नेपाली संगीत भनेपछि जोस पलाइहाल्छ : रञ्जित गजमेर

https://artistnepal.com/

https://artistnepal.com/

"

मुम्बईमा सबैले उनलाई कान्छा भनेर बोलाउँछन् । तर यति बेला काठमाडौंमा भेटिएका संगीतकार रञ्जित गजमेरलाई पहिलो प्रश्न सोधियो, ‘तपाईलाई के भनेर सम्बोधन गर्दा सहज लाग्छ ?’ भारतका प्रख्यात संगीतकार आरडी बर्मनका लागि मादल बजाउने असाधारण क्षमताका प्रिय कान्छाले साधारण जवाफ दिए, ‘जेभन्दा सहज लाग्छ । म रिसाउन्नँ । मलाई यता धेरैले बाबुजी भन्छन् । तर तपाईले मलाई भाइ नै भने पनि म रिसाउन्नँ ।’ ७१ वर्षीय गजमेरले कुराकानीको सुरुवातमै ठट्टा गरे ।

देशले संविधान पाउने/नपाउने, संघीयतामा जाने/नजाने अन्योल उत्कर्षमा पुगिरहेका बेला यता उक्लिएका हुन् । ‘सुरुको हप्तादस दिन त म बन्दीजस्तै कोठामै सीमित रहें । बल्ल काम सुरु गर्दै छु ।’ गीतकार ज्ञानेन्द्र गदाल र गायनमा परिचय बनाउँदै गरेका किशोर शिवाकोटीका लागि संगीत भर्न आएका उनले भने, ‘काम सकिनेबित्तिकै फर्किनुपर्छ । आफ्नै गुरुलाई पनि भेट्न पाइरहेको छैन । साथीभाइ पनि भेट्नु नै छ ।’

भर्खरभर्खर संगीतको भूत चढेको अवस्थामा गजमेरलाई संगीतज्ञ अम्बर गुरुङले नै संगीतको गुरुमन्त्र दिएका थिए । गजमेरलाई आजसम्म मन पर्ने संगीतकार गुरुङ नै हुन् । ‘नौलाख तारा…’ गीतको कम्पोजिसनदेखि रेकर्डिङसम्म बस्दा म दाइसँग घनिष्ठ बनेको हुँ,’ उनले सम्झिए, ‘त्यसताका नारायणगोपाल, तारादेवी, प्रेमध्वजजीलाई हामी दार्जिलिङमा रेडियोबाट सुन्थ्यौं ।’

संयोग, सन् १९६७ ताका रेडियो नेपालमा तबलावादकको रूपमा आउँदा गजमेरले उनीहरूकै गीतमा तबला बजाउन भ्याए । पछि ‘बाँसुरी,’ ‘सम्झना,’ ‘कुसुमे रुमाल’, ‘वासुदेव,’ ‘अन्याय,’ ‘चिनो’, ‘दक्षिणा’, ‘देउता’, ‘लाहुरे,’ ‘दर्पणछाया’ जस्ता दर्जनौं फिल्महरूमा सयौं सदावहार संगीत भरेर आफूलाई प्रमाणित गरे ।

बीचमा लामो समयान्तरपछि तुलसी घिमिरेको ‘दुई किनारा’ का लागि संगीत भरेका गजमेरलाई पछिल्लो पालि निर्देशक शंकर घिमिरेले ‘तुलसी’ मा लिएका थिए, जुन रिलिजको क्रममा छ ।

केही समययता नेपाली फिल्मका धेरैजसो काम नेपालमै हुने गरेकाले मेलोडीका ज्ञाता यी संगीतकारको हातमा नेपाली फिल्म कम हुँदै गएका छन् । तर, कसैले बोलाए मुम्बईबाट जति बेलै पनि हाम फालेर आउने जोस उनमा अझै छ । ‘पैसा बम्बैमा बेसी पाए पनि यता काम गर्दा जुन मजा आउँछ त्यसको तुलनै हुन सक्दैन । हाम्रो खास मातृभूमि यही हो नि,’ आफूबाट नेपाल र नेपाली माटोको सेन्टिमेन्ट कहिल्यै कम नहुने उल्लेख गर्दै उनले थपे, ‘हामीले मातृभूमिलाई निःस्वार्थ माया गर्ने हो । मातृभूमिबाट के पायौं भनेर सोच्नु पनि गलत कुरा हो । तिमीले के गर्न सक्छौ त्यो गर । जहाँ गए पनि दुई हात खियाउनै पर्छ ।’

दार्जिलिङमा दुई हात खियाउनका लागि गजमेरले युवावस्थामा सुगम संगीतको ‘संगम ब्यान्ड’ र रकको ‘द हिलियन्स’ ब्यान्डमा काम पनि गरे । ‘आर्ट एकेडेमीमा हुँदाहुँदै त्यहाँ वेस्ट बंगाल सरकारले इन्डियन फोल्क इन्टरटेनमेन्ट सेक्सन खोल्यो, अम्बर दाई त्यसका डाइरेक्टर हुनुभयो । दाइको व्यस्तता एकाएक बढेपछि एकेडेमीमा समय दिन सक्नुभएन । अरुणा लामा, शरण प्रधान, जितेन बर्देवा, प्रकाश गहतराज, इन्द्रकुमार हामी मिलेर संगम सांगीतिक क्लब त्यसै बेला खोलेका हौं,’ गजमेर फ्ल्यासब्याकमा पुगे, ‘तर त्यसपछि मेरो बिहे भयो, शरण र अरुणाले पनि बिहे गरेपछि सबै छिन्नभिन्न जस्तै भयो ।’

त्यसअघि नै दार्जिलिङमा बेलायती ब्यान्ड बिटल्सका रक/पपको प्रभाव पर्न थालिसकेको थियो । पिटर जे कार्थरले पनि गजमेरलाई ड्रमरको रूपमा साथ लिएर त्यस्तै फ्लेभरको ब्यान्ड ‘द हिलियन्स’ खोलेका थिए, सन् १९६२ मा । रात्रिकालीन प्रस्तुति दिने हिलियन्सको क्रेज यति बढ्यो, यसलाई त्यो भेगको बिटल्स भन्न थालियो । त्यसताका अन्य भारतीय नेपालीहरू जर्ज ब्यांक्स, लुइस ब्यांक्स जस्ता हस्तीका ब्यान्डहरूको पनि प्रस्तुति चल्थ्यो । ‘त्यो समय दार्जिलिङको म्युजिकको स्वर्णयुग नै थियो भन्दा हुन्छ,’ गजमेरको निचोड रह्यो ।

अस्तव्यस्त राजनीतिका बेला नेपाली राजधानी आएका गजमेरलाई यहाँको सांगीतिक क्षेत्र भने कस्तो लागिरहेको छ ? ‘पहिलेभन्दा धेरै राम्रो,’ सन् १९६७ देखि तीन वर्ष रेडियो नेपालका जागिरे उनी बोले, ‘अहिले यहीं स्टुडियो खुलेका छन्, राम्रा-राम्रा कम्पोजर देखिएका छन् ।’ तर उनी संगीतमा अपनाइँदै गरेको डिजिटाइजेसनबाट त्यति खुस छैनन् । ‘अचेल सबै मेसिनले गर्छ । कम्प्युटरले सब सिकाइदिन्छ । त्यसरी नै कति गीत हिट भइराखेकै छन् । तर कम्प्युटर त एउटा मेसिन न हो, त्यसमा न फिलिङ्स हुन्छ, न मौलिकता ।’

फिल्ममा यतिखेर देखिएको आइटम सङलाई जंक फुडसँग तुलना गर्न रुचाउने गजमेरले त्यस्ता संगीतलाई पूरै निषेध भने गर्न चाहेनन्, ‘कसैलाई दोष दिन मिल्दैन । अहिलेको माहोल नै यस्तै छ । इन्डियामा पनि कस्ता होनहार कम्पोजर छन्, गायक/गायिका छन्, तर चल्छ, ‘अनारकली डिस्को चली …’ । चाइनिज माल जस्तै ।’

उनी आफ्ना गीतलाई भने पि्रय सन्तान मान्छन् । आशा भोसलेलाई पहिलो पटक नेपाली फिल्ममा गवाउन लगाउने श्रेय उनैलाई जान्छ । ‘तुलसी घिमिरेको ‘बाँसुरी’ फिल्मको ‘झझल्को लिएर आएछ सावन…’ गीत उहाँलाई गवाउन पाउँदा मेरो खुसीको सीमा नै रहेको थिएन । त्यति बेला बम्बैका संगीतकारहरूले पनि ‘अरे यार, कान्छाका म्युजिक’ भने । त्यति खुसी मैले कहिल्यै पाइनँ ।’

पछि ‘बाँसुरी’ कै अर्को गीत ‘मिर्मिरे साँझमा सिमसिमे पानी…’ मा पनि आशालाई लिए, उदितनारायण झाको साथ । लता मंगेशकरसँग भने आशा (आरडी बर्मनकी श्रीमती) को जस्तो त्यति निकटता नभएकाले गवाउन नसकेको गजमेरले बताए ।

उमेरले बुढ्यौलीको संकेत दिँदै गर्दा उनलाई भने भविष्यका योजना र चाहनाले च्याप्दै लगेका छन् ।

‘अझै के-के गरौं भन्ने छ तर जाने बेला भए जस्तो पनि लाग्दै छ,’ फिल्म निर्माता राजेश घतानीको घरमा आराम फर्माइरहेका संगीतकारले भने, ‘अब जति समय छ, नेपाली माटोका लागि, संगीतको लागि अझै केही गर्ने चाहना छ । जन्मभूमिको लागि काम गर्नु हाम्रो ड्युटी पनि हो ।’