स्थानीयको दबाबपछि बौद्ध–जोरपाटी सडकमा कालोपत्र शुरु

Written by Artist Sansar

लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो ।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि कालोपत्र गर्न शुरु गरिएको हो ।

बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंका अनुसार आइतबारदेखि कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम शुरु भएको थियो भने अहिले कालोपत्र भइरहेको छ । गतसाता स्थानीयवासीले सडकमा यातायात अवरोध गरेपछि ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्षसहित बसेको बैठकबाट कालोपत्र गर्ने सहमति भएको थियो ।

विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा त्यसको प्रत्यक्ष असर उक्त सडकखण्डका स्थानीय तथा यात्रुलाई परेको थियो । चार वर्षदेखि निर्माण अलपत्र परेको चाबहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यापारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् ।

About the author

Artist Sansar