आर्टिस्ट नेपाल, काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका दिग्गज कलाकार सुनिल थापाको असामयिक निधन भएको खबर प्राप्त भएको छ । नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ६८ वर्षीय थापालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा निधन भएको निकट स्रोतले पुष्टि गरेको छ । कलाकार थापाका निकटका साथी वरिष्ठ छायाँकार गौरी शंकर धूजुका अनुसार थापालाई शुक्रवार राति नै उनको अपार्टमेन्ट शंखुमलमा हृदयाघात भएको थियो । तत्काल उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा शनिवार बिहान उनको निधन भएको हो ।
लामो समयदेखि नेपाली तथा बलिउडका फिल्ममा सक्रिय थापाको असामयिक निधनले सम्पूर्ण नेपाली मनोरञ्जन जगतलाई स्तब्ध बनाएको छ ।
कलाकार थापालाई नेपाली फिल्मकै एक बलियो ‘धरोहर’ का रूपमा रहेका थिए । व्यवसायिक रुपमा सफल फिल्म ‘चिनो’ मार्फत राते काइँलाको उपनामले चिनिन थालेका कलाकार थापाले फिल्महरुमा नकारात्मक भूमिका निर्वाह गरेरै दर्शकको मन जित्दै आएका थिए ।
थापाका परिवारका सदस्यहरू मुम्बई बसोबास गरिरहे पनि कलाकरा थापा भने शंखमुलस्थित अपार्टमेन्टमा बसोबास गर्दै आएका थिए ।
संक्षिप्त फिल्मोग्राफीमा कलाकार थापा
सन् १९८१ मा प्रदर्शन भएको बलिउडको फिल्म ‘एक दूजे के लिए’ बाट अभिनय यात्रा प्रारम्भ गरेका कलाकार सुनिल थापाको दोस्रो फिल्म ‘आज की आवाज’ पनि बलिउडकै थियो ।
त्यसपछि सन् १९८२ मा उनले नेपाली फिल्म ‘मशाल’ मार्फत नेपाली फिल्ममा अभिनय गर्न थालेका थिए । उक्त फिल्म प्रदर्शनमा आएको केही वर्षपछि उनले सन् १९८६ मा पुनः बलिउडो फिल्म ‘मानव हत्या’ मा अभिनय गरेका थिए ।
त्यसपछि उनले सन् १९८९ मा दर्शकमाझ आफूलाई अत्यन्त लोकप्रिय बनाउने नेपाली फिल्म ‘चिनो’ मा अभिनय गरे । त्यसपछि उनले क्रमशः नेपाली तथा हिन्दी फिल्महरुमा अभिनय गरिरहे ।
सन् २०१४ मा प्रदर्शन भएको हिन्दी फिल्म ‘मेरी कोम’ ले उनलाई अन्तर्राष्ट्रियस्तरमै ख्याति दिलाएको थियो । उनले आफ्नो अभिनय यात्राको क्रममा नेपाली तथा हिन्दी बाहेक भोजपुरी, तेलुगु, तमिल, बंगाली आदि भाषाका फिल्महरुमा समेत अभिनय गरेका थिए ।
कलाकार थापाले देउकी, ठूल्दाइ, आगो, तँ त साह्रै बिग्रिस नि बद्री, यो मायाको सागर, जेठो कान्छो, वसन्त ऋतु, कर्म योद्धा, रघुवीर, कानून, गड लिभ्स इन हिमालयज, प्रेम गीत ३ जस्ता नेपाली फिल्ममा अभिनय गरेका थिए ।
