रेडियो नेपालसँगको मेरो नाता गाँसिनुमा गजबको संयोग रहेको छ। वि.सं. २०२२ सालमा राष्ट्रिय नाचघरको रंगमञ्चमा “धनबहादुरको मृत्युमा परिवारको आँसु” नामक वियोगान्तक नाटक मञ्चन भइरहेको थियो। जसको मूल पात्र म र शकुन्तला गुरुङ थियौँ। नाटक समाप्त भई पर्दा लागिसकेको थियो। दर्शकदीर्घाबाट दुई व्यक्ति मञ्चमा उक्लिनुभयो र मतिर हेर्दै भन्नुभयो—
“तपाईँको अभिनय स्वाभाविक र स्वर ओजनदार छ, प्रष्ट संवाद बोल्नुहुँदो रहेछ। म प्रभावित भएँ, तपाईँलाई बधाई छ।”
पहिलो पटक म अवाक् भएँ। पहिलो पटक एक अमुक व्यक्तिबाट मेरो आफ्नै प्रशंसा सुनेँ र ममा एक किसिमको उत्साह सञ्चार भयो। त्यसबेला म केही बोल्न सकिरहेकी थिइनँ।
“म श्यामदास वैष्णव, रेडियो नेपालमा कार्यरत छु। तपाईँको स्वर रेडियोअनुकूल छ। रेडियो नाटकका लागि रेडियो नेपाल आउनुस् है।” – भन्नुभयो।
सँगै उभिएर मलाई हेरी रहनुहुने अर्को व्यक्ति नाटककार, नाटक कलाकार जितेन्द्र महत ‘अभिलासी’ हुनुहुँदो रहेछ।
त्यसको केही दिनपछि श्रीकृष्ण जन्माष्टमीसम्बन्धी नाटकमा स्वर–अभिनयका लागि जितेन्द्र महल अभिलासीज्यूले रेडियो नेपाल आउन खबर गर्नुभयो।
पहिलो रेडियो नाटकमा कंश पात्र को स्वर–अभिनय निभाउने अभिभारा नाटक निर्देशक श्री श्यामदास वैष्णवज्यूले दिनुभयो। सुरुमा त अलि असजिलो, गाह्रो महसुस भयो। तर अन्य नाटक कलाकारको साथ र उत्साहले मैले कंश पात्रको भूमिका निर्वाह गर्न सफल भएँ।
यो नै मेरो जीवनको प्रथम रेडियो नाटकमा अभिनय थियो—श्रीकृष्ण जन्माष्टमीको दिन, २०२२ सालमा। त्यसपछि नियमित रूपमा रेडियो नाटकमा सहभागी भई विभिन्न पात्रहरूको चरित्र निर्वाह गर्ने मौका पाइयो।
यही क्रममा २०३२ सालमा तत्कालीन रेडियो नेपालका महानिर्देशक कृष्णबहादुर खत्रीको पालामा रेडियो कार्यक्रम प्रस्तोताको रूपमा करार सेवामा काम गर्ने अवसर पाएँ।
तत्पश्चात् रेडियो नाटकका लागि नियमित कार्यकै सिलसिलामा विदेशी प्रशिक्षक र स्वदेशी प्रशिक्षकहरूको संलग्नतामा रेडियो नेपालले ३ महिने रेडियो नाटक उत्पादन तथा रेडियो कार्यक्रम आलेख, कार्यक्रम प्रस्तुति सम्बन्धी तालिममा म लगायत पाण्डव सुनुवार, हिरण्य भोजपुरे, आनन्द पुरी, लक्ष्मी भुषाल, सूर्यकुमारी पन्त, विश्व बल्लभ र बाहिरबाट अन्य समेत गरी २० जना सो तालिममा सहभागी भएका थियौँ।
त्यो तालिमले नै मेरो जीवनकालमा नाटक–कलासम्बन्धी लाग्न थप ऊर्जाको वातावरण बनेको थियो।
