लता मंगेशकर ४६ बर्षपछि नेपाली गायनमा | लताको आवाजमा तेश्रो नेपाली गित रेकर्ड

Written by Artist Sansar

सात दसक भारतीय फिल्म उद्योगमा छाउँदै आएकी सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि तेस्रो नेपाली गीत गाएकी छन्।

र्टिस्ट नेपाल । सात दसक भारतीय फिल्म उद्योगमा छाउँदै आएकी सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि तेस्रो नेपाली गीत गाएकी छन्। आनन्द अधिकारी रचित ‘फूल भन्छ फुलिरहूँ, जून भन्छ चम्किरहूँ’ बोलको गीत लताले तीन साताअघि मुम्बईमा रेकर्ड गराएकी हुन्। मुम्बईको अँधेरी वेस्टस्थित स्वरलता स्टुडियोमा लताले संगीतकार शिखर सन्तोषको कम्पोज रहेको गीत एकल र रामकृष्ण ढकालसँग युगल गरेर दुईपटक गाएकी छन्।

गीतको सबै काम सिध्याएर संगीतकार सन्तोष र गायक रामकृष्ण काठमाडौं आइसकेका छन्। युगल गीत रामकृष्णको आगामी एल्बम ‘बाँचुन्जेल’मा समावेश गर्ने तयारी छ भने एकल गायनलाई चाहिँ कुनै फिल्ममा राखिने छ ।

लताको भदा पर्ने गायक वैजनाथ मंगेशकर र साथी मयुरेसको सहयोगमा गीत रेकर्ड सम्भव भएको हो । १० वर्षदेखि मुम्बईको संगीत क्षेत्रमा संघर्ष गरिरहेका सन्तोषले सुरुमा लताकहाँ गीतको शब्द र रामकृष्णको गाएको सिडी पठाएका थिए।

तत्कालीन राजा महेन्द्रले भ्रमण र सांगीतिक कार्यक्रमको निम्तो दिए पनि अहिलेसम्म नेपाल आउन नसकेकामा ८२ वर्षीया लताले पछुतो मानेको पनि स्रोतको दाबी छ । लताले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइतीघर’मा मवीवि शाह (तत्कालीन राजा महेन्द्रको साहित्यिक नाम) रचित ‘जुन माटोमा मेरो’ गीत गाएकी थिइन्। त्यसमा जयदेवको संगीत छ। त्यसलगत्तै उनले शाहकै अर्को गीत भारतीय संगीतकार हेमन्तकुमारको कम्पोजमा मुम्बईमै रेकर्ड गरेकी थिइन्।

३६ भाषामा गाइसकेकी लताले नेपाली संगीतकारको गीत गाएको यो पहिलोपटक हो।

About the author

Artist Sansar