नेपालमा राणाकालको समाप्ति र प्रजातन्त्रको प्रारम्भको उद्घोष गर्दै २००७ सालमा स्थापित त्यसबेलाको एकमात्र ऐतिहासिक प्रसारण संस्था हो रेडियो नेपाल । रेडियो नेपालले प्रसारण गर्ने समाचारलाई सबैले आधिकारिक र विश्वसनीय मान्थे। सबैका घरमा रेडियो सेट हुँदैनथ्यो, तर जसका घरमा रेडियो हुन्थ्यो, उनीहरूले रेडियो नेपालको कार्यक्रम नछुटाई सुन्ने गर्थे। मिडियम वेभमा मात्र प्रसारण हुने रेडियो नेपाल काठमाडौं र उपत्यकाका छेउछाउका जिल्लाहरूमा मात्र सुन्निन्थ्यो।
मैले पनि रेडियो नेपालमा २०१६ सालदेखि झण्डै ८–९ वर्ष सेवा गरेँ। त्यसबेलाको रेडियो नेपाल सिंहदरबार कम्पाउण्डभित्र राणाहरूको पाठशाला घरबाट सञ्चालित हुन्थ्यो। रेडियो नेपालबाट समाचारसँगै विद्यार्थी कार्यक्रम, प्रहरी कार्यक्रम, महिला कार्यक्रम, प्रश्नोत्तर कार्यक्रम, बाल कार्यक्रम, सांगीतिक कार्यक्रम, नाटक, कविताको काव्यकुञ्ज, वाद्यवादन, राग–रागिनीका गायनजस्ता विविध कार्यक्रमहरू प्रसारण हुन्थे। राजाबाट देशवासीका नाममा सम्बोधन, टुँडिखेलको घोडेजात्रा, इन्द्रजात्राजस्ता कार्यक्रमहरूको प्रत्यक्ष वर्णन पनि प्रसारित हुन्थ्यो।
नेपाली, अङ्ग्रेजी, नेवारी र हिन्दी गरी चार भाषामा समाचार प्रसारण हुन्थ्यो। नेपालीमा भोग्यप्रसाद शाह, अङ्ग्रेजीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका भाइ मधुसुधन देवकोटा, नेवारीमा हरि श्रेष्ठ र कृष्णा ताम्राकार, हिन्दीमा विमल आदिले समाचार वाचन गर्नुहुन्थ्यो भन्ने सम्झना आज पनि ताजा छ।
रेडियो नेपालमा गीत गाउन आवाजको परीक्षण—भ्वाइस टेस्ट—दिनुपर्थ्यो। यो परीक्षण नातिकाजीले लिनुहुन्थ्यो। भ्वाइस टेस्टमा पास भएपछि मात्र रेडियो नेपालमा गीत गाउन पाइन्थ्यो। त्यतिबेला रेडियोमा गीत गाउन पाउनु ठूलो सम्मान मानिन्थ्यो। गीत गाउने कलाकारहरूको नाम सूचना बोर्डमा टाँसिन्थ्यो। झङ्कार पत्रिका प्रकाशनमा आएपछि कार्यक्रमहरूको विवरण त्यहीँ छापिन थाल्यो।
गीत गाउने कलाकार दुई प्रकारका हुन्थे—एकथरी रेडियो नेपालमै स्थायी जागिर खाने, अर्काथरी बाहिरबाट आएर गाउने। बाहिरबाट गाउनेमध्ये छनोटमा परेकाहरूलाई गीतको डिस्क रेकर्ड गर्न कलकत्ता जाने मौका मिल्थ्यो, त्यो पनि रेडियो नेपालकै खर्चमा। मेरो पहिलो गीत ज्ञानबहादुरले २०१८ सालमा ‘आर्यघाटको शून्य चितामा आज कोही जल्यो’ गाउनुभएको थियो। कलकत्ता गएर रेकर्ड गरिएका गीतमध्ये महेश पाल्पाली र रत्न खड्गीले गाएका तीन गीतहरू पनि थिए। यस्ता धेरै गीतहरू रेडियो नेपालले सुरक्षित रूपमा संग्रह गर्न नसकेको जस्तो लाग्छ।
रेडियो नेपाल सरस्वतीको मन्दिरजस्तै थियो भन्नु अतिशयोक्ति नहोला। प्रसारणको व्यावसायीकरण भइसकेको थिएन। दिउँसो ‘फर्मायसी गीत’ कार्यक्रम प्रसारण हुन्थ्यो, तर त्यसमा विज्ञापन चल्दैनथ्यो। धेरै वर्षपछि रत्न रेकर्डिङ संस्थान गठन भएपछि पैसा लिएर विज्ञापन सेवा प्रसारण सुरु भयो। त्यसको पहिलो दिनको कार्यक्रम सञ्चालन गर्ने मौका मैले पाएँ। म र किरण खरेलले आलोपालो उद्घोषकको काम गर्थ्यौँ।
रेडियो नेपालले धेरै गायक–गायिका, वाद्यवादक, उद्घोषक तथा नाट्य कलाकारहरूलाई जन्माउने र हुर्काउने काम गरेको छ।
महाराजाधिराज सवारी हुने घोडेजात्रा, इन्द्रजात्राजस्ता कार्यक्रमहरू र राजाको औपचारिक विदेश भ्रमणबाट फर्किँदा एयरपोर्टबाट प्रत्यक्ष प्रसारण, रिले गरिन्थ्यो। यस्ता प्रत्यक्ष कार्यक्रमहरूमा उद्घोषकले सबै गतिविधि देखिने तर आवाज नपुग्ने सुरक्षित ठाउँ खोजेर प्रसारण गर्नुपर्थ्यो।
एकदिन सहायकको रूपमा मलाई पनि संलग्न गराइयो। प्रत्यक्ष प्रसारणका क्रममा राजपरिवार र विभिन्न मुलुकका राजदूतहरूको सन्दर्भ आउँदा कतै गल्ती होला कि भन्ने डर उद्घोषकहरूमा हुन्थ्यो। एकदिन उद्घोषण गरिरहनुभएका भोग्यप्रसाद शाहले अचानक माइक मलाई थमाइदिनुभयो। त्यसपछि कार्यक्रमको अन्त्यसम्म मैले नै रनिङ कमेन्ट्री गरेँ।
भोलिपल्ट नयाँ समाज पत्रिकाले त्यही प्रत्यक्ष प्रसारणबारे सम्पादकीय लेख्यो, जसमा नाम नलिईकन मेरो कामको प्रशंसा गरिएको थियो। रेडियो नेपालमा प्रस्तुतकर्ताको नाम भन्न दिइँदैनथ्यो। त्यसपछि प्रत्यक्ष वर्णन गर्नुपर्ने कार्यक्रमहरूमा रेडियो नेपालले सधैं मलाई नै मौका दिन थाल्यो।
भ्वाइस टेस्ट पास भएपछि सुरुमा मैले कालिकास्थानका डिल्लीराज उप्रेतीको सहायक भएर काम गरेको थिएँ। श्यामदास वैष्णवले धेरै कार्यक्रमहरू सञ्चालन गर्नुभयो। उहाँ रेडियो नेपालका स्थायी कर्मचारी हुनुहुन्थ्यो। उहाँबाट मैले प्रसारणकलाका धेरै कुरा सिक्ने अवसर पाएँ। कवितासम्बन्धी काव्यकुञ्ज कार्यक्रम पनि उहाँले नै सञ्चालन गर्नुहुन्थ्यो।
एकदिन मैले सोही कार्यक्रममा आफ्नो कविता पढेँ, जसको पहिलो हरफ थियो—
“राजा देखेँ, रंग देखेँ, देखेँ बेहोसमा अधिकार।”
कार्यक्रम समाप्त हुनुअगाडि नै रेडियो नेपालमा खैलाबैला मच्चियो। कारण थियो—राजाका सचिवको फोन। “किन पढ्न दिएको यस्तो कविता?” भनेर सोधिएको रहेछ। कसो–कसै गरी श्यामदाइको जागिर जोगियो।
