दीप श्रेष्ठ को ‘यात्रा’

Written by Artist Sansar

‘शृंखला’ पछि गायक दीप श्रेष्ठको एल्बमीय शृंखला विश्राममा थियो । चार वर्षपछि ‘यात्रा’ ले उनलाई नयाँ यात्री बनाएको छ । र, त्यो ‘यात्रा’ लम्कँदै पाइला चालिरहेको छ ।

चालीस, बीस र दसवर्षे यात्री सँगै घुम्न निस्किए भने यात्रा कस्तो होला ? स्वभावतः केही असहजता हुन्छ । तर, यहाँ यस्तो भएको छ, जहाँ यस्तै फरक सांगीतिक युगका प्रतिनिधि पात्र एकसाथ ‘यात्रा’ मा निस्के पनि कतै ठेस लागेको छैन ।

प्रसंग हो- केही पहिले बजारमा आएको ‘यात्रा’ एल्बमको । गायक दीपको सांगीतिक अनुभव ४० वर्ष, संगीतकार राजु सिंहको २० वर्ष र गीतकार योगेन्द्रमणि दाहालको १० वर्ष । ‘यसले न काममा फरक पार्‍यो, न गुणस्तरमा,’ दुई वर्षको मेहनतमा तयार गरेको एल्बमबारे राजु भन्छन्, ‘बरु यसले हामीलाई थप जिम्मेवार बनायो ।’

सांगीतिक ज्ञान नभएकालाई बुझ्न गाह्रो र जति सुन्यो उति स्वादिलो प्रकृतिको ‘यात्रा’ लाई राजु ‘व्याकरण एल्बम’ भन्छन् । यसका गीत राग र तालमा आधारित छन् । यसमा भैरवी, शिवरञ्जनी, भीमपलासी, यमन, मालकोसजस्ता राग र दीपचन्दी, झप, रूपक, दादरा, खेम्टा, कहरहवालगायत ताल प्रयोग गरिएका छन् । नेपाली

कम्पोजमा कम प्रयोग हुने मोडलेसन यसमा अधिक पाइन्छ भने मेलोडी बढी र हार्मोनिक कम उपयोग गरिएको छ ।

म्युजिक डट कमले बजारमा ल्याएको ‘यात्रा’ का निर्मातासमेत रहेका योगेन्द्रमणि यसलाई ‘सुगम संगीतको गर्विलो कार्य’ ठान्छन् । पूर्वीय ताललाई पाश्चात्य पहिरनसमेत लगाइदिएको यो एल्बम बजारमा चलेका संगीतभन्दा केही पृथक् छ ।

सिंगापुरमा डबिङ गरिएको ‘यात्रा’ को एरेन्जर महाराज थापा हुन् भने वाद्यवादक पनि पुराना र अनुभवी प्रयोग गरिएको छ । यसमा ‘अचानो भो मेरो छाती चोटहरू सही-सही…,’ ‘खुसी तिमी हुनु फूलझैं फुलेर…,’ ‘तिम्रो वेदना भरिएको चित्कार कस्ले सुन्ने…,’ ‘धेरै फुल्छन् मायारूपी फूल…,’ ‘किन म पिउँछु कति म पिउँछु चर्चा नै गर्दिनँ…,’ ‘जीवनको बाटो शिखर चढेझैं चढेर पनि अडिन्न है…,’ ‘मेरो हर खुसीलाई राखेको छु मुटुभित्र गाँठो पारी…’ र ‘हाम्रो मायाभन्दा गहिरो अरू कुनै सागर छैन…’ बोलका गीत छन् ।

About the author

Artist Sansar