बजारमा हरेक वर्ष थप पाँच हजार संगीतकर्मी

(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री)

सुन्दा अविश्वनीय लाग्छ, तर नेपाली बजारमा प्रत्येक वर्ष पाँच हजार युवा युवती गायक बन्ने धुनमा लागेका छन् । ‘आहा संगीत’को एक महिना लामो अध्ययनमा भेटिएको तथ्य साँच्चै नै अविश्वसनीय थियो । शास्त्रीय संगीत सिकाउनका लागि खोलिएका विद्यालयको संख्या मात्र नेपाल अधिराज्य भरि १ सय ५० को हाराहारीमा रहेका छन् भने काठमाडौंमा मात्र संगीत सिकाउने विद्यालयको संख्या १ सयभन्दा बढी रहेको छ । हरेक विद्यालयले कम्तीमा २० जना र बढीमा एक सय जना विद्यार्थी पढाइरहेका छन् । अर्कोतिर राजधानीका पद्मकन्या, ललितकला र रत्नराज्य क्याम्पसमा संगीत विषय लिएर पढ्ने विद्यार्थीको संख्या १ हजारभन्दा बढी रहेको छ । समग्रमा यो संख्या ५ हजारको हाराहारीमा छ । एक वर्ष संगीत सिकेपछि यिनीहरु एल्बम निकाल्ने धुनमा लागिहाल्छन् । यस अतिरिक्त दोहोरी साँझमा गाउने कतिपय कलाकारहरुले पनि आफूलाई दक्ष मानी एल्वम निकाल्नेको संख्या त अझै अनुसन्धान गर्न लायक छ ।

सामीप्यराज तिमल्सेना एवं राजन कोइराला

भोजपुरका दीपक गौतम एक बर्ष अघि अनुराग कला केन्द्र पुतलीसडकमा संगीत सिक्न आउँदा एक सामान्य युवक थिए । तर एक वर्ष संगीतको कक्षा लिने बित्तिकै उनमा के आत्मविश्वास पलायो, उनले ‘मनको कुरा’ नामक पप गीति एल्बम निकाले । उनको एल्बमको सार्वजनिकपछि अहिले उनको अनुहार टेलिभिजनमा देखिन थालेको छ । पत्रपत्रिकामा अन्तरवार्ता आउन थालेको छ र एफएममा उनको गीत बज्न थालेको छ । एक वर्षमा नै गायक बन्न सकिन्छ त ? आहा संगीतको प्रश्नमा दीपक हाँस्दै भन्छन्, संगीत सिक्दा सिक्दै आत्मविश्वास पलायो, संगीत नसिक्नेले त एल्बम निकालिरहेका छन् भने मैले किन ननिकाल्ने ? नभन्दै उनको एल्बम आएको छ महिनामा उनको गीत टपटेनमा मात्र परेको छैन, नयाँ एल्बम निकाल्न सबै कम्पनीको आँखा उनीमाथि पर्न थालेका छन् । दीपक मात्र होइन, अनुराग कला केन्द्रका अध्ययन गर्ने अधिकांशले एल्बमको तयारी गर्न थालेका छन् भने केहीले कोरश गायनलाई आफ्नो आम्दानीको राम्रो श्रोत बनाउन थालेका छन् । उक्त कला केन्द्रमा एक वर्ष भित्र १० जनाले एल्बम निकालिसकेका छन् भने कोरस गायन गर्ने र एक दुईवटा गीत रेकर्ड गर्नेहरु पचास प्रतिशत भन्दा बढी छन् ।

यो स्थिति अनुरागको मात्र होइन, नेपालमा ख्याति कमाएका सबै विद्यालयहरुको हो । डोरेमी, साधना सुरसप्तक कला केन्द्र, कलाकुञ्ज, एकेडेमी, विन्दा कला केन्द्र, कलानिधि इन्दीरा संगीत महाविद्यालय जस्ता नाम चलेका सबै कला केन्द्रहरुका विद्यार्थीहरुको चाहाना एल्बम निकाल्ने र गायनमा प्रतिष्ठित हुने रहेको छ । गायन प्रति युवा युवतीको मोह बढ्नुको अर्थ यो होइन, उनीहरु सबै साह्रै राम्रो गाउन सक्छन् । यसमा छोटो समयमा चर्चित बन्ने र सञ्चार माध्यममा नाम र अनुहार देखाउन पाउने लोभले बढी मोह राखेको छ । त्यसो त केही समय यता संगीत सिकेर मात्र गायन क्षेत्रमा लाग्नु पर्छ भन्ने भावनाले पनि जरो गाडेको छ । अबको पुस्ता संगीत सिकेर नै आउने कुरामा जोड दिन थालेका छन् । प्रसिद्ध संगीतकार तथा संगीत प्रशिक्षक दीपक जंगम भन्नुहुन्छ, विशेष गरी शास्त्रीय र आधुनिक गायनबाट यस क्षेत्रमा प्रवेश गर्नेहरुमा यो भावना बढी पाइन्छ ।

अहिले पद्म कन्या क्याम्पसमा आए र बिए गरेर संगीत सिक्ने युवतीको संख्या ३ सय जति छ । उनीहरु मध्ये अधिकांशको सोच नै भाग्यले साथ दिए एल्बम निकाल्ने रहेको छ । त्यस्तै ललितकलामा प्रत्येक वर्ष १ सय २५ जनालाई भर्ना लिने गरिएको छ । उक्त क्याम्पसका विद्यार्थीको सोच पनि एउटै छ । त्यस्तै रत्न राज्य क्याम्पसमा पनि संगीत सिक्ने विद्यार्थीको संख्या आई र बीए गरेर ४ सय रहेको छ । संगीतलाई बिगारेर होइन, सपारेर हामी लोकप्रिय हुन चाहान्छौं । ती सबै क्याम्पसका अधिकांश विद्याथी भन्छन्, अहिलेसम्म संगीत युवा पुस्ताले बिगारे भन्ने आरोप लागेको छ, अब हामी युवाहरु नै उक्त आरोपको खण्डन गर्दै अगाडि बढ्न चाहन्छौ । आहा संगीतसँगको भेटमा प्रायः सबै कला केन्द्रका विद्यार्थी र संगीत पढ्दै गरेका क्याम्पसका विद्यार्थीहरु आगामी दिनमा संगीत अझै परिष्कृत र परिमार्जित हुँदै जाने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी काठमाडौं यूनिभर्सिटीले भक्तपुरमा डिपार्टमेन्ट अफ म्युजिक नामक बेग्लै संगीत डिपार्डमेन्ट खोलेर संगीतका लागि थप काम गरेको छ । आजका प्रख्यात पप गायक नवीन के. भट्टराईले सिकेको उक्त डिपार्टमेन्टमा गायन र गीतारको प्रशिक्षण दिइन्छ ।

