रेडियो नेपालः अनुभवका उतार–चढाव – बुलु मुकारुङ्ग

१. रेडियोसँग सम्मोहन

लाहुरेहरूले ल्याएका ग्रामोफोन र रेडियो नै गाउँघरका लागि पहिलो आश्चर्य, आकर्षण र मनोरञ्जन थिए। त्यसले सबै उमेर समूहलाई प्रभाव नपार्ने कुरा नै भएन। यसरी गाउँकै विद्यार्थी जीवनदेखि नै गीत–सङ्गीतप्रति रुचि र प्रभाव मसँग रहँदै आयो। रेडियो नेपालबाट प्रसारण हुने गीत–सङ्गीत, कृषि कार्यक्रम, नाटक, समाचार आदि कार्यक्रमहरूले बालमनमा कौतुकमय सम्मोहन बसाल्यो।

चौँतीस सालमा एसएलसी उत्तीर्ण गरेपछि म काठमाडौं आएँ। त्रिचन्द्र क्याम्पसमा पढ्न भर्ना भएसँगै सिनियर विद्यार्थीहरूद्वारा स्वागत कार्यक्रम आयोजना गरियो। नयाँ विद्यार्थीहरूको तर्फबाट मैले पनि लोकगीत गाएँ। नयाँ–पुराना सबै विद्यार्थीबीच मेरो परिचय बलियो बन्यो, किनकि नयाँ विद्यार्थीमध्ये हार्मोनी बजाएर गीत गाउने म नै थिएँ। सिनियर विद्यार्थी चन्द्रमणि गौतमको ‘रेडियो नेपाल स्वर परीक्षा दिन जाऔँ’ भन्ने उत्प्रेरणा र प्रशंसाले म उहाँसँग नजिकिएँ।

लाजिम्पाट बस्न थालेपछि पहिलो पटक चर्चित गायिका तारादेवीलाई देखेर म चकित परेको थिएँ। लाजिम्पाटको सडककै एउटा घरमा उहाँ बस्नुहुन्थ्यो। म विज्ञान विषयको विद्यार्थी भएर क्याम्पस जान थालें। यसैबीच रेडियो नेपालले स्वर परीक्षा खुला गर्‍यो। मसँगै स्वर परीक्षा दिने मदनसिंह नेपाली, मनोज गुरुङ, विनोद गुरुङ, विज्ञान श्रेष्ठ आदिको नाम आज पनि सम्झनामा छन्।

स्वर परीक्षा दिँदा मादल बजाइदिने रत्न बेहोसी, गितार बजाइदिने सी.के. र साईली, तथा प्रत्यक्ष निरीक्षणमा उपस्थित नातिकाजी, शिवशंकर र कोइलीदेवीजस्ता स्थापित कलाकारहरूलाई त्यही दिन प्रत्यक्ष देखेर म एकातिर दङ्ग परेँ भने अर्कोतिर त्रसित र आतङ्कित पनि भएँ।
‘राम साईंलो सुरुबुरु लाँकुरीको लङ्कै पुग्यो जरा,
राम साईंलो आमा छैन बाबु छैन कसले भन्छ बर’
भन्ने लोकगीत आफैं हार्मोनी बजाएर गाउँदा म धामीजस्तै काँपिरहेको थिएँ।

एक हप्तापछि रिजल्ट भित्तामा टाँसियो। मेरो नाम भने वैकल्पिक सूचीमा परेको थियो। पुनः मैले स्वर परीक्षा दिएपछि गीत गाउन पाउने भएँ। यसरी म २०३५ सालदेखि रेडियो नेपालसँग गाँसिन पुगेँ।

मैले स्वर परीक्षा दिएको पुरानो स्टुडियो भएको भवन आज छैन, तर लगभग सोही भवनको नापनक्सामा अर्को भवन बनिसकेको छ। दायाँ–बायाँ दुवैतिर दुईवटा बुर्जा भएको त्यो पुरानो भवनको माथिल्लो तलामा एउटा राणाकालीन रंगमञ्च पनि थियो, जहाँबाट रेडियो नेपालले ‘रसरङ’ कार्यक्रम प्रत्यक्ष रूपमा उत्पादन गरी प्रसारण गर्थ्यो।

त्यही भवनको ठीक तल, २००७ साल चैत २० गतेदेखि रेडियो नेपालको प्रथम प्रसारण सुरु भएको स्टुडियो रहेको थियो, जहाँ मैले स्वर परीक्षा दिन पाएको थिएँ। त्यसको भुइँतलामा नेता गणेशमान सिंहलाई बन्दी बनाइएको कथन मैले पछि सुनेको थिएँ। कतिपय सन्दर्भमा त्यो कोठा राणा–शाहीका घोडासय सेवक सुत्ने कोठा हो भनिन्थ्यो।

२. सङ्गीतको तालिम

२०३६ सालको सुरुमै गोरखापत्र मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको एउटा सूचना प्रकाशित भयो। गायन, वादन, नृत्य र नाटकमा तालिम खुलाइएको थियो। मैले पनि गायन र वादन दुवैका लागि निवेदन दिएँ। छनोट परीक्षा पनि भयो। २० जनामध्ये वादनतर्फ म पनि छानिएँ।

मसँगै ध्रुवेशचन्द्र रेग्मी, शिशिर श्रेष्ठ, पूर्णबहादुर र सुमित्रा श्रेष्ठ छानिए। नाटकतर्फ शैलेन्द्र सिम्खडा, सुनिल पोखरेल, राजु सिलवाल, शोभा श्रेष्ठ र कुमार श्रेष्ठ थिए। गायनतर्फ सुदेश शर्मा, विजया गिरी, समन्त कंशाकार, लोकबहादुर क्षेत्री र जयन्ती शर्मा थिए भने नृत्यतर्फ सावित्री ठकुरी, मानबहादुर गुरुङ, लाक्पा ग्याल्जेन खाम्बाचे शेर्पा, सङ्गीता शर्मा र श्याम खड्गी सहभागी थिए।

तालिम दिने गुरुहरूमा अम्बर गुरुङ, गोपालनाथ योगी, हरिहर शर्मा र राधेश्याम प्रधानजस्ता विशिष्ट व्यक्तित्वहरू थिए।

प्रतिष्ठानमा जागिरे कलाकारहरूमा ज्ञानु राणा, जयनन्द लामा, तारा थापा, हीरादेवी राई, सूर्य थुलुङ, दीपक जंगम, विद्या लामा (मुकारुङ), प्रकाश गुरुङ, केशव सुनाम, सुशीला अमात्य, श्याम परियार, मोहनकृष्ण परियार, कृष्णभाइ महर्जन, विजय सुनाम, लीलाबहादुर गुरुङ र रामप्रसाद बैँजू आदि थिए। वादक बैँजू चेलो र डबल बेस बजाउने नेपालका एक मात्र वादक थिए त्यस बेला।

ठूलो हल भएकाले त्यहाँ धेरै कार्यक्रमहरू भइरहन्थे। त्रिभुवन विश्वविद्यालय (टी.यू.) ब्याण्डले आयोजना गरेको सांगीतिक कार्यक्रममा पहिलो पटक नारायण गोपाललाई मैले प्रतिष्ठानको हलमै भेटेको थिएँ। कुलपति लैनसिंह बाँडेल, उपकुलपति माधवप्रसाद घिमिरे र सदस्य–सचिव विजयबहादुर मल्लजस्ता प्राज्ञज्यूहरू पनि सम्झनामा छन्।

संयोगवश ३६ सालको त्यो तालिमे केटो—म स्वयं—६१ साल आइपुग्दा प्रा. डा. वासुदेव त्रिपाठीज्यूको नेतृत्वमा नेपाल प्रज्ञा–प्रतिष्ठान गठन हुँदा प्रज्ञा–सभासदमा मनोनित भएँ।

३. रेडियो नेपाल प्रवेश
काठमाडौं उपत्यका बाहिरका तालिम लिने कलाकारका लागि मासिक तीन सय हण्डी (स्टाफन) र उपत्यका भित्रका लागि दुई सय दिने गरिन्थ्यो। एक वर्षे तालिम सकियो। प्रमाणपत्र प्राप्त भएपछि ‘रेडियो नेपालको कलाकार कसरी बन्ने?’ भन्ने उपायमा लाग्न थालेँ। लोकबहादुर क्षेत्री रेडियो नेपालका जागिरे भइसकेका थिए। उनले मलाई खुबै उकासे र उपाय पनि बताइदिए।

त्यसबेला रेडियो नेपाल समितिमा परिणत भइसकेको थिएन। श्री ५ को सरकार सूचना विभाग अन्तर्गत थियो। पुग–नपुग कर्मचारी एक सय पचास जति थिए।

हिरण्य भोजपुरे रेडियो नेपालमै शाखा अधिकृत हुनुहुन्थ्यो। गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठको ‘लोकाली संगीत समूह’ अंग्रेजी ‘अब्बा ब्याण्ड’ जस्तै चर्चित थियो त्यसबेला। गायक कल्याण रिमाल र बिजु रिमालको धोबीधारास्थित घरमा रसिक दाइ बस्नुहुन्थ्यो। उहाँ रेडियो नेपालमा ‘राष्ट्रिय गीत’ को एउटा कार्यक्रम सञ्चालक–प्रस्तोता, साथै रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक समेत भएकाले रेडियो नेपालमा काम गर्ने इच्छा मैले राखेँ। उहाँले भोजपुरे दाइको अफिसमा पुर्‍याएर मेरो बारेमा बेलिबिस्तार लगाइदिनुभयो।

भोजपुरे दाइले संगीत शाखाका प्रबन्धक नातिकाजी दाइको साङ्गीतिक कठघरामा हाजिर गराउनुभयो। विभिन्न कुरा सोध्नुभयो। त्यसपछि मलाई हार्मोनियम, गितार र जाइलोफोन वादनमा परीक्षण लिनुभयो। एउटा लामो कन्सर्ट फ्लुट निकालेर ‘भाइ, यो बजाउन आउँछ?’ भनेर प्रश्न गर्नुभयो। मैले ‘घरबारीमा तोरी फुल्यो, मनबारीमा गीत’ धुन जानी–नजानी बजाएँ। एकेडेमीमा हुँदा श्याम परियार दाइसँग अलिअलि सिकेको थिएँ। त्यो गीतको संगीत नातिकाजी दाइकै रहेछ—मलाई थाहा थिएन। कुकुरलाई हान्दा ढुकुरलाई हानेजस्तै भएछ।

बाहिर बस्दै गर्नु भाइ भनेर उहाँहरू कोठामा के–के कुरा गर्नुभयो थाहा भएन। बाहिर म कुरेर बसिरहेँ। भोजपुरे दाइ बाहिर आएर ‘भोलि के–के प्रमाणपत्र छ लिएर आउनु है भाइ’ भन्नुभयो।

भोलिपल्ट रेडियो नेपाल गएपछि रेकर्डिङमा म बस्न थालेँ। तेस्रो दिन मासिक रु. २८५ पाउने गरी २०३९ को सुरुतिरै अस्थायी नियुक्ति पाएँ। नियुक्ति पत्र लिएर गएको दिन खल्तीमा सुको सेण्टी नभए पनि पुतली सडकमा साथीभाइले ऐला, छोइला, जँला आदिको उत्सव मनाए।

पुष्प नेपালি, तारादेवी, झलकमान गन्धर्व, लालबहादुर गन्धर्व, हरिबहादुर रञ्जित, ज्ञानबहादुर, द्वारिकालाल जोशी, भक्तराज आचार्य, रत्नकुमारी गुरुङ, मीरा राणा आदि ठाडी कलाकार कर्मचारीका रूपमा थिए।

मदन परियार, कृष्ण परियार, कालु गुर्जु, हर्ष डंगोल, इन्द्रलाल श्रेष्ठ, कृष्णनारायण श्रेष्ठ, मोहनप्रसाद जोशी आदि दैनिक रेकर्डमा भेटिने घागडान अगुवा कलाकार सहित संगीत संयोजक गणेश परियारको प्रत्यक्ष वादन नियन्त्रणमा पानीमा चोपलिएको मुसो जस्तै भएर काम गर्न थालेँ।

सँगसँगै करार सेवामा सी.बी. क्षेत्री, प्रेम औतारी, जे.बी. लामा, सुधीर क्षेत्री, शिशिर क्षेत्री, राम थापा, केबल सुब्बा, सूर्य थुलुङ, सन्दर श्रेष्ठ, राजु अग्रवाल पनि आए। पुष्प नेपালি, हरिबहादुर रञ्जितकारले २०३९ सुरुमै रेडियो नेपालबाट स्वेच्छिक बिदा लिए। गायक ज्ञानबहादुरले पनि जागिर छोडेर राप्रपाको चुनावमा उठे। गायक लालबहादुर खाती नेपाल प्रहरीबाट निवृत्त थिए। उनी पनि चुनावमा उठेका थिए।

४. दैनिक संगीत रेकर्डमा संलग्न
अगुवा गायक÷गायिका, गीतकार तथा सङ्गीतकारको दैनिक रेकर्डले मलाई ठूलो अनुभव दिन थाल्यो। सङ्गीत तालिम अर्थात् अध्ययनजस्तै हुन थाल्यो। गितार, बेस गितार, जाइलोफोन, म्यान्डोलिन, अर्गन आदि बाजा आलोपालो प्रत्यक्ष रेकर्डमा वादन गर्नुपर्ने अवस्था आयो।

ट्रयाक रेकर्डको प्रविधि आइसकेको थिएन। सिताराम ताजपुरिया पनि नियुक्त भएपछि मैले लेखिराखेको क्युसिट (गायक तथा वादकको दैनिक हाजिर) जिम्मा पाएँ। किनकि ताजपुरिया लोकगीत त गाउँथे तर वादनमा उनको दख्खल थिएन।

दैनिक संगीत रेकर्डमा शाही नेपाली सेनाअन्तर्गतका ब्याण्ड गुल्मका वादकहरू पनि दिउँसो रेकर्डमा करार गरिन्थ्यो। विशेष गरेर विशिष्ट कलाकारका आधुनिक गीत–सङ्गीत र गायनमा उनीहरूको विशेष भूमिका रहन्थ्यो। आधुनिक बाजाका लागि सुवर्ण लिम्बू, पेम्बा लेप्चा, देव राना, भगतसिंह बागदास, जे.बी. लामा आदि पनि आँठापाँजो रेकर्डमा आउँथेँ।

गीत रेकर्डको डेटअनुसार फत्तेमान, योगेश वैद्य, प्रेमध्वज, पी.एल. श्रेष्ठ, कमला श्रेष्ठ, दिव्य खालिङ, कुन्ती मुक्तान आदि सुरकर्मी रेडियो नेपाल आउँदा क्रमशः परिचय हुँदै गयो।

रत्न रेकर्डिङले उपलब्ध गराएको सुविधामा रेकर्ड गर्न दार्जीलिङबाट आएका कर्म योञ्जन, कुमार सुब्बा, दिलमाया खाती, बद्री–दुर्गा खरेल, डे.जी. बराइली, चन्दन लोम्जेल, पवन गोले, साथै सिक्किमबाट आएका बली सुब्बा, बिमला सेञ्चुरी, अञ्जली प्रधान, देवकुमार दुमी, राजेन्द्र मास्के आदिसँग पनि सङ्गीतको तुइन जोडियो। जसले सङ्गीत संयोजन रेकर्डको विशेष अनुभव पनि बढ्न थाल्यो।

त्यसबेलाका नाम कहलिएका सङ्गीत संयोजकहरू गणेश परियार, नोर्बु छिरिङ (आपा), मदन परियार, शुभबहादुर आदि मुख्य थिए।

उनन्चालिस सालकै मङ्सिर–पुसमा पुलिस क्लबमा साँझको रेकर्डिङमा सुवर्ण लिम्बूले मलाई बोलाएर लगे। राति अबेरसम्म रेकर्ड हुने र रातिको ड्युटी होटलमा जानुपर्ने भएकाले मलाई बदलिमा लगेका रहेछन् लिम्बू दाइले।

आईजीपी डी.बी. लामाले पुलिस क्लबमा हुने साङ्गीतिक कार्यक्रमको सङ्गीततर्फ गोपाल योञ्जन र गीत तथा परिकल्पनातर्फ चेतन कार्कीलाई जिम्मेवारी दिने गरेको रहेछ। हास्यव्यङ्ग्यका लागि राजपाल र हाडाको जोडी, नृत्यमा मिथिला शर्मा, शशी राई, दानबहादुर तामाङ, गायनमा बिमला राई, क्षेत्र गुरुङ, पदप विष्ट, प्रेम लोप्चन, सुकमित गुरुङ आदि कलाकारको गायन बेजोड हुने गर्दथ्यो। किनकि सङ्गीत निर्देशन गोपाल योञ्जनको हुन्थ्यो।

राजाको जन्मोत्सवको निम्ति तयार गरिएको कार्यक्रमको रेकर्डिङ लत्ररो हुने कुरा नै आएन। ‘आयो नेपाली आयो नेपाली, प्रीतिको गीत गाउँदै आयो नेपाली’ र ‘हो धेरै छ गर्नुस् देशको सेवा नेपाली बन्नलाई’ बोलका दुई चर्चित गीत महेन्द्र पुलिस क्लबमा चारैतिरबाट पर्दा लगाएर स्टेजमा रेकर्ड गरिएका गीतहरू हुन्।

त्यसबेला एक गीतको रेकर्डमा बाजा बजाएबापत रु. ४० मिल्थ्यो। १८ रातको रेकर्डिङबाट जम्माजम्मी रु. नौ सय कमाएर मैले रु. चार सय पचासको नयाँ कोट पहिलोचोटि लगाएको थिएँ।

५. सङ्गीत बाहेक थापिएको जिम्मेवारी
रेडियो नेपालबाट मासिक रूपमा प्रकाशित हुने ‘झङ्कार’ पत्रिकाका लागि महिना–दिन बज्ने आधुनिक, लोकगीत, राष्ट्रिय गीत, भजन–भक्तिगीत र शास्त्रीय सङ्गीतको सेड्युल कार्यक्रम सङ्गीत संयोजक गणेश परियारले अघिल्लो महिनामै सेट (तय) गर्ने गरेको जिम्मेवारी मलाई दिए। काम निक्कै झन्झटिलो थियो। मैले करिब छ महिना जिम्मेवारी लिएँ। झङ्कारका सम्पादकद्वय उपेन्द्र प्रेमी र दामोदर घिमिरे थिए।

अलिक ढिला भयो भने—“छिटो गर्नुस् भाइ, पत्रिका छाप्ने बेला भयो”—भनेर हतारो उत्तिकै आउँथ्यो। त्यसबाहेक दैनिक रेकर्ड भएका गीतको अभिलेख राख्ने, कार्टेजमा गीत सार्ने र लाइबे्ररीमा दर्ता समेत गरी नव–सङ्गीतमा सेटिङ गर्नुपर्ने जिम्मेवारी थियो मेरो।

पुरानो भवनमा रहेको रेकर्डिङ स्टुडियो र प्रसारणको काम क्रमशः २०२३ सालपछि अमेरिकी सरकारले निर्माण गरिदिएको भवनमा सरेको रहेछ। आधुनिक कार्टेज पद्धतिसहितको रेकर्डिङ रेडियो नेपालमा सुरु भएपछि स्पुल टेप र कार्टेज दुवै प्रविधि–सुविधा थपिएको स्टुडियो प्रवेश गर्दा मन फुरुङ्ग हुन्थ्यो।

एकदिन भुटानी गायक प्रताप सुब्बालाई गीत रेकर्डका निम्ति नातिकाजी दाइले डेट दिनुभएको रहेछ। उनको जिउडाल मोटाघाटो, खाइलाग्दो थियो। गीत रेकर्डको अभ्यास भएपछि एक–दुई पटक रेकर्ड पनि भयो। तर उनलाई के भयो कुन्नि—आलस–तालस भए। हामी सबै बाहिर निस्कियौँ। बाहिर आएपछि उनले लामो सास फेर्रेर भने—“मलाई सोफोकेसन भयो।” उनी चङ्गा भएपछि पुनः रेकर्ड भयो। लामै समय भेट भएन। तर पछि मैले सुने—उनी भुटानी शरणार्थी शिविर मोरङ पथरीमा छन् भन्ने।

२०४२ पछि जापानले नयाँ भवन निर्माण र प्रविधि समेतको व्यवस्थापन आरम्भ ग¥यो। नयाँ भवन र ठूलो रेकर्डिङ स्टुडियो पनि तयार भयो। त्यस स्टुडियोमा सबभन्दा पहिलो रेकर्ड गायक उदितनारायण झाको स्वर, विजयसिंह मुनालको सङ्गीत र नारायणकुमार आचार्यको गीत–रचना ‘ए दिल कसको यादमा तिमी तड्पिन्छौ’ भन्ने बोलको गीत रेकर्ड भयो। गायक झा बम्बैबाट भर्खरै आएका थिए। जुन गीत परीक्षण रेकर्डकै रूपमा गरिएको थियो। जसमा मैले बेसगितार बजाएको थिएँ।

सोही नयाँ भवन सञ्चालन भएपछि अर्जुन चैनपुरे, सुशील विश्वकर्मा, भूपेन्द्र रायमाझी, निरञ्जन महर्जन वाद्यवादक दैनिक रेकर्डिङको करारमा आउन थाले। टेक–बेसिसमा कहिले एउटा, कहिले दुईटा रेकर्ड हुने र धेरैजसो बिदा पर्दा उनीहरू मार्कामा पर्न थाले।

धोबीधाराको म्युजिक नेपाल डिल्लीबजार पिपलबोटको घट्टे कुलो जाने बाटैमा सरेको थियो। रेकर्डिष्ट थिए प्रदीप उपाध्याय। नारायण गोपालको एल्बमका गीतहरू रेकर्ड हुने भएपछि नोर्बु छिरिङ सहित भूपेन्द्रले राजु अग्रवाल, निरञ्जन महर्जन, सुशील विश्वकर्मा समेतलाई फकाइ–फुल्याइ—“धेरै पारिश्रमिक पाइन्छ”—भनेर लगे।

रेडियो नेपालको रेकर्डिङ अप्ठ्यारोमा पर्यो। तर चल्दै गयो। कमल परियार, टीका भण्डारी, मदनसिंह नेपाली, मनराजा नकर्मी, विद्या मुकारुङ, युक्त गुरुङ आदिले निरन्तर टेक–बेसिसमा काम गरिरहे। करिब साढे दुई वर्षपछि ती सबै वाद्यवादक रेडियो नेपालमै फर्के। २०४९ पछि सबै स्थायी जागिरे भए। नोर्बु छिरिङ म्युजिक नेपालबाट साङ्ग रेकर्डिङ स्टुडियोमा सङ्गीत संयोजक बने।

मदन परियार, जे.बी. लामा र शिशिर क्षेत्रीले केही वर्षपछि नै स्थायी जागिरबाट हात धोए। त्यसपछि क्रमशः गुलाम अली, अनुप जलौटा, मेहदी हसन, शौकत अली, डेनी डेन्जोङपा आदि अन्य मुलुकका कलाकारका गीतहरू पनि नयाँ भवनको स्टुडियो (जापानको सहयोगमा बनेको) मा रेकर्ड भए।

त्यसमध्ये डेनीले गाएका दुई गीत—‘कान्छीलाई घुमाउने काठमाडौं शहर’ र ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’—उल्लेखनीय छन्। त्यही रेकर्डिङ स्टुडियोमा नारायण गोपालको ‘द ब्लु नोट्स’ नामक एलपी डिस्क रेकर्ड रत्न रेकर्डिङ संस्थानले गर्‍यो।

त्यसमध्ये ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु, बिथोल्न नआउ’—गीत–रचना हरिभक्त कटवाल, सङ्गीत गायककै रहेको—चर्चित गीत हो।

यी गीतहरू रेकर्ड हुनुअघि अमेरिकी सहयोगमा बनेको पुरानो स्टुडियो (२०२३ सालमा बनेको) मै रेकर्ड हुने गर्थ्यो। त्यसपछि आधुनिक, राष्ट्रिय र भजन–भक्तिगीत नयाँ स्टुडियोमा र पुरानोमा लोकगीत तथा चौतारी कार्यक्रम रेकर्ड हुन थाल्यो।

चौतारीका संयोजक–सञ्चालक पाण्डव सुनुवार हुनुहुन्थ्यो र सहयोगी म थिएँ। मैले छोडेपछि युक्त गुरुङ सहयोगी–सञ्चालक बनेका थिए।


६. आधुनिक गीत–सङ्गीतमा पुरस्कृत
सधैंझैं रेडियो नेपालले २०४१ सालको वार्षिक उत्सव चैत २० मा आधुनिक गीत, शास्त्रीय सङ्गीतमा खुल्ला प्रतियोगिता आयोजना ग¥यो। चर्चित स्थापित अगुवा सङ्गीतकार सङ्गीत स्पर्धामा भए पनि परिणाम मेरो (बुलु मुकारुङ) नाम समाचारमा उत्कृष्ट सङ्गीतकार भनेर आयो। मेरा गायक ठूले राई गायनमा द्वितीय भए। उत्कृष्ट गीत–रचनामा मुकुन्द सुनुवार, शास्त्रीय सितार वादनमा विद्या मुकारुङ तृतीय भएकी थिइन्।
भोलिपल्ट बिहानै अच्युतर्मण अधिकारीलाई साथ लिएर गीतकार मित्र नरेन्द्रराज प्रसाई बधाई ज्ञापन गर्न मेरो डेरामा आउँदा मैले ठुलै विश्वविजेता बनेको अनुभव गरेको थिएँ। त्यसपछि मैले २०४७ र २०५० सालमा पनि उत्कृष्ट सङ्गीत पुरस्कार रेडियो नेपालबाट प्राप्त गरेको थिएँ।
त्यसपछि क्रमशः अगुवा गायक÷गायिकाको पनि मप्रति साङ्गीतिक आकर्षण बढ्न थाल्यो। म सङ्गीत सिर्जनामा निक्कै व्यस्त हुन थालेँ। रेकर्डका हिसाबले मेरो पहिलो सङ्गीत ‘लाइदिऊँ लाइदिऊँ लाग्यो मलाई सुनाखरी फूल तिमीलाई’ –रचना दिलबहादुर बस्नेत, स्वर हीरादेवी राई र सिताराम ताजपुरिया, सङ्गीत संयोजक भोला जोशी (हेटौंडा), रेकर्ड भएको हो।
‘आँखैमा राखेर मुटुभरिको’ –स्वर कुन्ती मुक्तान र प्रमोद पाण्डे, रचना गंगाराज मुकारुङ।
‘बोल्न लाज लाग्छ भने मुस्कानले बोल’ –स्वर सूर्य थुलुङ, रचना सरस्वती थुलुङ।
र भर्खरै शाखा अधिकृत भएर रेडियो नेपालमा पदस्थापन भएका चिरञ्जीवी अधिकारीको रचनामा ‘सपना सजाई राख, आँखा बिछ्याई राख’ –स्वर मीरा राणा।
यी सबै गीत रेडियो नेपालको पुरानो स्टुडियो (२०२३) मा रेकर्ड भएका हुन्।
मैले गाएका लोकगीतहरू, जो चर्चित पनि भए—

  • ‘कड्के आँखाले झुक्यायो मलाई’ – सहस्वर लोकबहादुर क्षेत्री
  • ‘इलामै शहर चियाबारी राम्रो’ – सहस्वर कुन्ती मुक्तान
  • ‘आइतबार पाइतो सार ठुल्दिदीज्यू’ – सहस्वर मीरा राणा, वसन्त मुकारुङ
    यी सबै चालिसअघिका गीत थिए।
    यहीबीचमा जुजुकाजी रञ्जितको स्वरमा ‘तिमीलाई लेखूँ म कलमले’ र ‘म यात्री भएर आउँछु’ रत्न रेकर्डिङ संस्थानबाट दुईवटा गीतको डिस्क रेकर्ड भयो। जसमा
    वीरेन्द्र पाठकको रचना र मेरो सङ्गीत छ।
    चालिस सालसम्म प्रायः डिस्क रेकर्ड हुने गर्थ्यो। पछि संस्थान पनि बन्द गरियो। संस्थानका सर–सम्पत्ति नेपाल टेलिभिजनमा गाभियो भने कर्मचारी केही गोरखापत्र संस्थान र केही नेपाल टेलिभिजनमा समावेश गरिए।

७. उद्घोषण जिम्मेवारी
२०४३ पछि दिवा सेवामा एक बजेदेखि प्रत्यक्ष उद्घोषण कार्य गर्नु भन्ने रेडियो प्रशासनको पत्र पाएपछि थप जिम्मेवारी थपियो। पहिलो दिन क्युसिटमा लेखेर सुगर टाइ प्रत्यक्ष माइकमा बोल्दा फोक्सो नै निस्किएलाजस्तो भएको थियो। डर, त्रास, उकुसमुकुस भए पनि बिस्तारै बानी पर्दै गयो।
त्यससँगै दैनिक बिहान, दिउँसो र राति प्रसारण हुने आधुनिक तथा राष्ट्रिय गीत पनि सेटिङ गर्नुपर्ने जिम्मेवारी आयो। ‘एकै गायक, एकै सङ्गीतकार र एकै रचनाकार’ को कार्यक्रम पनि थियो। त्यो कार्यक्रमको व्यवस्थापन पनि गर्नुपर्ने भयो।
मभन्दा पहिला उक्त काम रामभाइ विजयानन्द, धनेन्द्र विमल, प्रभात विजयानन्द, भीमविराग अधिकारीले सम्हालेका थिए। केही समय अनुप देवान आदिले पनि गीत सेट गरेका थिए।
सावित्री शाह, रचना जिसी, दीपक केसी, लोकमणि सापकोटा आदिसँग दिवा सेवामा निरन्तर मैले उद्घोषण गर्दागर्दै एकदिन ड्युटी अफिसर दामोदर अधिकारीले—
“बुलु! तिम्रो आवाज मरिचमान सिंह श्रेष्ठ (तात्कालीन प्र.म.) सँग मिल्न गयो जस्तो भयो”
भनेर मलाई हटाए।
मैले ‘यो रेडियो नेपाल हो’ भन्ने उद्घोषण गर्ने कार्यबाट छुट्टी पाएँ। त्यो जिम्मेवारी मलाई घाँडोजस्तो भएको थियो।
एकदिन दिवा सेवामा ‘यो रेडियो नेपाल हो’ भनेर उद्घोषण गर्ने कोही नभएर त्यत्तिकै प्राविधिकले सुरु गरिदिएपछि स्पष्टीकरणको झमेलामा परेको थिएँ।
तर दैनिक रेकर्डमा वादन, गीत सेटिङको काम भने यथावत् चल्यो। सिर्जनशील काम त रोकिने कुरा नै आएन।

८. निमित्त नायकको जिम्मेवारी
गीत–सङ्गीतका माध्यमबाट मुलुकमा देशभक्ति भाव जागरण गर्ने उद्देश्य राखेर राज्यले दुईवटा ठूला टोली बनायो। नातिकाजीको नेतृत्वमा पश्चिमाञ्चल र अम्बर गुरुङको नेतृत्वमा पूर्वाञ्चलका विभिन्न स्थानमा राष्ट्रिय गीत गाउने, नाच्ने र वादक कलाकार टोली बन्यो।
रेडियो नेपाल, राष्ट्रिय नाचघर र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा कार्यरत साथै बाहिरबाट पनि कलाकार समावेश गरी राष्ट्रिय जनजागरण जगाउन सय जना जतिको कलाकार दैनिक भत्ता रु. १५० पाउने गरी आ–आफ्ना समूहमा आबद्ध भई तँछाड–मछाड गर्दै तत्‌क्षेत्रतर्फ रमाना भए।
रेडियो नेपालको दैनिक रेकर्ड रोकिएला जस्तो भएपछि प्रशासनले सङ्गीत शाखाको काम कृष्ण केसी र मलाई डेट बाँड्ने र रेकर्ड गराउने जिम्मा दियो। केसीलाई तातो न भुल्लो भयो र उनले पूर्ण रूपमा—
“बुलु, तिमी नै सम्हाल”
भनेर स्वतन्त्र छोडिदिएपछि मैले निमित्त नायक हुने मौका पाएँ।
तर उनका माध्यमबाट आएका गीतकार नरेन्द्रनाथ कोइरालाको ‘आँखाभरि आँसु बोकी बाँच्नुपर्ने’ –स्वर ठूले राई, र गीतकार सत्यभामा केसीको ‘मेरा मनका यी घाउहरू’ –स्वर लोचन भट्टराई, ती गीतहरू रेकर्ड गरिदिएपछि उनी झन् खुशी भए।
वाद्यवादक कम भएको मौकामा म्यान्डोलिनका कुशल वादक टीका भण्डारीलाई मैले रेडियो नेपाल प्रवेश गराएँ। उनी गितार राम्रै नै र तबला, भ्वायलिन ठिकठिकै बजाउँथे।
टीका र म त्रिचन्द्रमा विषय फरक भए पनि बी.ए. सँगै पढ्दै थियौँ। तर उनी मलाई ‘दाइ’ नै भनी सम्बोधन गर्थे।
अढाई महिनासम्म मैले उक्त निमित्त नायकको जिम्मेवारी लिएँ। नातिकाजी दाइ फर्केपछि साँझझैँ रेकर्ड सुरु भयो।

९. कल्पना र क्षमता बाहिरको जिम्मा
पञ्चायत व्यवस्था परिवर्तनका लागि नेपाली कांग्रेसका नेता गणेशमान सिंहको नेतृत्वमा आन्दोलन हुन थाल्यो। जसमा वामपन्थीहरू पनि समावेश थिए। बहुदलीय व्यवस्था राजाबाट घोषणा भयो र अन्तरिम सरकार कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बन्यो।
बहुदल घोषणा भएको खुसीयालीमा खुल्लामञ्चमा विजय जुलुस र जनसभा हुने भयो। त्यस सभाको रेकर्ड गरेर ल्याउने जिम्मा मलाई दिइयो। काबिल वा विज्ञ भएर पक्कै थिएन। डी–फाइभ रेकर्डर बोकेर जनसभामा पुगेँ। विश्वबाट आएका पत्रकार तथा संवाददातासँग परिचय पनि भयो।
त्यसपछि मे दिवसमा पनि मैले नै जिम्मा पाएँ। म समाचार शाखा अन्तर्गतको नभए पनि ती जिम्मा सहज रूपमा सम्पन्न गर्न सकेँ। परिआउँदा प्रायः सबै काम गरेका कारण बीबीसीको आयोजनामा ब्रिटिस काउन्सिलबाट अङ्ग्रेजी टेस्ट गरी ‘प्रोग्राम प्रोडक्सन ट्रेनिङ’ छ हप्ते तालिममा समावेश हुने अवसर पनि पाएँ। सायद यस्तो तालिममा सङ्गीत शाखाबाट चयन भएको म नै होला।
२०४७ मङ्सिर १९ गते प्रसिद्ध गायक नारायणगोपालको निधन भयो। उनकै स्मृतिमा त्यसदिनको ‘झरना र झङ्कार’ कार्यक्रम दिउँसो लाइभमा मैले सञ्चालन गरेँ। जसका सञ्चालक पाण्डव सुनुवार थिए। रेडियो नेपालबाट प्रत्यक्ष (लाइभ) प्रसारण गर्न नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान सञ्चालक जाने भएकाले मलाई उक्त कार्यक्रम सुम्पेका थिए।
अप्ठ्यारो, अनौठो र अनुभवविहीन जिम्मेवारी लिन मैले कहिल्यै आनाकानी गरिनँ। यसरी कुन काम कति बेला कसको जिम्मेवारी पर्छ—ठेगान हुँदै नथ्यो। कार्यक्रम सकेर म पनि श्रद्धाञ्जली अर्पण गर्न गएँ। पहिलो महामृत्युजुलुस मैले त्यहीँ देखेको थिएँ।

१०. सङ्गीत सिर्जना र रेडियो
नयाँ जापानी भवनमा दैनिक रेकर्ड हुने आधुनिक, भजन, राष्ट्रिय तथा लोकगीतको सुपरिवेक्षण र रेकर्ड भएका गीतहरूको कार्टेजमा रूपान्तरण गरी लाइबे्ररीमा बुझाउनु पर्ने थप जिम्मा आइलाग्यो।
आधुनिक गीतको सङ्गीत तथा टेलिफिल्म, टेलिसिरियलका पाश्र्व सङ्गीत, भिडियो फिल्म र ठुलो पर्दाका फिल्मको सङ्गीत दिने मौका आउन थाल्यो।
ठुलो पर्दाको चलचित्र ‘रक्षा’ को सङ्गीत, साथै भिडियो फिल्म ‘आघात’, ‘गाउँ र शहर’, ‘पुनर्जन्म’, ‘कलाकार’, ‘माटो बोल्छ’, ‘रहस्यमय गुफा’ आदि।
टेलिफिल्म—

  • ‘निमित्त नायक’
  • ‘हिजो आजका कुरा’
  • ‘अलिखित’
  • ‘रात’
  • ‘भोक र भित्ताहरू’
  • ‘रूपमति’
  • ‘मुकुन्द–इन्दिरा’
  • ‘आफ्नो कथा : आफ्नो व्यथा’
  • ‘मौन आकाश’
  • ‘क्याटमाण्डू’ – ५० भाग
  • ‘देवी’ – १०० भाग
  • ‘चेतना’ – ५२ भाग
  • ‘जीवन–चक्र’
    साथै ‘रगतको टीका’, ‘यहाँ के हुँदै छ’ नाटक र रेडियो नाटकमा समेत पाश्र्व सङ्गीत रचना गर्ने मौका मिल्यो।
    समयक्रमले प्रेमध्वज, फत्तेमान, तारादेवी, भक्तराज आचार्य, योगेश वैद्य, रुबी जोशी, दीप श्रेष्ठ, दिलमाया खाती, तारा थापा, सुक्मित गुरुङ, भैरव खकुरेल, सुरेन्द्र मुखिया, रेनु राई साथै चर्चित भारतीय सुफी गायक कैलाश खेर आदि अनुभवी कलाकारसँग सिर्जनात्मक साइनो जोडियो।
    प्रायः मेरा सङ्गीत सिर्जना रेडियो नेपालमै रेकर्ड भएका हुन्। गीत–सङ्गीत रेकर्डमा सुदन खत्री, वसन्तकेशर पण्डित, राधाकृष्ण खड्का, रमेश भट्ट, वासुदेव रायमाझी, पुरुषोत्तम पोखरेल आदि अनुभवी र दक्ष प्राविधिक मेरा सिर्जना अनि सम्झनाबाट विलुप्त नहुने मित्रहरू हुन्।

११. भारी माथिको सुपारी

व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन हुन थाल्यो। नयाँ कर्मचारीहरू भटाभट आए। सबैलाई कामको तह पुग्ने कुरा नै आएन। जिम्मेवारी हलुका हुँदै गयो। पचास सालपछि त रेडियो नेपाल क्षेत्रीय प्रसारणको अवधारणामा गयो। धनकुटा, बर्दीबास, पोखरा, सुर्खेत, दिपायल–डोटी आदि प्रसारण केन्द्र स्थापना भए।

तत्‌क्षेत्रमा नयाँ कर्मचारीहरू थपिँदै गए। सिंहदरबार भित्रका रेडियो सहकर्मीहरूसँग पनि चिनजान नहुने अवस्था आयो। विभिन्न खोलाखर्कबाट नयाँ वाद्यवादक, प्राविधिक साथै जाँगर बोकेर आएका नवकर्मी मित्रहरूले काम जिम्मा लिँदा अत्यन्तै हलुका महसुस हुन थाल्यो।

सोही फुर्सदिलो समयलाई उपयोग गर्दै मैले सङ्गीतसम्बन्धी लेख–रचनादि लेखेर छपाउन थालेँ। गोरखापत्र, मधुपर्क, झङ्कार, घटना र विचार साथै अन्य पत्रिकाहरूमा लेख तथा स्तम्भ लेखन गर्न थालेँ। अहिले सम्म १४ वटा पुस्तककृति प्रकाशित भइसकेका छन्।

रेडियो नेपालबाट नभए पनि रेडियो नेपालले दिएको चर्चा, परिचर्चा वा प्रसिद्धिका माध्यमले सिंगापुर, ताइवान, बंगलादेश, थाइल्याण्ड, जापान, अमेरिका जस्ता विकसित मुलुकको अवलोकन भ्रमण सेवा निवृत्त हुनुअघि नै गरियो।

रेडियो नेपालका डाइरेक्टर भोग्यप्रसाद शाह हुनुहुँदा प्रवेश भएको एउटा फुच्चे कर्मचारी—कार्यकारी निर्देशक सुरेशकुमार कार्की हुनुहुँदा करिब चार दशक बुढो–पुरानो हुँदासम्म रेडियो नेपालले जागिर दियो। जागिर मात्र दिएन—ज्ञान, सिप र यथेष्ट अनुभव पनि दियो। सिद्धि–प्रसिद्धि अझै दियो।

निवृत्तिको दाम्लो अन्तिम पोयामा बाटिँदै गर्दा क्षेत्रीय प्रसारण केन्द्र दिपायलको प्रमुख बन्ने मौका पनि दियो। के हो कर्मचारी? कस्तो भइन्छ कर्मचारी? के सोचिन्छ कर्मचारीले भन्ने प्रशासकीय ठूलो पाठ पढायो। यसैलाई मैले ‘भारी माथिको सुपारी’ भन्न रुचाएँ।

जुन रूवास क्षेत्रमा पुग्न पाएर खप्तड–खेचर क्षेत्रका अस्पृश्य लोकसंस्कृतिलाई नजिकैबाट खोज–अध्ययन अनि अनुशीलन गर्ने सुअवसर पाएँ। वर्षभरि चल्ने जीवनचक्र, लोकप्रचलन र दृढ लोकविश्वासले अटल छ सुदूर पश्चिम।

सुदूर पश्चिम र कर्णाली जडान क्षेत्र अहिले पनि उत्तिकै कुमारी क्षेत्र हो लोकसंस्कृतिका लागि। क्रमशः सुर्खेत, बर्दिबास, धनकुटा आदि क्षेत्रीय प्रसारण केन्द्रतर्फका पदस्थापनले रेडियो नेपाल परिवारसँग परिचित हुने र नौला अनुभव सँगाल्दै तत्‌स्थानादिका भौगोलिक, पर्यावरणीय तथा समाजसँग लोकवार्ता गर्न पाएँ मैले।

जसले ‘डोटी डंका’ (सांस्कृतिक नियात्रा) र ‘सुदूर–संस्कृतिको साइनो’ (लोकगीत, लोकनाच र लोकबाजा) नामक दुईवटा कृति न्वारान निरावरण हुने अवस्थामा पुगेको छ।

सम्पूर्ण रेडियो कर्मीहरूलाई हार्दिक धन्यवाद।
१ चैत २०७९।

(लेखकः सङ्गीत–संस्कृतिकर्मी हुन्। यी लेखकका निजी विचार र अनुभवमा आधारित छन्।)

Categories:

Tags: