सारंगा श्रेष्ठ : नगीना देखि क्रान्तिकारी कमाण्डर र अमेरिकासम्मको यात्रा

वि.सं. २०४४/४५ तिरको समय। उनी भर्खर १२/१३ वर्षकी थिइन्। सरस्वती पूजाको अवसरमा तराईमा रातभर जाग्राम बस्ने र सानोतिनो सांगीतिक तथा नृत्य कार्यक्रम गर्ने चलन थियो। त्यही अवसरमा विद्यालयका तर्फबाट सानो नृत्य समारोह आयोजना गर्ने योजना बन्यो। रिहर्सलका क्रममा उनको नृत्य देखेर विद्यालयकी एक शिक्षिका निकै रिसाइन् र लोपार्दै भनिन्, “इस्स्, तैँले त नाचेर खालिस् !”

साथीहरूको अगाडि त्यसरी भनिएको शब्दले उनको कोमल हृदयमा गहिरो चोट पुर्‍यायो। आफू अपमानित भएको महसुस गरिन्। त्यसपछि उनले ‘डिस्को डान्स’ चलचित्रको ‘रिमिझिमी…’ गीतमा नाचिन्, जसलाई भने ‘राम्रै’ मानियो। यही घटनाले उनको मनमा केही गरेर देखाउने अठोट जगायो।

नगीना बन्ने कथा

विद्यालय छुट्टिएपछि उनी जनकपुरस्थित सानीमाको घर घुम्न गइन्। त्यहाँ उनले Nagina हेर्ने मौका पाइन्। Sridevi अभिनित उक्त चलचित्रको नृत्यले उनलाई अत्यन्त प्रभावित बनायो। अर्को दिन फेरि सिनेमा हेरेर ‘मैं तेरी दुश्मन…’ गीत ऐनाअगाडि उभिएर अभ्यास गरिन्।

त्यसपछि जहाँ जहाँ कार्यक्रम हुन्थ्यो, उनी त्यही ‘नगीना’को गीतमा नाच्थिन्। उनको नृत्य यति लोकप्रिय भयो कि सबैले उनलाई ‘नगीना’ भनेर बोलाउन थाले।

बदमास स्वभाव र विद्यालयको घटना

आफ्नै शब्दमा उनी भन्थिन्, “मेरो अनुहार हेरेरै तपाईंले बदमास हो भनेर छुट्याउन सक्नुहुन्छ।” एकपटक उनका मिल्ने साथी विमलालाई एक केटाले प्रेमपत्र पठायो। साथीहरूले सोधे— मन पर्छ? उत्तर आयो— “अँ हँ।”

त्यसपछि बदला लिने योजना बन्यो। टिफिन समयमा केटाको अगाडि गएर प्रेमपत्र च्यात्ने र चप्पलले हान्ने योजना तय भयो। योजना अनुसार विमलाले प्रेमपत्र च्यातिन् र चप्पलले हानिन्। केटो रिसायो, तर साथीहरूले मिलेर प्रतिकार गरे। घटनाले ठूलो रूप लियो र योजनाकारको रूपमा उनलाई हेडसरको अगाडि उभ्याइयो। आज सम्झँदा त्यो क्षण उनी रमाइलो अनुभवका रूपमा सुनाउँछिन्।

पसलेसँगको झडप

नगीना नामले चर्चित भइसकेकी उनी एकदिन खोलामा नुहाउन जाँदा एक किराना पसलेले जिस्क्यायो— “देख, नगीना गेले।” सरारती स्वरमा बोलिएको त्यो शब्दले उनलाई चित्त दुखायो। उनी हक्की स्वभावकी थिइन्, तुरुन्तै फर्केर पसलेसँग भिडिन्। ठूलो स्वरले कड्किँदा वरिपरि भीड लाग्यो। अन्ततः पसले घरभित्र लुक्यो।

पछाडिबाट एक अधबैँसे व्यक्तिले नेपालीमा आग्रह गरे— “बैनी, छोडिदिनुस्।” त्यो अनुरोध सुनेपछि उनको रिस शान्त भयो। समयसँगै उनको जिद्दी र बदमास स्वभाव पनि विस्तारै हराउँदै गयो।

नृत्यप्रतिको क्रेज

नृत्यप्रति उनको मोह यति थियो कि बिहे–बटुलामा जाँदा रातभरि नाचेर बिहान फर्किन्थिन्। विद्यालयस्तरीय कार्यक्रमदेखि सर्लाही जिल्लास्तरीय नृत्य प्रतियोगितासम्म उनले धेरैपटक ‘वीरेन्द्र शिल्ड’ जितिन्।

यस्तै एक कार्यक्रममा संगीतकर्मी Pradeep Bamjan ले उनको नृत्य देखे। प्रभावित भएर घरमै पुगेर उनका पितासँग भने— “यी नानीको भविष्य ज्यादै उज्ज्वल छ, यिनलाई नृत्यमै लगाउनुस्।”

काठमाडौँ यात्रा र प्रारम्भिक संघर्ष

वि.सं. २०४७ मा उनका पिताले उनलाई काठमाडौँ पठाए। उनले नाचघरमा नाटक तथा नृत्यमा काम गर्न थालिन्। यहीँबाट उनको वास्तविक कलाकारिता यात्रा सुरु भयो।

उनले ‘अमिट वासना’ टेलिड्रामा, ‘सत्असत्’, भिडियो फिल्म ‘कमारो’ र ‘मायाजाल’मा साना भूमिकाहरू निभाइन्।

‘मिलन’बाट ठूलो पर्दामा प्रवेश

एकदिन एक व्यक्ति ठूलो पर्दाको प्रस्ताव लिएर आए। ‘मिलन’ सिनेमामा आइटम डान्सको प्रस्ताव थियो। उनले आँखा चिम्लिएर स्वीकार गरिन्। यो चलचित्र उनको जीवनमा विशेष बन्यो, किनकि यही क्रममा उनले Basant Shrestha जस्तो अभिभावक पाएँ। उहाँको मार्गदर्शनले उनलाई कलाकारका रूपमा स्थापित हुन मद्दत गर्‍यो।

पछि ‘भाउजू’मा उनले Rajesh Hamal को भतिजीको भूमिका निर्वाह गरिन्। केही वर्षमै राम्रा चलचित्रका प्रस्ताव आउन थाले र उनी स्थापित कलाकारका रूपमा चिनिन थालिन्।

‘हे संगीता !’ को चर्चा

‘सुनचाँदी’ चलचित्रको गीत ‘हे संगीता’ यति चर्चित भयो कि संसदसम्म चर्चा पुगेको भनाइ छ। त्यसपछि धेरैले उनलाई ‘संगीता’ भनेर बोलाउन थाले। एकपटक असनमा केही युवाले ‘हे संगीता’ भन्दै जिस्क्याए। उनका श्रीमान्ले समेत पछि मजाकमै “हे संगीता! कफी प्लीज!” भन्न थाले।

‘आगो’ र सशक्त भूमिका

Aago चलचित्रमा उनले बलात्कारपीडित युवतीको बदला लिन माओवादी बनेकी पात्र निभाइन्। सुरुमा सामान्य बदला लिने चरित्र ठानेकी उनले पछि यसको गहिराइ बुझिन्। पुनः छायांकनपछि उनको भूमिकालाई विशेष प्राथमिकता दिइयो। समयसँगै पोस्टरमा उनको स्थान र महत्व पनि बढ्दै गयो— जसले उनको करियरको उचाइ दर्शायो।

महत्वपूर्ण फिल्महरू

  • Nirmaya – शोषित नारीको संघर्ष र अन्यायविरुद्ध लड्ने सन्देश।
  • Sunchandi – ‘हे संगीता’ गीतका कारण चर्चित।
  • Mohani – एकतर्फी प्रेमिकाको भूमिका।
  • Aago – क्रान्तिकारी कमाण्डरको सशक्त चरित्र।

उनको जीवनमा Basant Shrestha, Narayan Puri र Ashok Sharma महत्वपूर्ण व्यक्तित्व रहे। अमेरिकाको टिकट काटिदिने कामसमेत नारायण पुरीले गरेका थिए।

विदेश यात्रा र नयाँ अध्याय

सन् १९९७ देखि नै अमेरिकाको भिसा भए पनि सिनेमा कम बन्न थालेपछि र आर्थिक कठिनाइ बढेपछि उनले सन् २००१ मा अमेरिका जाने निर्णय गरिन्।

जिन्दगीलाई फर्केर हेर्दा

गाउँको धूलो–मैलो खेल्दै, संघर्ष गर्दै काठमाडौँ आइपुगी चलचित्र क्षेत्रमा नाम कमाउन सफल हुँदा उनलाई कहिलेकाहीँ आफ्नो जीवन नै कुनै सिनेमाको कथा जस्तो लाग्छ।

Categories:

,

Tags: