सेलिब्रेटी लभ अफेयर्स

Written by Artist Sansar

अभिनेत्री नम्रता श्रेष्ठले केहि साता पहिले आफ्नो फेसवुक पेजमा ‘वाइफ्रेन्ड’ प्रेम घलेसंगको फोटो पोष्ट गरिन्। कमेन्टमा नम्रता जोडीलाई धेरैले बधाई दिए। यसअघि पनि उनको नाम अन्य केहीसँग नजोडिएको होइन। ‘सकेसम्म आफ्नो प्रेम सम्वन्धलाई मिडियामा नलेखेकै राम्रो’, नम्रता भन्छिन, ‘पर्सनल कुरा पनि पत्रकारलाई भन्नुपर्छ र?’

आफ्नो प्रेम सम्वन्धबारे नम्रता बिस्तारै खुलिन्, ‘प्रेम जीसँग मेरो सात वर्षदेखिका प्रेम सम्वन्ध हो। हामी दुवै खुसी छौं, एकआपसबीचको सम्वन्ध पनि राम्रै छ।’ टाइमपासको लागि प्रेम नगरेको बताउने नम्रताले यो सम्वन्धलाई विवाहमै परिणत गर्ने बताइन्। म्यानपावर सञ्‍चालन गर्दै आएका प्रेम घलेसँग जात नमिलेपनि आफु उनीसँग खुसी भएको बताउँछिन्। भन्छिन्, ‘मायामा जातभात भन्ने हुँदैन।’

नेपाली रजतपटमा नम्रता श्रेष्ठ जस्तै अन्य थुप्रै अभिनेता अभिनेत्रीको नाम जोडिने गरेको छ। एनआइडिसी राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेता विधामा मनोनयमा परेका चकलेटी अभिनेता आर्यन सिग्देलको सपना भण्डारी, राजेश हमालको मधु भट्टराई, भुवन केसीको जिया केसी, राजबल्लभ कोइरालाको रविना जोशी, यसराज जरचको अन्जना मिश्र, श्रीकृष्ण श्रेष्ठको स्वेता खड्का, सम्यम पुरीको आत्मा डिसीसँग नाम जोडिएको छ।

अभिनेता राजबल्लभ कोइरालाका अनुसार मिडियाका साथीहरुले पटकपटक उनको नाम अरुसँग जोडेर सोध्‍ने गर्छन। तर, प्रमाणित नभएका कुराहरु यसरी मिडियामा नल्याइदिए राम्रो हुने सुझाव उनको थियो। भन्छन्, ‘कोहीसँग सँगै हिँड्दैमा नाम जोडिहाल्‍नु राम्रो होइन। जोसँग मेरो नाम जोडिएको छ, उनीपनि सेलिब्रेटी जस्तै हुन्। त्यै भएर पनि हामी कहिलेकाही पार्टीमा भेटिन ठूलो कुरा होइन।’ पहिले पहिले प्रेम गरियो, छुटियो। कतिलाई मन पराइयो कतिले मलाई मन पराए। यस्तो भइरहन्छ, कोइराला भन्छन्, ‘उमेरमा सबैले प्रेम गरिहाल्छन् नि, म मात्रै अछुतो भने हुन्न’।

श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्कासँग, भुवन केसी र जीया केसी, आर्यन सिग्देल र सपना भण्डारीसँगै हिड्ने गरेका छन्। त्यस्तै कुनै समय प्रेम सम्वन्धमा बाँधिएका अर्का अभिनेता सविन श्रेष्ठको नम्रता झा, विराज भट्टको जेनिका केसी, विनय श्रेष्ठको अभिनेत्री ऋचा शर्मा, हर्षिका श्रेष्ठको सम्पादक विपिन मल्ल, शुष्मा कार्कीको सुदर्शन थापा र निरन शाही, नीशा अधिकारीको निर्देशक निरक पौडेलसँग नाम जोडिएको थियो। तर, अहिले ती सबै जोडीको सम्बन्ध विच्छेद भएको सुनिएको छ।

समयसमयमा यी जोडीहरुको समाचार विभिन्न मिडिया र चलचित्र क्षेत्रमा व्यापक रुपमा सुनिएका थिए। अभिनेता विनय श्रेष्ठ र अभिनेत्री ऋचा शर्माको जोडी पनि झन्डै आठ बर्षदेखि प्रेम सम्बन्धमा थियो। तर आठ महिनाअघि उनीहरुको प्रेम सम्बन्ध विच्छेद भयो। विनय भन्छन्, ‘कस्को कारणले प्रेम सम्बन्ध विच्छेद भएको भन्ने नै छैन। किनभने दुवैले ब्रेकअपको प्रस्ताव गरेका होइनौं।’ सायद धेरै लामो समयसम्म प्रेम भएपछि छुटेको हुनसक्‍ने अनुमान विनयको छ। ब्रेकअपपछिको समय गाह्रोगरि बितेको बताउने विनय भन्छन्, ‘लागेको चोट भए निको हुन्थ्यो होला, तर मनको चोट निको हुन समय लाग्छ होला।’

त्यस्तै रेखा थापाको चलचित्र मार्फत रजतपटमा अभिनेताको रुपमा डेब्यू गरेका सविन श्रेष्ठको एयर होस्टेस नम्रता झासँग लामै समय प्रेम सम्बन्ध बस्यो। तर, उनले दुवै जनाको सहमतिमै ब्रेकअप भएको प्रतिक्रिया दिए। यस्ता कलाकारको लभ अफेयरको समाचार धेरै अनलाईनमा गसिप भएर पोष्ट हुन्छन्। एकाध बाहेकका कलाकारले त्यस्ता नाम जोडिएर लेखिएका समाचारप्रति टिप्पणी गर्दैनन्।

दुई दशकदेखि नेपाली रतजपटमा अधिपत्य जमाइरहेका अभिनेता राजेश हमालले बिहे गर्ने घोषणा गरिसकेका छन्। अर्का अभिनेता यसराज गरच र अंजना मिश्र आपसमा विवाह गर्दैछन्। उनीहरूको बिहे आउँदो ३० गते हुने पक्‍कापक्‍की नै भइसकेको छ। राजेश हमालको भने मिति तय भइसकेको छैन। त्यस्तै स्टन्ड नायकका रुपमा चिनिएका निखिल उप्रेति र संचिता लुइटेलको पनि प्रेमपछि विवाह भएको हो।

अभिनेत्री केकी अधिकारीलाई अहिलेसम्म धेरैले प्रेम प्रस्ताव गरे। त्यसमध्ये ७, ८ वटा त सिरियस प्रेम प्रस्ताव भएको केकी बताउँछिन्। भन्छिन्, ‘मलाई प्रेम सम्बन्ध मन पर्दैन, त्यै भएर अहिलेसम्म प्रेमबारे सोचेको छैन। तर अबको पाँच बर्षपछि म मागी विवाह नै गर्छु। त्यो बेला तपाईंलाई पनि निम्ता दिन्छु।’ त्यस्तै भिसागर्ल अभिनेत्री सलोनी राजभण्डारीले पनि आफ्नै ब्वाइफ्रेन्ड रोहितमान प्रधानसँग यसै साता विवाह गर्ने भएका छन्।

मनोज श्रेष्ठ /साभार

About the author

Artist Sansar