(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री)
साधना गरेर शास्त्रीय संगीत जगतको शिखरमा पुगेको एउटा नाम हो धनबहादुर गोपाली । पुर्वीय संगीतको कुन कुरा थाहा छैन र उहाँलाई ! तर पनि पर्दापछाडि लुकिरहनु भएको छ । उहाँ शास्त्रीय संगीत मात्र होइन, संगीतका सबै क्षेत्रमा महारत हासिल गर्न चाहनुहुन्थ्यो । हृदयको भित्र पनि यदि कुनै कोमल तत्व छ भने, त्यहि कोमल तत्वबाट उहाँमा संगीत पसेको थियो । यही कारण उहाँ घण्टौं रियाज गर्न थाल्नु भयो । यो रियाज गर्ने बानी यति धेरै बढ्यो कि अब रात हो वा दिन छुटिन छाड्यो । रातोदिन हार्मोनियम लिएर कराएको करायै गरेको देख्दा छिमेकी त रिसाए नै, घरका मानिसहरु पनि वाक्क भए । १८ घण्टासम्म रियाज गरेपछि मात्र उहाँलाई हलुका हुन्थ्यो । एक प्रकारको नशा भएको थियो, रियाज गर्ने । वर्षौसम्मको यही चालाले उहाँले संगीतमा धेरै थोक पाउनु भयो । संगीतमा उच्च शिक्षा, उच्च आत्मविश्वास तथा सधैं सरल र शान्त रहने बानी ।
उहाँले प्रयाग संगीत समिति इलाहावादबाट प्रथम श्रेणीमा संगीत प्रवीण (एमए) गर्नुभएको छ । त्यहींबाट उहाँले प्रथम श्रेणीमा नै प्रभाकर (बिए) तथा ललितकला क्याम्पसबाट संगीतमा स्नातक गर्नुभएको थियो । उहाँले रत्नराज्य क्याम्पसमा संगीतका क्याम्पस स्तरीय विद्यार्थीहरुलाई पढाउनु भएको थियो । अहिले उहाँ पद्मकन्या कलेजमा संगीतको कक्षा मात्र लिनुहुन्न, कलानिधि इन्दिरा संगीत महाविद्यालयको सहायक प्रमुख पनि हुनुहुन्छ । रेडियो नेपालमा शास्त्रीय संगीत र आधुनिक संगीतका प्रथम श्रेणीका गायक रहनु भएका गोपालीले अहिले संगीत शिक्षामा कक्षा ६, ७ र ८ कक्षाका लागि पाठ्य पुस्तक पनि लेख्नुभएको छ । नेपाल शास्त्रीय संगीत समाजका कोषाध्यक्ष समेत रहनु भएका गोपालीले रेडियो नेपालमा हुने प्रतिस्पर्धामा दर्जनौ पटक पुरस्कार हात पार्नुभएको छ । यद्यपि उहाँले अहिलेसम्म कुनै एल्बम निकाल्नु भएको छैन । किन त ? उहाँ भन्नुहुन्छ, त्यतिबेला अहिलेको जस्तो एल्वम निकाल्ने परिपाटी थिएन र खासै चासो पनि हुँदैनथ्यो । अहिले एल्वम निकाल्ने होड छ तर संगीत अध्यापनमा बढी व्यस्त भएकाले समय निकाल्नै कठिन परिरहेको छ । तर पनि कुनै संगीत कम्पनीले प्रस्ताव गरेको खण्डमा भने समय निकालेर भए पनि गर्नुपर्ला । धनबहादुरसँग भारतका शास्त्रीय संगीतका ज्ञाता रंगराव कादम्बरी, नेपालका प्रख्यात शास्त्रीय संगीतका ज्ञाता नरराज ढकाल र धर्मानन्द राजोपाध्यायसँग वर्षौ संगीतको प्रशिक्षण लिएको अनुभव छ ।उहाँका सिनियर विद्यार्थीहरु भन्छन्, सरको आवाजमा अचम्मको माधुर्यता छ । टेक्नीकको त उहाँ खानी नै हुनुहुन्छ ।प्रशिक्षण दिँदा द्रुत र मध्य लयको त कुरै छाडौं, विलम्वित लयमा समेत आफूले नै तवला बजाएर आफू स्वयंसम्मलाई श्वरमा संगत गर्नु सरको विलक्षण प्रतिभाको उदाहरण हो । जुन गुण हामीले अरु कसैमा पनि पाएका छैनांै ।
जसरी शारीरिक सुगठनका लागि कसरत गर्दा ब्यालेन्स नमिलाई जथाभावी गर्दा जिउ बिग्रिने डर हुन्छ, त्यसरी नै रियाज गर्दा पनि तरिका पुगेन भने आवाज बिग्रिने डर हुन्छ । मैले पनि कुनै बेला यो समस्या भोगिसकेको छु । त्यसैले सबै विद्यार्थीहरुलाई मैले यस कुराको ख्याल राख्न विशेष सुझाव दिइरहन्छु, गोपाली भन्नुहुन्छ ।
संगीतमा गोपाली लाग्नुको प्रमुख कारण काठमाडौंको टोलटोलमा हुने नाटकले बढी भूमिका खेलेको थियो । उहाँको गाउँ थानकोटमा पनि प्रशस्त नाटकहरु हुन्थे र त्यसमा उहाँले नायक वा नायिकाको भूमिका पाउनुहुन्थ्यो । पात्रहरुले बीचबीचमा गीत पनि गाउनु पर्दथ्यो । यही पात्रको गीत गाउँदा गाउँदै उहाँमा गाउने रहर जाग्यो । लहलहैमा अमरराज शर्माको संगतले रेडियो नेपालमा २०३४ सालमा उहाँले स्वर परीक्षा पास गर्नुभयो । तर क्याम्पसमा अर्थशास्त्र लिएर पढिरहनु भएकाले संगीत मै जमेर लाग्छु भन्ने विश्वास उहाँलाई थिएन । तर अर्थशास्त्रमा स्नातक भएपछि भने उहाँलाई आफ्नो विषय अर्थशास्त्र होइन, गायन नै रहेछ भन्ने लाग्यो र शास्त्रीय संगीतको अध्ययन गर्न ललितकला क्याम्पसमा भर्ना हुनुभयो । त्यहाँ अध्ययन गर्दा गर्दै नेपालबाटै प्रयाग संगीत समिति इलाहवादका लागि पनि अध्ययन प्रारम्भ गर्नुभयो । त्यसदिनदेखि अहिलेसम्म उहाँले पछाडि फर्केर हेर्नु परेको छैन । अहिले त उहाँको परिवार नै संगीतमा लागेको छ ।
म अहिले पनि सिकिरहेको छ’, शास्त्रीय संगीतलाई ज्ञानको महासागर भन्न रुचाउँने गोपाली भन्नुहुन्छ, म नमरुन्जेलसम्म संगीत मै हराउन चाहन्छु । धन, प्रतिष्ठा वा सम्मान भन्दा ठूलो कुरा सन्तुष्टी हो, म संगीत साधना मै सन्तुष्ट छु ।
