स्मृतिमा: एक अलग व्यक्ति

उनलाई के नपुग्दो थियो – एउटा सम्पन्न परिवारमा जन्मिएका थिए । खान लाउन समस्या थिएन । उनका आधा नातेदार त अमेरिकामा बस्छन् । उनी आफू नेपालमा जन्मिएकोमा पछुताउँथे, दुःख मान्थे र निकैबेरसम्म घुँक्क घुँक्क गरेर रुन्थे । उनलाई बुझिदिने कोही थिएन । घरमा, समाजमा, स्कूलमा- कहीँ कतै उनको भित्री तह खोतल्ने प्रयास कसैले गर्दैनथे । त्यसैले उनी स्कूल जान मन गर्दैनन्थे । कान्ति इश्वरी शिशु विद्यालयको पढाइपछि उनी सेन्ट जेभियर्स स्कूलका छात्र भए । एउटा कुनामा उनी चूपचाप गुरुजनका कुरा सुन्थे, करले पढ्थे र भोलिपल्ट फेरि स्कूल जानुपर्ने वाक्कलाग्दो नियम देखेर दिक्क मान्थे । स्कूलमा उनी या त आफ्ना साथीभाइहरुसँग रिसाहापूर्ण व्यवहार गरिरहेका हुन्थे र मन नपर्ने साथीलाई घुरेर हेरिरहन्थे कि त एउटा कुनामा चूपचाप बसिरहन्थे ।

अपूण स्कूल

उनले आफ्नी आमाको पछ्यौरी तर कहिल्यै त्यागेनन् । आमासँगै हरबखत पछ्यौरी समातेर जहीँजहीँ हिँडिरहेको लजालु केटोलाई धेरैले उति मतलब पनि गर्दैनथे । उनलाई मन्दिर जान चाहिँ मन पथ्र्यो । अर्थ यो होइन कि उनी धार्मिक प्रवृत्तिका थिए, बरु उनीभित्रको कला बुझ्ने तिनै मन्दिर थिए । मन्दिरमा अज्ञात मूर्तिकारहरुले कोरेका नृत्य र अलङ्कारबोध गराउने हरेक मूर्ति उनका प्रिय सङ्गी थिए । उनीहरुले मन्दिरमा जस्तो भाव-भॅगिमा र नृत्यकोण बनाएका हुन्थे, ती सबैको अनुकरण गरेर उनी घरमा अभ्यास गर्थे । तिनीहरुको जस्तो पारा आयो कि आएन भनेर गुनिरहन्थे ।

आठ कक्षापछि उनले स्कूललाई त्यागिदिए । स्कूलका कुनै साथी ‘साथी’ हुन सकेनन् । विद्वेषपूर्ण वातावरणमा पढ्नु भन्दा नपढ्नै जाति- उनको सोचाई थियो । घरमै शिक्षकहरु नियुक्त गरेर उनले निजी एसएलसी दिए । एसएलसी पास भएपछि उनी अमेरिका लागे ।

अमेरिकामा उनले फोटोग्राफी पढे । मेरिल्याण्डको उनले पढ्ने त्यो कलेज ‘पर्फमङ आर्ट्स्’का लागि वरपरसम्मै निकै चर्चित थियो । त्यहाँ शुरुमा ‘देखाउने दाँत’का लागि मात्र ‘फोटोग्राफी’ पढेका थिए तर पछि आफ्नो नाम ‘अभिनय र निर्देशन’मा लेखाए । त्यही कारण उनी कालान्तरमा नेपाली संगीत र टेलिभिजन उद्योगका एक सशक्त हस्तीका रुपमा उदाए । अहिले मानिसहरु उनलाई आलोक नेम्वाङका रुपमा चिन्दछन् ।

बालककालको सपना

उनलाई अझै याद छ, चित्र बनाउन रुचाउँथे उनी । चित्र अरु केहीको बनाउन जान्दैन थिए, हवाइजहाज चाहिँ राम्रै बनाउथे । चित्रकलामा एउटा महत्वपूर्ण नियम छ, ‘डाइमेन्सन’ (आयाम) को । जबसम्म चित्र त्रिआयामिक हुन सक्तैन, तबसम्म त्यो चित्र वास्तविकताको नजिक हुन सक्तैन । सानामा उनले बनाउने चित्र थाहा नपाइनपाइ पनि त्रिआयामिक हुन्थे । तर बा-आमाको प्रश्नमा भन्ने गर्थे- म पाइलट हुन्छु र प्लेनमा तपाइँहरुलाई उडाउँछु ।

