अलविदा सुनील भाइ….! – गीतकार सिके श्रेष्ठको स्मृतिबाट

बलिउडको एकताकाको सुपरहिट फिल्म, कमल हसन अभिनीत, ‘एक दूजे के लिए’- मा खलनायक खेलेपछि सिक्किम फिल्म कर्पोरेशनद्वारा निर्मित नेपाली चलचित्र ‘मशाल’- को टाइटल रोलमा चम्किएका थिए सुनील थापा। डेनी डेंग्जोग्पाले दृष्टिहीन रिटायर्ड फौजीको भूमिका निर्वाह गरेको यस चलचित्रमा मशाल सिंह खत्रीको दमदार अभिनयले नेपाली फिल्म संसारमा नयाँ खलनायकको आगमनको स्पष्ट संकेत दिएको थियो। बंगला सुपरहिट फिल्म ‘बालिका वधु’- बाट ख्याति आर्जन गरेकी रजनी शर्मा नायिका रहेकी यस फिल्मका निर्देशक थिए प्रताप सुब्बा। तर, शायद, आजको जस्तो प्रचार प्रसार माध्यमहरूको अभावमा मशालले भनेजस्तो मार्केट लिन सकेन। तर सुनील थापालाई नेपाली फिल्म जगतका बेजोड़ खलनायक रूपमा स्थापित गर्ने यात्राको पहिलो खुड़किलो भने अवश्यै बन्नगएको थियो चलचित्र मशाल।
एउटै फिल्ममा मात्र सहकार्य गर्न पाएपनि सुनील भाइसित सम्बन्ध अटूट रहिरह्यो। झन् कालेबुङकै चेलीसित उनको विवाह बन्धन गाॅंसिएपछि त यो सम्बन्ध अझ सुदृढ़ बन्यो। जहाँ जहिले भेट्दा पनि घोर्ले स्वरमा ‘सीके दाइ.. सीके दाइ..! ‘ भन्दै आत्मीयता दर्शाउॅंदै अङ्कमाल गर्ने उनको बानी आज मलाई झल्झली याद आइरहेछ।
मशाल फिल्म मेरो निम्ति यादगार यस कारण पनि छ कि यही फिल्मदेखि मैले नेपाली फिल्ममा गीतकारको रूपमा प्रवेश पाएको हुॅं। गाउँले दाइ रञ्जित गजमेरको सङ्गीत निर्देशनमा उदित नारायण अनि साधना सरगमको स्वरमा गाइएको युगल गीत –
‘यो बादल…? पानी बनी पर्ने हो कुनै दिन
अनि पानी…? झरना बनी झर्ने हो कुनै दिन… ‘ – नै मेरो फिल्मी गीतकार जीवनको पहिलो गीत थियो। यस गीतको छायाङ्कनमा उपस्थित सुनील भाइले “डाइरेक्टर साहेब.. यस्तो एउटा गीत त मशाल सिंहलाई पनि दिऊॅं न .. हामी पनि त नाच्थ्यौं हिरोइनसित..! ” भन्दै उल्लाह गरेको प्रसङ्ग पनि याद आइरहेछ आज।
मशाल फिल्मका मशाल सिंह खत्री आज रहेनन्। ‘मस्त-मौला’, ‘हंसमुख’ अनि ‘जिंदादिल’ सुनील भाइ अनन्तको यात्रामा हिॅंड़िसकेका छन्।
कलाकारहरू आउनेछन् जानेछन् तर सुनील थापाले छाड़ेर गएका ‘इमेज’-को छाप भने कलाप्रेमीहरूको मन मस्तिष्कमा सदाकाल रहनेछ – यसमा दुइ मत छैन।
‘वि विल मिस यू ‘ …!
अलविदा सुनील भाइ !
(अध्याय समाप्त)
– सीकेश्रे

Categories:

Tags: