कलमजीवीहरूको चलचित्र यात्रा

कलमजीवीहरूको चलचित्र यात्रा

https://artistnepal.com/

https://artistnepal.com/

"

वि. सं. २००८ सालमा सत्य हरिश्चन्द्र प्रदर्शन भएको चौध वर्षपछि २०२२ सालमा आमा प्रदर्शित भयो । यसपछि हिजो आज भोलि, परिवर्तन, माइतीघर, मनको बाँधजस्ता चलचित्रहरू पनि प्रदर्शित भएको भए तापनि वि. सं. २०३९ सालमा प्रदर्शित जुनी पछि मात्रै नेपालमा चलचित्र निर्माणको क्रम अगाडि बढ्न थालेको हो । चलचित्र पत्रकारिताको इतिहास केलाउने हो भने यस क्षेत्रमा यस्ता धेरै कलमजीवीहरू पनि जन्मे, जो कलमको बाटो हुँदै चलचित्रकर्मतिर पनि लागे । अहिले खोज्ने हो भने यस्ता चलचित्रकर्मीहरू असङ्ख्य नै भेटिनेछन् तर यतातिरका अग्रज को हुन् भन्ने कुरा कौतुहलताको विषय हुन सक्छ । नेपालमा चलचित्र पत्रकारिताको व्यवस्थित एवं पेशागत विकास भनेको कामना’ मासिकको प्रकाशन आरम्भसँगसँगै भएको हो । यो २०४१ मङ्सिर १५ गतेको कुरा हो । यसभन्दा अगाडि चलचित्र विषयलाई समेटेर सुभाष गजुरेलको सम्पादनमा ‘कलाकार आवाज’ र विजय उदय पाल्पालीको सम्पादनमा ‘ममता’ अनि अभिनेता विश्व बस्नेतको सम्पादनमा ‘मधुरम’ पनि प्रकाशित भइसकेको थियो । ‘मधुरम’ रङ्गीन आवरणमा प्रकाशित नेपालको पहिलो पत्रिका हो ।

चलचित्रबारे गहिरो अध्ययन गरेका लक्ष्मीनाथ शर्माले वि.सं. २०४० सालमा ‘बदलिँदो आकाश’ को निर्देशकको रूपमा चलचित्रकर्मको थालनी गर्नुभन्दा धेरै अगाडि नै चलचित्रमाथि कलम चलाउन थालिसकेका थिए । ‘नेपालमा चलचित्र वितरण र प्रदर्शन’ शीर्षकमा लक्ष्मीनाथ शर्माले लेखेको लेख वि.सं. २०२९ मङ्सिर १ गतेका दिन गोरखापत्रमा प्रकाशित भइसकेको थियो । त्यसपछि अहिलेसम्म पनि निरन्तररूपमा कलम चलाउँदै आएका श्री शर्माले लेखेको पुस्तक ‘चलचित्रकला’ नै नेपालमा चलचित्रबारे लेखिएको पहिलो पुस्तक हो । यो पुस्तक २०३८ असारमा प्रकाशित भएको थियो । यसरी हेर्दा कलमको यात्राबाट चलचित्रलाई गन्तव्य बनाउने पहिलो व्यक्ति लक्ष्मीनाथ शर्मा नै हुन् भन्ने देखिन्छ ।

चेतन कार्कीले स्वतन्त्र निर्देशकको रूपमा बनाएको चलचित्र ‘विश्वास’ २०४३ सालमा प्रदर्शित भएको थियो । निर्देशनको यात्रा ढिलै थालेका चेतन कार्की सधैँ नै नेपाली चलचित्रको विकासमा लाग्दै आएका चलचित्रकर्मी हुन् । उनले चलचित्र निर्देशकको रूपमा चलचित्रकर्म थाल्नुअघि थुप्रै पत्रपत्रिकाहरूमा नेपाली चलचित्रका विविध पक्षमाथि कलम चलाइसकेका थिए । तीमध्ये ‘राजा वीरेन्द्रको शुभ राज्याभिषेक’ विशेष अङ्कका रूपमा प्रकाशित ‘भानु’ पत्रिकामा चलचित्र सङ्क्षिप्त इतिहास र वर्तमान शीर्षकको लेखलाई त्यतिबेला एक विचारोत्तेजक लेखको रूपमा लिइएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ

लक्ष्मीनाथ शर्मा, चेतन कार्की, विश्व बस्नेत मात्र नभई ‘कलाकार आवाज’ का प्रकाशक सम्पादक सुभाष गजुरेल, ‘आँसु’ का मोहन निरौला पनि कलमको यात्राबाट चलचित्रकर्मको यात्रातिर अघि बढेका केही अग्रजहरूमध्ये पर्छन् । यसरी पाइला अघि बढाउने पछिल्ला चलचित्रकर्मीहरूमा ‘निशाना’ चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल पनि एक हुन् । साप्ताहिक पत्रिकासित सम्बद्ध युवा कलमजीवी सुव्रत आचार्य पनि अहिले अभिनेताका रूपमा देखिएका छन् । उनको पहिलो चलचित्र ‘नसीब आफ्नो’ हो ।

विजय पराजय, सौता, महादेवी, अरुणिमा, तपस्याजस्तो धेरै चलचित्रहरूका निर्माण परिकल्पनाकार शैलेश आचार्य पनि चलचित्रमाथि कलम चलाउने कलमजीवी नै थिए । चलचित्र विकास बोर्डको अध्यक्षसमेत भइसकेका शैलेश आचार्यजस्तै बोर्डका निवर्तमान अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली पनि मूलतः पत्रकारिता फाँटसँग नै सम्बन्धित व्यक्तित्व हुन् । बोर्डका एक पूर्व सदस्य एवं लेखक नयनराज पाण्डे पनि विगतमा कलम चलाउँदै आएका व्यक्तित्व हुन् ।

‘सिमाना’ जस्तो विचारोत्तेजक चलचित्रका सर्जक निर्देशक एवं लेखक प्रकाश सायमी पनि पत्रकारिताको पृष्ठभूमि बोकेको चलचित्रकर्मी हुन् । यो स्तम्भकार पनि कलमको यात्राबाट चलचित्रकर्मको गन्तव्यतिर बढेका चलचित्रकर्मी हो । ‘कामना’ पत्रिकाबाट चलचित्र पत्रकारिता थालेका कलमजीवी मदन घिमिरे अहिलेका व्यस्ततम् चलचित्र निर्देशक हुन् । ‘रोहिणी साप्ताहिक’ मा कलम चलाएका दयाराम पाण्डे ।

अहिलेका सबैभन्दा चर्चित गीतकारको दर्जा पाइसकेका छन् भने ‘रोशनी’ पत्रिकामा कलमजीवीका रूपमा रहेका सुशील देवकोटा अहिले चलचित्र लेखन फाँटका उदियमान चलचित्रकर्मी हुन् । पत्रकारिताको कथामा ‘परिभाषा’ जस्तो सार्थक चलचित्र बनाएका निर्देशक राजेन्द्र शलभ, ‘सावधान’ बाट निर्देशन यात्रा थालेका दिनेश डि.सी. र एक मात्र महिला निर्देशकका रूपमा चिनिएका सुचित्रा श्रेष्ठ पनि कलमको यात्राबाट चलचित्रकर्मको गन्तव्यतिर बढेका चलचिकर्मीहरू हुन् । अहिले सुचित्रा श्रेष्ठकै पाइला पछ्याइरहेकी सञ्चारकर्मी सम्झना उप्रेती रौनियार पनि चलचित्र निर्देशन अध्ययन गरिरहेकी चलचित्रकर्मी हुन् । उनले ‘वीर गणेशमान’मा सहायक निर्देशकको रूपमा समेत काम गरिसकेकी छिन् । ‘परिचय’ र ‘मुक्ति’ जस्ता चर्चित टेलिशृङ्खलाका अभिनेत्री सरिता लामिछाने पनि एक सञ्चारकर्मी नै हुन् । निर्देशक छिरिङ रितार शेर्पाको ‘कर्मा’को सहायक निर्देशकका रूपमा काम गरेका दीपक रौनियार र दीपेन्द्र लामा पृथक् विचार बोकेका युवा पत्रकारहरू हुन् भने ध्रुव लम्साल र दिवश गुरागाईंजस्ता चलचित्र पत्रकारहरू अहिले चलचित्र लेखकका रूपमा स्थापित हुने कोसिस गर्दैछन् । नरेश भट्टराईको कथामा ‘को होला मेरी मायालु’ प्रदर्शन हुँदैछ ।

