको रूपमा चलचित्र क्षेत्रमा फर्किन सक्ने सम्भावना धेरै कम रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। किनभने उनी ज्यादै मोटाएकी छन् भने अनुहारमा पनि परिर्वतन आएको छ।

त्यस्तै, चलचित्र खेल्दाखेल्दै एकाएक छोरी जन्माएपछि नायिका अरुणिमा लम्साल विगत डेढ वर्षदेखि कहाँ के गर्दैछिन् कसैले पनि चाल पाउन सकेका छैनन्। उनीबारे कुनै समाचार पनि सञ्चारमाध्यममा आएको छैन। अरुणिमाद्वारा अभिनित अन्तिम चलचित्र कोही मेरो थियो। त्यसपछि उनले खेलेका चलचित्र दर्शकले हेर्न पाएका छ्रैनन्। बच्चा जन्माउनुअघिसम्म उनी स्त्रि्कप्ट लेखन र पछि निर्देशनमा हात हाल्ने सोचमा थिइन्। उनले लेखेको दीपशिखा चलचित्र एक साता पनि नचलेपछि उनी चलचित्र क्षेत्रबाट टाढा हुन पुगेको उनी निकट साथीहरू बताउँछन्।

कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी विपना थापा अहिले कहाँ के गर्दैछिन्, कसैलाई पनि पत्तो छैन। धेरैजसो भारतको मथुरा बस्ने उनी बेला बेला मात्र नेपाल आउने गरेकी छन्। उनको छोरीको उमेर पनि तीन वर्ष पुगिसकेको बताइन्छ। चलचित्रमा अभिनय गर्दा विभिन्न व्यक्तिसँग अन्तरंग नाम जोडिएर आउने विपना थापाले बरमाला चलचित्रका निर्माता डा.आशुतोष भारद्वाजसँग लगनगाँठो कसेकी हुन्। उनी भारतीय नागरिक हुन्। पेसाले डाक्टर भारद्वाज उतै काम गर्छन्। विपनाको नेपाली चलचित्रमा फर्किने कुनै सम्भावना नरहेको बताइन्छ।

यसैगरी, चलचित्रमा अभिनय गर्दागर्दै निर्देशक शंकर घिमिरेसँग विवाह गर्न पुगेकी नायिका ऋचा घिमिरे पनि अहिले छोरा हुर्काउनमै व्यस्त छिन्। उनको दिनचर्या अहिले छोरा हुर्काउन र पतिको स्याहार सुसारमै बित्ने गरेको छ। विवाह गर्नुअघिसम्म कुनै आर्थिक हैसियत नभएकी ऋचासँग अहिले आधुनिक बंगला, गाडी तथा लाखौंको बैंक ब्यालेन्स छ। उनी पनि बिहेअघि खुबै चर्चामा आउने गर्थिन्। उनको पतिको आर्थिक हैसियत पनि सामान्य थियो। उनीहरूले लगालग तीनवटा चलचित्र बनाइसकेका छन्। उनका पति शंकर अहिले नयाँ चलचित्र तुलसी देखाउन विदेशमा छन्। बेश्यावृत्तिको कथावस्तुमा आधारित तुलसी चलचित्रमा नायिका ऋचाले दमिनीको चरित्र निर्वाह गरेकी छन्।

यता, मुकेश ढकालसँग विवाह गरेपछि नायिका मेलिना मानन्धरको फिल्मी क्यारियर एकाएक शिखरमा पुगेको थियो। तर उनी पनि अहिले ओझेलमा परेकी छन्। छोरी जन्माएर हुर्काइसकेकी मेलिनाले फाटफुटमा रूपमा चलचित्र भने खेलिरहेकी छन्। तर उनी कुनै निर्माता निर्देशकको पहिलो रोजाइ हुन छाडेकी छन्। धेरैजसो विज्ञापन खेल्नमै व्यस्त मेलिनाले नेवारी चलचित्रमा भने मुख्य भूमिका निर्वाह गर्न पाएकी छन्।

नायिकाहरू करिश्मा मानन्धर, मौसमी मल्ल, बिना बुढाथोकीलगायतका नायिकाहरू भने सन्तान जन्माएर पनि अभिनय क्षेत्रमा जमेकै थिए। उनीहरू निर्माता निर्देशकको पहिलो रोजाइ बन्थे। तर त्यसपछि यताका नायिकाहरू भने सन्तान जन्माएपछि गुमनाम हुँदै आएका छन्।

About the author

Artist Sansar