शास्त्रीय संगीतको लहर

२०४७ सालमा रेडियो नेपालले आह्वान गरेको शास्त्रीय संगीत प्रतियोगितामा ४ जनाको मात्र निवेदन पर्दा नेपालमा शास्त्रीय संगीत सिक्ने विद्यार्थी नै नभएको निष्कर्ष निकालिएको थियो । ती चार जना मध्ये एक जना आजका प्रख्यात गायक रामकृष्ण ढकाल थिए । तर आज त्यो अवस्था छैन, आज शास्त्रीय संगीत सिकाउने शिक्षक मात्र एक सयको हाराहारीमा रहेका छन् । काठमाडौं चोक चोकमा खुलेका हरेक कला केन्द्रमा संगीतमा विशारद र प्रवीण गरेका शिक्षकहरुले पढाइरहेका पाइन्छन् । जवकि ३० को दशकमा संगीत प्रवीण नरराज ढकाललाई मात्र भन्ने गरिन्थ्यो । अहिले प्रयाग संगीत महाविद्यालय इलाहावादले नेपालका चारवटा विद्यालयमार्फत् शास्त्रीय गायनको परीक्षा लिने गरेको छ । उक्त महाविद्यालयबाट आईए, वीए र एमएसम्मको परीक्षा दिएर संगीतमा उच्च शिक्षा लिने विद्यार्थीको संख्या पनि प्रत्येक बर्ष बढ्दै गएको छ । नेपालमा करिब २ हजारले उक्त विश्व विद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका छन् । प्रधान नाट्य मण्डल, कलानिधि इन्दिरा संगीत महाविद्यालय, फ्रेण्डस् कल्चरर सोसाइटी, मञ्जुश्री संगीत महाविद्यालयमार्फत् उनीहरुले उक्त भारतको संगीत विद्यालयबाट परिक्षा दिएका हुन् ।तर सरकारले प्रयाग संगीत महाविद्यालयबाट संगीतमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई नेपाल सरकारले मान्यता दिएको छैन । बरु सरकार आफैले त्यस किशिमको महाविद्यालय स्थापना गर्ने सोचाई बनाउँदै आएको छ । यदि श्री ५ को सरकारको उक्त योजना सफल भयो भने विदेशमा जस्तै नेपालमा पनि कक्षा १ देखि विद्यावारिधिसम्मको संगीत शिक्षा शुरु हुनेछ । यसको कार्वान्वयन नेपालको पहिलो व्यवसायिक संगीत कम्पनीको रुपमा प्रख्यात कमाएको म्युुजिक नेपालले गर्ने अनुमान गरिएको छ ।

समस्याको ओइरो

माथिका सम्पूर्ण आँकडा हेर्दा उपलब्धिमूलक देखिए पनि यस भित्र पनि अनेकौं समस्या छन् ।
विज्ञहरुका अनुसार संगीत पढाउदा एक पटकमा बढीमा २० जना विद्यार्थी हुनुपर्दछ । तर नेपालका क्याम्पसमा एकैपटक सय जनासम्म विद्यार्थीलाई पढाउने गरिन्छ । विशेषगरी पद्म कन्या र रत्नराज्य क्याम्पसमा यो रोग सबैभन्दा बढी छ । फलस्वरुप उनीहरुले पुनः प्राइवेट विद्यालयहरुमा गएर रियाज तथा अध्ययन गर्नु पर्ने अवस्था छ । रत्नराज्य क्याम्पसकी संगीत विभाग प्रमुख वेणी रावल पनि यो कुरा स्वीकार गर्नुहुन्छ । अर्को कुरा प्राइवेट रुपमा खोलिएका संगीत प्रशिक्षण संस्थाहरु विद्यालयको रुपमा उभिन सकेका छैनन् । म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार तिनीहरु केवल संगीत कोचिङ सेन्टरका रुपमा मात्र पहिचान बनाउन सक्षम छन् । सरकारले विद्यालयको रुपमा स्वीकृति नदिनु, विद्यालयलाई चाहिने भौतिक साधन नहुनु र केही संगीत केन्द्रहरुमा शिक्षाहीन र अनुभवहीन शिक्षकहरुले पनि कक्षा लिइरहेका कारण पनि संगीत सस्तो हुँदै गएको हो । फलस्वरुप नेपालीहरुमा संगीतको शिक्षा यस्तै साधारण नै भन्ने भ्रम परेको छ । नरराज संगीत प्रशिक्षण केन्द्रका संचालक प्रभू ढकाल भन्छन्, संगीतको प्रशिक्षण गर्नु भनेको खेलाचीँ होइन, तर आजभोलि यो अंग्रेजी भाषा सिकाउने कोचिङ सेन्टर भन्दा सस्तो हुन थालेको छ । त्यस्तै संगीत प्रशिक्षण लिने विद्यार्थीमा पनि धैर्यको कमी छ । हरेक विद्यार्थीहरु एक वर्ष संगीत सिक्ने बित्तिकै आफ्नो पढ्ने दायित्व पूरा भएको सम्झन्छन् । जवकी संगीतमा ५ बर्षसम्म साधना नगरेको मानिसलाई भारतमा गायकको दर्जा दिदैननन्, चाहे उसको जतिसुकै राम्रो श्वर होस् । उदीतनारायणले बम्बई जाँदा पुनः ५ बर्षसम्म साधना गरेको सर्टिफिकेट देखाएपछि मात्र उनलाई गायकको दर्जा प्राप्त भएको थियो । तर नपालमा कुनै पनि संगीत कम्पनी वा एप.एमहरुले गायकको सर्टिफिकेट नहेरी सोर्सका वा श्वरका भरमा अवसर दिने गरिएको छ । फलस्वरुप उनीहरु संगीतमा कच्चा हुँदा हुँदै पनि एल्बम निकालिरहेका छन् ।। एउटा गीत रेकर्ड गराएर एफ एममा दिनेवित्तिकै परिचय विहिन मानिस गायक बन्ने हुँदा पनि यसरी गायक गायिकाको संख्या अत्यधिक बढेको हो ।