रेडियो नाटक निर्देशक हरिप्रसाद रिमालको कार्यकाल समाप्त भएपछि २०४३ सालमा नाटक निर्देशकको अभिभारा ममा आयो। रेडियो नेपालको माध्यमबाट नै धेरै कलाकारहरूले स्वर–अभिनय गर्ने अवसर प्राप्त गर्ने वातावरण बन्दै गयो।
रेडियो नाटकमा स्तरीयता र लोकप्रियता बढाउन रेडियो नाटक लेखकहरूको अभाव खड्किन नदिन २०५० सालमा रेडियो नेपालको आयोजनामा त्यसबेलाका उत्कृष्ट रेडियो नाटक लेखक, रेडियो कार्यक्रम विज्ञ तथा प्रस्तोताहरूको सहभागितामा रेडियो नाटक उत्पादन तथा लेखनबारे २ दिने अन्तरक्रिया कार्यक्रम समेत भएको थियो।
साथै तत्कालीन पाँचै विकास क्षेत्रमा स्थापित क्षेत्रीय रेडियो प्रसारण केन्द्र—धनकुटा, पोखरा, सुर्खेत, काठमाडौं, दिपायल—मा रेडियो नाटक उत्पादन तथा निर्देशन प्रतियोगिता गराई स्थानीय कलाकार, निर्देशक, लेखकहरूलाई प्रोत्साहित गर्ने गरी नाटक उत्पादन गरी प्रसारण गर्ने तथा पहिलो, दोस्रो तथा तेस्रोलाई नगद पुरस्कारले सम्मान गर्ने व्यवस्था समेत भएको थियो।
केन्द्रबाट विभिन्न समय–सन्दर्भमा विभिन्न चाडपर्वहरूका धार्मिक, ऐतिहासिक, सामाजिक क्रियाकलापहरूलाई समेट्ने रेडियो नाटकहरू उत्पादन हुँदै गएको थियो।
त्यसताकाका प्रमुख धारावाहिक रेडियो नाटकहरूमा :–
धार्मिक :–
- १) श्री स्वस्थानी व्रतकथामा आधारित ३१ अध्याय (३१ भागको नाटक)
- २) दशैं पर्व सम्बन्धी दुर्गा सप्तचण्डीमा आधारित नौ दिनसम्मको नौ भागको रेडियो नाटक
- ३) तिहार यमपञ्चकको कथालाई समेटेर प्रत्येक दिनको महत्वको नाटक ५ भाग
जनचेतनामूलक सामाजिक नाटक :–
- १) आरोहण अवतरण – बालश्रम शोषणविरुद्धको ५१ भाग
- २) गणेशमानको जीवनीमा आधारित ‘वीर गणेशमान’ नाटक १२ भाग
यी नाटकहरूको अलावा विभिन्न समय, सन्दर्भ र चाडपर्वहरूका धेरै नाटकहरू रेडियो नेपालको आर्काइभमा अहिले पनि सुरक्षित रहेका छन्।
अब शीर्षकको सन्दर्भतिर लागौँ। रेडियो नेपालको एउटा जीवन्त इतिहास बोकेको पुरानो भवनको भित्री भागमा विभिन्न स्टुडियोहरू छन्। त्यही विभिन्न स्टुडियोहरूको सेरेफेरोमा स्टुडियो नम्बर ६ पनि रहेको छ।
तत्कालीन अवस्थामा हरेक शनिबार दिनको ठिक १:३० बजे प्रत्येक नागरिकको मनमस्तिष्कमा भिज्नसक्ने नाटक प्रसारण गरी उत्पादन हुने कक्ष नै स्टुडियो नम्बर ६ हो।
रेडियो नेपालको नाटक उत्पादन हुने कक्ष—अर्थात् कथा अनुसार नाटकका पात्रहरूको स्वराङ्कन गर्ने, देखी घटना आरोह–अवरोहका सङ्गीत, ध्वनि समिश्रण गरी पूर्ण रूपमा नाटक तयार बनाएर प्रसारणयोग्य बनाउने कक्ष हो स्टुडियो नम्बर ६।
स्टुडियो नम्बर ६ मा नाटक उत्पादनका लागि आवश्यक प्राविधिक उपकरण र नाटक उत्पादनका लागि कथा, घटना, स्थान प्रष्ट्याउनका लागि ध्वनियुक्त रेडियो नाटक भएकोले नाटकलाई जीवन्त बनाउन विभिन्न घटना, समय, अवस्था श्रोतालाई जानकारी गराउन ध्वनि सामग्रीका लागि—
- चराचुरुङ्गी,
- कुकुर भुकेको,
- पानी कलकल बगेको,
- घोडा कुदेको,
- रातको समय दर्शाउन लाटो कोसेरो,
- रुख काटेको, ढलेको,
- खेतबारीमा काम गरेका आवाजहरू
जस्ता ध्वनिहरू संकलनका लागि टेप रेकर्डर बोकेर विभिन्न स्थानमा जानुपर्ने अवस्था थियो त्यतिबेला।
हावा, हुरी, आगो बलेको, पदचाप आदि ध्वनिहरू स्टुडियोमै उत्पादन गर्नुपर्थ्यो। अहिले आधुनिक प्रविधि भएकाले यो समस्या छैन। यी सामग्रीको व्यवस्था गरिएको कक्ष नै स्टुडियो नं. ६ हो। यही स्टुडियोबाट कथा–घटनाअनुसार संवाद, स्वराङ्कन, ध्वनि आदिको समिश्रण गरी तपाईँ–हामीले सुन्ने रेडियो नाटक उत्पादन गर्ने ऐतिहासिक कक्ष हो—स्टुडियो नं. ६।
यही ध्वन्यात्मक रूपमा संयोजन गरी प्रसारण गर्ने परम्परा–पद्धतिभित्र रेडियो नाटक निर्देशक तथा रेडियो नाटकका अग्रज पण्डित श्यामदास वैष्णव, हरिप्रसाद रिमालजस्ता सारथीहरूले यही स्टुडियो नम्बर ६ बाट रेडियो नेपाललाई थुप्रै योगदान दिएर रेडियो नाटकको इतिहास रचना सफल भएका छन्।
श्रव्य नाटक विद्या अर्कै हो। रंगमञ्चीय नाटकभन्दा यसको भाषा, शैली र प्रस्तुति बेग्लै हुन्छ। त्यसकारण कुनै पनि कलम चलेका साहित्यकार, दृश्य नाटकका लेखकहरू श्रव्य नाटकको रूपमा एकदम ठिक हुन्छन् भन्ने कुरा हुँदैन्। यसको आफ्नै सिद्धान्त र परिपाटी अनुसार यसको अलग्गै स्थान छ। जस्तै :–
- १. भाषा–शैली सहज र सबैले बुझ्नसक्ने हुनुपर्छ।
- २. गहन शब्द, घुमाउरो लेखन हुनुहुँदैन।
- ३. छोटो–छोटो वाक्य लेख्नुपर्छ।
- ४. रेडियो फ्रिक्वेन्सी वा जिब्रोले राम्ररी टिप्न नसक्ने शब्दहरू राख्नुहुँदैन।– यस्ता शब्द राख्दा सुन्न र बुझ्न गाह्रो पर्छ, सुन्दा अनर्थ हुन सक्छ।
- ५. लक्षित श्रोताबारे रेडियो नाटककार स्पष्ट हुनुपर्छ।
- ६. नाटकको उद्देश्य र लक्ष्य स्पष्ट हुनुपर्छ।
- ७. ध्वनि, धुन र सङ्गीतको ठिक ठाउँमा प्रयोग गर्नुपर्छ।
यसरी अङ्ग पुगेका नाटकको आलेख उत्पादकको हातमा पुगेपछि उसले—
- कलाकारहरूको चयन,
- धुन, ध्वनि र सङ्गीतको चयन र सङ्कलन,
- पोस्ट–प्रोडक्सन,
- रिहर्सल,
- कलाकार निर्देशन,
- डबिङ,
- मिक्सिङ
आफ्ना सहयोगीद्वारा तयार गर्न सक्छ।
यसको निमित्त उत्पादक वा कलाकार निर्देशकमा निम्न अनुसार ज्ञान हुनुपर्दछ :–
- १. भाषासम्बन्धी राम्रो ज्ञान
- २. विषयवस्तुको ज्ञान र अध्ययन
