०४२ मा रेडियो नेपालमा ‘जीवनको परिवेश’ भन्ने बोलको गीत गाएपछि मेरो औपचारिक संगीत यात्रा सुरु भयो । ०४४ को अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा ‘टाढा-टाढा नभइदेऊ तिमी’ बोलको गीत गाएर प्रथम भएँ । त्यसपछि मेरो सांगीतिक गोेरेटो फराकिलो बनेर गयो ।
चालीसको दशकदेखि सुरु भएको सांगीतिक यात्रा अहिलेसम्म जारी छ । यसबीचमा मेरा एकल नौ एल्बम निस्किए । र, मैले नेपाल भाषाका ७२, हिन्दू र बौद्ध भजन गरी तीन दर्जन बढी भजन र नेपालका चर्चित कविहरूको गद्य र पद्य दुवै कविता गाएँ । अहिले पनि मेरो समय संगीतमै बित्छ । सांस्कृतिक संस्थानको जागिर पनि संगीतसँगै जोडिएको जागिर हो । जुनवेला मैले संागीतिक यात्रा सुरु गरेँ, त्यो नेपाली संगीतको स्वणिर्म युग नै थियो ।
त्यसवेला नारायण गोपाल, गोपाल योञ्जन, अम्बर गुरुङ जस्ता नेपाली सांगीतिक उज्वल नक्षत्रहरूले स्थापित गरेको संगीतको घराना अघि बढिरहेको थियो । त्यसवेलासम्म नेपाली संगीतको विशिष्ट घराना स्थापित भइसकेको थियो । संगीतको आशास्त्रीय नियम र विद्यागत चारित्रिक विशिष्टता हुन्छ । चालीसको उत्तरार्द्धपछि नेपाली संगीतमा पनि विभिन्नखालका प्रवृत्ति र चरित्र देखापरे । संगीतको नाममा अनेकन प्रवृत्ति जबरजस्त स्थापित गराउन खोजिए ।
संगीत बिस्तारै व्यावसायिक त बन्दै गयो, तर गुणस्तरको पाटोलाई धेरैले भुल्ने काम गरे । नेपाली संगीतमा फास्डफुड प्रवृत्ति हाबी हुन पुग्यो । बिहान गीत लेख्ने, दिउँसो संगीत गर्ने, बेलुका स्टुडियोमा गएर गाउने र भोलिपल्टदेखि बजारमा पठाउने प्रवृत्तिले नेपाली संगीतलाई प्रगतिमा होइन, अधोगतिमा लाने काम भयो । र, नेपाली संगीतको बजार यसरी विकृत भयो कि संगीत हृदयले होइन, कानले मात्रै सुन्नुपर्छ भन्ने मान्यता स्थापित हुन पुग्यो । यही मान्यतालाई स्थापित गराउन नेपाली संगीतमा लागेका केहीले गीत हृदयले होइन, घाँटीले गाउन थाले । यसरी नेपाली संगीत ओरालो लाग्न सुरु भयो ।
गोठ र ओठमा सीमित खाँट्टी लोकगीत
नेपाली लोक गीत-संगीतको संरक्षण र सम्बर्द्धनका लागि स्थापित सांस्कृतिक संस्थानको म स्थायी जागिरे हुँ । संस्थानले केही वर्षअघि लोकसंगीतको अध्ययन गर्न देशका विभिन्न जिल्लामा भ्रमण गराएको थियो । त्यो वेला म अचम्मित भएँ । नेपालमा त्यति धेरै लोकभाका छन् भन्ने कुरा कल्पनासम्म पनि गरेकी थिइनँ । प्रत्येक जाति र क्षेत्रमा फरक-फरक लोकभाका रहेछन् ।
ती सबैमा विशिष्टता छ । आ-आफ्नै नियम छन् । सुदूरपश्चिमको देउडादेखि सुदुरपूर्वको हाक्पारेसम्मलाई खोज-अनुसन्धान गर्ने हो भने यहाँ हजारौँ मौलिक लोकभाका छन् । नेपालका हिमाल देखेकालेे नेपाललाई हिमालै-हिमालको देश भन्छन्, मन्दिर देखेकाले मन्दिरै-मन्दिरको देश भन्छन्, पानी देखेकाले पानीको देश भन्छन् । तर, म हाम्रो देशलाई लोकभाका/लोकसंगीतको देश भन्छु ।
हाम्रो देशमा जस्तो संसारको अरू कुनै देशमा लोकभाका छैन । हाम्रो देश लोकभाकाको भण्डार नै हो । क्षेत्रीय आधारमा हेर्ने हो भने प्रत्येक क्षेत्रमा फरकखालको लोकभाका पाइन्छ । जातीय आधारमा हेर्ने हो भने प्रत्येक जातिभित्र लोकभाका र लोकलय पाइन्छन् । जस्तै, मगर-गुरुङ जातिको सोरठी, घाटु, कौरा, गन्धर्वको कर्खा, तामाङको सेलो, बाहुन, क्षेत्रीको बालन, चुड्का आदि हुन्छन् । नेपालमा यस्तो खोजी गर्ने हो भन्ने कति पाइन्छन् कति !
लोकभाकामा हामी यति धेरै सम्पन्न भए पनि बजारको हिसाबले सबैभन्दा गरिब छौँ । हाम्रा लोकगीत गोठ र ओठमा मात्रै सीमित छन् । पुराना मान्छेका मृत्युसँगै लोकगीत मरिरहेका छन् । फेरि जति बजारमा आएका छन्, ती गतिला र गहन छैनन् । गहिरो अध्ययन नगरी हचुवाको भरमा मात्रै ल्याइएका छन् । बजारमा बिकाउने नाममा स्तरहीन लोकगीत आइरहेका छन् । लोकगीतको प्रमुख कुरा भनेको लय हो । तर, अहिले लय होइन भद्दा कुरा मात्रै आउँछन् । लयचाहिँ हुन्न, लोकगीतका नाममा भद्दा शब्द थोपर्ने कामभन्दा अरू केही भएको छैन । तर, बजारमा यस्तै गीत चलिरहेका छन् । लोकलयका नाममा भद्दा शब्द ल्याउने र लोकनृत्यका नाममा शरीर देखाउने प्रवृत्तिको विकास भइरहेको छ ।
यति धेरै लोकभाका छन् । तर, यसको खोज अनुसन्धान र बजारीकरण गर्न सकिएको छैन । किन भएको छैन ? अब कसलाई दोष दिने ? सरकारले गरेको छैन भनौ, सांस्कृतिक संस्थान, फरक-फरक विधाका एकेडेमी गठन गरिदिएको छ । हामी अलि बढी व्यक्तिवादी भयौँं कि ? भन्ने लाग्छ । जो संस्थानमा जान्छन् या एकेडेमीमा, उनीहरूले सोच्नुपर्छ । अनि जो हामी धुरन्धर संगीतकार या लोकगायक भनिएका छौँ, हामीले पनि सोच्नुपर्छ ।
सारेगम सिक्दैमा कोही गायक भइहाल्दैन
नारायण गोपाल, गोपाल योञ्जन, अम्बर गुरुङहरूले स्थापित गरेको नेपाली सुगम संगीतको घराना पचासको दशकपछि त्यति राम्ररी अघि बढ्न सकेन । उहाँहरूले निर्माण गरिदिनुभएको बाटोमा हिँड्नेहरू त भए । तर, उनीहरू ओझेलमा परे । अम्बर गुरुङ, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, फत्तेमान जस्ताको गीत ओझेलमा पारिँदै लगियो र पर्दै गए । यस्ता गीत श्रोताले सुन्न चाहँदा पनि सुन्न पाएनन् ।
भारतको संगीतको बजारलाई हेराँै न । त्यहाँ जहिल्यै सबै प्रकारका संगीतलाई बजार पठाइन्छ । सस्ता, मझौला र स्तरीय संगीत, सबैलाई स्थान दिइन्छ । त्यहाँको मिडिया र म्युजिक कम्पनीले ‘ल है यस्ता-यस्ता गीत छन्, तिमीहरूलाई जुन ठीक लाग्छ, त्यही किन र सुन’ भनेर बजारमा सबैप्रकारका गीत पठाउँछन् । तर, नेपालमा जबरजस्ती ‘यस्ता गीत मात्रै ठीक छन्’ भनेर एकनाशका गीतलाई मात्रै महत्त्व दिइन्छ । सञ्चारमाध्यमको तीव्र विकाससँगै यो प्रवृत्ति हाबी भयो । नेपाली मिडियाले अरू गर्न नसके पनि, कम्तीमा श्रोतालाई च्वाइससम्म दिए स्तरीय गीत सृजना हुने क्रम रोकिने थिएन ।
अर्काेतिर, बजारको विकाससँगै हाम्रा गायक-गायिकाले बिस्तारै साधना गर्न छाडे । हृदयलाई सुनाउन हृदयले गाउने होइन, कानलाई सुनाउन घाँटीले गाउन थालियो । सारेगम सिकेर गायक/गायिका बन्ने भद्दा फेसन सुरु भयो । कवि बन्नलाई व्याकरण र नियम कहिल्यै सिकिँदैन । मान्छेले कवित्व त पाएरै जन्मिएको हुन्छ नि । कवि बन्छु भनेर व्याकरण सिकेर राम्रो कविता लेखिन्छ र ?
कवि बनेर भाषा-शैली राम्रो होस् भन्नका लागि व्याकरण सिक्ने हो । गायनमा पनि जबरजस्त सारेगम सिकेर गायक बन्ने प्रवृत्ति बढेको छ । गाउने कला भएपछि मात्रै सारेगम सिक्ने हो । तर, अहिले त सारेगम सिकेर गायक/गायिका बन्ने चलन छ । कम्तीमा नेपाली म्युजिक बजार र मिडियाले सारेगम सिकेर गायनमा लागेको हो कि ? कला भएर सारेगम सिकेको हो ? भन्ने पहिचानचाहिँ गरिदिनुपर्छ । व्याकरण सिकेर कवि बन्नेलाई अगाडि ल्याउँदा उनीहरूचाहिँ माथि आउलान्, तर नेपाली स्रगीतको स्तरचाहिँ माथि आउन सक्दैन ।
फेरि मैले सुगम संगीत खत्तमै भनेको होइन । जो राम्ररी साधना गरेर, मिहिनेत गरेर गाइरहेका छन्, उनीहरूको भविष्य उज्ज्वल छ । आत्तिनुपर्ने कारण छैन । बजारमा छिट्टै बिक्ने मालको त्यति स्तर हुँदैन । उपभोक्ताले विस्तारै थाहा पाउँदै जान्छन् । थाहा पाउँदै गएका पनि छन् ।
शब्द, स्वर बिगार्दैमा पप हुँदैन
नेपाली संगीतको बजार पछिल्लो समयमा पपसंगीतले पनि राम्रै बजार पाएको छ । पप उमेरकालीन संगीत हो । पपसंगीतबारेमा विभिन्न कोणबाट विश्लेषण र व्याख्या गरिन्छ । पप भन्दैमा नराम्रो भन्ने हुँदैन । स्वर, शब्द संयोजन र गायकी मूल कुरा हो । पप जसरी गाए पनि हुन्छ, शब्द या स्वर बिगार्दैमा पप हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ ।
पपसंगीतमा पनि केही राम्रा सिर्जना भएका छन् । तर, तिनलाई धेरै नराम्रा सिर्जनाले ओझेलमा पारिदिएका छन् । पपमा लाग्नेले ‘पपगायकले साधना गर्ने होइन, गाउने मात्रै हो’ भन्ने मानसिकता बोक्नु हुँदैन । अर्को कुरा, एउटा गायकले सबैप्रकार गीत गाउन सक्नुपर्छ । पपमात्रै गाउने कम्प्िलट गायक नहुन सक्छ । गीतको नाममा बेसुरा गीत गाइनु हुन्न । तर, नेपाली मिडियाले पनि धेरै बेसुरा गीत बजाइरहेको हुन्छ । खै हामीले कसलाई के भन्ने ?
प्रतिभा नभएकाले गर्छन् रिमिक्स
रिमिक्स सिर्जनाको बाधक र सिर्जना विरोधी काम हो । रिमिक्स सर्जकले गर्ने काम होइन । सिर्जना गर्ने मान्छेले अर्काको गीत गाउने होइन । रिमिक्स गर्नु भनेको सृजना गर्न नसक्ने मान्छेले कसैको सृजनालाई माध्यम बनाएर अगाडि आउने कामबाहेक अरू कोही पनि होइन । रिमिक्सले त सिर्जनालाई निषेध गर्छ । सिर्जनालाई निषेध गर्ने काम प्रतिबन्धित गर्नुपर्छ । कला हुनेले नयाँ सिर्जना गर्ने हो अरूको सिर्जनामाथि हस्तक्षेप गर्ने होइन । कला छैन भने गीतै गाउनुपर्छ भन्ने के छ र ? अरू व्यवसाय गरे भइहाल्छ । एउटा गीत तयार गर्नु भनेको ठूलो सिर्जना हो । भूपी शेरचनको कविता राम्रो लाग्यो भन्दैमा तल माथि गरेर आ नाम छाप्नु जस्तै हो रिमिक्स ।
जनवादी संगीतको अपव्याख्या
जनवादी संगीत कुनै फरक र विशिष्ट विधा होइन । गीतको विषयवस्तु र सिद्धान्त फरक होलान्, तर कला उही हो । लोकगीत गाउनेले जनवादी गाउन सक्दैन भन्ने होइन । तर, नेपालमा जनवादी संगीतका नाममा गरिने व्याख्या मलाई गलत लाग्छ । अमूक पार्टीको झन्डामुनि बसेर पार्टीको गुनगान गाउँदैमा मात्रै जनताको गायक हुने र अरू सबै अगायक
हुने ? मानवीय संवेदना र गुणका गीत जनताको नभएर कसको गीत हो त ? जनता भनेको पनि मान्छे नै हो । जनवादी कुरा गर्नेले चाहिँ प्रेम गदैनन् ? उनीहरूका चाहिँ बाल्यकाल, जवानी र बुढयौली हुँदैन र ? यी त जीवनका शाश्वत सत्य हुन् । प्रेमको गीत भनेको समग्र मान्छेको जीवनको गीत हो, जीवन त क्रान्तिकारीले पनि बाँच्छ र अरूहरूले पनि । प्रेमको नाममा समाजलाई अपाच्य गीत पो हुनुहुँदैन ।
संगीतमा विदेश हस्तक्षेप
त्रिविअन्तर्गत कलेजमा संगीत ऐच्छिक विषय राखिएको छ । तर, त्यहाँ सबै भारतीय राग-रागिनी मात्रै पढाइन्छ । नेपाली संगीतको त केही पनि छैन । कुनै पनि कलेजमा किन मादल र सारंगी पढाइन्न ? किन नेपाली लोकभाका पढाइन्न ? हाम्रा देउडा, रोइला, सेलो, हाक्पारे, सालैजो किन पढाइन्न ? उनीहरूले बनाइदिएको राग-रागिनीको नियमचाहिँ घोक्नुपर्ने, तर हाम्रा हाक्पारेको नियमचाहिँ घोक्न नपर्ने ?
आफ्नो संगीतलाई पन्छाएर उनीहरूको संगीत अँगालो हालेर अगाडि बढ्दै छौँ हामी । उनीहरूको संगीत समृद्ध हुँदै
छ, हाम्रोचाहिँ प्रत्येक दिन खिइँदै गइरहेको छ । अहिले देशभर संगीत विद्यालय छन् । त्यहाँ राग यमन पढाइन्छ । पूर्वको पाँचथरमा संगीत विद्यालय खोलिन्छ, तर त्यहाँको पालम नपढाएर राग यमन पढाइन्छ । पश्चिम डोल्पामा संगीत विद्यालय छ, तर त्यहाँ पनि उही राग यमन !
संगीतको व्याकरण शास्त्रीय संगीत हो । भारतले लोक र शास्त्रीयलाई मिलाएर अर्को नयाँ संगीत जन्माए । र, त्यसले संसारभरि प्रभाव जमायो । भारत अहिले संगीतलाई संसारभरि पुर्याउँदै छ । तर, हामीलाई संगीतमा लागेपछि तत्कालै कमाइहालौँ भन्ने हतारो हुन्छ, गीत गाएर गाडी चढिहाल्ने हतारो हुन्छ । उसो त, व्यक्तिको छिट्टै कमाऊँ, राम्रो लगाऊँ र मीठै खाऊँ भन्ने हुन्छ । तर, सरकारी संस्थामा रहनेले सोच्नुपर्छ कि पुग्दैन ? उनीहरूले पनि बजारको हल्लाका पछाडि कुद्नु त भएन । म पनि संस्थानको जागिरे हुँ । नजिकबाट बुझ्ने अवसर पाएको छु । अनावश्यक राजनीति र बठयाइँबाहेक अरू काम गर्ने फुर्सदै हुन्न मानिसलाई । अनि कसरी काम हुन्छ ? संगीतमा व्यावसायिकताको पाटो एकातिर होला । त्यो पाटोतिर एक जमात जान्छन् । ठीक छ, उनीहरूलाई पनि छाडिदिऊँ । तर, अर्को पाटो हो राष्ट्रिय पहिचानको । तर, व्यावसायिकताका नाममा अहिले अरूको नक्कल गर्ने र उत्ताउलो गीत गाउने जमात मात्रै तयार भएको छ ।