त्यसबेला जनार्दन सम, हरिप्रसाद रिमाल, लक्ष्मण लोहनी, गोविन्दबहादुर, हरिबहादुर, ज्ञानबहादुर, कोइली देवी, तारा देवी, नातिकाजीजस्ता कलाकारहरू रेडियो नेपालमै कार्यरत हुनुहुन्थ्यो। रेडियो नेपालको सिग्नेचर ट्यून—शुभारम्भ ध्वनि—शंख बजाएको आवाज हो, जुन उस्ताद गोविन्दलाल नेपालीले सिर्जना गर्नुभएको थियो।
शनिबार बालबालिकाहरूका लागि विशेष दिन मानिन्थ्यो। कोरीबाटी गरेरा, राम्रा लुगा लगाएर अभिभावकसँगै रेडियो नेपालको प्राङ्गणमा मभन्दा अगाडि नै भाइबहिनीहरू आइपुग्थे। चारैतिरबाट घेरिएर उनीहरूले ल्याएका गीत, कथा र कविताका लेखोटहरू जम्मा गरिन्थ्यो। यस्ता लेखोटहरू ६०–७० वटा सम्म हुन्थे। तीमध्ये छनोटमा परेकामध्ये १५–१६ जनाले मात्र कार्यक्रममा बोल्ने मौका पाउँथे।
छनोटमा परेकाहरूको खुसी हेर्नलायक हुन्थ्यो, नपरेका बालबालिकाको आँखामा आँसु टलपलाउँथ्यो। स्टुडियोभित्र अटाउने सबै बालबालिकाहरू गोलो घेरा बनाएर बस्थे। पहिलो घेरामा छनोटमा परेकाहरू, त्यसपछिको घेरामा नपरेका बालबालिकाहरू बसाइ जमाउँथे।
भाइबहिनीहरूको बीचमा झुण्ड्याइएको माइकको अगाडि म बस्थेँ। रातो बत्ती बल्नासाथ मेरो उद्घोषणबाट कार्यक्रम सुरु हुन्थ्यो—
“जय नेपाल।”
सबै भाइबहिनीहरूको समूहबाट आवाज गुन्जिन्थ्यो—“जय नेपाल!”। कतैबाट फेरि आवाज आउँथ्यो—“खायो कपाल!”। त्यो आवाज हुन्थ्यो छनोटमा नपरेका भाइहरूको। ६–७ वर्ष बालकार्यक्रम सञ्चालन गर्दा यस्तो ‘विद्रोह’ दुई पटक मात्र भयो। अन्यथा सबै भाइबहिनीहरू अनुशासित र मर्यादित नै हुन्थे।
भाइबहिनीहरूले पालैपालो आफ्ना गीत, कथा, कविता सुनाउँथे। म बीच–बीचमा उनीहरूलाई उत्साहित पार्ने सकारात्मक टिप्पणीहरू गर्थेँ। त्यतिबेला कार्यक्रमको कुल बजेट ६० रुपैयाँ थियो। न्यूनतम १ रुपैयाँदेखि अधिकतम ५ रुपैयाँसम्म म भाइबहिनीहरूबीच भागबन्डा लगाउँथेँ। पैसा पाउने बालबालिकाको अनुहार हेर्नलायक हुन्थ्यो।
एक शनिबार कार्यक्रम समाप्त हुनासाथ राजदरबारबाट फोन आयो। कर्मचारीहरूबीच खल्बली मच्चियो। डर, त्रास र शंका—किन आयो दरबारबाट फोन? त्यतिबेला राजदरबारबाट फोन आउनु चानचुने कुरा थिएन। पछि राजाका सचिवबाट रहस्य खुल्यो—बालकार्यक्रम सुनेर बसिबक्सेको राजा महेन्द्रले राष्ट्रभावनायुक्त कविता सुनाउने एक भाइलाई रु. ५०० बकस दिनुभएको रहेछ। कविता र ती भाइको नाम भने म बिर्सिसकेको छु।
आधा शताब्दीअघि बालकार्यक्रममा सहभागी भएका केही भाइबहिनीहरू आज पनि मेरो सम्झनामा आइरहन्छन्। उनीहरूको कर्मले प्राप्त गरेको सफलताले मन खुसी हुन्छ। त्यतिबेला सहभागी भएकामध्ये पछि गएर राष्ट्रिय स्तरमा ख्याति कमाउने केही अनुहारहरू—राजेन्द्र थापा, भुवन के.सी., शम्भुजित बाँस्कोटा, दीपक जङ्गम, सन्तोष पन्त, नरहरि आचार्य, कपिल श्रेष्ठ, लक्ष्मी गिरी आदि—आज पनि स्मरणीय छन्।
मेरो पहिचान र व्यक्तित्व निर्माणमा रेडियो नेपालको ठूलो योगदान छ। म रेडियो नेपालप्रति सधैँ कृतज्ञ छु। केही रमाइला घटनाहरू—एकपटक नेपाली नागरिकता बनाउन टुँडिखेलस्थित अञ्चलाधीश कार्यालय पुगेँ। खरिदारले फारममा ‘श्री ५ को सरकारको अधिकृतको सिफारिस नभएको’ भन्दै दर्ता गर्न मानेनन्। म माथिल्लो कोठामा अञ्चलाधीशकहाँ गएँ। लिलाराज बिष्ट अञ्चलाधीश हुनुहुँदो रहेछ। मलाई देख्नेबित्तिकै सोध्नुभयो—“रेडियो नेपालमा बोल्ने यादव खरेल तपाईं नै हो?” मैले हो भनेँ।
मैले नागरिकताको फारम दर्ता नभएको कारण सुनाएँ। बिष्टजीले पनि—“सरकारी नियम त्यस्तै छ, सिफारिस चाहिन्छ”—भन्नुभयो। म अलमलमा परेँ। मैले सोधेँ—“तपाईंले मलाई चिन्छु भन्नुभयो, होइन?”
बिष्टजी—“हो।”
मैले—“त्यसो भए तपाईंले नै सिफारिस गरिदिनुहोस्।”
बिष्टजी हाँस्नुभयो र तुरुन्तै मेरो नागरिकता बनाइदिने आदेश दिनुभयो।
रेडियो नेपालले दिएको पहिचानकै कारण म बेलायत गएर लन्डन विश्वविद्यालयअन्तर्गतको London Film School मा चलचित्र निर्माण र निर्देशन अध्ययन गर्ने मौका पाएँ। रेडियो नेपालमा काम गरेको पृष्ठभूमिकै कारण बीबीसी नेपाली सेवाको सुरुवाती चरणमा दुई वर्षसम्म कार्यक्रम सञ्चालन गर्ने अवसर पनि पाएँ।
बेलायतस्थित नेपाली राजदूतावासलाई बीबीसीले ‘रेडियो प्रसारणमा अनुभव भएको नेपाली भेटिए खबर गरिदिनु’ भनेको रहेछ। राजदूतावासका प्रथम सचिवले बीबीसीलाई मेरो नाम सिफारिस गर्नुभयो। भोलिपल्टै बीबीसी इस्टर्न सर्विसका प्रमुखले फोन गरेर Bush House मा भेट्न बोलाउनुभयो। भेटमा नेपाली कार्यक्रम सञ्चालन गर्न प्रस्ताव राखियो।
म ब्रिटिश काउन्सिलको स्कॉलरशिपमा अध्ययनरत भएकाले ‘अर्को काम गर्न नपाइने’ शर्त थियो। बीबीसीले मेरो पासपोर्ट माग्यो र सो शर्त नै क्यान्सिल गरिदियो। त्यसपछि मैले दुई वर्ष बीबीसी नेपाली सेवा सञ्चालन गरेँ। बीबीसीले स्कॉलरशिपले दिने जत्तिकै पारिश्रमिक पनि दिन्थ्यो।
अध्ययन समाप्त भएपछि म नेपाल फर्कन लाग्दा बीबीसीले बेलायतमै बस्न र स्थायी रूपमा कार्यक्रम सञ्चालन गर्न जोड गर्यो। तर मैले आफ्नो मुलुक छोडेर बस्ने प्रस्ताव अस्वीकार गरेँ र नेपाल फर्किएँ। पछि बीबीसीका निर्माता हेदर बण्ड नेपाल आएर श्याम नेपालीलाई छनोट गर्नुभयो—त्यो प्रक्रियामा मैले पनि सहयोग गरेको थिएँ।
लेखक: प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा अग्रज प्रसारक
रेडियो नेपालको वार्षिक मुख पत्र झङ्कार २०७९ मा प्रकाशित