- ३. नाटक सामग्रीको गहन अध्ययन
- ४. कलाकारहरूको चयन र कलाकारहरूको ठिक स्थानमा स्थापना
- ५. ध्वनि–सङ्गीतको प्रयोग र ज्ञान
- ६. सहायक, प्राविधिक र उत्पादन निर्देशन दिनसक्ने क्षमता
- ७. आवश्यक संशोधन, रेडियोकरण गर्नसक्ने क्षमता
- ८. कलाकारलाई निर्देशन दिनसक्ने, आफैं बोलेर देखाउने, मुख्य शब्दहरू जस्ताको तस्तै बोलाउने र उच्चारण गराउने सक्ने क्षमता हुनुपर्छ।
- ९. लेखकको समग्र मर्म बुझ्नसक्ने, भाव र भावना स्पष्टसँग प्रस्तुत गर्नसक्ने
- १०. उत्पादन भइसकेको नाटकप्रति पूरा जवाफदेहिता लिनसक्ने—आलोचना गर्नसक्ने, स्थान कम
गर्ने, दोहोरो माने स्पष्ट गराउनसक्ने, कुनै पनि बेला जवाफ दिनसक्ने।
तत्कालीन अवस्थामा रेडियो नाटक लेखनमा विशेष दख्खल भएका पण्डित श्यामदास वैष्णव, बी.बी. सिंह, पण्डित खेवराज केशवशरण, दामोदर घिमिरे, जितेन्द्र महत ‘अभिलासी’, रामविक्रम सिजापति, कुवेर गड्तौला, लक्ष्मण लोहनी, गोपालराज पन्त आदि हुनुहुन्थ्यो।
त्यसैगरी नयाँ पुस्तामा रेडियो नाटकका लागि कलम चलाउनेहरू—
लेखनाथ सापकोटा, अशोक पाण्डे, महेश थापा, घनश्याम खतिवडा, सोमनाथ सुवेदी, उदय खनाल, गोपी सापकोटा, मिलनराज गड्तौला, मुनिन्द्र रिमाल, रविकुमार पाखण्डी, हरिहर तिमिल्सिना, साधना प्रतीक्षा, दीपक समिर, श्रीप्रसाद थापा, जितु नेपाल, कृष्ण शाह ‘यात्री’, शिरोमणि आदि हस्तीहरूको अतुलनीय योगदान रहेको छ।
रेडियो नाटक उत्पादक वा प्रोड्युसरले चरित्रअनुसार कलाकारको छनोट गरेपछि कलाकारले आफ्नो चरित्रअनुसार निर्देशक वा उत्पादकले दिएको निर्देशन स्पष्ट बुझी आफूलाई तोकिएको चरित्रमा र अवस्थामालीन गराउन सक्नुपर्दछ।
जस्तै—एउटा बहुलाको चरित्र अभिनय गर्नुपर्ने छ भने आफूले देखेको कुनै बहुलाको चरित्र–चित्रण आफ्नोपनमा ढालेर निर्देशन अनुसार चरित्र स्थापना गर्नुपर्दछ।
यस अतिरिक्त—
- नाटक पूरा पढ्ने,
- कथा बुझ्ने,
- आफ्नो चरित्र कस्तो छ मनन गर्ने,
- सोही अनुरूप भाषा, शैली र उच्चारण गर्नसक्ने,
- अवस्थाअनुसार आफूलाई ढाल्ने,
- निर्देशन बुझ्ने,
- आफू र आफ्ना सह–पात्रको चरित्र उठाउन सक्ने, रोक्ने, पढ्ने, अड्ने, घुमाउने,
- छिटो र बिस्तारै बोल्ने,
- कहाँ बिस्तारै बोल्ने र कहाँ कस्तो छ बुझ्ने,
- र नाटक निर्देशकप्रति पूरा बफादार रहने।
नाटक उत्पादक त्यो व्यक्ति हो जसले लेखको मर्म बुझेर नाटक माध्यमद्वारा श्रोतासँग कुराकानी गरिरहेको हुन्छ। त्यसकारण रेडियो नाटक उत्पादक रेडियो नाटककै उत्पादक भएर नाटक उत्पादन गर्नुपर्दछ।
अन्तिममा—नाटकको सफलता र असफलताको जिम्मेवारी उसकै योग्यता, लगनशीलता र इमान्दारितामा भर पर्छ। अनि उसले आफ्ना कलाकारहरू—सङ्गीत र गायनको जस्तो होइन—आवाज वर्गीकरणको आधारमा छनोट गर्नुपर्दछ।
आफ्ना कलाकारलाई स्वर–अभिनय गराउने भन्ने कुरामा दैनिक जनजीवनको उठबसबाट अध्ययन गर्नुपर्दछ।
अहिले रेडियो नेपालको आर्काइभ (अभिलेख) मा धार्मिक, सामाजिक, विभिन्न पर्वका धारावाहिक नाटकहरू छन्। यही स्टुडियो नम्बर ६ सँग जोडिएको नाटक उत्पादन, प्रविधि र ऐतिहासिक पक्षबारे केही कुराहरू चर्चा गर्नु योग्य हुनेछ।
रेडियो नाटक मूलतः ध्वनिद्वारा जीवनका क्रियाकलापलाई प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्ने विभिन्न माध्यममध्ये एउटा माध्यम हो। स्वर, पृष्ठध्वनि, घात–प्रतिघातका आवाजहरूको सामञ्जस्य मिलाई पैदा हुने सजीवता नै रेडियो नाटकको आकर्षण हो।
यसमा मनोभाव व्यक्त गर्ने प्रयोगको आवश्यकता हुन्छ। स्वर–अभिनय अथवा संवादको बोलाइ, उतार–चढावले मात्र नाटक प्रभावकारी हुन सक्दैन।
स्वरमा पनि विभिन्न चरित्र हुन्छन्। विभिन्न चरित्रको स्वरमा प्रभाव उत्पन्न गराउनु कलाकारको विशेषता हो।
चारित्रिक अभिव्यक्तिका साथै चरित्र–स्थितिको घात–प्रतिघातमा कलाकारले यथार्थको नजिक पुग्नुपर्ने हुन्छ।
यद्यपि स्वर–अभिव्यक्तिको यो कला कृत्रिमता हो, तर यसलाई वास्तविकतामा परिणत गरी मानिसहरूलाई प्रभावित पार्न सक्नु कलाको खुबी हो।
स्वरमा चरित्र, चरित्रमा घात–प्रतिघात, घात–प्रतिघातमा स्थिरता, परिस्थितिमा प्रभावकारी उत्पन्न हुनु आवश्यक हुन्छ—र यही नै रेडियो नाटक अर्थात् ध्वनि–नाटक हो।
भाव–ध्वनि र घटना–ध्वनि रेडियो नाटकको ज्यान हुन्। यी सबैको सामञ्जस्य गराउनु रेडियो नाटकका लागि अत्यन्त आवश्यक पक्ष हो।
रेडियो नाटकको इतिहास हेर्दा नेपालमा २००७ सालमा रेडियो नेपालको स्थापना भएपश्चात् २००८ सालबाट रेडियो नाटकको थालनी भएको पाइन्छ। तत्कालीन समयमा विभिन्न अभाव र कमीकमजोरीका कारण २००८ सालदेखि २०१४ सालसम्म रेडियो नाटक नियमित प्रसारण हुन सकेन।
२०१४ सालपछि भने रेडियो नाटक नियमित उत्पादन तथा निर्माण भई प्रसारण भएको पाइन्छ। २००८ सालमा रेडियो नेपालमा कार्यरत श्यामदास वैष्णव, जनार्दन समजस्ता कलाकारले पनि भाग लिएका थिए।
त्यसपछि लगत्तै बालकृष्ण समद्धारा लिखित ‘आमाको माया’ नामक नाटक श्यामदास वैष्णवको निर्देशनमा प्रत्यक्ष प्रसारण भएको थियो। यस नाटकका कलाकारहरूमा कोइली देवी, जनार्दन सम र श्यामदास वैष्णव हुनुहुन्थ्यो।
२०१४ सालपछि रेडियो नाटकको स्तर र प्रभावकारितामा पनि क्रमशः प्रगति भएको पाइन्छ। पहिले अनियमित रूपमा भएको नाटकलाई २०१४ सालमा आएर प्रौढ शिक्षाका लागि चेतना सञ्चार गर्ने काममा प्रयोग गरियो। यसैगरी रेडियो नाटकलाई नियमितता दिँदै लगियो।
२०२५ सालदेखि रेडियो नाटक नियमित रूपमा प्रसारण हुँदै आएको छ।
२०२२ अघि विभिन्न अवधिमा रेडियो नाटकमा संलग्न कलाकारहरूमा—
श्यामदास वैष्णव, जनार्दन सम, तारिणीप्रसाद कोइराला, सिद्धान्तराम जोशी, भोग्यप्रसाद शाह, लक्ष्मण लोहनी, किरण खरेल, यादव खरेल, भीमबहादुर थापा, हेमबहादुर बस्नेत, जितेन्द्र महत अभिलासी, पूर्ण लामा, जितेन्द्र बस्नेत, बी.बी. सिंह, कुवेर गर्तौला, विश्वम्भर चञ्चल, रमेश विकल, यमबहादुर खड्का, खगेन्द्र नेपाली, गोपालराज पन्त, मदनदास श्रेष्ठ आदि हुनुहुन्थ्यो।
यीमध्ये कतिसै सैनिक, प्रहरी र शैक्षिक कार्यक्रमहरूमा पनि संलग्न हुनुहुन्थ्यो।
२०२३ सालमा अमेरिकी सहयोगबाट अत्याधुनिक उपकरणसहित स्टुडियो निर्माण भई २०२५ सालदेखि रेकर्डिङ व्यवस्था प्रयोगमा ल्याइयो।
तत्पश्चात् २०२८ सालमा सञ्चार योजना लागू भएपछि रेडियो नेपालको समाचार बाहेक अन्य सम्पूर्ण कार्यक्रमहरू अग्रिम रेकर्डिङ गर्ने प्रथाको सुरुवात भयो।
तर नाटक विधा चाहिँ योभन्दा अघिदेखिनै रेकर्ड गरेर प्रसारण गर्ने प्रचलन थियो।
तत्कालीन नाटक रेकर्ड गर्ने दक्ष प्राविधिकहरूमा—
रामवीर मालाकार, केदारलाल ठाकुर, प्रदीप गौतम, मनोहर उपाध्याय, बसन्तकेसर पण्डित क्षेत्री, सुधन खत्री, वासुदेव रायमाझी
हुनुहुन्थ्यो।
त्यसपछि—
अशोक श्रेष्ठ, कृष्णराम मुल्मी, श्रीराम रायमाझी, रामबहादुर सत्याल र प्रदीप खनाल
हुनुहुन्थ्यो।
रेडियो नेपालबाट २०१० देखि २०१४ सालसम्म प्रसारण भएका रेडियो नाटकमा श्यामदास वैष्णवद्वारा लिखित तथा निर्देशित ‘दशैको किनमेल’ र ‘क्या फसाद’ नामक नाटक मुख्य थिए।
‘क्या फसाद’ नामक नाटकमा श्रीमतीको चारित्रिक भूमिकामा महिला कलाकार शान्ता श्रेष्ठले भाग लिनुभएको थियो।
तत्कालीन अवस्थामा नाटकहरू उत्पादन गर्दा प्रेमी–प्रेमिका वा पात्रका श्रीमती भएर वा सामाजिक दृष्टिकोणबाट दोष लाग्ने घटनाक्रम भएमा महिला पात्रले भाग नलिने अवस्था थियो।
यस्तो दोषारोपणलाई समेत दृष्टिगत गरी त्यतिखेर नाटक उत्पादन गर्नुपर्थ्यो।
रेडियो नाटकको प्रभावकारिता २०१४ सालपछि बढ्दै गए तापनि २०२४ सालपछि भने यसमा केही कमी आएको देखिन्छ।
