लोक गीतका फ्याक्ट्री

(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री)

२०४६ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गाउन मात्र पाए के के न हुँदो हो भन्ने सोचले रेडियो नेपालको गेटमा उभिएको कालो, दुब्लो र ख्याउटो एउटा युवक अहिले युवापुस्ताका चर्चित लोकगायक मध्येमा गनिन्छन् भनेर कसले पो सोचेको थियो र ? अझ त्यो गायकले गीत गाएरै काठमाडौंजस्तो महंगो शहरमा घर बनाउन सक्छ, त्यसकै आम्दानीले ठूलो घर परिवार चलाउन सक्छ भन्दा केहीले त ओठै लेप्राउलान् । तर नवराज घोरासैनीको जीवनमा यी सब पुगेकै छन् ।
रेडियो नेपालबाट हरेक शनिबार बेलुकी ८ बजेको अंग्रेजी समाचारपछि प्रसारण हुने कार्यक्रम ‘चौतारी’ को लोकप्रियता कति थियो भने जसोतसो एक दिन रेडियो नेपाल छिर्न पाएर गाउन पाइयो भने गाउँमा उनको शानै बेग्लै हुन्थ्यो । गाउँलेहरुको बोली नै फेरिन्थ्यो, सम्मानको दृष्टिले हेरिन्थ्यो । यसपछि नै हो, नवराजलाई रेडियोमा गाउने रौस चढेको ।

तर उनको गायन तुजुक भने पहिलेदेखि नै हो । रेडियोमा पुगेपछि भने अलि चासो बढेको हो । अरुभन्दा पनि रेडियोमा उनको थर घोरासैनी सुनेपछि थुप्रै गलल्ल हाँसेपछि आफ्नो थरलाई राष्ट्रव्यापी गराउने त्यतिबेलै प्रण गरेका थिए । उनी भन्छन् मैले नगाएको भए पनि म अरु नै केही यस्तो काम गर्थें कि मेरो थरलाई मानिसहरुले अचम्मको थरको रुपमा नलिऊन् । अहिले उनको प्रण पूरा भएको छ । लोकगीतमा थोरै पनि चासो हुनेहरुलाई नवराजको थरप्रति कुनै हाँसो उठ्दैन ।

२०२८ साल चैत ११ सिन्धुपाल्चोक, फटकशीलामा पाँच परिवारमा सबैभन्दा जेठो सन्तानका रुपमा जन्मिएका नवराजले एसएलसीसम्म मात्र अध्ययन गरेका छन् । उसबेला एसएलसी पास गर्नु नै धेरै पढिएको र ठूलो कुरा थियो, त्योभन्दा बढी पढ्नेबारे सोचिएकै थिएन । अहिले पो बीए पास गर्दा पनि मान्छे ठूलो ठानिँदैन ।

२०५० सालमा बिहे गरेपछि उनका गायन भाग्य क्रमशः खुल्न थाल्यो । त्यसै साल ४ सयभन्दा बढीको रेडियो नेपालको स्वर परीक्षामा जम्मा २६ जना मात्र पास भएका थिए र तीमध्ये नवराजले तीन नं.मा आफ्नो नाम निकालेका थिए ।

स्वर परीक्षालगत्तै उनले विदुरको संकलनमा गीत गाए, छुट्न लाग्यो म जाने रेल, माया तिम्लाई क्यै छ कि ढुलमुल । गीत रेकर्ड गराएबापत दुई सय रुपियाँ पारिश्रमिक त उनले पाए नै साथमा रेडियोबाट दिनको तीन पटकसम्म गीत बज्न थालेपछि भने गाउँलेको नजरमा एकै पटक उनको उचाई ह्वात्त बढ्यो ।

२०५० सालको दशैं छेक म रेडियो नेपालको स्वर परीक्षामा तेस्रो भएको थिएँ । यसैको सम्झनामा हरेक वर्ष रेडियोमा गीत रेकर्ड गराउँछु, उनी त्यस दिनको महत्व बताउँछन् ।

त्यसो त १० वर्षे गायन यात्रामा उनका १६ वटा गीति एल्वम बजारमा आइसकेका छन् । अरुका एल्वममा समेत गाएका गीतको संख्या जोड्ने हो भने उनका गीतले शतक मनाइसकेका छन् ।

अब मलाई आधुनिक गीत गाउने मन छ, लोकगीतबाट पाएको चर्चा, ख्याति र रकमपछि उनको आँखा आधुनिक गीत गाउनेतिर छ । भजन, आधुनिक, राष्ट्रिय गीत गाउन म निकै लालायित छु । तयारी पनि गरिरहेको छु । तर शास्त्रीय गाउन चाहीँ सक्तिनँ । पप् गाउनतिर कुनै रुचि छैन, उनी भन्छन् ।

कान्छी दुलही एल्वम नचल्दा उनी दुःखी भएका थिए । त्यसैले उनलाई त्यही एल्वम बढी प्यारो छ । तर उनका एल्वम नचलेको पनि २० हजार कट्छन् । उनको घुम्तीनिर लेट गीतिएल्वमले सबैतिर थर्काएको थियो । त्यो एल्वम लगभग एक लाख बिक्री भइसकेको छ । अहिले उनको पछिल्लो एल्वम गेटमा ताला बन्द तीन महिनाको अवधिमा २५ हजार बिक्री भइसकेको उनको दाबी छ । उनी ढुक्क हुँदै भन्छन्, यो एल्वम कम्तीमा पनि ५० हजार त बिक्री हुन्छ ।

यस क्षेत्रबाट मान सम्मान सुरक्षित छ । पछि गायनबाट पेन्सन त आउँदैन, भविष्यको जोहो यतिबेलै गर्नुपर्छ । उनी भन्छन् ।

केही वर्षअघिसम्म लोकसंगीतमा लागेकाहरुले सुकिला लुगा र हातमा मोबाइल चलाउलान् भन्ने कुरा कल्पनामा मात्र सीमित थियो । तर अहिले ती सामान्य उपभोग्य वस्तु भएका छन् । नाम चलेको गायक हुनुको बेफाइदा के छ भने हामीले स्वतन्त्र भएर जस्तो पायो त्यस्तै खान, पिउन र काम गर्न मिलेन । स्ट्याण्डर्ड मेन्टेन गर्नै प¥यो, त्यसैले पाएजति र अफर आए जति गाउनु बाध्यता हो, उनलाई लोकगीत बढी गाएको आरोप लगाउँदा उनी स्पष्टीकरण दिन्छन् । बढी गीत गाएको र एल्वम निकालेका हिसाबले होला उनलाई कतिजनाले लोकगीतका फ्याक्ट्रीसमेत भन्न थालेका छन् ।
आफूलाई यो अवस्थामा आइपुग्न युक्त गुरुग र नारायण रायमाझीको ठूलो योगदान भएको कुरा उनी विर्सन चाहदैनन् ।

Tags: