आयुष्मान र शिल्पाको ‘सानो मन’ प्रदर्शन

Written by Artist Sansar

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै नेपाली फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । हलिउड फिल्म ‘स्पाइडर म्यान’ र गएको तीन हप्तादेखि बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले नेपालका मल्टीप्लेक्स कब्जा गरेका छन् । तर, हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आउने नेपाली फिल्मले भने हलमा दर्शक तान्न सकेका छैनन् ।

यसबीच, शुक्रबारबाट फिल्म ‘सानो मन’ ले आफ्नो प्रदर्शन थालेको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको फिल्ममा चकलेटी ब्वाई आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका छ । फिल्मलाई सुयोग गुरुङ्गले निर्देशन गरेका हुन् । यो फिल्म उनको डेब्यू हो । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।

बिहीबार साँझ यो फिल्मको राजधानीको कुमारी हलमा ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियर उपस्थिति अधिकांश फिल्मकर्मीहरुले निर्देशक गुरुङ्गको निर्देशकीय क्षमता, अभिनेता आयुष्मान र अभिनेत्री शिल्पाको अभिनय र छायाँकार आलोक शुक्लाको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए । फिल्मले आयुष्मान र शिल्पाबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित छ । यो फिल्मबाट निर्देशक गुरुङ्गले राम्रो सम्भावना देखाएका छन् ।

आयुष्मान र शिल्पाका अलावा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

About the author

Artist Sansar