संगीत भन्नाले गायन, नृत्य र वाद्यवादन तीन कुराहरुको संगम हो । तर गायनमा लाग्दा मिडीयामा छाउन सजिलो हुने हुनाले शास्त्रीय वाद्यवादन र नृत्य क्रमशः ओरालो लाग्न थालेको छ । शास्त्रीय संगीत पढिरहेका धेरै जसो विद्यार्थीहरु शास्त्रीय नृत्य र वाद्यवादनमा रुची राख्दैनन् । विज्ञहरुका अनुसार यदि यही तरिकाले वाद्यवादन सिक्ने मानिसको कमी हुँदै जाने हो भने निकट भविष्य मै राम्रो बाजा बजाउने वाद्यवादक पाउन मुस्किल पर्नेछ । अर्कोतिर शास्त्रीय संगीतको प्रमुख विद्याको रुपमा रहेको शास्त्रीय नृत्य सिक्ने विद्यार्थीहरु क्रमशः ओरालो लागेका छन् । शास्त्रीय नृत्यका प्रसिद्ध प्रशिक्षक मृगेन्द्रमान सिंह भन्नुहुन्छ, बाहिरबाट हेर्दा संगीत क्षेत्र अगाडि बढेको भएपनि यो तासको महल जस्तै हो, किनभने यसको जग बलियो छैन ।

आहा संगीतसंग सम्पर्कमा रहेका कला केन्द्रहरु

नारायणगोपाल संगीत विद्यालय, ताहाचल
प्रधान नाट्यमण्डल, कीर्तिपुर
मञ्जुश्री संगीत महाविद्यालय, कालिमाटी
फेण्ड्स कल्चरल सोसाइटी
पशुपति संगीत कला प्रतिष्ठान, पशुपति
सरस्वती कला केन्द्र, बागबजार
गान्धर्व संगीत पाठशाला, असन
अमर कला केन्द्र, कालिमाटी
हारती कल्चरल ग्रुप, पुतलीसडक
सुर सप्तक एकेडेमी, कमलादीमोड
मधुरिमा कलाकेन्द्र, पुतलीसडक
मारुनी कला केन्द्र, पुतलीसडक
हिमालय कला मन्दिर, पुतलीसडक
नेपाल आर्टस एण्ड कलिउड कला केन्द्र, बागबजार
सगुन कलाकेन्द्र, बागबजार
सगरम कला केन्द्र, बागबजार
परिवर्तन नेपाल, पुतलीसडक
अनुयोग संगीत स्कूल, भक्तपुर
अविरल कला केन्द्र
नरराज संगीत विद्यालय, बागबजार
सप्तरंगी कला केन्द्र, बौद्ध, टुसाल
सियोन कला केन्द्र, कालीमाटी
रोदी कला केन्द्र, लगनखेल
क्यालीडोस्कोप म्युजिक एकेडेमी, पुतलीसडक
सारेगम कलाकेन्द्र, बालाजु
बागेश्वरी संगीतालय, बुटवल
स्वर संगम संगीतालय, विराटनगर
नारायणी कला केन्द्र, चितवन
सुरसुधा कला केन्द्र, गंगबु, काठमान्डौं
परफेक्ट म्यूजिकोलोजी, कालीमाटी
लालीगुँरास कला मन्दिर, गंगबु
संगीत साधना, अनामनगर
लहना कला केन्द्र, कालीमाटी
विजुबेटी कलाकेन्द्र, बागबजार
मेन्दुलामाया कलाकेन्द्र,
कला संदेश, बागबजार
मोक्षधाम संगीत आश्रम, ठमेल (विजय वैद्य)
लुम्विनी कला केन्द्र, बुटवल
कला क्षेत्र म्युजिक एकेडेमी, मैतीदेवी
राजश्री डान्स सेन्टर, कमलादी

कलाकुञ्ज एकेडेमी

पाँच वर्षअघि कुपण्डोलमा स्थापना भएको कलाकुञ्ज एकेडेमीले संगीत सिक्ने लहरलाई हृदयंगम गर्दै दुई वर्षपछि पुतलीसडकमा पनि आफ्नो शाखा खोलेको थियो । वर्तमान अवस्थामा प्रशस्त कलाकेन्द्र स्थापना हुनुले विद्यार्थीको चाप सामान्य रहे पनि दुवैतिर गरेर कूल एक सयको हाराहारीमा विद्यार्थी भएको कुरा सञ्चालक किरण शर्मा बताउँछन् ।

इलाहावाद र आरआर क्याम्पसबाट शास्त्रीय संगीतमा डिप्लोमा गरेका किरण शर्माका लागि संगीत कम व्यापार र ज्यादा साधनाको कुरा हो । संगीत आत्मासँग सम्बन्धित कुरा हो र मेरा हरेक विद्यार्थीलाई यो बुझाउने प्रयास गर्छु, शर्माको भनाई छ यसले लोकप्रिय बनाओस्, तर संगीतमा पोख्त भने अवश्य बनाउँछु ।

सुरसप्तक कला केन्द्र

२०५६ सालमा स्थापना हुँदा सुरसप्तक कलाकेन्द्रमा सीमित विधाहरु थिए । केही महिनाअघि मात्र चाबहिलमा नयाँ व्यवस्थापनमा यसको पुनरुत्थान भएपछि हाल यहाँ गायन, वादन, नृत्य अभिनय सबै कुरा सिकाइन्छ ।

म आफैं संगीतको विद्यार्थी हुँदा मैले पठनलाई पुतलीसडकका सारा कला केन्द्र चहारें, तर कहीं पनि सन्तुष्ट हुन सकिनँ । त्यसैले यो कलाकेन्द्र खोलेको हुँ मेरो कला केन्द्रको विशेषता भन्नु नै दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिनु हो, केन्द्रका सञ्चालक वीर उदास श्रेष्ठ कला केन्द्रको स्थापना पृष्ठभूमि र उद्देश्य यसरी बताउँछन् । यहाँ हाल ९० को हाराहारीमा विद्यार्थीहरु रहेको पाइयो ।

कलानिधि इन्दिरा संगीत महाविद्यालय

नेपालको पुरानो संगीतालय मध्ये एक कलानिधि संगीत महाविद्यालय शास्त्रीय संगीतको विज्ञहरुको जमघट हुने स्थल पनि हो । शास्त्रीय संगीतका सबै विद्याहरुलाई समेटेर लान यो विद्यालयले महत्वपूर्ण भूमिका खलेको छ । २०२० सालमा स्थापित यस विद्यालयमा वर्तमान श्री ५ बडामहारानी कोमल र शाहज्यादी शोभा राज्यलक्ष्मी शाह समेतले सो महाविद्यालयमा सितार सिकिबक्सेको गौरवपूर्ण इतिहास आफूमा संगालेको छ । नेपालको सबैभन्दा जेठो र नियमित रुपमा कक्षा सञ्चालन गरिरहेको विद्यालयका रुपमा यसले शम्भुजित बासकोटा, शान्तिराम राई, रामचन्द्र लामिघाटे, गायक श्याम सुन्दर, राम सिटौलाजस्ता प्रतिभाहरु पनि नेपाली संगीतलाई उपहार दिन सफल भएको छ ।

निर्भाना कला केन्द्र

२०५१ मा स्थापना भएको निर्भाना कला केन्द्र नृत्य मात्र प्रशिक्षणका लागि चर्चित छ । विशेषगरी शास्त्रीय नृत्यहरु भरत नाट्यम, ताण्डव र कत्थक नृत्य सिक्नका लागि यहाँ विद्यार्थीहरु आउन रुचाएका छन् । यद्यपि यहाँ आधुनिक र लोक नृत्यहरु पनि सिकाइन्छ । उक्त कला केन्द्रका प्रशिक्षक वरिष्ठ शास्त्रीय नृत्य निर्देशक नरोत्तम शर्मा हनुहुन्छ । आजभन्दा १० वर्षअघिदेखि नृत्य सिकाउँदै आउनुभएका शर्माले निकै चर्चित कलाकारहरु जन्माइसकेका छन् । उक्त कला केन्द्रका सञ्चालक रमेश श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठ कराँतेका प्रशिक्षक पनि हुनुहुन्छ । यस कला केन्द्रमा ५० भन्दा बढी विद्यार्थीहरु प्रशिक्षण लिइरहेको कुरा सञ्चालक रमेश श्रेष्ठ बताउँनुहुन्छ ।

सबैभन्दा चर्चित संगीत विद्यालय

नेपालमा सयौं संगीत विद्यालयहरु भएपनि सबैभन्दा चर्चित हुन पुगेको विद्यालय हो, साधना कला केन्द्र २०४७ सालमा स्थापना भए यता उक्त विद्यालयले खेम गुरुङ, मंगोलियन हर्टका राजु लामा, स्टेज हिरो गायक धिरज राईलाई संगीत क्षेत्रमा उतारेको छ भने नृत्यमा धिरेन शाक्य, दिलिप रायमाझी, वर्षा खड्का, पूजा लामा, तुलसा सिलवाल, कला सुब्बा, श्रृजना श्रेष्ठ, अन्जान शाक्य र जुना प्रसाईं जस्ता प्रतिभालाई पनि जन्माएको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा नेपालमा खुलेका जति पनि नृत्य कलाकेन्द्रहरु छन्, त्यहाँका ८० प्रतिशत भन्दा बढी शिक्षक साधनाका विद्यार्थी रहेको दावी उक्त विद्यालयका संचालक मिलन मोक्तानको छ । साधना कला केन्द्रको सबैभन्दा ठूलो विशेषता लोक नृत्य र संगीतको खोजी र संरक्षण गर्नु रहेको छ । यहि कलाकेन्द्रले नेपालमा पहिलो पटक कलाकारलाई सम्मान गर्ने परम्पराको शुरुवात गरेको थियोर आज पनि साधना सम्मान साँझलाई नेपाली संगीत क्षेत्रमा इज्जतिलो सम्मानको रुपमा लिइन्छ । लोक गीत र नृत्यको संरक्षण गर्ने क्रममा प्रत्येक वर्ष लोकगीत प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसमा प्रथम हुनेलाई नगद १ लाख रुपैंया पुरस्कारको पनि ब्यवस्था गरेको छ ।

त्यसो त उक्त प्रतियोगितामा भाग लिन आउँने ५ सय कलाकारहरुलाई सम्पूर्ण ब्यवस्था गरेर प्रतियोगिको दायरा बढाएको छ एक बर्षमा संगीत सेवाका लागि मात्र १० लाख खर्च हुने कुरा उक्त विद्यालयका संचालक मिलन मोक्तान बताउँनुहुन्छर हालै विश्वका चर्चित नृत्यको परियच आफ्ना विद्यार्थीलाई दिन उक्त साधनाले अमेरिकाबाट विशेषज्ञ बोलाएको छ ।

बिन्दा कला केन्द्र

एक महिना अगाडिमात्र स्थापना भएपनि नेपालका संगीत विद्यालयहरु मध्ये सबैभन्दा बढि विद्यार्थी बटुल्न विन्दा कलाकेन्द्र सफल छ । उक्त कलाकेन्द्रमा अहिले नृत्य, श्वर, हार्मोनियम, गितार, तबला, मादल, उद्योषण गरि १ सय विद्यार्थी छन् । यसरी रातारात विद्यार्थी बटुल्न सक्नुको कारण बारे विन्दा कलाकेन्द्रका संचालक राजु पुडासैनी भन्नुहुन्छ, ‘हामी तीन महिनामा प्रत्येक विद्यार्थीलाई पूर्ण कलाकार बनाउँने क्षमता राख्दछौ ।’ त्यसो त यसरी विद्यार्थी बढ्नुका कारण क्षयरोग, कुष्ठरोग, एड्स र कुलतबाट बच्ने जनचेतना मुलक नाटक गरेका कारण पनि त्यसले सकारात्मक प्रभाव पारेको छ ।उक्त कलाकेन्द्रमा बरिष्ठ गायक गोविन्द सोनी, केशब भट्टराई, नृत्य निर्देशक राजु पुडासैनी रामशरण उप्रेती प्रशिक्षकका रुपमा रहेका छन् ।

अनुराग संगीत कला केन्द्र

स्थापनाको २ बर्ष पनि नपुग्दै काठमाडौं उपत्यकामा राम्रा संगीत स्कूलका रुपमा नाम कमाएको अनुराग संगीत कलाकेन्द्रसँग अहिले ७५ जना विद्यार्थी रहेका छन् । ‘पढेर मात्रै संगीत क्षेत्रमा लाग्नु पर्छ भन्ने मान्यता राखेर यो क्षेत्रमा आउनुभएका अनुरागमा राम सिटौला र श्यामसुन्दर प्रशिक्षकका रुपमा रहनु भएको छ । उहाँहरु दुवैले संगीतमा प्रवीण (एम.ए) गरिरहनु भएको छ । स्वरको कक्षा मात्र रहेको उक्त विद्यालयमा विद्यार्थी आकर्षित हुनुको कारणबारे राम सिटौला भन्नुहुन्छ, अनुशासित वातावरण र संगीतको माहौल नै हाम्रो प्रगतिको प्रमुख कारण हो ।

डोरेमी संगीत पाठशाला

वरिष्ठ संगीतकार न्यू वज्रचार्य सञ्चालक रहनु भएको डोरेमी संगीत स्कूल एक प्रमुख संगीत स्कूल हो । २०५२ सालमा स्थापना भएको उक्त स्कूलमा स्वर, हार्मोनियम, गीतार, कीबोर्ड सिकाइन्छ । शर्मिला बर्देवा, भानुभक्त ढकालजस्ता धेरै सफल गायक गायिका उत्पमादन गर्न सपलल डोरेमीमा वरिष्ठ संगीतकर्मी गुरुदेव कामत, ईश्वर अमात्य, भानुभक्त ढकालजस्ता संगीतविज्ञ प्रशिक्षक हुनुहुन्छ । लगभग २०० विद्यार्थी रहेका यस संगीत स्कूल जमलमा अवस्थित छ ।

कामना कला केन्द्र

स्थापना २०५९ साउन । अहिले ५० जना विद्यार्थीहरुले प्रशिक्षण लिइरहेको यस कलाकेन्द्रका संस्थापक अध्यक्ष तथा सञ्चालक नेपाली चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका भुवन श्रेष्ठ छन् । उनले दश वर्षअघिदेखि विभिन्न कला केन्द्रमा नृत्यसम्बन्धी प्रशिक्षण दिइसकेका छन् । यस कला केन्द्रमा आधुनिक, शास्त्रीय तथा लोक नृत्य सिकाइन्छ । खासगरी यो कला केन्द्र नृत्यका लागि प्रख्यात छ । यसले अधिकांश जिल्लामा शान्तिका लागि चेतनामूलक कार्यक्रम गरिसकेको छ । सावित्री केसी, गोविन्द हुमागाइँ र अध्यक्ष श्रेष्ठ प्रशिक्षक हुनुहुन्छ । यो कला केन्द्र पुतलीसडकमा अवस्थित छ ।

Categories:

Tags: