अल बिदा ! कुमारदाई

Written by Artist Sansar

जिन्दगीको के भर छ र आजा वर भोलि त पर……

बतासैले उडाई ल्यायो माया मेरो……. लगायत कालजयी गीतका चर्चित गायक कुमार कान्छाको शोमबार अपराहृन भारतको मुम्बईमा निधन भएको छ । पाँच महिनायता मुम्बईस्थित रईजा अस्पतालमा स्पाईनल कर्डको समस्याको कारण उपचार गराइरहनुभएका ५८ वर्षीय गायक कान्छाको अपराहृन सवा ३ बजे अस्पतालले उहाँलाई मृत घोषित गरेको हो ।

स्पाईनल कर्डमा भएको ट्युमरको शल्यक्रियापछि उहाँलाई पाँच महिनायता पक्षाघात भएको थियो । शल्यक्रियापछि कम्मरमुनिको भाग नचल्ने भएका कान्छाले मुम्बईस्थित एसएल रईजा अस्पतालमा आज अन्तिम सास लिनुभएको हो ।

कुमार कान्छा गम्भिर हुँदैगए पछि उनको उपचारका लागि सहयोग जुटाउन पहिलो पटक जानकी टेक्नोलोगीले एस एम एस अभियान चलाएको थियो । त्यसपछि बिभिन्न सांगितिक कार्यक्रमहरु आयोजना भएका थिए र बिभिन्न माध्यमबाट आर्थिक संकलन थालिएको थियो । तर विश्वभर छरिएका नेपालीहरुको प्रयासबाट पनि कुमार कान्छालाई भने बचाउन सकिएन ।

दैलेख पुख्र्यौली घर भएका गायक कान्छाको जन्म २०१४ साल मङ्सिर २८ गते भारतको कोलकातामा भएको थियो ।

नेपाली चलचित्र चिनोको ‘बतासैले उडाई ल्यायो माया मेरो’ गीतबाट चर्चामा आउनुभएका उहाँले दर्जनौँ नेपाली चलचित्र तथा ‘प्रीत बिना…’ बोलजस्ता आधुनिक गीतमा स्वर दिनुका साथै लाहुरे, कोशेली जस्ता चलचित्रमा अभिनय समेत गरेका गायक कान्छाले पिया कर गावँ नामको हिन्दी चलचित्रमा उत्कृष्ट अभिनय गरे बापत भारतमा राष्ट्रियस्तरको पुरस्कार पाएका थिए ।

गायक कान्छाले आफ्नो अन्तिम एल्बमको रुपमा केहि समय अघि ‘साइनो’ प्रकाशित गरेका थिए भने उनको चलचित्रमा ‘तुलसी’ का लागी गाएको अन्तिम गीत अहिले चितवनमा छायाँकन भईरहेको छ ।

नेपाली संगीतको यस दुखद घडीमा स्वर्गीय कुमार कान्छा प्रति आर्टिस्टनेपाल डटकम परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

About the author

Artist Sansar