सडक फराकिलो बनाउन माग गर्दै स्थानीय द्वरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएर डोजर चलाए

Written by Artist Sansar

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएर डोजर चलाइएको छ। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् ।

संरचना भत्काएको अभियोगमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाएका थिए । शीत्तलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनीहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए ।

About the author

Artist Sansar