चोरीको आरोपबाट अभिनेता प्रदीप खड्काको फिल्म ‘लभ स्टेसन’ पनि अपवाद बन्न सकेन

Written by Artist Sansar

वर्षौदेखि नेपाली फिल्ममाथि लाग्दै आएको चोरीको आरोपबाट अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काको फिल्म ‘लभ स्टेसन’ पनि अपवाद बन्न सकेन । फिल्मको ट्रेलरको एक दृश्य टर्किस फिल्म ‘हर से असक्तन’ सँग दुरुस्तै मिलेको थियो । अब पूरा फिल्म नै हुबहु मिलेको प्रमाण भेटिएको छ । यो फिल्म अर्को टर्किस फिल्म ‘सेबिम्ली तेल्केली’ को नेपाली अनुवाद हो । कथा मात्र नभएर प्रायः अधिकांश दृश्य पनि यही फिल्मबाट आयातित छ । सुरुवातदेखि अन्त्यसम्म फिल्म दुरुस्तै मिल्छ ।

रिलिजको पहिलो दिन नै फिल्म फोटोकपी रहेको पोल खुलेपछि यसले व्यापारमा समेत ठूलो प्रभाव पारेको छ । सामाजिक सञ्जालमा निर्देशक, लेखकदेखि कलाकारसम्मको चर्को आलोचना भइरहेको छ । फिल्मवृतमा यस फिल्मले फेरि ठूलो संख्यामा दर्शक भड्काएको टिका-टिप्पणी सुरु भएका छन् । दर्शकले सामाजिक सञ्जालमा फिल्मको चर्को रुपमा आलोचना गरिरहेका छन् । ‘सक्कल बमोजिम नक्कल’ समेत दुरुस्तै बन्न नसकेको समीक्षकहरुको टिप्पणी छ ।

शनिबार दर्शक प्रतिक्रिया बुझ्न हल-हल पुग्ने क्रममा अभिनेता प्रदीपले फिल्मबारे भएको समीक्षालाई लिएर आफ्नो विचार राखेका छन् । फिल्म हेर्ने वितिक्कै आउने समीक्षा फिल्ममाथिको समीक्षा नभएर आफूहरुमाथि प्रहार रहेको उनको जिकिर छ । उनले समीक्षकलाई समीक्षा कसरी र कहिले लेख्ने सिकाउँदै भने- ‘फिल्म चलेको पहिलो हप्ताको अघिल्लो दिन (बिहीवार) साँझ समीक्षा गर्नुपर्छ । कस्तो फिल्म चल्यो ? दर्शक आए कि आएनन् ? यस्तो खालको समीक्षा गर्न चाहिँ अहिले आवश्यक छ ।’

उनले समीक्षा गर्न हतार भएको भन्दै अगाडि थपे- ‘दर्शकले फिल्म निकै रुचाएका छन् तर समीक्षकको नजरमा कमजोरी देखिएको भए त्यस फिल्मको मेकर्ससँग सल्लाह गरेर अब नेपालीपनको फिल्म दिनुपर्छ भनेर समीक्षा गर्नुपर्छ । अहिलेको चाहिँ सिध्याइहालौं, ढालिहालौं, खत्तम बनाइहालौं भन्ने खालको भयो । यो समीक्षा नभएर प्रहार हो । एक हप्तासम्म फिल्मले कस्तो गर्‍यो ? भनेर चाहिँ समीक्षा गर्नुपर्छ ।’ उनको भनाइले फिल्मको समीक्षा दर्शकको प्रतिक्रियाअनुसार हुनुपर्ने तर्क राख्छ ।

उनले ‘लभ स्टेसन’ फोटोकपी भेटिएको विषयमा पनि आफ्नो मुख खोलेका छन् । उनले सोझै भन्न नसके पनि घुमाउरो शैलीमा फिल्मको कथा र दृश्य चोरिएको स्वीकार गरे । उनले कथा चोरीको विषयमा आफूलाई थाहा नहुने बताउँदै लेखक र निर्देशक भने सन्तुष्ट रहेको बताए । उनले भने- ‘पहिलो त राम्रो स्क्रिप्टका लागि फिल्म निर्माण कम्पनीले लेखक र निर्देशकलाई प्रशस्त समय र राम्रो पारिश्रमिक दिनुपर्छ । तर, अहिले हामीलाई यहाँ भएको रिसोर्सेजअनुसार काम गर्नुपर्ने अवस्था छ ।’

About the author

Artist Sansar