पत्रकार आर. के. सुवेदी पनि ‘पत्रकार’ शीर्षकमै चलचित्र निर्माण गरिरहेका छन् । एच.डी. फम्र्याटमा निर्मित नेपालको पहिलो डिजिटल चलचित्र ‘कागबेनी’का निर्देशक भुषण दाहाल पनि मूलतः सञ्चारकर्मी नै हुन् । चलचित्रकर्ममा लाग्ने कलमजीवीहरू धेरै छन् । अभिनेताकै रूपमा स्थापित हुन नचाहेे पनि आकलझुकल नै भए पनि आप\mनो अनुहार देखाउने पत्रकारहरू धेरै नै छन् । निर्देशक शोभित बस्नेत त पत्रकारलाई अभिनेता बनाउन मन पराउने चलचित्रकर्मी हुन् । अभिनयमा रुचि राख्ने पत्रकारहरूमा सुशील देवकोटा, मनोज के.सी., नरेश भट्टराई प्रमुख हुन् भने नरेश भट्टराईले चलचित्रका गीतहरू पनि लेखेका छन् ।

प्रकाश सुवेदी, विमल पाण्डे, श्रीओम श्रेष्ठ, शान्तिपि्रय, सन्तोष रिमाल, जयप्रकाश रिजाल, भरत शाक्य आदि पनि आकलझुकल पर्दामा देखा पर्ने अनुहारहरू हुन् । उनीहरूमध्ये जयप्रकाश रिजाल त चलचित्र निर्माताका रूपमा समेत अघि बढिरहेको नाम हो । चलचित्र निर्देशक समाजका वर्तमान अध्यक्ष के.पी. पाठक र निवर्तमान अध्यक्ष नारायण पुरी पनि कलमबाट चलचित्रकर्मतिर अगाडि बढेका चलचित्रकर्मीहरू हुन् । अहिले सुमन दाहाल पनि यसरी नै आप\mनो यात्रालाई गन्तव्यतिर डोर्‍याउँदै छन् । जन भावना साप्ताहिकका सम्पादक प्रकाशक एवं वरिष्ठ पत्रकार निरोधराज पाण्डेले पनि निर्देशक प्रकाश थापाको ‘सिन्दूर’मा उद्घोषकको रूपमा सानो भूमिका गरेका थिए । पत्रकारिताबाट निर्देशन क्षेत्रमा लागेका के.पी. पाठकले आप\mनो नयाँ चलचित्र ‘मैना’ भित्र रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालगायत एक दर्जन वास्तविक पत्रकारहरूलाई पत्रकारकै रूपमा अभिनय गराएका छन् ।

कलमजीवी डब्बु क्षेत्री पनि निर्देशकको रूपमा स्थापित हुने क्रममा अगाडि बढिरहेका छन् । यही उद्देश्य प्राप्तिका लागि उनले ‘कलेज अफ फिल्म स्टडिज’ बाट फिल्म डाइरेक्शन मा डिप्लोमा पनि हाँसिल गरिसकेका छन् । वरिष्ठ चलचित्र समीक्षक रमण घिमिरे त गीतकारका रूपमा स्थापित नाम नै हो । चलचित्र पत्रकारिताको गर्विलो इतिहास वास्तवमै चाखलाग्दो छ । यसका साथै चलचित्रमाथि कलम चलाउनेहरू आप\mनो यात्राको गन्तव्य चलचित्रकर्मलाई बनाउँदै लानु पनि कम रोचक भने छैन । कहिलेकाहीँ त यस्तो लाग्छ कि पत्रकारिताको फाँटलाई चलचित्रकर्मतिर बढ्ने सिँढी बनाइरहेका छन् तर निष्कर्षमा भन्ने हो भने चलचित्रकर्ममा अघि बढेकाहरूले वास्तवमा आफूभित्र भएको प्रतिभा प्रदर्शन गर्ने क्रममा चलचित्रकर्मलाई आप\mनो गन्तव्यका रूपमा लिएका हुन् । त्यसैले यसलाई स्वाभाविक नै मान्नु पर्दछ । अनि यस्तो यात्राले चलचित्रबारे लेख्ने कलम र चलचित्रकर्मबीचको सम्बन्धलाई नयाँ आयाम दिएको छ भन्ने कुरामा दुई मत गर्नुपर्ने देखिँदैन ।