सोनाम पाख्रीनको चिनारी, नेपाली मिडिया र उनी

Written by Artist Sansar

टेलिभिजनकर्मीबाट,गायक हुँदै भिडियो निर्देशकको समेत चिनारी बनाएका सोनाम पाख्रीनले ७० भन्दा बढीको संख्यामा भिडियो निर्देशन गरिसकेका छन्

आर्टिस्ट नेपाल ।

टेलिभिजनकर्मीबाट,गायक हुँदै भिडियो निर्देशकको समेत चिनारी बनाएका सोनाम पाख्रीनले ७० भन्दा बढीको संख्यामा भिडियो निर्देशन गरिसकेका छन् । नेपाल वान टेलिभिजनको लोकप्रिय कार्यक्रम हेलो नेपालबाट आफनो चिनारीलाई अझ फराकिलो बनाएका सोनाम पाख्रीनले प्रशस्त मात्रामा फयानमात्र नभइ अथाह प्रशंसक बटुलिसकेका छन् । जिवनलाई कलात्मक ढंगले हेर्ने पाख्रिन आफु पनि कलात्मक र केही नयाँ कार्य गरेर जिन्दगी अर्थपुर्ण बनाउने सोचमा सदैव कटिबद्ध रहेको बताउँछन् ।

भारतको आसाममा जन्मिएका पाख्रीनले कर्मथलो भने नेपाललाई बनाउन पुगे । सानैदेखि कलाकारिता क्षेत्रमा विशेष रुचि राख्ने भएकाले उनले भारतमा रहँदा पनि रयाम्प मोडलका रुपमा विभिन्न फेसन सोमा सहभागिता जनाइसकेका रहेछन् । यद्यपी नेपालमा भने उनी मोडल भन्दा पनि उत्कृष्ट मिडियाकर्मी बन्न सफल भए । सन् २००३ मा भारतबाट काठमाडौँ भित्रिएका सोनामले त्यसबेला नेपाल टेलिभिजन मेट्रो (एनटीभी मेट्रो) मा “मेट्रो बिट्स” नामक फरक किसिमको कार्यक्रम सञ्चालन गरेका थिए । साप्ताहिक रुपमा प्रसारण हुने उक्त लाइभ प्रोग्राम त्यसबेलाका अण्डरग्राउण्ड ब्याण्डका साथै अन्यका निम्ति राम्रो प्लयाटर्फम थियो । जहाँ उनीहरुले आफनो कम्पोजीशन पनि लाखौँ आमदर्शकलाई सोही प्रोग्राम मार्फत सुनाउन पाउँथे ।

सन् २००८ नोभेम्बर महिनासम्म एनटीभी मेट्रोको यात्रापछि सोनामले त्यसलगत्तै नेपाल वान टेलिभिजनको यात्रा तय गरेका थिए । नेपाल वानमा प्रोडयुसरका साथसाथै प्रेजेन्टरको जिम्मेवारी सम्हाल्दै सोनामले प्रारम्भमा “4U” “sms 4” हुँदै सन् २००९ फ्रेब्रुअरी १४ बाट अत्याधिक लोकप्रिय बनेको कार्यक्रम हेलो नेपाल निर्माण गरेका थिए । यति मात्र नभइ उनले नेपाल वान टिभिमा “युथ रक्स”, “क्याम्पोमेनिया” लगायतका युवा पुस्तामा लक्षित फरक किसिमका कार्यक्रम सञ्चालनका साथै निर्माण गरेका थिए । टेलिभिजनकर्मी मात्र नभइ संगितमा अथाह रुचि राख्ने सोनामले राम्रा गितहरु पनि संगित क्षेत्रलाई दिएका छन् । उनीद्धारा गाइएको “यस्तै रैछ भाग्य” बोलको गितले एकताका राम्रो चर्चा परिचर्चा बटुल्यो । यस गितको लोकप्रीयतासँगै सोनाम गायकीमा पनि अब्बल रहेछन् भन्ने प्रमाणित गरिदियो । सन् २००६ देखि भिडियो निर्देशनमा लागेका पाख्रीनले पहिलोपटक जी एक्स सौलको पञ्चे बोलको गितलाई निर्देशन गरेका थिए । विशेष गरी पप, रक र हिपप जानरका गितहरुको निर्देशन गर्ने पाख्रीनको ब्यस्तता अहिले म्युजिक भिडियोतिरै रहेको देखिन्छ ।

About the author

Artist Sansar