यसरी २०२४ सालमा रेडियो नेपाल नाटक निर्माणमा समेत संलग्न रहनुभएका श्यामदास वैष्णव सांस्कृतिक विभागतिर काजमा जानुपरेपछि नाटक उत्पादन र निर्देशनको अभिभारा हरिप्रसाद रिमालको जिम्मामा सुम्पियो।
ध्रुवकुमार देउजाद्वारा लिखित ‘याङ्गी’ नामक नाटक हरिप्रसाद रिमालको निर्देशनमा यादव खरेल र जया ऐतवाल आदिको अभिनयमा प्रसारण गरियो।
२०२८ सालबाट हालसम्म आइपुग्दा रेडियो नेपालले कैयौँ निर्देशक र सयौँ कलाकारहरू रेडियो नाटकको माध्यमबाट जन्माएको छ।
निर्देशकहरूमा—
जनार्दन सम, श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, कुवेर गर्तौला, भीमबहादुर थापा, गोपालराज पन्त, जितेन्द्र बस्नेत, सिद्धान्तराम जोशी, मदनदास श्रेष्ठ, लोकमणि सापकोटा, पूर्ण थापा
मुख्य हुनुहुन्छ।
त्यतिबेला निरन्तर रूपमा रेडियो नाटकमा सहभागी हुने कलाकारहरूमा—
हरिहर शर्मा, शकुन्तला गुरुङ शर्मा, जितेन्द्र महत अभिलासी, मदनदास श्रेष्ठ, सुशीला रायमाझी, शिखा मल्ल, भीमबहादुर थापा, अशोक पाण्डे, लोकमणि सापकोटा, गोपालराज पन्त, हरिवंश आचार्य
थिए।
अहिले—
शिशिर कुमार शर्मा, सुनिता मालाकार, सुरवीर पण्डित, अम्बिका प्रधान, श्रीप्रसाद थापा, दीपकराज गिरी, दीपाश्री निरौला, जया कार्की, शारदा गुरुङ, दमन रूपाखेती, शोभिता पराजुली, सुरेश अधिकारी, जितु नेपाल, मुकुन्द श्रेष्ठ, रेनु पौडेल, राजन बर्देवा, सुन्दर श्रेष्ठ, गोपालप्रसाद ज्ञवाली, रोहित कार्की, गोपाल नेपाल, माधव पौडेल, अनिता शिवाकोटी, संजय कार्की, राजेन्द्र दाहाल, समना श्रेष्ठ, नीतु श्रेष्ठ, रोशन बस्नेत, सरोज भट्टराई, शर्मिला थापा, शिरोमणि दवाडी, रमेश बस्नेत, दीपक समिर, आर.जे. सिंह, मनोज बुढाथोकी, ओतबहादुर खड्का
लगायत सयौँ कलाकारहरूले स्वर अभिनय गरेका छन्।
एक किसिमले भन्ने हो भने रेडियो नेपाल कलाकारहरूलाई प्रशिक्षण तथा उत्पादन गर्ने महाविद्यालयको रूपमा हेर्न सकिन्छ। अहिले राष्ट्रिय स्तरमा स्थापित अधिकांश कलाकारहरू रेडियो नेपालको स्टुडियोबाट प्रशिक्षित कलाकारहरू देखिन्छन्।
रेडियो नाटक निर्माण र प्रसारणमा कुनै पनि एक पक्षको मात्र वर्चस्व रहँदैन। सामूहिक कार्यकै भरमा नाटक तयार गरिन्छ।रेडियो नाटकलाई सशक्त, सक्षम र प्रभावकारी बनाउन धेरै पक्षहरूको भूमिका रहन्छ। तीमध्ये रेडियो नाटकको मेरुदण्ड भनेको लेखन कार्य नै हो।
आँखाले देख्ने दृश्य नभएकाले हाउभाउ र घटनाक्रमहरू श्रोताहरूलाई सुनाउन र बुझाउनका लागि लेखन पक्षले ठूलो जिम्मेवारी बोक्दछ।पात्रहरूले बोल्ने कुरादेखि निर्देशकले निर्देशन गर्ने कलासम्म लेखन पक्ष पथप्रदर्शक हो।
पात्र अनुसार संवाद, घटनाक्रमको स्थापना—लेखन पक्षले गर्नु जरुरी हुन्छ।
पात्र अभिनय—लेखिएका संवाद बोल्न सजिलो देखिन्छ। तर यसमा स्वर अभिनय, उतार–चढाव, नवरसहरूका प्रावधानबाट प्रेरित भई अभिनय हुनुपर्ने भएकाले पात्र पक्षको अभिनय पनि एउटा महत्वपूर्ण पक्ष हो।
स्वर अभिनयको माध्यमबाट श्रोताहरूको ध्यान आकर्षण गरी मन्त्रमुग्ध पार्ने यसको छुट्टै विशेषता छ।
कहिलेकाहीँ दुर्घटना हुँदा अन्य त्यस्तै जोखिम कार्यको अभिव्यक्तिमा पात्र अभिनयले महत्वपूर्ण भूमिका खेल्दछ।
जस्तै—सबै किसिमको अभिव्यक्तिलाई लिएर रेकर्ड गर्ने स्थान र श्रोताको कानसम्म पुर्याइदिने यन्त्र अर्थात् माइक्रोफोन ले सानो, झिनो, नजिक र टाढाको अभिव्यक्ति तथा स्वर अभिव्यक्तिलाई समष्टि रूपमा प्रयोग गर्ने कार्य गर्दछ।
माइक्रोफोनको गुण र प्रभावकारितामा नाटकको स्तर हुने भएकाले माइक्रोफोन पनि रेडियो नाटकको संवेदनशील अङ्ग हो।लेखन, स्वर अभिनय र सङ्गीतको संयोजनबाट मात्र रेडियो नाटक पूर्ण हुँदैन। नाटकका घटनाक्रम तथा दृश्यहरूमा उल्लिखित पात्रहरूको हिँडाइ, ढोका खुलाइ आदि कार्यहरू पनि श्रोताहरूलाई बुझाउनुपर्ने हुन्छ।
निश्चित समयको निश्चित पात्रको अथवा निर्देशित क्रियाकलापको घटना–दुर्घटना अथवा लेखन, अभिव्यक्ति, अभिनय र सङ्गीतबाट स्पष्ट्याउन नसकिएका कुराहरू—अथवा तिनीहरूलाई उठान प्रयोग गर्ने गरी रेकर्ड गरिन्छ।
यसलाई घटना ध्वनि भनिन्छ र यो प्रत्यक्ष हुन्छ। उल्लिखित क्रियाकलाप तथा सामग्रीबाट मात्र रेडियो नाटक सक्षम हुँदैन।
यसका लागि—
- एउटा निर्देशक,
- निर्देशकका लागि चाहिने प्राविधिक,
- प्राविधिक सामग्री,
- रेकर्ड गर्ने स्टुडियो,
- रेकर्डिङ सामग्री
जरुरी पर्दछ।
रेडियो नाटकका लागि सबै सामग्री, जनशक्ति र कलाकार जुटाउने कार्य भएपछि सबै कार्यको पूर्वाभ्यास गरिन्छ।
आलेख अध्ययन, पात्रको छनोट, पात्रको अभिनय, सङ्गीतको छनोट, ध्वनि प्रभावको आवश्यकता र प्रयोग अनुरूपको रेकर्डिङ—रेडियो नाटक निर्माणका पूर्वाधारहरू हुन्।
रेडियो नाटक स्वर अभिनयको माध्यम भएकोले यसलाई कसरी शृङ्गार गरी बुनिएको छ, त्यही अनुसार नै यसको गुणस्तर देखापर्दछ।
यसरी रेडियो नाटक प्रस्तुतिको इतिहास बन्यो र उति बेलाका महत्वपूर्ण रूपमा उत्पादन गरिएका नाटकहरूको संरक्षण, संवर्धन गर्नु नितान्त जरुरी छ।
रेडियो नाटकको नियमितता कायम रहोस्, सदा अघि बढिरहोस्।
जय होस्—यही शुभकामना!
(लेखक रेडियो नेपालका पूर्व रेडियो नाटक निर्देशक हुन्।)
