किन तात्यो सामाजिक सञ्जाल ? के भएको थियो मिस नेपाल अडिसनमा?

Written by Artist Sansar

मिस नेपाल २०१९ का लागि लिइएको अडिसनको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । त्यसमा एक प्रतियोगीले मेकअप नगरेको र चस्मा लगाएको भन्दै निर्णायकले प्रश्न गरेकी छन् । त्यसबारे सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको छ ।

फेसबुकमा अपलोड भएको २४ घण्टा पुग्न नपाउँदै भिडियोमा १९ हजार कमेन्ट र २७ हजार रियाक्सन आए । शुक्रबार साँझसम्म कम्तीमा १७ हजारले उक्त भिडियो सेयर गरिसकेका छन् ।

भिडियोमा प्रतियोगी युवतीलाई निर्णायक रचना गुरुङ शर्माले मेकअप किन नगरेको भन्दै प्रश्न गरेकी छन् । कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेको बताउने ती युवतीले आफूलाई मेकअप गर्न नआउने तर सिक्ने बताउँछिन् । गुरुङले चस्माको सट्टा लेन्स किन नलगाएको भनेपछि युवतीले धूलोको कारण चस्मा लगाउनुपरेको बताउँछिन् । मिस नेपालको कोरियोग्राफरसमेत रहेकी गुरुङले उनलाई कपाल पछाडि लग्न अह्राउँछिन्, ५६ सेकेन्डको भिडियो यत्तिकैमा सकिन्छ । फेसबुक, ट्वीटरतिर भिडियो हेरेपछि अधिकांशले गुरुङको आलोचना गरेका छन् । फेसबुकमा पोखरेल बिमलाको प्रतिक्रिया यस्तो छ, ‘बौद्धिकताको कदर गर्न सिक्नु । मेकअप गरेर जोकोही राम्रो हुन सक्छ, मनको सुन्दरतालाई चिन्न सुन्दर मन नै चाहिन्छ ।’

कृष्ण आलेले चाहिँ निर्णायकको बोली रुखो भएको आशयमा आफ्ना विचार राखेका छन् । उनी लेख्छन्, ‘निर्णायकले आफू मात्रै यो संसारको राम्री र स्मार्ट हुँ भने जसरी बोलेको देखिन्छ । प्रतियोगी युवतीलाई प्रेरणा दिनुको सट्टा उपेक्षा गरेको देखिन्छ । मेकअपबिनाको सौन्दर्यमा दिव्यज्योति हुन्छ भन्ने तिनलाई थाहा रहेनछ ।’ भिडियोमा देखिएकी युवती ललितपुरकी अस्मिता महर्जन हुन् । उनले बिहीबार मात्रै आफू मिस नेपालमा छानिएको र त्यसतर्फको यात्रा प्रारम्भ भएकोमा खुसी जनाउँदै फेसबुकमा स्टाटस पोस्ट गरेकी छन् । ‘प्रतियोगी नम्बर ८,’ उनले ह्यास्ट्यागमा लेखेकी छन्, ‘ह्याप्पी डेज ।’ त्यसको आठ घण्टापछि उनको अडिसन लिइएको भिडियो फुटेज भाइरल भयो । अस्मिताले भाइरल भिडियोलाई लिएर सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया दिएकी छैनन् । मिस नेपाल शृंखला खतिवडाले ‘नो मेकअप एन्ड स्टिल ब्युटिफुल’ भन्दै आफ्नो फोटो ट्वीट गरेकी छन् ।

पूर्वमिस नेपाल निकिता चाण्डकले यो के भइरहेछ भन्नेबारे आफूले नबुझेको बताइन् । ‘म पनि मेकअप बेगर नै अडिसन दिन गएकी थिएँ,’ उनले भनिन्, ‘ड्रेसअपको तरिका र प्रस्तुति शैलीबारे आइडिया थिएन । मलाई यसबारे प्रश्न सोधिएन ।’ कतिलाई मेकअपमा रुचि नहुने र सबैले सौन्दर्य प्रतियोगिता नपछ्याउने भएकाले बाहिरी आवरणलाई मुद्दा बनाउनु ठीक नभएको उनको भनाइ थियो ।

‘अडिसन खुला गर्दा नै यसमा भाग लिनका लागि आवश्यक रिक्वायरमेन्टबारे जानकारी दिन सकिन्छ,’ चाण्डकले भनिन्, ‘मेकअपबारे पनि त्यसमा उल्लेख गरे भयो । पूर्वजानकारी दिनुपर्छ ।’ द हिडेन ट्रेजरका प्रमोटर प्रमोदरत्न कंसाकरले भिडियोबारे आफूलाई थाहा नभएको बताए । ‘ट्रोल गरेको होला कसैले,’ उनले भने, ‘हाम्रो आफ्नै प्रक्रिया हुन्छ । भिडियोबारे सुनेको छु तर मलाई थाहा भएन ।’ भिडियोलाई कतिले पब्लिसिटी स्टन्ट भनेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भने सौन्दर्य प्रतियोगिताको उद्देश्यमाथि प्रश्न उठाएका छन् । यस्ता प्रतियोगिताले बाह्य सौन्दर्य मात्रै नाप्ने हो त भन्ने प्रश्न तेजिलो बनेको छ । मेकअपलाई लिएर रचना किन त्यति रुखो बनेकी हुन् ? यसबारे उनको जवाफ यस्तो थियो, ‘हामी भित्री–बाहिर दुवै सौन्दर्यलाई महत्त्व दिन्छौं तर मेकअप भनेको सौन्दर्य प्रतियोगिताको आधारभूत कुरा हो ।’

About the author

Artist Sansar