“अलविदा सुनिल थापा । अब शायद अगले जनममे मिलेगें ।” – कलाकार निर्देशक विश्व बस्नेतको स्मृतिमा

सम्भवतः नेपाली फिल्म उद्योगमा सुनिल थापालाई चिन्ने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ मलाई। मैले उनलाई सन् १९७२-७३ तिर देखि चिनेको थिएँ। त्यसबेला म बम्बईमा प्रकाश थापा दाईको वर्ली सि-फेस स्थित सि-फेस हाउसमा बस्थेँ। त्यहिँ नजिकै सुनिल थापा पनि एउटा घरमा भाडामा बस्न आएका थिए र त्यसबेला देखि नै हाम्रो चिनाजानी र मित्रता सुरु भएको थियो।
त्यसपछि, ‘अन्याय’ फिल्म बनाउने क्रममा, मैले बम्बईमा भेटेका थुप्रै नेपाली साथीहरुलाई संलग्न गराउने प्रयास गरेको थिएँ। यसै क्रममा, संगीतमा रञ्जित गजमेर, गायनमा डेनी र सुष्मा श्रेष्ठ, दिपा गहतराज (झा) र निर्मला गजमेर, निर्देशनमा तुलसी घिमिरे, द्वन्द निर्देशनमा गोपाल भुटानी, कलाकारितामा मिरा माधुरी र बि.एस. राणा, अनि सुनिल थापालाई पनि त्यो फिल्मबाट पहिलो अवसर प्रदान गरेको थिएँ। उनी त्यही सिलसिलामा नेपाल आएका थिए र ‘अन्याय’को केही दृश्यको शुटिङ समेत गरेका थिए।
एउटा उल्लेखनीय घटना यो थियो: त्यसैबेला उनलाई एक पाकिस्तानी सह-निर्माणको फिल्ममा अवसर मिल्यो। उनी हामीसँग सल्लाह गरेर “एक हप्तामा फर्किन्छु” भन्दै गएका थिए। तर, उनी समयमा फर्किन सकेनन्। हामीले दुई हप्तासम्म पर्खे पनि, उनी आउन नसकेपछि क्यामेराम्यान र मेकअप म्यानहरु (जो बम्बई बाट बोलाईएको थियो) को समय विचार गर्नुपरेकोले हामीले शुटिङ स्थगित गर्न सकेनौं । अन्ततः, हामीले उनको स्थानमा प्रकाश अधिकारीलाई इन्सपेक्टरको भूमिकामा रिप्लेस गर्न बाध्य भयौं।
त्यसको ५-७ वर्षपछि फेरि उनलाई मैले बनाएको अर्को फिल्म ‘एका देशमा’ (पछि नाम बदलेर ‘अपहरण’ राखियो) मा काम गर्ने अवसर दिएँ। त्यसमा उनले चिरञ्जीवी बस्नेत र बम्बईबाटै ल्याइएकी अभिनेत्री श्रीसासँग अपहरणकारी गुण्डाको भूमिका निभाएका थिए। त्यो फिल्मको शुटिङ बम्बईमा पनि भएको थियो। फिल्म आर्थिक रूपले सफल नभए पनि, यो नेपालको ‘पहिलो बाल चलचित्र’ हुनुमा श्रेय पाउँछ। यसबाट सर्वश्रेष्ठ बाल कलाकारमा ज्योति थापा र सर्वश्रेष्ठ हास्य कलाकारमा रतन सुवेदी पुरस्कृत भएका थिए। (याे विपना थापाले पनि अभिनय गरेकाे पहिलाे फिल्म थियाे ।)
उनको बारेमा प्रकाशित केही तथ्यहरू मलाई मिलेका छैनन् जस्तो लाग्छ। जस्तै, उनको उमेर ६७-६८ को भनिएको देखिन्छ। त्यस हिसाबले उनी म भन्दा १०-११ वर्ष कान्छा हुनुपर्छ। तर, मैले सुनिललाई १९७२ मा बम्बईमा भेट्दा म २४-२५ वर्षको थिएँ। यदि उनको उमेर साँच्चै ६७-६८ भए, त्यसबेला उनी १४-१५ वर्षको मात्र हुनुपर्थ्यो। तर त्यस उमेरमा उनी एक्लै डेरा लिएर बस्न आउनु पनि असम्भव थियो, र उनी त्यसबेला म सरहै देखिन्थे। त्यसकारण, उनको वास्तविक उमेर ६८ भन्दा बढी नै हुनुपर्छ जस्तो लाग्छ मलाई।
अन्य धारणाहरू पनि प्रश्न उठाउँछन्। नेटमा सर्च गर्दा उनी क्षेत्री थापा भनिएको पाइन्छ, तर वास्तवमा उनी मगर थापा हुन जस्तो लाग्छ। मैले कसैबाट बम्बईमा हुँदा उनी थापा नभएर गुरुङ हुन भन्ने पनि सुनें (तर अब ठ्याक्कै याद छैन कसले भन्यो)। उनी देहरादूनबासी भारतीय नेपाली हुन सक्छन्, तर यहाँ समाचारहरुमा दाङमा जन्मिएको खबर आएको छ। यो कुरा पनि कत्तिको सत्य हो? यस्ता भ्रमहरूबारे कसैलाई जानकारी भए स्पष्ट गरिदिए हुन्थ्यो।
हुन त अब उनी हामीबीच छैनन्, यी कुराहरूको के अर्थ रहन्छ र? उनी एक असल व्यक्ति, कुशल र लोकप्रिय कलाकार थिए। धेरै पुरानो साथी भएकाले, उनीसँगको आत्मीय सम्बन्ध गहिरो थियो। हामी भेट हुँदा जहिले हिन्दीमा कुरा गर्थे/गर्थ्यौं, बम्बई देखिको चिनजानी र बानी भएकाले होला। तर अब उनी रहेनन्—मात्र उनका सम्झनाहरू रहन गए।
“अलविदा सुनिल थापा । अब शायद अगले जनममे मिलेगें ।”
तस्विरः
सुनिल सँगको अन्तिम तस्विर लुम्बिनिमा बुध्द जन्मेको स्थान घुम्दा ।
अर्को तस्विरमा, सुनिलले “मेरो खुट्टा दुखेको छ, हिन्न सक्दिन यहिँ बस्छु” भनेर रुख मुनि ध्यानको मुद्रामा बसेका थिए , मैले त्यहि मौकामा लिएको तस्विर ।
अपहरणकाे पाेस्टरमा सुनिलकाे फाेटाे, साथमा भुवन, बिपना, रतन सुवेदी, अनि चिरञ्जीवी बस्नेत महिला भेशमा बच्चा चाेर्दै ।

Tags: