नया बर्षमा नयाँ अभिनेत्री

Written by Artist Sansar

2011-07-09 डब्बु छेत्री
नेपाली रजतपटमा बर्षेनी नव अभिनेत्रीको उदय हुन्छ । कतिपय अभिनेत्री एकपछि अर्को चलचित्रमा काम गर्दागर्दै क्रमशः रजतपटकै अग्रणी बन्छन् । कोही भने एक/दर्ुइ चलचित्रमा उदाउन नपाउँदै चित्रपटबाट पलायन हुने गर्छन् । यस्तै, २०६७ मा पनि नेपाली रजतपटमा थुप्रै नव अभिनेत्रीहरू उदाए । तीमध्ये कोही अभिनेत्रीकै रूपमा जन्मिए । कोही भने नव सह-अभिनेत्रीको रूपमा प्रस्तुत भएका छन् ।

२०६७ मा व्यावसायिक सफलता हासिल गरेको चलचित्र ‘नाइँ नभन्नू ल’ले नेपाली चित्रपटलाई नव अभिनेत्री ऋचासिंह ठकुरी दियो । पहिलो चलचित्रमै मुख्य भूमिकामा जम्न सकेकी ऋचाको कामले सो चलचित्रलाई सफल बनाउन मद्दत पुर्‍यायो । हुन त ऋचाको अर्को चलचित्र ‘मन मनै मन पराएँ’ पनि २०६७ मै रिलिज भयो । पहिलो चलचित्रमा यी नवोदित अभिनेत्रीले जति सफलता हासिल गरेकी थिइन्, दोस्रो चलचित्रमा उनले आफ्नो प्रभाव छाड्न सकिनन् । हाल उनी चलचित्र ‘म त्रि्रो भइसकें’ मा अभिनयरत छिन् ।

फस्ट लभबाटै अर्की अभिनेत्री ऋचा शर्माले नेपाली सिनेवृत्तमा ‘डेब्यु’ गरिन् । पहिलो चलचित्रमै मुख्य अभिनेत्री बन्ने अवसर पाएकी उनी नेपाली सिनेजगत्की आशालाग्दी नव अभिनेत्रीको रूपमा उत्रिएकी छिन् । फस्ट लभ त हिट भयो नै, उनको अभिनयलाई पनि दर्शकले त्यत्तिकै मन पराए । हाल ‘हाई-वे’ लगायतका सिनेमामा अभिनयरत ऋचा शर्माको नेपाली सिनेजगत्मा उज्ज्वल भविष्य देखिन्छ ।

चलचित्र कन्यादानबाट कञ्चन रेग्मी नव अभिनेत्रीकै रूपमा नेपाली चलचित्रमा उदाइन् । सो चलचित्रले राम्रो व्यापार पनि गर्‍यो । तर, उनले चर्चा पाउन सकिनन् । आशा गरौं, उनले पनि आफ्नो अभिनयको प्रभाव छाड्ने छिन् । भिडियो फिल्म ‘यतीको खोजी’बाट अभिनयमा उत्रिएकी सुनिता गर्न्धर्व पनि २०६७ मा चलचित्र ‘चिनो’बाट रजतपटमा नव सह-अभिनेत्रीको रूपमा पदार्पण भएकी हुन् । तर, त्यसपछि उनले सिनेमा पाएकी छैनन् । जसका कारण उनको भविष्यबारे अहिले नै अनुमान गर्नु अतिरञ्जना होला ।

२०६७ बाटै चलचित्र द मोस्ट वान्टेडमार्फ तेजुला खतिवडा नेपाली सिनेवृत्तमा उत्रिइन् । त्यसपछि उनले अरू सिनेमा खेलेको समाचारमा आएको छैन । पहिलो सिनेमामा उनी नव अभिनेत्रीको रूपमा प्रस्तुत भए पनि त्यसपछि उनको चर्चा सेलाएको छ । आशा गरौं, उनले पनि आफ्नो उपस्थितिलाई नेपाली चलचित्रमा आगाडि बढाउनेछिन् । यसअघि चलचित्र जगंबाजमा सानो भूमिकामा उपस्थित भएकी थिइन्, रञ्जिता गुरुङ । २०६७ मा उनी चलचित्र गोर्खा पल्टनमा अभिनेता एवं गायक प्रशान्त तामाङको जोडी बनेर मुख्य अभिनेत्रीको रूपमा प्रस्तुत भइन् । यो चलचित्र वर्षै र्सवाधिक सफल भयो । उनले पनि निकै चर्चा पाइन् । त्यसो त अर्को चलचित्र दसगजामा पनि उनी मुख्य भूमिकामै प्रस्तुत भइन् । दसगजाले पनि च्यारिटीमा सफलता हासिल गरेको छ । तर पनि त्यसपछि यी अभिनेत्रीले सिनेमा पाएकी छैनन् । चलचित्र पाएमा उनले राम्रो गर्नेमा दुईमत नहोला ।

दसगजाबाटै नव सह-अभिनेत्रीको रूपमा विशाखा खनाल ‘रुपा’ले नेपाली फिल्ममा ‘डेब्यु’ गरिन् । उनको सशक्त अभिनयलाई मन पराएर निर्देशक नवल नेपालले यसै वर्षविशाखालाई नयाँ चलचित्र ‘श्रीमान्’मा मुख्य भूमिकामा उतारे । श्रीमान् प्रदशनको तयारीमा छ । च्यारिटीबाट चर्चा बटुलेको विशेष फिल्म दसगजा ९ वैशाखबाट रिलिज हुँदैछ । यी दुई सिनेमा रिलिज हुन नपाउँदै विशाखाले सन्त्रास, नीलकाँडालगायतका सिनेमामा अभिनयरत छिन् ।

चलचित्र स्वरबाट भने २०६७ मा नेपाली चलचित्रवृत्तमा तीन नव अभिनेत्री उदाए- केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिसा हमाल । तथापि, सिनेमाको लिड भने केकीले गरेकी थिइन् । स्वरले ठिकै व्यापार गरे पनि केकीले भनै निकै चर्चा कमाइन् । उनले त्यसपछि लगातार सिनेमा पाइरहेकी छिन् । अर्की अभिनेत्री बेनिसा हमालले पनि स्वर रिलिजपछि खाली बस्नुपरेको छैन । त्यसैले नेपाली सिनेवृत्तमा केकी र बेनिसाको भविष्य उज्यालो देखिन्छ ।

स्वरबाटै डेब्यु गरेकी रीमा विश्वकर्मा भने पछिल्लो समय नेेसनल टेलिभिजनमा समाचार वाचिकाको रूपमा कार्यरत छिन् । काँचको पर्दामा नियमित प्रस्तुत हुने रीमाले त्यसपछि सिनेमा पाएकी छैनन् । त्यसैले रतजपटमा उनको भविष्यबारे अहिले नै अड्कल गर्न गाह्रो छ ।

यसरी २०६७ मा नव अभिनेत्रीको रूपमा थुप्रै युवती आएका छन् । यीमध्ये धेरैजसो नव अभिनेत्री नेपाली सिनेबिहानीको आशालाग्दो किरण बनेका छन् । केहीले भने प्रभाव जमाउन सकेनन् । तथापि, आशा गरौं उनीहरूले आउँदा दिनमा नेपाली चलचित्रलाई अगाडि बढाउनेछन् ।

About the author

Artist Sansar