कृष्णमान डंगोल : नेपाली संगीतका इतिहासपुरुष

नेपाली संगीतको आकाशमा उज्ज्वल नक्षत्रका रूपमा चम्किएका कृष्णमान डंगोल एक सफल गायक, संगीतकार र सांगीतिक साधक हुन्। करिब सात दशक आफ्नो जीवन संगीतमा समर्पित गरेका उनले करिब १,५०० गीतमा संगीत प्रदान गर्दै नेपाली संगीत क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका छन्। उनको योगदान नेपाली संगीतको यात्रामा एक ‘कोसेढुंगा’ सावित भएको छ।

जन्म र प्रारम्भिक जीवन

वि.सं. १९८२ साल असारमा ललितपुर जिल्लाको बाँडेगाउँमा जन्मिएका कृष्णमान संगीतकर्मी पिता गोपालमान डंगोल र माता लक्ष्मीदेवीका एक मात्र सन्तान थिए। बाल्यकालदेखि नै संगीतमय वातावरणमा हुर्किएका उनी सात वर्षको उमेरदेखि बुबासँग भजन–कीर्तनमा सहभागी हुन थाले।

वि.सं. १९८९–९० सालतिर नक्सालका पृथ्वीमान अमात्य र नागपोखरीका द्रव्यलाल श्रेष्ठद्वारा सञ्चालित भजनगृह तथा भगवती पाटीमा कैलाशमान अमात्यको भजनमण्डलले प्रस्तुत गर्ने डबली नाच र भजनकीर्तनले उनलाई गहिरो प्रभाव पारेको थियो।

संगीतमा प्रवेश र संघर्ष

बुबासँगै भजन गाउँदै उनले हार्मोनियम र तबला बजाउन सिके। त्यो समय नेपाली गीत–संगीतको संस्थागत विकास भइसकेको थिएन। प्रारम्भमा हिन्दी भजनलाई अनुवाद गरी नेपालीमा गाउने चलन थियो। दरबारबाट राणाहरूले बोलाएर भजन सुन्ने र बकसस्वरूप ५०–६० रुपैयाँ दिने प्रचलन थियो, जसबाट भजनमण्डलीहरूको गुजारा चल्थ्यो।

वि.सं. १९९८ सालतिर राणाहरूको आग्रहमा उनले आफ्नो सांगीतिक टोलीसहित ‘सत्यहरिशचन्द्र’ नाटक दरबारमा प्रस्तुत गरेका थिए। त्यसबेला नाटक राति अबेरसम्म चल्थ्यो र कलाकारहरूले आफ्नै घरबाट चिउरा–आलु बनाएर लैजानुपर्थ्यो। धेरैजसो नाटकमा उनले महिला पात्रको भूमिका निर्वाह गरेका थिए, किनकि त्यतिबेला महिलाहरू रंगमञ्चमा आउन डराउँथे।

औपचारिक सांगीतिक यात्रा

नेपालमा प्रजातन्त्र आएपछि वि.सं. २००८ सालमा सत्यनारायण डंगोलद्वारा रचित ‘तिम्रै खातिर नि सोधिनौं मैले अबिरल आँसु बगाएँ’ बोलको गीतमा उनले पहिलो पटक संगीत दिएका थिए। उक्त गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको भए पनि टेप सुरक्षित नरहेकाले हाल उपलब्ध छैन।

त्यतिबेला रेडियो नेपालले गायकहरूलाई तीन श्रेणीमा विभाजन गरी क्रमशः ७, ५ र ३ रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरेको थियो। पारिवारिक पृष्ठभूमिका कारण उनी सहजै संगीत क्षेत्रमा स्थापित भए।

समकालीन र उपलब्धि

उनका समकालीन संगीतकारहरूमा शिवशंकर, नातिकाजी, मास्टर रत्नदास, ओस्ताद गोविन्दलाल र भैरवबहादुर थापा जस्ता प्रतिभाहरू थिए।

वि.सं. २०१६ सालतिर कलकत्तामा दुई गीत रेकर्ड गराएर उनले आफ्नो सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए। सोही वर्ष बालकृष्ण समको नाटक ‘म’ मा संगीत दिएर चर्चा बटुले। चिनियाँ नर्तकीहरूलाई नेपाली लोकगीत सिकाएर उनले विदेशी कलाकारहरूबाट समेत प्रशंसा पाए। एक वर्षपछि स्व. श्री ५ महेन्द्रबाट प्रशंसापत्र प्राप्त गरे।

वि.सं. २०१९ सालमा रेडियो नेपालद्वारा आयोजित ‘अखिल नेपाल आधुनिक तथा लोकगीत सम्मेलन’ मा दोस्रो स्थान हासिल गर्दै श्री ५ महेन्द्रबाट पदक प्राप्त गरे। २०२० सालमा पुनः सर्वोत्कृष्ट संगीतकारको पुरस्कार पाए।

योगदान, अन्तर्राष्ट्रिय पहिचान र शैक्षिक उपलब्धि

वि.सं. २०२५ सालमा नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाली लोकसंगीत प्रस्तुत गर्दै उनले नेपाललाई विश्वसामु चिनाए। २०२९ सालदेखि ‘शाही जंगी अड्डा’मा संगीत निर्देशकका रूपमा कार्यरत रहे।

वि.सं. २०३० सालतिर भारतको इलाहावादबाट शास्त्रीय संगीतमा स्नातक उपाधि हासिल गरेका उनले विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाए। २०३३ सालमा गोरखा दक्षिण बाहु (पाँचौं) बाट विभूषित भए। २०४७ सालमा रेडियो नेपालद्वारा आधुनिक गीततर्फ प्रथम स्थान हासिल गरे।

२०४८ सालतिर फिल्म ‘आजको युवा’ मा सफल संगीत संयोजन गरेबापत गणेशमान सिंहबाट कदरपत्र प्राप्त गरे।

उनको स्वरमा ३० वटा भजन, १२ वटा नेवारी गीत, राष्ट्रिय गीत तथा चलचित्रका गीतहरू क्यासेट र सीडीमार्फत सार्वजनिक भएका छन्। नेपाल टेलिभिजनका लागि ३४ वटा भजनका भिडियो निर्माण भएका छन्।

कुन्ती मोक्तान र आर्थिक विवरण (वि.सं. २०४० दशक)

कुन्ती मोक्तान प्रारम्भिक संघर्षकालमा काठमाडौं आएपछि जीविकोपार्जनको समस्या भोगिरहेकी थिइन्। वि.सं. २०४० दशकको प्रारम्भतिर कृष्णमान डंगोलले उनलाई पहिलो अवसर दिँदै ४०० रुपैयाँ पारिश्रमिकमा गीत गाउने अवसर प्रदान गरेका थिए।

त्यो समय ४०० रुपैयाँ उल्लेखनीय रकम मानिन्थ्यो। यस अवसरपछि उनले सांगीतिक क्षेत्रमा क्रमशः पहिचान बनाउँदै गइन्।

त्यसैगरी, तारादेवी, नारायण गोपाल, मीरा राणा, रामेश्वरी श्रेष्ठलगायत कलाकारहरू पनि उनीसँग प्रशिक्षण लिन आउने गर्थे। कृष्णमान स्वयं छाउनीस्थित शिक्षा विभागमा एकाउन्टेन्ट पदमा कार्यरत थिए, जहाँ कवि माधवप्रसाद घिमिरे सुपरिटेन्डेन्ट पदमा कार्यरत थिए।


‘लायलामा’ : ऐतिहासिक एल्बम

उनको नेवारी एल्बम ‘लायलामा’ (पहिलो भाग) ५०,००० प्रति बिक्री भएको थियो। माग अत्यधिक भएपछि वितरण जिम्मा म्युजिक नेपाल लाई दिइयो। पछि बिक्री संख्या १,००,००० नाघेर ऐतिहासिक रेकर्ड कायम गर्‍यो।

‘लायलामा’ का पाँच भाग प्रकाशित भए। अन्तिम एल्बम ‘वामियां दबुं’ वि.सं. २०५५ सालमा सार्वजनिक भयो।


निःशुल्क प्रशिक्षण र सांस्कृतिक सेवा

वि.सं. २०४८ सालदेखि हरिशयनी एकादशीको शुभमुहूर्तबाट प्रारम्भ गरी नक्साल भगवती भजनमण्डलमा उनले निःशुल्क संगीत प्रशिक्षण दिएका थिए।

Categories:

,

Tags: