मोटोपन भएका पुरुषलाई नौलो अवसर, ‘मिस्टर प्लस साइज नेपाल’ को दोस्रो अडिसन यहि जेठ १८ गतेबाट

Written by ArtistNepal News

काठमाडौं, के तपाईं मोटोपनाका कारण निरास हुनुहुन्छ ? अब निरास नहुनूस, किनकी तपाईंलाई साथ दिन आउँदै छ ‘मिस्टर प्लस साइज नेपाल’ । मिस्टर प्लस साइज नेपाल’ ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन गत जेठ ०४ गते सम्पन्न भएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यहि जेठ १८ गते शनिवार हुँदैछ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै छ । अडिसन फारम अडिसनको दिनसम्म भर्न सकिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान राखिएको छ ।

अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट ब्यक्तित्व विकास, मोटिभेसनल, मोडलिङ आदी सम्बन्धी करिब एक महिना लामो प्रशिक्षण दिईने आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतले बताए । मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपालको आयोजना गर्दै आएको छ ।

मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमश: ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।