चैत्र २०७९ मा प्रकाशित रेडियो नेपालको वार्षिक मुख˙पत्र बाट साभार
(रेडियो नेपालमा लामो समय काम गरेर कार्यक्रम सञ्चालकका रूपमा प्रसिद्धि कमाउनु भएका स्व. पाण्डव सुनुवार कार्यक्रम महाशाखाका उपनिर्देशक तथा प्रमुखको भूमिकामा समेत रहेर रेडियो नेपालको उन्नयनमा क्रियाशील रहनुभयो। यो आलेख उहाँले लेख्नुभएको “रेडियो प्रसारणका आरोह–अवरोह” (२०५६ साल, चैतमा प्रकाशित पुस्तक) बाट साभार गरिएको अंश हो। – प्रधान सम्पादक)
जय नेपाल!
६० तथा ९० मिटर ब्याण्ड, सर्टवेभ तथा मिडियम वेभ ५७६, ६४८, ६८४, ७९२, ८१० र ११४३ किलोहर्जमा—यो रेडियो नेपाल हो। यसबेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठीक ६ बज्यो। अब रेडियो नेपालको बिहानको सेवा प्रारम्भ हुन्छ।
प्रत्येक बिहान—चाहे हिउँद होस् वा वर्षा—सधैँ नै अविरल गतिमा नेपाली श्रोताको घर–आँगनमा यही वाक्य रेडियो नेपालबाट गुञ्जिन्छ। नेपाली घर–आँगनमा मात्र नभई रेडियो नेपाल सुन्ने प्रत्येक श्रोतासँग यसरी भलाकुसारी गर्न थालेको पनि आज ५० वर्षमा प्रवेश गरेको छ।
यसरी रेडियो नेपालले ५० वर्षसम्म आइपुग्दा धेरै आरोह–अवरोह पार गरेको छ। थुप्रै कठिनाइका हिउँद–वर्षा देखेको छ। कैयौँ पौरखी हातहरू र कैयौँ सृजनशील मस्तिष्कहरूको समायोजनबाट आज रेडियो नेपाल यो स्थितिमा आइपुगेको हो। एउटा सानो कोठाबाट सुरु भएको रेडियो प्रसारण आज नेपाल अधिराज्यका करिब ८० प्रतिशत नेपालीसम्म आफ्नो प्रसारण सुनाउन समर्थ भएको छ।
आज विभिन्न सहुलियत र सुविधायुक्त बनेको रेडियो नेपालको विगतबारे सङ्क्षेपमा चर्चा गर्नु यहाँ उपयुक्त हुनेछ।
नेपालको इतिहास पल्टाउँदा नेपालमा रेडियो सेटहरू दोस्रो विश्वयुद्ध अघि नै भित्रिएको देखिन्छ। त्यसताका छिमेकी मुलुकहरू भारत, श्रीलङ्का लगायत दक्षिण एसियाली देशहरूमा रेडियो प्रसारण सुरु भइसकेको थियो। नेपालमा पनि भारतीय प्रसारणबाट लाभ उठाउन राणा शासक तथा तिनका भाइभारदारहरूले रेडियो सेट राखेका थिए।
दरबारमा तथा पहुँचवाला व्यक्तिहरूका घरमा ग्रामोफोन र रेडियो सेटहरू भए तापनि सर्वसाधारण जनताले यस्ता उपभोग्य वस्तुहरू घरमा राख्न पाउँदैनथे। एक प्रकारले उनीहरू यस्ता सुविधाबाट वञ्चित थिए।
बुढापाकाहरूको भनाइ अनुसार विक्रम संवत् १९८० तिर नै रेडियो सेट नेपालमा भित्रिएको थियो। दोस्रो विश्वयुद्धको बेला नाजीहरूले प्रजातन्त्रवादी शक्तिहरूलाई दबाउँदै लगेपछि जनतालाई समाचारबाट अनभिज्ञ राख्न तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले सबै रेडियो सेट जफत गरेका थिए।
विश्वयुद्धताका नेपाली सैनिकहरू मित्रराष्ट्रहरूसँग सम्बद्ध थिए। सैनिकहरूको मनोबल कमजोर नहोस्, सैनिक परिवारमा नैराश्य उत्पन्न नहोस्, तथा बाहिरी सञ्चारबाट नेपाली जनतालाई टाढा राखियोस् भन्ने उद्देश्यले जुद्ध शमशेरले रेडियो सेट जफत गरेका थिए।
श्री ३ जुद्ध शमशेरले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २००२ सालमा पद्म शमशेर श्री ३ मा आसीन भए। राणा प्रधानमन्त्री पद्म शमशेरले सुधारवादी बाटो अवलम्बन गर्दै सर्वसाधारणलाई पनि रेडियो सेट राख्ने अनुमति प्रदान गरे। यसरी २००२ सालपछि सर्वसाधारण नेपाली जनताले रेडियो प्रसारणबाट लाभ लिनुका साथै बाहिरी संसारसँग साक्षात्कार गर्ने अवसर पाए।
श्री ३ पद्म शमशेरको यही सुधारवादी नीतिका कारण उहाँपछि रोलवाला प्रधानमन्त्री श्री ३ मोहन शमशेरले नेपालमा प्रसारण क्षेत्रलाई सबल बनाउन एउटा ट्रान्समिटर भित्र्याएका थिए।
२००७ सालको सफल जनआन्दोलनपछिसम्म यो ट्रान्समिटर कलकत्ता बन्दरगाहमै बेवारिसे अवस्थामा रह्यो। पछि २०११ सालमा इन्जिनियर कृष्णबहादुर खत्रीले यो ट्रान्समिटर काठमाडौं ल्याएपछि प्रसारण कार्यमा यसको प्रयोग भयो।
रेडियो नेपालको विधिवत् स्थापना २००७ साल चैत २० गते भए तापनि नेपाली भूमिमा ट्रान्समिटरको माध्यमबाट रेडियो प्रसारण भने २००७ साल मङ्सिर २९ गतेबाट भएको थियो।
२००७ सालको जनक्रान्तिमा सहभागी जनमुक्ति सेनाले राणा सैनिकलाई भोजपुरबाट खेदेपछि उनीहरूले बेतार (वायरलेस) मा प्रयोग गरिने सानो ट्रान्समिटरमार्फत भोजपुरमा प्रसारण सुरु गरेका थिए। यो प्रसारण कति सशक्त थियो भन्ने विषयमा खोजाजोख गर्न कठिन भए तापनि भोजपुरबाट गरिएको यस प्रसारणमा उद्घोषण गर्ने पहिलो व्यक्ति जयन्द्रबहादुर रहेको कुरा स्व. नारदमुनि थुलुङले आफ्नो संस्मरणमा वर्णन गर्नुभएको छ।
यसैबीच नेपालमा २००३ सालतिर नै रेडियो प्रसारण सुरु भएको भन्ने उल्लेख पनि कतै–कतै पाइन्छ। तत्कालीन श्री ३ महाराज पद्म शमशेरले गरेका भौतिक सुधारका क्रममा यस्तो भएको हुनसक्ने अनुमान गर्न सकिन्छ। २००३ सालदेखि २००६ सालसम्म कहिले बन्द गर्ने, कहिले चालु गर्ने गरी रेडियो स्थापना भएको भन्ने भनाइलाई पूर्ण रूपमा नकार्न सकिँदैन।
जनक्रान्तिको समयमा मोरङ जुट मिललाई आफ्नो नियन्त्रणमा लिएपछि, मोरङ जुट मिलको अतिथि गृहको छिँडीमा क्रान्तिकारी युवकहरू तारिणीप्रसाद कोइराला, कालु सिंह गुरुङ, के.एस. लामा र गजाधर भक्त माथेमाले २००६ साल पौष ६ गतेदेखि तत्कालीन राणा सरकारको ५० वाट आउटपुट क्षमता भएको क्रिस्टल कन्ट्रोलयुक्त ट्रान्समिटरबाट रेडियो ध्वनि तरङ्गित गरेका थिए।
यस ट्रान्समिटरबाट बिहान ६:०० देखि ७:०० बजेसम्म, दिउँसो २:०० देखि ३:०० बजेसम्म र बेलुकी ६:०० देखि ७:०० बजेसम्म प्रसारण कार्य गरिन्थ्यो। यसै ट्रान्समिटरमार्फत प्रसारण कार्यका अतिरिक्त क्रान्तिकारीहरूबीच आपसी कुराकानी पनि हुने गर्दथ्यो।
यी क्रान्तिकारी युवकहरूले समाचार प्रसारणका साथै जोशपूर्ण क्रान्तिकारी तथा देशभक्ति गीतहरू पनि प्रसारण गर्दथे। ती गीतहरूको वाद्यवादन तथा सङ्गीत संयोजन कालु सिंह, मणिराम र कृष्णजीले गर्नुहुन्थ्यो। यस सङ्गीत संयोजनमा स्थानीय कलाकारहरू ज्ञानुदेवी, शान्ति मास्के र शिलुदेवीले जोशपूर्ण गीत गाउनुहुन्थ्यो भन्ने कुरा डा. रामविक्रम सिजापतीले “रत्नश्री” साहित्यिक पत्रिकामा प्रकाशित “रेडियो नेपालको नालीबेली” शीर्षकको लेखमा वर्णन गर्नुभएको छ।
अर्कोतर्फ २००७ साल मङ्सिर २९ गते भोजपुरबाट सुरु गरिएको प्रसारण कार्यलाई त्यही ट्रान्समिटर ल्याई विराटनगर जुट मिलमा स्थापना गरेर “क्रान्तिकारी रेडियो” को नामबाट पुनः प्रसारण सुरु गरिएको थियो भन्ने भनाइ पनि छ। यसका प्रारम्भिक घटनाहरू जे भए तापनि रेडियो नेपालको विधिवत् स्थापना २००७ साल चैत २० गते, तदनुसार २ अप्रिल १९५१ का दिन भएको हो।
सिंहदरबारस्थित राणाहरूको पाठशालामा रहेको एउटा फराकिलो कोठालाई स्टुडियोको रूप दिई २००७ साल चैत २० गते बिहान ८:३० बजे स्व. तारिणीप्रसाद कोइरालाको
“यो नेपाल रेडियो हो, अब समाचार सुन्नुहोस्”
भन्ने उद्घोषणबाट रेडियो नेपालको औपचारिक सुरुवात भएको थियो।
सुरुको उद्घोषणपछि समाचार वाचनको कार्य पनि तारिणीप्रसाद कोइरालाले नै गर्नुभएको थियो। समाचार वाचनपछि साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साङ्गीतिक कार्यक्रमको थालनी हरिप्रसाद रिमालको मिठो कण्ठबाट भएको थियो। त्यसबेला उहाँले शंकर लामिछानेको “मेरो दिल टुक्रा पारेर” गीत गाउनुभएको थियो।
त्यस अवसरमा अन्य कलाकारहरूले पनि आफ्नो सङ्गीत प्रस्तुत गर्नुभएको थियो, जसमा हरिबहादुर रञ्जित, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, जीवनलाल, कृष्णप्रसाद र गोविन्दप्रसाद तिमल्सिनाले सङ्गीत प्रस्तुत गर्नुभएको थियो। हरिप्रसाद रिमाल रेडियो नेपालको पहिलो गायक र तारिणीप्रसाद कोइराला पहिलो उद्घोषक मानिनुहुन्छ।
कार्यक्रम पक्षतर्फ उहाँहरूले मोर्चा सम्हाल्नुभएको थियो भने प्राविधिक पक्षमा स्व. बद्रीप्रसाद ठाकुर (चीफ टेक्निसियन) प्रमुख प्राविधिकका रूपमा तथा नरहरि रावपाध्ये प्रमुख मेकानिक्सका रूपमा कार्यरत रहनुभएको थियो। बिजुलीसम्बन्धी सम्पूर्ण कार्य स्व. भाजुरत्न बज्राचार्यले सम्हाल्नुभएको थियो भने जेनेरेटरको काम प्रेमले सम्हाल्नुभएको थियो।
हाल रेडियो नेपालले स्वर्ण महोत्सव मनाइरहेको अवसरमा स्मरण गर्दा, त्यसबेला पहिलो स्वर प्रदान गर्ने र प्राविधिक कार्य सम्हाल्ने उपर्युक्त व्यक्तिहरूमध्ये हरिप्रसाद रिमाल मात्र जीवित रहनुभएको छ। स्थापना कालमा योगदान पुर्याउने ती संस्थापक हस्तीहरू आज हामीबीच नरहे पनि उहाँहरूका पछिल्ला पुस्ताहरू रेडियो नेपालको सेवामा समर्पित रहेका छन्।
बद्रीप्रसाद ठाकुरका वंशजहरूमा हाल यादव ठाकुर र सुदीप ठाकुर कार्यरत छन्। भाजुरत्न बज्राचार्यका वंशज अमीर बज्राचार्य अहिले पनि इन्जिनियरिङ महाशाखाअन्तर्गत कार्यरत हुनुहुन्छ। नरहरि रावपाध्येका सन्ततिमा मनोहर पाध्येले केही वर्ष सेवा गरी राजीनामा दिनुभएको थियो।
हाल रेडियो नेपालले सर्टवेभ प्रसारणका लागि १००–१०० वाट क्षमताका दुईवटा ट्रान्समिटर तथा मिडियम वेभ प्रसारणका लागि पाँच विकास क्षेत्रमा १००–१०० किलोवाट क्षमताका ट्रान्समिटर प्रयोग गरी जम्मा ५२० किलोवाट क्षमताबाट अधिराज्यभरि तथा अधिराज्यबाहिरसम्म आफ्नो सेवा विस्तार गरिरहेको छ। तर २००७ सालमा यसको स्थापना केवल २५० वाट क्षमताको ट्रान्समिटरबाट भएको थियो।
कुनै पनि कुराको बीजारोपण गर्न मात्र गाह्रो हुन्छ; त्यसपछि भने शनैः शनैः त्यसको विकास हुँदै जानु प्राकृतिक नियम नै हो।
रेडियो नेपालको स्थापना हुनुअघि यसको गृहकार्यमा स्व. बालकृष्ण सम र तारिणीप्रसाद कोइरालाले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो। २००७ सालमा रेडियो नेपालको विधिवत् स्थापना भएपछि तारिणीप्रसाद कोइराला नै निर्देशक हुनुभयो। यस अर्थमा रेडियो नेपालको पहिलो निर्देशक स्व. तारिणीप्रसाद कोइरालालाई नै मान्नुपर्दछ। उहाँपछि भवानी भिक्षु निर्देशक हुनुभयो। त्यसबेला आन्तरिक व्यवस्थाको कार्य भवानीराज मास्केले सम्हाल्नुभएको थियो।
राणाहरूको पाठशालाभवन हाल प्रशासनिक कार्यका लागि प्रयोग भइरहेको छ। त्यसै वर्ष निर्माण गरिएको प्रसारण कक्ष एउटै मात्र थियो, जहाँ ट्रान्समिटर राखिएको थियो। उक्त कक्षलाई हाल रेडियो नेपालको म्युजियम बनाउने योजना रहेको छ।
सीमित स्रोत र साधनबाट असीमित आवश्यकता पूरा गर्नुपर्ने त्यस समयको परिप्रेक्ष्यमा संस्थापक अग्रजहरूले अत्यन्त मेहनतका साथ आफ्नो भूमिका निर्वाह गरेका थिए। त्यसबेला रेडियो नेपाल साधन–सुविधाले सम्पन्न भएर सञ्चालन भएको थिएन। रेडियो कर्मीहरूको लगन, उत्साह र जाँगरकै बलमा सञ्चालन भइरहेको थियो। नौलो जोश र अठोट भएका उत्साहीहरूले रेडियो नेपाल हुर्काउन ठूलो योगदान दिएका छन्।
रेडियो प्रसारण भनेको श्रोताहरूलाई मुलुकभित्र भइरहेका गतिविधि तथा संसारमा भइरहेका घटनाबारे सुसूचित गर्ने संस्था भएकाले रेडियो नेपालको सुरुवाती प्रसारण पनि समाचारबाटै भएको हुनुपर्दछ। यसअघि नै उल्लेख गरिएझैँ रेडियो नेपालको पहिलो सौगात समाचार प्रसारण नै थियो। नेपाली समाचार वाचन तारिणीप्रसाद कोइरालाले गर्नुभएको थियो भने पहिलो अङ्ग्रेजी समाचार प्रसारक मधुसूदन देवकोटा हुनुहुन्थ्यो भन्ने कुरा अग्रजहरूले बताएका छन्।
समाचार स्रोत शून्य भएको त्यस अवस्थामा विदेशबाट प्रसारित समाचारलाई नै समाचारको स्रोतका रूपमा लिनुपर्दथ्यो। विदेशी रेडियो सुनेको भरमा नेपाली समाचार तयार पार्ने अभूतपूर्व कला भएका मुरारीकृष्ण शर्मा रेडियो संवाददाताको काम गर्नुहुन्थ्यो।
तारिणीप्रसाद कोइरालाले पन्ध्र दिनसम्म समाचार वाचन गर्नुभएको थियो। त्यसैबेला एक दिन प्रकाशमान सिंहले समाचार पढ्नुपर्ने भयो। प्रकाशमान सिंहले समाचार वाचन गरेपछि उहाँको चौतर्फी प्रशंसा हुन थाल्यो। त्यसपछि तारिणीप्रसाद कोइरालाले “अबदेखि प्रकाशजीले नै समाचार पढ्ने” भनी समाचार प्रसारणको जिम्मा प्रकाशमान सिंहलाई सुम्पनुभयो। सिंहले लगातार दुई वर्षसम्म अविरल रूपमा समाचार वाचन गर्नुभएको कुरा उहाँ आफैँले आफ्नो संस्मरणमा सुनाउनुभएको छ।
त्यस समयमा नेपालीतर्फ मुरारीकृष्ण शर्मा, अङ्ग्रेजीतर्फ जीवनाथले समाचार लेख्ने कार्य गर्नुहुन्थ्यो भने तीर्थराज तुलाधरले वाचन तथा सम्पादन गर्नुहुन्थ्यो।
२००८ साल वैशाख १ गतेदेखि अङ्ग्रेजी र हिन्दीका अतिरिक्त नेवारी भाषामा पनि समाचार प्रसारण सुरु गरियो। अङ्ग्रेजीमा मधुसूदन देवकोटा, हिन्दीमा राजेन्द्रकुमार गुप्ता हुनुहुन्थ्यो। नेवारी भाषामा समाचार प्रसारण गर्ने पहिलो व्यक्ति हरि श्रेष्ठ हुनुहुन्थ्यो।
हाल ७८ बसन्त पार गरिसक्दा पनि उहाँ तन्नेरी अवस्थामाझैँ बिहान ९:१५ बजेको नेवारी समाचार वाचन गर्न रेडियो नेपालमा आफ्नो घर भोसिको टोलबाट हिँडेरै आउनुहुन्छ र काम सकेपछि हिँडेरै घर फर्किनुहुन्छ। रेडियो नेपालले ५० औँ वर्षको पहिलो खुड्किलो टेक्दासम्म प्रारम्भिक कालका अग्रजहरूमध्ये हरि श्रेष्ठले रेडियो नेपालको साथ निरन्तर दिइरहनुभएको छ।
उहाँले बीचमा सञ्चार मन्त्रालयअन्तर्गत विभिन्न स्थानमा खटिएर सेवा गरे पनि आफ्नो सेवा–निवृत्त जीवन (रिटायर्ड लाइफ)को सेवा पुनः रेडियो नेपाललाई नै समर्पण गर्नुभएको छ। हाल उहाँ समाचार महाशाखाअन्तर्गत करार सेवामा नेवारी समाचार डेस्कमा कार्यरत हुनुहुन्छ।
हामी भौतिक पूर्वाधारको कुरा गर्दागर्दै अन्ततिर मोडिन पुगेका छौँ। रेडियो नेपालको प्रारम्भिक कालमा प्रसारण सुरु गरिएको कोठाको बीचमा आवश्यकताअनुसार एउटा टेबुल र त्यस माथि एउटा माइक्रोफोन राखिएको हुन्थ्यो। टेबुल वरिपरि कार्यक्रम प्रस्तोता, समाचार वाचक र कलाकारहरू बस्नुहुन्थ्यो।
त्यसबखत कार्यरत व्यक्तिहरूमा श्यामदास वैष्णव, रश्मीराज्यलक्ष्मी, एलिस राणा, शकुन्तला शर्मा, मुरारीकृष्ण शर्मा, प्रकाशमान सिंह, हरि श्रेष्ठ र राजेन्द्रकुमार गुप्ता प्रायः टेबुल वरिपरि नै बस्नुहुन्थ्यो। मा. ठाकुरदासले क्यू–ल्याम्पको काम, अर्थात् बोल्ने बेला सबैलाई चुप रहने संकेत दिने र गीत गाउने संकेत देखाउने कार्य स्वयंसेवकका रूपमा गर्नुहुन्थ्यो।
प्रसारण प्रारम्भ भएपछि मा. ठाकुरदासले क्यू–ल्याम्पको कार्य सम्हाल्नुहुन्थ्यो भने प्राविधिक कार्य बद्रीप्रसाद ठाकुरले सम्हाल्नुहुन्थ्यो। प्रसारकहरूले आ–आफ्नो प्रसारण कार्य गर्थे। उद्घोषकको उद्घोषणपछि गायक–गायिकाले त्यही माइक्रोफोनबाट गीत सुनाउने कार्य गर्नुहुन्थ्यो।
एउटै माइक्रोफोनबाट सबै ध्वनिहरू—गायक–कलाकारको स्वर, हार्मोनियमको सुर, तबलाका ताल तथा बाँसुरी, मुरली, चाँप, मादलजस्ता आवश्यक बाजाहरूको स्वर प्रसारण गर्नु कम कठिन कार्य थिएन। तर उपलब्ध साधन र स्रोतको सीमाभित्र रहेर यी सबै कार्य सफलतापूर्वक सम्पन्न गर्नु त्यस समयको ठूलो चुनौती थियो।
तबलाको स्वर हार्मोनियमको स्वरले नथिचियोस् भन्ने हेतुले हार्मोनियमको रिडमाथि कपडा छोपेर साबुनको बाकसभित्र हार्मोनियम राखी गीत गाइएको कुरा नातिकाजी श्रेष्ठले बताउनुहुन्छ।
भौतिक पक्ष अत्यन्त कमजोर अवस्थामा सुरु भएको रेडियो नेपालको प्रारम्भिक कालमा समाचार, गीत र सङ्गीतका अतिरिक्त कार्यक्रमतर्फ बाल कार्यक्रम, छात्र कार्यक्रम, फौजी कार्यक्रम, किसान कार्यक्रम, गीतिकथा, प्रश्नोत्तर र रेडियो नाटकजस्ता कार्यक्रमहरू पनि प्रसारण भएको पाइन्छ। त्यसबेला कार्यक्रम पक्षको काम जनार्दन सम र श्यामदास वैष्णवले सम्हाल्नुभएको थियो। यी कार्यक्रमहरू क्रमशः समयअनुसार थपिँदै आएका थिए।
२००८ साल वैशाख २३ गतेदेखि प्रारम्भ भएको नारी कार्यक्रम “महिला कार्यक्रम” को नामबाट हालसम्म रेडियो नेपालले निरन्तर सञ्चालन गर्दै आएको छ। बिहान, दिउँसो र बेलुकाको सेवा गरी तीन भागमा विभाजन गरिएको प्रसारणमा प्रत्येक सत्र डेढ घण्टाको दरले दैनिक ४ घण्टा ३० मिनेटबाट यात्रा थालेको रेडियो नेपालले हाल सार्वजनिक बिदाका दिन १७ घण्टा र अन्य दिनमा दैनिक १५ घण्टा प्रसारण गर्दै आएको छ।
रेडियो नेपालको प्रारम्भिक कालदेखि नै हालसम्म सङ्गीतकार तथा गायक–कलाकारहरूको निरन्तर सहयोग प्राप्त हुँदै आएको छ। सुरुका दिनहरूमा समाचारबाहेक अन्य प्रसारण सामग्री पर्याप्त नहुँदा पनि नेपाली कलाकारहरूले प्रसारण अवधिभर साथ दिई रेडियोमार्फत नेपाली सङ्गीतको उत्थानमा ठूलो योगदान पुर्याएका छन्।
सुरुका दिनहरूमा हरिप्रसाद रिमाल, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, कृष्णप्रसाद, गोविन्दप्रसाद तिमल्सिना र जीवनलालबारे माथि नै उल्लेख गरिएको छ। उहाँहरूका अतिरिक्त त्यसबेला साथ दिने कलाकारहरूमा हरिबहादुर रञ्जित, गोविन्दबहादुर गुरुङ, किशोरीदेवी, कोइलीदेवी माथेमा, नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, गोविन्दलाल नेपाली, रामभाइ बिजयानन्द, ज्ञानु खत्री, लक्ष्मण लोहनी र पुष्प नेपालीहरू रहनुभएको थियो।
नेपालको स्वर–किन्नरी मानिने सुप्रसिद्ध गायिका तारादेवीले २००९ सालमा बालकलाकारको रूपमा रेडियो नेपालमा प्रवेश गर्नुभएको हो। उहाँलाई उ. भैरवबहादुर थापाले बालकलाकारका रूपमा रेडियो नेपालमा प्रवेश गराउनुभएको थियो। तारादेवीले आफ्नो जीवनका थुप्रै अमूल्य समय समर्पण गरी रेडियो नेपालमा आफ्ना सुरिला गीतहरू प्रदान गर्नुभएको छ।
स्वयंसेवकका रूपमा माननीय रत्नदास प्रकाश पनि प्रारम्भिक कालदेखि नै संलग्न हुनुहुन्थ्यो। प्रतिभाहरू क्रमशः रेडियोमा प्रवेश गर्ने क्रममा २००८ सालमा प्राविधिक तर्फ केदारलाल ठाकुरको प्रवेश भयो। ठाकुरले आफ्नो जीवनकालमा रेडियो रेकर्डिङ क्षेत्रमा विशेष गरी गीत र नाटक विधामा अभूतपूर्व सफलता हासिल गर्नुभयो। रेडियो नेपालमा सेवामा रहँदै उहाँको देहावसान भयो।
२००९ सालमा इन्जिनियर कृष्णबहादुर खत्रीले रेडियो नेपालमा प्रवेश गर्नुभयो। शैक्षिक योग्यता प्राप्त पहिलो इन्जिनियर रेडियो नेपालमा उहाँ नै हुनुहुन्थ्यो। श्री खत्रीको प्रवेशपछि स्टुडियोमा केही परिवर्तन गरियो। प्रयोगमा रहेको स्टुडियोलाई दुई भागमा विभाजन गरी उद्घोषण कक्ष र क्युबिकल रुम (साउण्ड कन्ट्रोल रुम) निर्माण गरियो। पुरानो ढाँचाबाट पहिलो पटक आधुनिक ढर्रामा प्रवेशको क्रम यही नै पहिलो मानिन्छ।
रेडियो नेपालले पहिलो दशकदेखि दोस्रो दशकको प्रारम्भिक कालसम्म समाचार, कार्यक्रम तथा गीत–सङ्गीततर्फ महत्वपूर्ण उपलब्धि हासिल गरे पनि भौतिक सुविधा, विशेषगरी प्राविधिक पक्षमा भने उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन। सानातिना विकास र सुधारका कार्यबाहेक अन्य ठूला सुधार देखिँदैनन्।
मोहन शमशेर जङ्गबहादुर राणा श्री ३ हुँदा विदेशबाट एउटा ट्रान्समिटर झिकाइएको र सो ट्रान्समिटर कलकत्ता बन्दरगाहमा अलपत्र अवस्थामा रहेको कुरा पहिले नै वर्णन गरिसकिएको छ। श्री कृष्णबहादुर खत्री रेडियो नेपालमा आएपछि सो १६० वाट क्षमताको मिडियम वेभ ट्रान्समिटर कलकत्ताबाट काठमाडौं ल्याइयो। जावलाखेलस्थित चिडियाखानाको छेउमा एउटा घर र केही जग्गा लिएर सो ट्रान्समिटर जडान गरियो र २०१० सालदेखि २५० वाटको सर्ट वेभ ट्रान्समिटरको अतिरिक्त मिडियम वेभमार्फत पनि रेडियो प्रसारण प्रारम्भ भयो।
२०१३ सालमा रेडियो नेपालले ५ किलोवाट क्षमता भएको ट्रान्समिटर जडान गरी प्राविधिक पक्षमा अर्को आयाम थप्यो। रेडियो नेपालको कार्यक्रम तथा समाचारतर्फको प्रगतिको क्रम भने यथावत् रह्यो।
श्री तारिणीप्रसाद कोइराला प्रथम निर्देशक भए तापनि धेरै समयसम्म उहाँले कार्यभार सम्हाल्न सक्नुभएन र उहाँको देहावसान भयो। त्यसपछि श्री देवेन्द्रराज उपाध्याय निर्देशक पदमा नियुक्त हुनुभयो। कलाकार गंगादेवी राणालाई रेडियोमा प्रवेश गराउने श्रेय पनि उहाँलाई नै जान्छ।
श्री देवेन्द्रराज उपाध्यायको कार्यकालमा रेडियो नेपालको कार्य विभाजन भएको देखिन्छ। २००९ साल चैत २० गते रेडियो नेपालको जन्मजयन्तीको अवसरमा रेडियो नेपालमा कार्यक्रम विभाग गठन गरियो, जसको जिम्मेवारी जनार्दन समले सम्हाल्नुभयो। उहाँसँगै श्यामदास वैष्णव, बद्रीनाथ श्रेष्ठ, ज्ञानु खत्री र रामभाइ विजयानन्द कार्यक्रम विभागमा रहनुभयो।
भवानीराज मास्के, रश्मीराज्यलक्ष्मी, हरिहर घिमिरे, बैकुण्ठ सेढाई, यज्ञमेहर, केशवबहादुर श्रेष्ठ, विश्वनाथ खत्री, इन्द्रबहादुर खत्री, कृष्णवीर के.सी., जानकीदेवी देवकोटा, कमलराज श्रेष्ठ, केशवराज शर्मा, राधाकृष्ण अमात्य, कृष्णप्रसाद शर्मा र सूर्यदत्त तिमल्सिनासहितको बोर्डले निर्देशकलाई आवश्यक सल्लाह दिने गर्दथ्यो।
समाचार विभागमा प्रधान सम्पादक प्रकाशमान सिंह प्रधानसँगै मुरारीकृष्ण शर्मा नेपाली समाचारमा कार्यरत हुनुहुन्थ्यो। उहाँहरूसँगै यज्ञबहादुर कार्की, शेखर प्रधान (पहिले हिन्दी समाचार वाचक), विश्वनाथ विमल, कृष्णा ताम्राकार र तुलसीनाथ पनि संलग्न हुनुहुन्थ्यो। अङ्ग्रेजी समाचारतर्फ मधुसूदन देवकोटा, तीर्थराज तुलाधर र सिद्धी शाह कार्यरत हुनुहुन्थ्यो। पछि वीणा राणा पनि समावेश हुनुभयो। नेवारी समाचारतर्फ हरि श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रमलाई स्वर र सिपले सिँगार्ने अग्रज कलाकारहरूमा फलेन्द्रविक्रम राणा, पूर्ण लामा, गोपालराज पन्त, जनकलाल शर्मा, शान्ता श्रेष्ठ, प्रभा बस्नेत, रश्मीराज्यलक्ष्मी, मीठुदेवी, तारिणीप्रसाद कोइराला, श्यामदास वैष्णव, यज्ञबहादुर कार्की, शकुन्तला शर्मा, सौभाग्य धौभडेल, कमलावती, सावित्री ठाकुर र कल्याणी रिमाल उल्लेखनीय छन्।
रेडियो नेपालको इतिहासमा दोस्रो दशकदेखि तेस्रो दशकसम्मको समय उपलब्धिमूलक रहेको अग्रजहरूको भनाइ छ। दोस्रो दशकसम्म कला क्षेत्रमा ठूलो उपलब्धि हासिल भइसकेको थियो। सङ्गीत हार्मोनियम र तबलामा मात्र सीमित नरही अन्य वाद्ययन्त्रसमेत समावेश भइसकेका थिए।
वाद्यवादनतर्फ गणेशलाल, आशा गोपाल, गौरीशंकर, कृष्णदत्त मिश्र, शम्भुप्रसाद मिश्र, कालु गुर्जु, पृथ्वीमान गोफ्ले, साँहिला काजी, पूर्णप्रसाद मानन्धर, राजभक्त, हर्ष डंगोल, प्रतिमान, इन्द्रलाल श्रेष्ठ, शंकरदास, कुमारलाल, बद्रिभक्त र तुतुभाइले शास्त्रीय, आधुनिक तथा लोकगीतमा योगदान पुर्याएका थिए।
यस अवधिसम्म प्रेमध्वज प्रधान, कुमार बस्नेत, कृष्णमान, पन्नाकाजी, ज्ञानबहादुर श्रेष्ठ, फणीन्द्र शमशेर, भीमबहादुर अमात्य, रामकृष्ण खत्री, सुमनकुमार नेपाली, किशोरीदेवी, चन्दादेवी, ललितादेवी, गीतादेवी, उमादेवी, चिनियाँ राणा र ज्ञानु राणाको प्रवेश भइसकेको थियो। दोस्रो दशकको उत्तरार्धतिर स्वर–सम्राट नारायण गोपालको पनि रेडियो नेपालमा प्रवेश भयो। ‘स्वर्गकी रानी मायाकी खानी’ र ‘आँखाको भाका आँखैले’ गीतबाट उहाँको सांगीतिक यात्रा सुरु भएको थियो।
यहाँ एउटा विशेष कुरा उल्लेखनीय छ—स्वर–किन्नरी तारा देवीले पहिलो पटक आफ्नै गुरु उ. भैरबहादुर थापासँग “तिमी र हामी भेटौँला फूलबारीको छेउमा” बोलको गीत गाउनुभएको थियो।
नेपाली सङ्गीत क्षेत्रलाई सिँगार्न प्रवासमा रहेका नेपाली कलाकारहरूको पनि महत्वपूर्ण योगदान रहेको छ। दोस्रो दशकको उत्तरार्धमा “नौ लाखे तारा उदाए” गीतसहित सुप्रसिद्ध संगीतकार अम्बर गुरुङ र “यौवन किन उदास छ” गीतमार्फत सुप्रसिद्ध गायिका अरुणा लामाको रेडियो नेपालमा प्रवेश भयो।
दोस्रो दशकको अन्त्यतिर २०१९ सालमा कोलम्बो योजनाअन्तर्गत अष्ट्रेलिया सरकारको सहयोगमा अर्को ५ किलोवाट क्षमताको सर्टवेभ ट्रान्समिटर स्थापना गरियो। यसै सहयोगमा बाहिरी प्रसारणका लागि प्रयोग हुने आधुनिक भ्यान पनि प्राप्त भयो, जसबाट स्टुडियो बाहिरका कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गर्न सम्भव भयो।
दुईवटा सर्टवेभ र एउटा मिडियम वेभ ट्रान्समिटरमार्फत प्रसारण सुरु भएपछि रेडियो प्रसारण क्षेत्र अझ सशक्त बन्दै गयो। भौतिक क्षमताको विस्तारसँगै अन्य पक्षको विकास आवश्यक रहेको अनुभूति पनि यसै चरणमा स्पष्ट रूपमा देखिन थाल्यो।
गीत–सङ्गीततर्फ २०१६ सालमा सङ्गीतअनुरागी स्व. श्री ५ महेन्द्रबाट रत्न रेकर्डिङ ट्रष्टको स्थापना भएपछि स्तरीय गीतहरू नेपालमै डिस्क रेकर्ड हुन थाले। यसअघि डिस्क रेकर्ड गर्न हिन्दुस्तान जानुपर्थ्यो। ट्रष्टको स्थापनापछि कलाकारहरूले स्तरीय गीत उत्पादन नेपालमै गर्न थाले। यससँगै समाचार प्रसारणतर्फ पनि थप व्यक्तित्वहरूको सहभागिता बढ्दै गयो। समाचार सङ्कलनका लागि समाचार मनिटरिङ कक्षको निर्माण गरियो।
रामकृष्ण गौतम, प्रचण्डमान सिंह प्रधानपछि तीर्थ भण्डारी, ध्रुव थापा र कमल प्रधान नेपाली समाचार वाचनतर्फ संलग्न भए। अङ्ग्रेजी समाचार वाचनतर्फ गौरी के.सी. र मदालासा सिंहको प्रवेशले समाचार प्रसारण अझ सशक्त बन्यो।
कार्यक्रम पक्षतर्फ नाटक विधा, गीतिकथा लगायत थुप्रै स्तरीय कार्यक्रमहरू सुन्दरप्रसाद शाह, हरिप्रसाद रिमाल, शान्ता श्रेष्ठ, शकुन्तला शर्मा, यादव खरेल, किरण खरेल र दामोदर अधिकारीद्वारा सञ्चालन भए। उद्घोषण पक्षलाई ध्रुव के.सी., रामलाल जोशी, शान्ता खड्गी, कल्याणी रिमाल र भैरवलाल जोशीका मिठा तथा सुमधुर स्वरले अझ सबल बनायो।
भौतिक विकासको दृष्टिले २०२३ साल उल्लेखनीय वर्ष मानिन्छ। उक्त वर्ष संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका सरकारको सहयोग विशेष रूपमा महत्त्वपूर्ण रह्यो। श्री ५ को सरकार र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानीमा सिंहदरबारस्थित रेडियो परिसरमा एउटा आधुनिक स्टुडियो भवन निर्माण गरियो। छ वटा स्टुडियो कक्ष रहेको उक्त भवनलाई हाल प्रसारण भवन “क” नाम दिइएको छ।
त्यसै समयमा श्री ५ को सरकारको लगानीमा ललितपुरको खुमलटारमा १०० रोपनी जग्गाभित्र ट्रान्समिटिङ भवन निर्माण गरियो। संयुक्त अधिराज्य बेलायत सरकारको प्राविधिक सहयोगमा निर्मित उक्त भवनमा १० किलोवाट क्षमताको मिडियम वेभ र १०० किलोवाट क्षमताको सर्टवेभ ट्रान्समिटर जडान गरियो। बेलायती सरकारको सहयोगमा सिंहदरबारस्थित स्टुडियोमा सम्पूर्ण प्रसारणका आधुनिक संयन्त्रहरू जडान भए।
२०२५ सालमा स्व. श्री ५ महेन्द्र सरकारको बाहुलीबाट खुमलटारस्थित ट्रान्समिटिङ स्टेशनको समुद्घाटन भएपछि प्रसारण क्षेत्रमा व्यापक विस्तार भयो र रेडियो नेपाल थप सबल बन्यो। यसपछि मिडियम वेभ प्रसारणमार्फत उपत्यकाबाहिर स्वदेशका साथै छिमेकी मुलुकका केही भागसम्म रेडियो नेपालको प्रसारण पुग्न सफल भयो। भौतिक विकाससँगै प्रसारण, समाचार र कार्यक्रमतर्फ पनि उल्लेखनीय परिवर्तन हुँदै गए।
सङ्गीत र कार्यक्रमका लागि कार्यक्रम शाखा, समाचार शाखा र इन्जिनियरिङ शाखा गरी तीन अलग–अलग शाखामा विभाजन गरियो। प्रशासन शाखालाई पनि छुट्टै शाखाका रूपमा स्थापना गरियो। कार्यक्रमतर्फ अङ्ग्रेजी भाषामा बाह्य सेवा (External Service) सुरु भयो। “लोकलहरी”, “सुनगाभा”, “एक मुटु अनेक धड्कन”, “गीतकथा” लगायतका कार्यक्रम तथा विदेशमा बस्ने नेपालीहरूका लागि विशेष कार्यक्रम सञ्चालन भए। साथै दैनिक रूपमा धार्मिक कार्यक्रमको थालनी गरियो।
धार्मिक कार्यक्रमका प्रथम सञ्चालक पुरुषोत्तम सापकोटाले २०२८ सालदेखि नियमित रूपमा कार्यक्रम सञ्चालन गर्नुभयो। किरण खरेल, दामोदर अधिकारी, सिद्धान्तराम जोशी र मधुकर बस्नेतले रेडियो कार्यक्रममा बोल्दै आए तापनि विधिवत रूपमा २०२६ सालदेखि ज्यालादारी करार सेवामा नियुक्ति पाउनुभयो। २०२७ सालमा धन लामा र निरोधराज पाण्डे, २०२९ सालमा मिठाप्रसाद पराजुली र पाण्डव सुनुवारको प्रवेश भयो। यससँगै जनशक्तिको दृष्टिले कार्यक्रम शाखा अझ मजबुत बन्यो।
इन्जिनियरिङ सेवातर्फ सूर्यबहादुर पण्डित, केदारबहादुर बस्नेत, केदारजंग थापा, ओजबहादुर बस्नेत र केदारप्रसाद ठाकुरजस्ता व्यक्तित्वहरू दोस्रो दशकमै प्रवेश गरिसकेका थिए। रामवीर मालाकार, मनोहर पाध्ये, सुदन खत्री, बसन्तकेशर पण्डित, अमृतलाल, राधाकृष्ण खड्का, अशोक श्रेष्ठ, सौभाग्यलाल श्रेष्ठ र रामशरण कार्कीजस्ता सिपयुक्त व्यक्तित्वहरूको प्रवेश २०३० सालअघि नै भइसकेको थियो।
प्राविधिकका रूपमा प्रवेश गरेका रामशरण कार्की पछि विदेश गएर इन्जिनियरिङ डिग्री हासिल गरी फर्कनुभयो र हाल इन्जिनियरिङ महाशाखाअन्तर्गत निर्देशक पदमा कार्यरत हुनुहुन्छ। यसैगरी रेडियो नेपालका विकास योजनाका सूत्रधार मानिने विष्णुप्रसाद शिवाकोटी तथा इन्जिनियर महेशप्रसाद अधिकारीको प्रवेश पनि तेस्रो दशकमै भएको हो। महेशप्रसाद अधिकारी निरन्तर रेडियो नेपालसँग आबद्ध रहँदै हाल नायब कार्यकारी निर्देशकको पदमा आसीन हुनुहुन्छ।
रेडियो नेपालले तेस्रो दशकमै विज्ञापन सेवा प्रारम्भ गर्यो। व्यावसायिक रूपमा २०२४ सालमा विज्ञापन सेवा सञ्चालन गर्ने उत्तमलाल श्रेष्ठ पहिलो व्यक्ति हुनुहुन्छ।
प्रसारण क्षेत्रतर्फ तेस्रो दशकमा प्रत्यक्ष प्रसारणले निश्चित गति लिएको देखिन्छ। फुटबल खेल तथा अन्य महत्वपूर्ण अवसरमा व्यवस्थित रूपमा प्रत्यक्ष प्रसारण यही दशकबाट सुरु भएको हो। नरेश अधिकारी, खगेन्द्र नेपाली, यादव खरेल, किरण खरेल र दामोदर अधिकारीलाई प्रारम्भिक प्रत्यक्ष प्रसारक मानिन्छ। त्यसपछि पुरुषोत्तम सापकोटा, ध्रुव थापा र पाण्डव सुनुवारले यो मोर्चा सम्हाले। हाल चौथो पुस्तामा सरिता भट्ट, धन लामा, सुशील कोइराला र नवराज लम्सालले यो कार्य सम्हालिरहेका छन्।
विक्रम संवत् २०३०–२०४० को दशकलाई रेडियो नेपालको अत्यन्त महत्वपूर्ण उपलब्धिको काल मानिन्छ। यस अवधिमा प्राविधिक र कार्यक्रम पक्ष दुवै क्षेत्रमा उल्लेखनीय प्रगति भयो।
प्राविधिक पक्षतर्फ २०५३ सालमा १०० किलोवाट क्षमताको अर्को ट्रान्समिटर जडान भई दुईवटा १००–१०० किलोवाट क्षमताका ट्रान्समिटर सञ्चालनमा आए। यसले रेडियो नेपालको सर्टवेभ प्रसारण नेपालबाहिर भारत, चीन, बङ्गलादेश, पाकिस्तान, भुटान तथा बर्मासम्म सुन्न सकिने बनायो। प्राप्त अन्तर्राष्ट्रिय रिपोर्टहरूका आधारमा एशिया र युरोपका केही मुलुकसम्म पनि रेडियो नेपालको प्रसारण पुगेको देखिन्छ।
नेपाली सञ्चार क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले २०२८ सालमा “विकासका लागि सञ्चार” भन्ने नारासहित राष्ट्रिय सञ्चार योजना लागू गरियो। योजना लागू भएपछि रेडियो नेपालको प्रसारण प्रणालीमा सुधार गरियो। कार्यक्रम निर्माण गर्दा लक्षित श्रोता, कार्यक्रमको आवश्यकता र उपलब्धिलाई आधार बनाइयो। कुल प्रसारण समयको ६० प्रतिशत मनोरञ्जनात्मक कार्यक्रम हुनुपर्ने नीति अवलम्बन गरियो।
२०२८ साल श्रावण १ गतेदेखि राष्ट्रिय सञ्चार योजना लागू भएपछि दैनिक आठ घण्टाको प्रसारण समय बढाएर बाह्र घण्टा पुर्याइयो। “हाजिरी जवाफ”, “इन्द्रेणी”, “अतीतका गीत”, “सरङ्ग”, “हाम्रो संस्कृति”, “रोधी”, “स्वास्थ्य र सरसफाइ”, “रेडियो डाक्टर”, “झरना र झङ्कार”, “खेलकुद”, “फूलबारी” र “चौतारी” रेडियो नेपालका उल्लेखनीय कार्यक्रमहरू हुन्।
