बग्रेल्ती च्यानलहरु र तिनले चलाईरहेका कार्यक्रमहरुको भिडमा वाईड स्क्रिन यूट्युव च्यानलले फरक शैलीको कार्यक्रम ल्याउने तयारी गरेको छ । नेपालमा कलाकार र उनीहरुका फ्यान बढ्दै गईरहेका छन् । तर, कलाकार र फ्यानलाई प्रत्यक्ष जोड्ने र आमनेसामने भएर कुराकानी गर्ने वातावरण बन्न भने सकिरहेको छैन । यही उदेश्य लिएर वाईड स्क्रिन यूट्युव च्यानलले फ्यान क्लब कार्यक्रम मार्फत कलाकार र फ्यानलाई एकै ठाउँमा ल्याउने प्रयास गरेको छ ।
कार्यक्रम फ्यान क्लबमा एक जना चर्चित कलाकार र करिब १२–१५ जना उनका डाईहर्ट फ्यानहरुलाई निम्त्याएर उनीहरुबीच अन्तक्र्रियात्मक संवाद गराईनेछ । सहभागी फ्यानहरुको संख्या बिस्तारै बढाउँदै लगिने छ । कार्यक्रममा निम्त्याईने कलाकारको छनौट फ्यानहरुकै आग्रह अनुसार हुने पनि च्यानलले जनाएको छ । यसमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्ने छैन । कार्यक्रमको पहिलो श्रृङ्खलामा नायक प्रदिप खड्का र उनका फ्यानसँगको कुराकानी प्रस्तुत गरिनेछ । कार्यक्रमको संचालन र निर्देशन राजु बस्नेतले गर्नेछन् ।