गायक यम बरालको दाम्पत्य सम्बन्ध विच्छेद

Written by Artist Sansar

इलाम फिक्कलका गायक यमप्रसाद बराल २०६० मा ललितपुरस्थित कुपण्डोलकी आकृति राणासँग दाम्पत्य सम्बन्धमा बाँधिएका थिए…

आर्टिस्ट नेपाल । पछिल्लो समय नेपाली कलाजगतमा सम्बन्ध बिच्छेदको घटना ज्यादै बढेछ । नेपाली ग्ल्यामर फिल्डमा चर्चित रहेकी रुपा उपाध्याय अमेरिकन नागरिक संगको बैबाहिक सम्बन्ध तोडिएपछी हाल नेपालमा आएर सिनेमा व्यस्त हुन थालेकी छिन् । यस्तै नेपाली संगीतमा पनि गायिका अञ्जु पन्त एवँ गायक मनोजराजसँगको दाम्पत्य सम्बन्ध बिच्छेद गरेको घटना सेलाउन नपाउँदै यम बरालको पनि जिबनसंगिनी आकृति राणासँग सम्बन्ध बिच्छेद भएको छ । बादलुको घुम्टोले इलाम बजार छोपिँदा…गीतबाट दुई दशकअघि आफ्नो गायन यात्रा सुरु गरेका बरालको दाम्पत्य जीवन गत ८ कात्तिकमा टुंगिएको छ ।

इलाम फिक्कलका गायक यमप्रसाद बराल २०६० मा ललितपुरस्थित कुपण्डोलकी आकृति राणासँग दाम्पत्य सम्बन्धमा बाँधिएका थिए । पुर्बराजा ज्ञानेन्द्र शाहलाई समेत वैवाहिक समारोहमा उपस्थित गराएर धुमधामका साथ उनले विवाह गरेका थिए । विवाहलगत्तै यमले ललितपुरस्थित भैंसेपाटीमा घर बनाएर बस्दै आएका थिए । गायक बरालले सो घर बेचेको उनका साथीहरूले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासमा यी दाम्पतीको सम्बन्ध विच्छेद कायम हुने गरी मिलापत्र भएको छ । सम्बन्ध विच्छेद मुद्दाको छिनोफानोका लागि अदालत पुग्दा उनी कालो चस्मा र मास्कमा नचिनिने अवस्थामा थिए । दिनभर कसैसँग बोलचालसमेत नगरी बसेका बराललाई इजलासमा न्यायाधीशले मास्क र चस्मा खोल्न आदेश नै

दिनुपरेको थियो । मास्क खोलेपछि उनले सो समाचारबारे हल्ला नगरी दिन अनुरोध गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सम्बन्ध विच्छेद हुनेगरी मिलापत्र भएपछि उनी पुन मास्क र कालो चस्मा लगाएरै अदालतबाट सुटुक्क निक्केका थिए ।

अमेरिकामा बस्दै आएका गायक बराल दसैंमा काठमाडौं फर्किएका हुन् । एक वर्षयता यी दम्पतीबीच सम्बन्ध बिग्रदै गएको उनका आफन्तले जनाएका छन् । श्रीमान् स्वदेश फर्किएलगत्तै ३० असोजमा आकृतिले दाम्पत्य सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दाको छिनोफानोका लागि काठमाडौं जिल्ला अदालत पुगेका गायक बरालले आफ्नो र आकृतिबीचको दाम्पत्य सम्बन्ध विच्छेद कायम हुने गरी मिलापत्र गरेका हुन् ।

आकृति र यमका ५ बर्षिय छोरा आरोग्य छन् । छोरा कसले पाल्ने भन्ने प्रसंगमा छोरा आमासँगै रहने सम्झौता अदालतमा भएको थियो । तर, हाल छोरा आरोग्य भने पिता यम बरालसँगै छन् । अदालतमा सम्बन्ध विच्छेद कायम हुने गरी मिलापत्र गर्दा उनले आफ्नो घर र सम्पत्ति पनि आकृति राणालाई दिने सम्झौतापत्रमा सहमति जनाएका छन् ।

उनी नेपाली साँगीतिक क्षेत्रमा आधुनिक गायक र चलचित्र पाश्र्व गायकका रुपमा परिचित छन् । तर उनी पछिल्लो समय नेपाली गायनमा ओझेलिँदै गएका थिए । सोही कारण उनी गतवर्ष अमेरिका गएका हुन् ।

About the author

Artist Sansar