एक दिन त उनले उडाउने गरेको हवाइजहाज सीधै आफ्नो बाबाको टाउकोमा अवतरण गरिदिए । माथिबाट एक्कासि बज्रिएको खेलौने हवाइजहाजको तोडले उनको बाबाको माथा गरम गरिदियो । त्यो दिनदेखि उनले हवाइजहाज उडाउने सपना देख्न छाडिदिए ।

त्यसपछि हो उनी नृत्य र जिउको भावभॆगिमातिर आकषिर्त हुन थालेको । कलेजमा जब उनी पर्फमिङ आर्ट्स् पढ्न थाले, उनलाई जिउको भावभॆगिमाबारे बल्ल थाहा हुन थाल्यो ।

सुदूरभविष्यको निर्देशक

कलेजमा हुने गरेका नाटकमा अभिनय गर्ने, तिनको व्यवस्थापन गर्ने र तिनलाई निर्देशन गर्ने खुबी उनका प्राध्यापकहरुले निकै कम समयमा पत्ता लगाए । र, उनलाई तिनै काम जिम्मा दिन थाले । अब आलोकले मनमाफिक काम पाए र पूर्ण लगनका साथ काम गर्न थाले । साढे पाँच वर्षो अमेरिका बसाइमा उनले सिनेमा र पर्फमङ आर्टस्का अनेक कलाहरु सिके । त्यही बेला उनले निर्णय गरे, मेरो भविष्य यही क्षेत्रमा छ ।

तर नेपालमा आफू अटाउँछु भन्ने उनलाई टाढाटाढासम्म सोच थिएन । नेपाल त र्फकनै चाहँदैनथिए । त्यसैले छ वर्षो अमेरिका अध्ययनको क्रममा उनले नेपाल फर्कने सोचसम्म बनाएका थिएनन् । यहाँ उनकी बूढी आमा छोरा फर्कने आशामा थिइन् । आमाले धेरै कर गर्नुभयो भन्ने हिसाबले केही दिनका लागि उनी सन् १९९२ मा नेपाल आए ।

आफ्नै गाउँ फर्किआएँ

“अमेरिका गएपछि मलाई थाहा भयो, यहाँका बच्चाहरुलाई संसारकै सबैभन्दा माया गरिँदो रहेछ । अनि यो पनि थाहा भयो, यहाँका विद्यार्थीलाई संसारकै सबैभन्दा प्राचीन तरिकाले पढाइँदो रहेछ”, – “घरमा निकै माया पाउँछन् यहाँका बच्चाले । उनीहरुको मनमाफिक काम गर्न छुट छ तर स्कूलमा त्यस्तो छैन । स्कूलमा शिक्षकको मनमाफिक काम गर्नुपर्ने हुन्छ ।” त्यस्तो वातावरणमा आफू घुलिन नसक्नुको कारण उनी भर्खरै थाहा पाउँदैछन् । त्यसैले नेपालप्रति उनको धारणा त्यति सकारात्मक थिएन । उनलाई लाग्थ्यो- यहाँका मान्छेहरु दबाबमा काम लगाउँछन्, दबाबमा राख्न रुचाउँछन् ।

अमेरिकामा पढेका आलोकको चिन्ता यहाँ बस्ने दिदीभिनाजुलगायत सबैलाई हुने नै भयो । आलोकजस्ता सम्वेदनशील व्यक्तिलाई फकाइफकाइ काम लिनुपर्छ भन्ने थाहा पाएका उनका परिवारजनहरुले त्यस्तै वातावरण दिने प्रयास गरे । उनका भिनाजु विजय लामा (विमान चालक, गायक, अभिनेता) ले इमेज च्यानलमा सन् १९९२ मा लगेर भूषण दाहालसँग चिनाए । भूषणको पारखी आँखाले उनलाई चिन्यो र दुइ वटा भिडियो टेप दिएर ‘आफूलाई मनपर्ने कार्यक्रम बनाएर देऊ’ भने ।

टेलिभिजन उनको आकर्षाको पक्ष थिएन, उनले भिनाजुको करले काम गर्छु भने तर भित्री हृदयबाट उनी केही महिना छुट्ट मनाउने हिसाबले इमेज च्यानल पुगेका थिए । त्यसबेला जानेको कला जनसमक्ष पुर्‍याउने सबैभन्दा सबल माध्यम टेलिभिजन नै थियो । त्यसैले शुरुवातलाई ‘नट ब्याड’ ठानी उनले ‘इमेज पप’को पहिलो कार्यक्रम बनाए । उनलाई अझै याद छ- मिस नेपाललाई व्यंग्य गरी बनाएको ‘मिस कपाल’लाई छायाँकन गर्दागर्दै छायाँकार विदुर पाण्डेले छायाँकन बीचमै रोके । भर्खरै च्यानल छिरेका आलोक छायाँकारको यो व्यवहार देखेर चकित भए । पछि थाहा पाए, छायाँकार पाण्डे भूषण दाहालसँग छलफल गर्न गएछन् र भनेछन्- “भूषण दाइ यो केटो त असाध्य ट्यालेन्ट रै’छ । यो खिचेको कुरा ‘डम्मी’ बनाएर थन्क्याउने होइन, सीधै प्रसारण गर्नुपर्छ । यस्तो कार्यक्रमलाई थन्क्याउनु हुन्न ।”

सफल मनोरञ्जक

यसपछि उनको सफल मनोरञ्जकको एउटा लामो यात्रा शुरु भयो । उनी इमेज च्यानल छिर्दा सबैभन्दा मुन्तिर उनको नाम थियो । उनीपछि एउटा मात्र नाम आउँथ्यो टेलिभिजनको पर्दामा । त्यो नाम थियो- प्रभा अमात्यको । उनले एक दशक अलि बढीको समयमा त्यहाँ यस्तो हैसियत बनाए, जसको परिणामस्वरुप उनी सबैभन्दा पहिले नाम आउने अधिकारी बने ।

त्यहाँ बस्दा नै उनले कार्यक्रमको बनोट तयार गर्नेदेखि लिएर म्युजिक भिडियो निर्देशन गर्नेसम्मको काम गर्न भ्याए । उनी सबैभन्दा चर्चित त त्यतिबेला भए, जब उनले बनाएको भिडियो सबैभन्दा बढी बज्ने गीत बन्न थाले । उनले भिडियो निर्देशनको शुरुवात् नवीन के. भट्टर्राईको ‘लाखौँ पटक कोशिश गरेँ…’ बाट गरे । उनले त्यस भिडियोमा नाचेका पनि छन् । त्यो भिडियोको सफलतापछि उनी पुनः चर्चाको वृत्तमा रहे ।

यसपछि लगातार सफल भिडियोहरुको लामले उनलाई नेपालकै व्यस्ततम् भिडियो निर्देशकको रुपमा उभ्यायो

लामो विश्रामको खोजी

मान्छे हाडछालाले बनेको हुन्छ । मनमा जतिसुकै फर्ूर्ति भए पनि क्षमताभन्दा बढी भार भयो भने उसलाई रोगले च्याप्छ । यस्तै महसूस गरे । उनलाई जीउमा पहिलेजस्तो फूर्ति नरहेको भान भयो । एक दिन उनको नजिकको साथीले भनिन्- “आम्मा ! के भयो तिमीलाई – कहाँ गयो तिम्रो अनुहारको चमक ?” साथीको प्रश्नले उनी झस्किए । ‘के भएको छ र मलाई ?’ आफैँले आफूलाई प्रश्न गरे । साथीले भनिन्- “यस्तै हो भने अबको केही वर्षछि तिमी एकादेशको कथा हुन सक्छौ आफ्नो जीउको ख्याल गर !” भोलिपल्ट बिहान उनले आफूले आफूलाई ऐनामा हेरे । साँच्चिकै उनलाई आफू निकै थकित गलित अनुहारको पाए । उनले त्यो साथीलाई लाखलाख धन्यवाद दिए । थकाइ मार्न उनले इमेज च्यानल छाडिदिए ।

उनी केही महिना आरामपूर्वक बसे, त्यसबेला उनले संगीत सोचेनन्, दृश्य कल्पेनन् र एउटा पूर्ण छुट्टिको रमरमी अनुभव गरिरहे ।

उनीजस्ता ‘हट प्रोपर्टि’ खाली बसेको कुरा भूषण दाहालले कसरी देख्न सक्थे । उनलाई कान्तिपुर टेलिभिजनबाट निम्तो आयो । लामो छुट्टिपछिको नयाँ जोश र केही गरौँ भन्ने भावनाले प्रेरित भएर उनी फेरि जोस्सिए । र, कान्तिपुर टेलिभिजन ‘ज्वाइन्’ गरे । तर सोचेजस्तो कहाँ हुन्छ र ! केही आफ्नै सीमितता र केही वातावरणले आफूले सोचेजस्तो गर्न नपाएपछि उनको जोश चाँडै सेलायो । त्यसपछि कान्तिपुर छोडेर आफू म्युजिक भिडियोमा मात्र केन्द्रित हुनेबारे योजना बनाए ।

भिडियो किङ

टेलिभिजन छोडेपछि उनी म्युजिक भिडियोमा मात्र सीमित भएर प्रशस्त सोच्ने अवसर पाए । त्यसपछि त उनलाई संगीत उद्योगका सञ्चालकहरुले घुरुप्प घेरे- “मेरो भिडियो निर्देशन गरिदिनु पर्‍यो ।” सक्दो र भ्याउँदो गरी उनले सबैलाई रिझाएकै छन् । त्यसैले त उद्योगमा उनी सबैभन्दा लोकप्रिय भिडियो निर्देशकको रुपमा पनि परिचित छन् ।

तर धेरैले आरोप लगाउँछन् उनलाई- थोकमा भिडियो बनाउने निर्देशक भनेर ! तर उनी त्यसलाई ठाडै अस्वीकार गर्छन्- “यत्रो करियरमा ९० वटा पनि भिडियो बनाएको रहेनछु, अब तपाइँ आफैँ भन्नुस्- म थोकमा भिडियो बनाउँछु कि !”

सिनेमाप्रतिको उनको रुचि

सिनेमा उनको पहिलो प्रेम हो । उनी सिनेमा हेर्छन् र त्यसलाई माया गर्छन् । आफू पनि त्यस्तै सिनेमा बनाउन पाए भनेर सोच्छन् । नुमाफुङजस्ता रुचिपूर्ण सिनेमाको प्रस्ताव आयो भने खेल्न पनि बाँकी राख्दैनन् । सिनेमाप्रति उनको झुकाव देखेर नै कतिपय लोकप्रिय नायक नायिकाहरुले लगानीको प्रस्ताव नराखेका पनि होइनन् । उनलाई पैसा कमाउने चलचित्र बनाउनु छैन, सबैलाई मनपर्ने चलचित्र बनाउनु छ । सम्झौता भन्ने शब्ददेखि उनलाई घृणा छ । त्यसैले त्यो शब्द घुस्ने सम्भावना भएका सबै ठाउँ उनले त्याग्दै आएका छन् । दवाव र सम्झौतामा गरिने कामप्रतिको अलगावका कारण नै उनी अझै माथि जान नसकेका हुन् भनेर कतिपय शुभेच्छुकले भन्छन् ।

“ईश्वरको कृपाले अहिलेसम्म खाली छु भनेर सोच्नु परेको छैन”, मह घुलिएको ‘हट लेमन’ अन्तिम सुरुप पार्दै उनले भने- “अहिले पछाडि फर्केर हेर्दा आफूले गरेका कामप्रति पश्चाताप गर्नुपर्ने ठाउँ देख्दिनँ ।”

तर सपना पनि देख्न छाडेका छैनन् उनले । एक दिन उनले आफूलाई मनपर्ने सिनेमा बनाउने छन् र त्यो हेरेर संसारले भन्नेछन्- ‘स्याब्बास् आलोक, तैँले मैले चाहेको कुरा सिनेमामार्फत् दिइस् ।’

Tags: