जग्गा कारोबारमा कलाकर्मी

https://artistnepal.com/

https://artistnepal.com/

"

चलचित्र निर्माता संघका पूर्वअध्यक्ष अशोक शर्माले एकताका एकपछि अर्काे भटाभट फिल्म निर्माण गर्थे । ट्रक ड्राइभर, सीता, गरिब, निरमाया, अल्लारे, मिस्टर रामकृृष्णे र मितिनीपछि उनले अर्काे फिल्म निर्माण गरेका छैनन् । मितिनीताका घोषणा गरेको उनकोे आठाँै फिल्म छोरी घोषणाभन्दा अघि बढ्न अहिलेसम्म सकेको छैन । र, तत्काल कुनै फिल्म निर्माण गर्ने योजनामा पनि छैनन् उनी ।

अशोक शर्माले फिल्म बनाउन किन छाडे ? ‘म अचेल पूर्ण रूपले डिजिटल सिनेमा नेपालको विस्तारमा व्यस्त छु । अहिले फिल्म बनाइहाल्ने कुनै योजना छैन,’ मितिनीपछि अर्काे फिल्म निर्माण नगर्नुको कारण बताउँदै उनी भन्छन्, ‘त्यसपछि म अढाइ-तीन वर्ष अपराध सिरियलमा व्यस्त भएँ ।

अपराध बन्द भएपछि डिसिएनमा लागेँ ।’ फिल्मबाट भन्दा जग्गा कारोबारमा फाइदा देेखेर त्यता आकषिर्त भएका उनी जग्गा कारोबारबाट मालामाल भएकाले फिल्म बनाउने झन्झटमा नलागेको चर्चा फिल्म वृत्तमा छ । तर, उनी यो कुरा आंशिक मात्रामा मात्रै स्वीकार्छन् । भन्छन्, ‘म आफैँ जग्गा कारोबारमा लागेको होइन, अर्जुन श्रेष्ठसँगको पार्टनरसिपमा काम गरेको हुँ । मलाई आइडिया पनि छैन । अर्जुनले नै सबै हेर्छन् । तर, म त्यति धेरै मालामाल भएको छैन जति बजारमा हल्ला छ ।’

मधुसूदन सिलवाल, संजय कुटु, शिव गिरी, रामभक्त श्रेष्ठहरू फिल्म निर्माताभन्दा पहिला जग्गा व्यापारी हुन् । नायक शिव श्रेष्ठ, अर्जुन श्रेष्ठ तथा हास्य कलाकार किरण केसीले पनि जग्गा कारोबारलाई प्रमुख पेसा बनाएका छन् । जिरे खुर्सानीका कलाकार जितु नेपाल, किरण केसी, शिवहरि पौडेल र मनोज आचार्यले संयुक्त रूपमा जग्गा किनेका छन् । आफूहरूले किनेको जग्गा व्यापारिक प्रयोजनका लागि नभएको जितु बताउँछन् । भन्छन्, ‘व्यवसायका लागि किनेका होइनौँ । घडेरी किनेका हौँ । भोलि मूल्य निकै बढ्यो, घप्लक्कै फाइदा हुने भयो भने व्यवसाय बन्न सक्ला ।’ निर्माता तथा नायक अमित र रमित ढुंगाना पनि जग्गा कारोबारमा छन् ।

केही समययतादेखि संगीतकार सुरेश अधिकारी पनि जग्गा कारोबारमा डटेर लागेका छन् । संगीत र फिल्म निर्माणमा भन्दा बढी जग्गामा लागेकाले उनी निर्माता बनेको फिल्म तिमी मेरो म तिम्रो त्यतिकै अड्किएको विश्लेषण उनी निकट फिल्मकर्मीको छ ।

पछिल्ला दिनमा निर्माता/निर्देशक महेन्द्र बुढाथोकी फिल्मकर्मबाट ओझेल परेर जग्गा कारोबारमा लागे । छोटो अवधिमै उनी मालामाल भए । महेन्द्रले अहिले गौरीघाटमा घर निर्माण गरिरहेका छन् । हत्तेरीकाका सहनायक तथा ग्रहण फिल्मका नायक श्याम घिमिरे पनि जग्गा कारोबारमा छन् । जग्गाबाट प्रशस्त मुनाफा कमाइरहेका उनी फिल्मभन्दा जग्गा कारोबारमै लालायित छन् ।

केही समययता जग्गा कारोबारमा मन्दी आएकाले जग्गा कारोबारमा सक्रिय फिल्मकर्मीमा पनि निराशा छाएको छ । जग्गा कारोबारबाटै मालामाल भएका पनि अहिले तनाबमा छन् । वर्र्षौसम्म फिल्मबाट कमाउन नसकेको रकम जग्गाबाट कमाएकाहरू अब के गर्ने ? भनेर चिन्तित छन् ।

लक्ष्मण